कम्युनिस्ट हुनु भनेको धेरै ठूूलो कुरा लाग्थ्यो । संसारभरिका किसान मजदूरहरुको हितमा काम गर्नु पर्छ भनेर सोच्दा मात्र पनि रोमान्चित हुन्थेँ म । समाजमा , गाउँमा, सहरमा, देशमा मात्र होइन संसार नै वर्गविहीन हुनुपर्छ भन्ने सिद्धान्त खुुब मन परेको थियो । देशमा अधिकांश मानिसहरु गरिब छन् उनीहरु नै प्राथमिकतामा पर्नुपर्छ भन्दा भावविह्वल हुन्थेँ म । केही कम्युनिस्ट नेताहरु थिए जसले गाउँका गाउँ नै भूमिगत रुपमा संगठित गरेर गाउँका शोषकहरुको धान लुटेको, जाली कागज बनाएर जनताको जमिन आफ्नो नाउँमा गरेका शोषकहरुलाई ठीक पारेको खबर सुन्दा दंग पर्थेँ म ।
म लगायतका केही साथीहरुको एउटा भूमिगत कमिटी बनाइएको थियो । एक जना भूमिगत नेता बेलाबेलामा आउनु हुन्थ्यो, हाम्रो कमिटीको बैठक बसाल्नु हुन्थ्यो र हाम्रो कमिटीको बारेमा उपल्लो कमिटीमा रिपोर्टिङ भइरहेको कुरा सुनाउनु हुन्थ्यो । उहाँको नाम के हो ? कहाँ बस्नु हुन्छ ? के काम गर्नु हुन्छ ? कति पढेका हुन् ? यस्तो केही पनि सोध्ने आँट हुँदैनथ्यो । बस, उहाँले माइन्युट गरिदिएको कुरा निश्चित अवधिमा अक्षरशः पालना गर्न इमान्दारीपूर्वक कोसिस गरिन्थ्यो । उहाँले कम्युनिस्ट आन्दोलन, माकर््सवाद, लेनिनबाद ,माओदेखि नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा बताउनु हुन्थ्यो । हामीलाई भन्नुहन्थ्यो, “पार्टी सदस्य हुनु भनेको निकै गौरवको कुरा हो । पार्टी सदस्य हुन धेरै कुरामा जानकार हुनुपर्छ र व्यवहारिक रुपमा खारिनु पनि पर्छ । विशेषतः सामन्ती सोच र व्यवहारबाट मुक्त हुनु, कम्युनिस्ट बिचार बुझ्नु र तल्लो वर्गलाई माया गर्नु पर्छ । चेतनाको स्तरबाट नै सर्वहारा हुनुपर्छ ।”
यी सबै कुरा सुन्दा आफू सर्वहारा कुलमा नजन्मीकन निम्न किसान वर्गमा जन्मेकोमा दुःख लाग्थ्यो । आखिर सर्वहारा हुनु त महान् हुनु रहेछ जस्तो लाग्थ्यो । पार्टीका नीति र कार्यक्रमहरु सर्वहाराको हितमा हुनुपर्छ भन्नु हुन्थ्यो ।
कहिलेकाहीँ घरमा मासु पाक्दा र खाँदा , जाडोमा न्यानो लुगा लगाउँदा पनि पछुतो हुन्थ्यो । लाग्थ्यो, संसारभरका सबै मजदूरहरुले कहिले मासुभात खान पाउँदा हुन् ? संसारभरका किसानहरुले कहिले न्यानो लुगा लगाउन पाउँदा हुन् ? अरु त अरु हामीलाई भेट्न आउनु हुने भूमिगत नेताकै गतिलो ज्याकेट थिएन । एकपटक त मैले आफ्नै ज्याकेट दिएँ । एकपटक अर्का नेतालाई ज्याकेट किनिदिएँ । त्यसोगर्दा आनन्द आयो । नेतालाई दिएँ वा रिझाएँ भनेर होइन, मैले पनि सर्वहाराकरणमा सानो पाइला चालेँ भनेर, विश्व सर्वहाराकरणमा मद्दत पुर्याउन पाएँ भनेर । त्योबाहेक लेभी रकम दिनु थियो, एक निश्चित रकम । त्यो रकम दिन पाउँदा ख्याल आनन्द आउँदैनथ्यो । कहिलेकाहीँ खल्तीमा पैसा छ र नेताजी भेटभइहाल्यो भने दिइहाल्थेँ र मनमनै सन्तोष मान्थेँ । त्यो साँच्चै खुसीको दिन हुन्थ्यो ।
मैले बुझेको थिइनँ, कम्युनिस्ट पार्टी कहाँ छ ? त्यसका प्रमुख नेता को हुन् ? धेरै कम्युनिस्ट पार्टी छन् भन्ने पनि थाहा थिएन । यो कुनचाहिँ कम्युनिस्ट पार्टी हो ? हामीलाई भेट्न आइरहनुहुने कमरेड कुन दर्जाको नेता हुनुहन्छ, उहाँको वास्तविक नाम के हो ? त्यो केही थाहा थिएन । तर म चाहिँ खुसी नै थिएँ कि बेलैमा संसार परिवर्तनको सही कार्यमा संलग्न हुन पाइयो भनेर । हाम्रो भेटघाट भूमिगत, चन्दा र लेभी पनि भूमिगत, सपना र लक्ष्य भूमिगत, माइन्युट भूमिगत, हिसाब भूमिगत थियो । परिवार, बाआमा कसैलाई थाहा थिएन । हामीलाई भेट्न आउनु हुने कमरेड साह्रै असल स्वभावको हुनुहुन्थ्यो । मिजासिलो, मुस्कुराउनु हुने, हामीलाई गर्न हुने नहुने कुरा सबै सिकाउने ।
केही पुस्तकहरु उहाँमार्फत् प्राप्त भयो । जस्तै, माक्सिम गोर्कीको आमा । त्यो मैले मुस्किलले पढेँ । पढिसकेपछि लाग्यो, ती आमा पात्र र मेरी आमाबीच निकै अन्तर छ । मेरी आमा थोरै पढ्नुभएकी सहनशील हुनुहुन्थ्यो । जहिले पनि झगडा र लफडामा नफस्नु, बरु एक चोट सहनु भन्नु हुन्थ्यो । आमा उपन्यासका आमा पात्र पेलेगुया निलोभ्ना भने विधवा भएर पनि कति आँटिली ? कसरी मेरी आमासंग तुलना गर्नु ? झन् पावेलसँग मेरो तुलना गरेर हेरेँ । ओहो, मसँग त रत्तिभर पावेलको गुण छैन । तैपनि आफू पावेलजस्तो हुनु पर्छ भनेर आदर्श पालिरहेँ । अनि माक्र्सको पूँजि पढ्ने त आँटै थिएन । माक्र्सवादका बारेमा नेताजीले जे भन्नुहुन्थ्यो त्यो सुन्थेँ । कति बुझ्थें कति बुझ्दिनथेँ ।
स्कूल र कलेजमा कहिल्यै कसैले नभनेको कुरा भन्ने, नसिकेको कुरा सिकाउने उहाँप्रति मेरो एक किसिमको चुम्बकीय आकर्षण रह्यो । तर मैले के बुझेको थिइनँ, माकर््सवाद भनेको के हो ? लेनिनवाद भनेको के हो ? मलाई यी सिद्धान्तले भन्दा भेट्न आउने कमरेडको सरल व्यवहारले आकर्षण गर्यो । उहाँले भन्नुहुन्थ्यो, तपाईँहरु परिक्षणमा हुनुहुन्छ । माथिल्लोको कमिटीले मूल्यांकन गरिरहेको छ । मूल्यांकनमा खरो उत्रिनु भयो भने तपाईँहरुलाई कम्युनिस्ट पार्टीको सदस्यता दिइनेछ । मलाई डर लाग्थ्यो, म एक्लै सोच्थेँ, के म हुन सकुँला कम्युनिस्ट पार्टीको सदस्य ? कति जिम्मेवारी हुने होला ? मभित्र त थुप्रै लोभहरु छन् । मीठो खान मन लाग्छ । राम्रो लगाउन मन लाग्छ । धेरै पढ्न मन लाग्छ । यसो केटीहरुतिर हेर्न पनि मन लाग्छ । नारायण गोपालको गीत मीठो लाग्छ । मलाई मेरो रुचि देखेर आफैँसँग उदेक लाग्थ्यो । यसरी म कसरी सच्चा कम्युनिस्ट हुन सकुँला ? सायद त्यसो भएरै मलाई सदस्यता नदिएको होला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।