साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पुष्कर लोहनीः यौनवादी एक्लो बृहस्पति

Chovar Blues Mobile Size

नेपाली साहित्यको क्षेत्रमा विशेषगरी यौनवादी साहित्यलेखन र समिक्षकको रूपमा यौटा सुपरिचित, चर्चित नाम हो—पुष्कर लोहनी ।

धेरै भएको छैन पुष्कर लोहनीसँग मेरो चिनजान र उहाँसँगको संगत । उहाँका साहित्यिक रचना र लेखहरू पढे पनि उहाँसँग साक्षात्कार हुने अवसर भने पाएको थिइनँ । वि.सं.२०६१ साल साउन महिनाको कुनै दिन साहित्यिकमित्र बी.के.पाल्पालीसँग म आफ्नो नवीनतम् कृति हाइकुसङ्ग्रह धुनी तापेरको अन्तक्रिया कार्यक्रमको सिलसिलामा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जाँदा उहाँसँग भेट भएपछि हाम्रो चिनजान भएको हो । त्यही दिन उहाँलाई मेरो हाइकुबारे केही मन्तव्य राखिदिनुहुन अनुरोध गरेर हाइकुसङ्ग्रह पनि दिएँ । त्यही साँझ उहाँले फोनमा भन्नु भयो—“दिव्यजी, मैले तपाईँको हाइकुमा पनि केही यौनसम्बन्धित हाइकु पाएँ । म तिनैका बारेमा बोल्छु । मलाई पन्ध्र मिनेटको समय दिनुहोला ।”

मेरो हाइकुसङ्ग्रहको अन्तक्रिया कार्यक्रम २०६१ साल साउन २८ गते प्रज्ञा भवनमा सम्पन्न भयो । उक्त कार्यक्रममा हाइकुबारे मन्तव्य व्यक्त गर्नेहरूमा डा.रामकुमार पाँडे, रत्नशमशेर थापा, तुलसी दिवस, तोया गुरूङ्ग, दाहाल यज्ञनिधि, प्रकाश सायमी, बुलु मुकारूङ्ग आदि हुनुहुन्थ्यो । मन्तव्यकै क्रममा पुष्कर लोहनीले हाइकुको परिचय र विशेषगरी यौनसम्बन्धित हाइकुका बारेमा निकै राम्रो धारणा व्यक्त गर्नुभयो । उहाँको मन्तव्यबाट त्यहाँ उपस्थित धेरैलाई हाइकुबारे अझ बढी जानकारी प्राप्त भयो । त्यसपछि उहाँले हाइकुबारे राजधानी दैनिक र तरूण साप्ताहिकमा टिप्पणी एवं समिक्षाहरू निरन्तर लेख्नु भयो । हाइकुका साथसाथै जापानी शैलीका अन्य साना कविताहरू तांका, चोका, सेदोकाका बारेमा पनि उहाँका रचना र समिक्षाहरू धमाधम आउन थाले । यसको अलावा उहाँले हाइकु र तांकासङ्ग्रहमा भूमिका पनि लेख्नु भयो । उहाँको यस कार्यबाट एकातिर नेपाली साहित्यिक फाँटमा जापानी शैलीको हाइकु कविताले यौटा हलचल नै ल्याइदियो भने अर्कोतिर निकै वरिष्ठ र युवा लेखकहरूमा समेत हाइकुप्रति आकर्षण र चासो बढ्दै गयो । उनीहरू पनि हाइकु लेख्न र प्रकाशन गर्न थाले । फलस्वरूपः नेपाली साहित्यिक क्षेत्रमा २०६१ सालमा धेरै हाइकुकार अर्थात् हाइजिनहरू जन्मिए र उनीहरूका हाइकुसङ्ग्रहरू समेत प्रकाशित भए ।

नेपाली साहित्यिक इतिहासमा वि.सं २०६१ साल हाइकु लेखन र प्रकाशनको निम्ति यौटा उत्साह र उमङ्गको वर्ष समेत रह्यो । मलाई प्राप्त भएको जानकारी अनुसार २०६१ सालमा मात्रै दिव्य गिरीको धुनी तापेर (साउन २०६१), खनाल रेवतीरमणको मान्छेभित्र मान्छेको खोजी (भाद्र २०६१), सुरेन्द्र महर्जन ‘अमर’को नदीको रङ्ग (२०६१ भदौ), कुमार खरेलको आँसुको धारा (२०६१ मंसिर), चन्द्रकला शाहको आँधी आएर (२०६१ मंसीर १५), विष्णुबहादुर सिंहको मौन बतास ( २०६१ पौष), मोहनबहादुर कायस्थको तरेली (२०६१ माघ), र त्यसपछि २०६१ सालको अन्तअन्ततिर प्रकाश पौडेल ‘माइला’कोे पर्दाफास, अञ्जना पौडेलको हिउँ खस्ने पर्वत र वी.पी.सेढाईंको भावनाका थुँगाहरू आदि हाइकुसङ्ग्रह प्रकाशित भए । यस प्रकार जापानी साहित्यको साहित्यिक विधा–हाइकु, तांका, चोका, र सेदोकाको नेपाली भाषामा सङ्ग्रहको रूपमा यति धेरै प्रकाशन हुनुमा प्रत्यक्षरूपमा पुष्कर लोहनीको योगदान र महत्वपूर्ण भूमिका रहेको छ ।

जीवनको उत्तरार्धमा आएर उहाँले नेपाली साहित्यको फाँटमा धेरै वर्षसम्म सुषुप्तावस्थामा रहेको जापानी शैलीको साना कविता हाइकु, तांका, चोका, सेदोकाको लेखन, अध्ययन र अनुसन्धान कार्य गर्नु भएको छ र यिनीहरूका बारेमा उहाँ ज्ञाता मात्र होइन कि विशेषज्ञ नै बनिसक्नु भएको छ । उहाँले लेख्नु भएको समिक्षात्मक लेख, टिप्पणी र भूमिका लेखनबाट पनि यो कुरा प्रमाणित भइसकेको छ । यसका अतिरिक्त उहाँले हालै आएर कोरियाली शैलीको तीन हरफे गीति कविता सिजोप्रति पनि स्वयं कलम चलाउनु भएको छ । फलस्वरूप वि.सं.२०६४ फागुनमा उहाँले सिजोः१ नामक चार पेजको सिजो प्रकाशित गर्नुभएको छ ।

sagarmani mobile size

यस लेखमा यौनवादी साहित्यकार पुष्कर लोहनीको आजभन्दा २४ वर्ष पहिले प्रकाशित कवितासङ्ग्रह कौडीमा रहेका कवितामा यौनसँग सम्बन्धितपक्षलाई केही उजागर गर्ने जमर्को गर्दैछु । हुन त म समिक्षक वा समालोचक केही होइन र पनि साहित्यप्रति रूची राख्ने यौटा साधारण पाठकका नाताले यो धृष्टता मात्र गरेको हुँ ।

जब चेतन मनबाट विपरीत लिङ्गप्रति इच्छा प्रस्फुटन हुन्छ त्यो नै यौन हो । यौन प्रत्येक व्यक्तिमा हुन्छ । केवल मानिसमा मात्र नभएर यो संसारमा उत्पत्ति भएका सम्पूर्ण सजीव जीवहरूमा यौन रहेको हुन्छ । यसरी यौन प्रत्येक प्राणीमा हुन्छ । सबैले यौनच्छा पूरा गरेका हुन्छन् । किनकि यौन प्रकृतिको देन हो । अतः यौन भन्नेबित्तिकै हामी डराउनु पर्ने र यसको बारेमा चर्चा–परिचर्चा गर्न कञ्जुस्याइँ गर्नुपर्ने कुनै त्यस्तो असजिलो अवस्था छैन । मानिस सामाजिक प्राणी भएकोले यौन उसको प्राकृतिक आवश्यकतामा पर्दछ । संसारमा सृष्टि भएका सबै प्राणीहरूको निम्ति चारवटा कुराहरू—आहार, निद्रा, भय र मैथुन अत्यावश्यक विषय वा तत्व हुन् । त्यसैले सानोमा भुसुनादेखि ठूलोमा हात्तीसम्ममा यी कुराहरू पाइन्छन् । जब मानिस वयस्क हुँदै जान्छ तब उसमा यौन चाहना पनि बढ्दै जान्छ ।

पुष्कर लाेहनी

विपरीत लिङ्गप्रति उसको ध्यानाकर्षण नै यौनप्रतिको आकाँक्षा हो । आफूलाई मन परेको युवा वा युवतीले एक–अर्कालाई माया गर्नु नै यौन आकाँक्षाको प्रारूप पनि हो । संसारको सृष्टि निरन्तरताको निम्ति यौन सबभन्दा महत्वपूर्ण र अत्यावश्यक हुन्छ । हरेक वयस्क स्त्री—पुरूषबीच यौन चाहना क्रियाशील भइरहेको हुन्छ । किनकि यौन भन्ने कुरा मानिसको स्वाभाविक प्रवृत्ति र प्रकृति हो । यद्यपि यौनकुण्ठा, यौनविकृति र यौनअपराधहरू यसका नकारात्मक पक्ष हुन् । यसो भन्दैमा मानिस सधैं यौनकुण्ठा र यौनमा मात्र लिप्त रहेको हुन्छ भन्ने होइन । त्यो त उसको सोचाइ र व्यवहारको उपज मात्र हो ।

हरेक मानिसभित्र रहने यौन आकाँक्षालाई साहित्यको माध्यमबाट उजार गर्ने र त्यसलाई महत्वकासाथ विश्लेष्णात्मक ढङ्गले व्याख्या गर्दै जाने साहित्यकार पुष्कर लोहनीको आफ्नै विशेषताहरू छन् । उहाँ जीवनलाई यौनसँग घनिष्ठसम्बन्ध भएको र जीवनलाई सार्थकता प्रदान गर्न यौनको महत्वपूर्ण भूमिका हुन्छ भन्ने मान्यता राख्नु हुन्छ । खुलेर यौनको कुरा गर्नु कुनै अपराध होइन । जबकि मानिस आदिम अर्थात् सृष्टिकालदेखि नै यौनाशक्तिको प्रमुख पात्र हो । जति जति शताब्दि बित्दै गएको छ त्यति त्यति मानिसहरू यौनबारेमा खुकुलोपन र खुलारूपमा प्रस्तुत हुँदै आएका छन् । साहित्य र कलाको माध्यमबाट यौनलाई अभिव्यक्त गर्ने कार्य धेरै पहिलेदेखि नै हो । यौन र यौनसाहित्यबारे धेरै पहिलेदेखि नै चर्चा–परिचर्चा भइरहेकै हो । जस्तो कि पूर्वीय साहित्यमा पनि कुमारसम्भव, भर्तृहरि शतक, सूक्तिसिन्धु, कोकशास्त्र आदि कृतिहरूमा यौन र यौनसाहित्यका बारेमा निकै सजीव ढङ्गबाट वर्णन गरिएको पाइन्छ ।

कुमारसम्भवमा कवि कालिदासले माता पार्वतीको अङ्ग प्रत्यङ्गलाई वासनात्मकरूपबाट वर्णन गरेका छन् । यथार्थचाहिँ यो हो कि हिन्दुधर्ममा यौनलाई महत्वपूर्ण स्थान दिइएको छ । उदाहरणको निम्ति हिन्दु संस्कृतिको महत्वपूर्ण यौटा ग्रन्थ—स्वस्थानीमा ठाउँ ठाउँमा यौनपक्ष र यौन क्रियाकलापलाई साङ्केतिक तवरबाट अप्रत्यक्षरूपमा अभिव्यक्त गरिएको छ । जसलाई हामी रूचिपूर्वक पढ्छौं र श्रवण गर्दछौं । महादेवले पार्वतीलाई काखमा राखेको वर्णन, महादेव र पार्वती एकान्त अवस्थामा रहेका बखत कामदेवको प्रवेश, विष्णुले जालन्धरको रूप लिई बृन्दाको सतित्व नष्ट पारिदिएको, महादेव स्वयम् मृग भएर मृगका बथानमा रमाउँदै हिँडेका, र हाँसको रूप धारण गरी मानसरोवरमा हाँसहरूसँग जलक्रिडा गरेका, सतीदेवीको मृत्युपश्चात् महादेवले विलाप गर्दै सतीदेवीलाई म्वाई खाएको, उनको छातीमा हात राखेको र उनलाई बोक्दै संसार भ्रमण गरेको जस्ता प्रसङ्गले प्रेम–प्रकट गर्ने निहुँमा यौनपक्षलाई अप्रत्यक्ष तरिकाबाट वर्णन गरेको पाइन्छ । जसलाई यौटा वयस्क युवा वा युवतीले सहजै बुझ्दछन् ।

हाम्रा देवालय र मन्दिरका टुँडालहरूमा समेत यौन क्रियाकलापका नाङ्गो मूर्तिहरू खुलारूपमा राखिएका छन् । ती मूर्तिहरूले सशक्तरूपमा यौन क्रियाकलापलाई प्रस्तुत गरेको प्रत्यक्ष देख्न सकिन्छ । विभिन्न प्रकारका संभोग आसनमा रहेका ती मूर्तिका दृष्य देख्दा जो कोहीको मनभित्र पनि यौन भावना सहजै जागृत हुन्छ । ऊ यौनप्रति आकर्षित हुन्छ । त्यस्ता मूर्तिहरू त्यसै राखिएको होइनन् । त्यसका पनि खास धार्मिक, सांस्कृतिक र सामाजिक महत्व अवश्य पनि छन् । तर पनि ती मूर्तिहरू झट्ट हेर्दा त जसलाई पनि लाज लाग्छ नै । यौनलाई जथाभावी प्रयोग गर्नु हुन्न भन्ने मान्यता समाजमा हामीबीच प्राचीनकालदेखि नै रहिआएको छ । वास्तवमा यौन विषयमा यौटा सामाजिक मानमर्यादाबीच हामीले आफूलाई अनुुसाशित बनाउनु पर्दछ । जथाभावी गर्नु अधिकारको प्रयोग होइन दुरूपयोग हो ।

साहित्य र कला त्यस्तो क्षेत्र हो, जहाँ आफ्नो मनको भावलाई अभिव्यक्त गर्न सकिन्छ । तर सभ्यरूपमा भावनालाई प्रकट गर्न सक्नुपर्दछ । त्यसैले त साहित्य र कलामा श्लील र अश्लीलको प्रश्न उठ्छ । कलामा चित्रको माध्यमबाट र साहित्यमा बिम्ब र प्रतीकको माध्यमबाट कलाकार र साहित्यकारले यौन भावनालाई व्यक्त गरेको पाइन्छ । त्यसैले आधुनिक कला र साहित्यमा यौनले ठूलो स्थान पाएको छ ।

सायद त्यही कारणले होला साहित्यकार पुष्कर लोहनी जुनसुकै साहित्यिक रचनामा पनि पहिले यौन बिम्ब र प्रतीक खोज्नु हुन्छ, परख्नु हुन्छ र खोतल्नु हुन्छ । यो उहाँको विशेषता नै हो । यही विशेषताले उहाँ यौनवादीको रूपमा चिनिनु भएको छ नेपाली साहित्यक जगतमा । त्यसो त यौनका बारेमा पुष्कर लोहनीको धारणा यस प्रकार छ —
“नेपाली साहित्यमा यौन अभिव्यक्तिलाई ध्यानमा राखेर अध्ययन एवम् लेखनकार्य गर्ने मान्छे छैनन् । त्यसैले म अनौठो भएको छु । यौन भन्ने कुरा मानिसको स्वाभाविक प्रवृत्ति र प्रकृति हो । लेखनमा बिम्ब र प्रतीकका माध्यमबाट यौनसम्बन्धी विचार प्रयोग गर्नुपर्दछ । प्रयोगका नाममा छाडापन चाहिँ हुनु हुँदैन । पशुपंक्षी, कीटपतङ्ग, भुसुनासम्म पनि यौन–जागरण यौनिकताका कारण राम्ररी चलेका छन् । मनुष्य सचेत वर्ग भएकाले त्यो यौनभाव राम्ररी भनुभूत गर्दछ । यौनको आवश्यकता र अनिवार्यता बुझेर सभ्यशिष्ट ढङ्ग प्रयोग गर्ने उपायहरू उसले निकाल्यो । हो, यौनको कुरा, मानिसले पशुजस्तो खुला र उच्छृङ्खल ढङ्गले प्रयोग गर्दैन । मानिस र पशुकाबीच अन्तर भनेकै प्रमुख रूपमा यौनपक्ष हो ।” (गरिमाः पूर्णाङ्क २९१, फागुन २०६३)

पुष्करण लोहनीका उपर्युक्त भनाईलाई मनन गर्दा उहाँ यौटा यौनवादी स्रष्टाको रूपमा मात्र होइन कि यौन समीक्षक पनि हुनुहुन्छ । मानिसको मूल प्रवृत्ति जस्तै–प्रेम, घृणा, सुखः दुःख, यौन, यौनकुण्ठा, यौनविकृति र यौन वास्तविकताका बारेमा उहाँले धेरै अध्ययन गर्नुभएको छ । उहाँका धारणाहरू स्पष्ट छन् यौनका बारेमा । उहाँको भनाई छ — “संस्कृत साहित्य त झन् विशाल छ यौनसम्बन्धमा । दुई हजार वर्षअघिका कालिदासको विचारलाई छिछिः दुर्दुर् गरेर मात्र हुँदैन । भर्तृहरिको श्रृङ्गारशतक, संस्कृत तथा अङ्ग्रेजीका महान् लेखकका कतिपय कृति वा रचनाको नेपाली अनुवाद गर्न हिच्किचाउनु पर्दछ । सोझै अनुवाद गर्ने हो भने लेख्न सकिँदैन । परिवारसँग बसेर पढ्न सकिँदैन । करिब पचहत्तर वर्षअघिको सुक्तिसिन्धुमा खुला प्रयोग भएको छ—यौनको । लेखनको कुरागर्दा संस्कृतका कालिदास, दण्डि, वामन आदि र प्राचीन ग्रीकरोमका लेखक हुँदै अङ्ग्रेजीका सेक्सपियरले यौनबारे प्रसस्त लेखेका छन् ।” (ऐ.ऐ. पृष्ठ ३२)

नेपाली साहित्यमा यौन के हो? यौनका बारेमा लेख्नु हुन्छ कि हुँदैन? यौनका बारेमा व्याख्या विश्लेषण गर्दा आलोचित भइन्छ कि? जस्ता आदि इत्यादि प्रश्नहरू वेलावेलामा उठिरहेका छन् । कस्तो साहित्यिक रचना वा कलालाई श्लील र कस्तोलाई अश्लील भन्ने? यौन साहित्यको मापदण्ड के हो? कुन हदसम्मको लेखन वा कलालाई अश्लीलताको परिधिमा राख्ने? यस्ता जटिल प्रश्नहरू वेलावेलामा उठिरहेकै छन् । तर आजकल बजारमा बर्गेल्ती देखिएका निम्नस्तरका यौनकथा, यौन—पत्राचार, यौन—उपन्यासलाई कुन स्तरमा राखेर हेर्ने । बाहिरीपृष्ठमै अर्धनग्न युवतीको तस्बिर, यौनक्रिडाका विभिन्नरूप र तस्बिर छापिएका त्यस्ता पुस्तकहरू खुलारूपमा बिक्री वितरण भएका छन् । सर्वसाधारण हिँडडुल गर्ने सडकपेटीमा राखिएका त्यस्ता पुस्तकहरूबारे कसैले केही भन्न सकेका छैनन् । भर्खरका युवादेखि उमेर ढल्किसकेका वयस्कहरू समेत लुकीलुकी किनेर पढ्ने गरेका त्यस्ता पुस्तकबाट समाजमा के कस्तो यौनविकृति, यौनकुण्ठा, यौनअपराध फैलिएको छ भन्नेबारेमा कसैले पनि अध्ययन अनुसन्धान गरेका छैनन् । साहित्यको नाममा छाडा यौनलेखन, प्रकाशन र वितरण भइरहको आजको वर्तमान नेपाली साहित्यमा थोर—बहुत यौनबारे उल्लेख गर्दा त्यो रचना नै अश्लील भयो भनेर भन्न मिल्छ र? छिमेकी देश भारतमा हिन्दी भाषामा लेखिएको मस्तरामका यौनपुस्तकहरू हाम्रै देशमा लाखौंप्रति बिक्रीवितरण हुने गरेको सबैलाई ज्ञात छ ।

निर्भीक र स्वतन्त्ररूपमा लेख्ने साहित्यकारको नाम हो–पुष्कर लोहनी । चाकडी, चुक्ली र चाप्लुसी (चाचुचा) अत्यन्त टाढा रहने स्वाभिमानी लेखक हो, पुष्कर लोहनी । सधैं अध्ययनशील, गम्भीर र साहित्यमा यौन अत्यावश्यक हुन्छ र हुनुपर्दछ भन्ने एकमात्र यौनवादी लेखक एवम् समिक्षक हुन्, पुष्कर लोहनी ।

उहाँ नेपाली साहित्य जगतमा यौनसम्बन्धी लेखनको यौटा बृहस्पति नै हुनुहुन्छ । बृहस्पति यस अर्थमा कि उहाँ मात्र एक त्यस्तो लेखक एवम् समीक्षक हुनुहुन्छ जसले साहित्यमा यौनवादको वकालत गर्दै आउनुभएको छ । साहित्यमा यौनका पक्षमा अडान लिँदै आउनुभएको छ ।

लेखकका रचनाहरूमा कतै न कतै कुनै न कुनै रूपमा यौन खोज्दै त्यसको सबिस्तार व्याख्या गर्न सिपालु र नेपाली साहित्यको क्षेत्रमा यौटा अलग्गै पहिचान राखेर आफ्नो उपस्थितिलाई सधैं टड्कारो पारिरहने पुष्कर लोहनीले पछिल्लो समयमा आएर जापानी शैलीको कविताहरू—हाइकु, तांका, चोका, सेदोका र कोरियाली शैलीको गीति कविता सिजोजस्ता रचनाहरूमा पनि यौनबिम्ब र यौनप्रतीक खोज्नु हुन्छ, राख्नु हुन्छ र लेख्नु हुन्छ । हाइकु, तांका, चोका, सेदोकाको अतिरिक्त गजल, मुक्तकमा समेत यौनबिम्ब र प्रतीकहरू औंल्याउँदै त्यसको व्याख्या गर्दै आउनुभएको छ । नेपाली साहित्यका डा.रामकुमार पाँडे, रत्नशमशेर थापा, क्षेत्रप्रताप अधिकारी, दिव्य गिरी, रेणुका भट्टराई र मोहनबहादुर कायस्थका हाइकुहरूमा प्रयोग गरिएको यौनबिम्ब र प्रतीकको व्याख्या गरेर उहाँले लेखहरू प्रकाशित गर्नुभएको छ । विगत ४।५ वर्षदेखि जापानी साहित्यको खास गरी हाइकु, तांका, चोका, सेदोकाको बारेमा धेरै अध्ययन गरेर उहाँले जापनी शैलीको साना कविताहरूलाई नेपाली साहित्यमा लेखन प्रकाशनको निम्ति निकै सहारनीय कार्य गर्नुभएको छ ।

पुरूष–महिलाबीचको प्रेम नै संसारको सबभन्दा महत्वपूर्ण पक्ष हो । संसारको सृष्टिकालदेखि नै यो अनन्तकालसम्म अटल रहनेछ । पुरूष र महिला एकअर्काप्रति आकर्षित हुनुको प्रमुख कारण नै माया–पिरती हो । यदि त्यो नहुँदो हो त एकले अर्कोलाई चाहनुको कुनै अर्थ नै हुँदैनथ्यो । हाम्रो वैदिकग्रन्थ महाभारतमा वर्णन गरिए अनुसार माझीपुत्री मत्स्यगन्धा (सत्यवती) लाई देखेर मोहित भएका परासर ऋृषिले आफ्नो शक्तिबाट पोखरीको बीचभागलाई कुहिरोले ढाकी अँध्यारो बनाई त्यहीँ मत्स्यगन्धासँग कामेच्छा पूर्ण गरेका थिए । त्यसैगरी स्वर्गबाट आएकी मेनकाले विश्वामित्र ऋृषिको तपस्या भङ्ग गरेकी थिइन् । यस्ता प्रसङ्ग अनेक छन् हाम्रा प्राचीन धार्मिक ग्रन्थहरूमा । जसबाट यो प्रमाणित हुन्छ कि कामवासनाबाट टाढा कोही पनि हुँदैन ।

यस लेखमा म साहित्यकार अर्थात यौनवादी कवि, लेखक एवं समीक्षक पुष्कर लोहनीको आजभन्दा २४ वर्ष पहिले प्रकाशित कवितासङ्ग्रह ‘कौडी’मा रहको कवितामा प्रस्तुत यौनसँग सम्बन्धित पक्षलाई केही उजार गर्ने जमर्को गर्दैछु । हुन म समालोचक पनि होइन र यौनवादको विशेषज्ञ पनि । तर पनि यौटा साहित्यिक व्यक्ति भएको नाताले मात्र यो धृष्टाता गर्ने आँटसम्म गरेको छु ।

कविता रङ्गीविरङ्ग भावहरूको पुञ्जद्वारा निर्मित यौटा सुन्दर माला हो । डा.प्राध्यापक गोविन्दराज भट्टराइका अनुसार “कविता भावनाहरूको खेती हो जहाँ जीवनलाई कलमले लेखिन्छ ।” जीवन जहाँ दुःख, सुख, हर्ष, विस्मात्, रोग, भोक, प्यास आदि अभिन्नरूपमा गाँसिएको हुन्छ । यसका अतिरिक्त यौटा अत्यन्त महत्वपूर्ण पक्ष–यौन सबभन्दा टड्कारो उभिइरहेको हुन्छ जीवनको परिधिमा । वास्तवमा साहित्य सधैं जीवन र जगतसँग सम्बन्धित हुन्छ । जीवनको भोगाइ, अनुभव र अनुभूतिलाई कविले काव्यात्मक शिल्प, शैली र कलाले सजाउँछ । मानव–जीवन र संवेदनासँग निकट हुन्छ साहित्य । कवि आफ्नो कवितामा प्रयोग गरेको बिम्ब र प्रतीकमार्फत् प्रेम र विद्रोहको स्वर उछाल्छ । संवेदना व्यक्त गर्छ । सामाजिक, आर्थिक र राजनीतिक विसङ्गतिहरूलाई काव्यात्मक शब्द र शैलीको प्रयोग गरेर सुन्दर अभिव्यक्ति प्रस्तुत गर्दछ । अनि पो त्यो कविता वा साहित्यले हृदयलाई छुन्छ, रूवाउँछ—हसाँउछ र जीवन्त बन्छ ।

संसार प्रेममय छ । यो संसार मायामा नै अडेको छ । त्यसैले प्रेमी—प्रेमिकाबीच मादकताका पलहरू आइरहन्छन् । गईरहन्छन् । मानव त्यस्तो प्राणी हो जसलाई प्रेम–पीडा असह्य र अत्यन्त पीडादायी हुन्छ ।

नेपाली साहित्यको वर्तमान कालखण्डमा यौनवादी स्रष्टा र समीक्षकको रूपमा विख्यात साहित्यिकार पुष्कर लोहनी एक मात्र हुनुहुन्छ भन्नु पर्दा यौनवादीको रूपमा उहाँ एक्लो बृहस्पति नै हुनुभएको छ । स्पष्ट वक्ताको रूपमा सुपरिचित लोहनीको यौनवादीताप्रति व्याख्या गर्न सक्ने क्षमता मसँग छैन । तापनि उहाँको कवितासङ्ग्रहमा उद्घाटित गरिएका यौनसम्बन्धी काव्याहरूमा अत्यन्त सरल र सभ्य छन् । हरेक काव्यमा यौन अभिव्यक्त हुनैपर्दछ भन्ने उहाँको मान्यता रहेको छ । चाहे त्यो कविता, उपन्यास, कथा वा हाइकु, तांका, चोका, सेदोका र कोरियाली गीति कविता सिजो होस् उहाँ यौनलाई प्रमुखताका साथ प्रस्तुत गर्नु हुन्छ । त्यस्ता रचनाहरूमा यौनपक्षलाई नियाल्नु हुन्छ । केलाउनु हुन्छ र लेखनको माध्यमबाट व्याख्या गरिदिनु हुन्छ । यो नै उहाँको प्रमुख विशेषता र पहिचान हो ।

यौनलाई बिम्ब र प्रतिकको माध्यमबाट प्रस्तुत गर्न सिपालु लोहनीको कविता सङ्ग्रहको ‘कौडी’ अत्यन्त चर्चित कविता हो । कौडीलाई बैँसालु युवतीको योनीको रूपमा प्रयोग गर्दै उहाँ कविता लेख्नु हुन्छ —

त्यसैले हरेक युवति घृणाले हेर्छन्
कौडीलाई
आफ्नै सौता ठानेर (पृ.५)

कौडीको स्वरूप र आकारलाई आइमाईहरू स्वयम् आफैँ र आफ्नै योनी सम्झन्छन् । कौडी चाहे घोप्टो अवस्थामा होस् वा उत्तानो परेको होस् त्यसलाई देखेर उनीहरू लाज मान्छन् र सर्माउँछन् । संसारमा त्यस्ता वस्तुहरू पनि छन् जसलाई देखेपछि मानिसहरूमा सहजै यौनभाव जागृत हुन्छ । त्यसैले उहाँले कौडीलाई प्रतीकको रूपमा प्रस्तुत गरेर कवितामा यौनभाव प्रस्तुत गर्नुभएको छ सरल र प्रष्टरूपमा ।

त्यसैगरी अर्को कविता ‘अर्ग’लाई पनि उहाँले यौन बिम्ब र प्रतीककै रूपमा प्रयोग गर्नुभएको छ । यहाँ ‘अर्ग’लाई पनि स्त्री–योनी र केरालाई पुरूष–लिङ्गको रूपमा प्रस्तुत गरेर श्रीमतीले छोरा पाउने चाहनामा आफूलाई लोग्नेसामु समर्पण गरेको भाव व्यक्त गरेका छन् । यो उनको यौन भावको सुन्दर प्रस्तुति गर्न सक्ने क्षमताको प्रदर्शन हो । सरल र सजिलै बुझ्नसक्ने अभिव्यक्ति हो कौडी र अर्ग कविता । यसलाई जसरी र जतिसुकै पनि व्याख्या गर्न सकिन्छ ।

उहाँको अर्को कविता छ रापिलो ‘घाम’ । यौन चाहनालाई व्यक्त गर्न गाह्रो हुन्छ जुनसुकै नवयौवना वा बैँसले भरिपूर्ण युवतीलाई । त्यस्तोमा कसैले उसलाई बाटोघाटो, सहर–बजार वा घर–आँगनमा कर्के आँखाले हेरिदिँदा पनि ऊ लाजले भुतुक्क हुन्छे । कसैको सुम्सुम्याइँ र हल्का स्पर्श मात्रले पनि ऊ लठ्ठिन्छे र उसैको अघिल्तिर लुट्पुटिन थाल्छे । यहाँसम्म कि आफूलाई समर्पण गर्न समेत पछि पर्दिन् यौवनको मातमा । यौन आकाँक्षाले मदहोस भएर । अनि जब होसमा फर्कन्छे तब उसलाई ग्लानीले पीडा दिन्छ र त्यो पीडा आँसु बनाएर झार्छे आँखाबाट । वर्षामा बलेँसीबाट पानी झरे झैँ । यहाँ कविले घामलाई यौटा जवान युवकको रूपमा प्रस्तुत गर्नुभएको छ । घाम – तातो घाम । तातो घाम अर्थात् पूर्ण यौवन र यौनाकाँक्षाले कामातुर व्यक्ति ।

जब कठ्याङ्ग्रिएको जोवनले
करके आँखा पारेर खिसिक्क दाँत देखाउँछ
युवती लाजले भुतुक्क हुन्छे
अनौठो आनन्द अनुभव गर्छे । (रापिलो घाम, पृष्ठ ७)

पर्खाई टीठलाग्दो र पट्यारलाग्दो हुन्छ । आफ्नो रहर पूरा गर्ने प्रतीक्षामा बसिरहेको यौटा लोग्नेमान्छेभित्र अलिकति रक्सीको मात चढेपछि सेलाइसकेको विद्रोह पनि जागेर आउँछ । उसको जोश र आँट बढेर आउँछ । ऊभित्रको दमित कामेच्छा समेत व्यूँझिन्छ र उसको शरीर तातेर आउँछ जब ऊ यौटा स्वास्नीमान्छेको कँस्सिएको छाती देख्छ । स्वास्नीमान्छे व्रेसियरभित्र आफ्नो यौवनलाई लुकाइरहेकी हुन्छे तर त्यो जति थिचेर दबाए पनि झन टड्कारो र प्रष्ट भइरहेको हुन्छ मान्छेको आँखा अघिल्तिर । यौटा लोग्नेमान्छे आफ्नो चाहना पूृरा गर्न लामो पर्खाईमा हुन्छ भने यौटी स्वास्नीमान्छे आफ्नो चाहना पूरा गरिदिन नसक्ने नपुङ्सकजस्तो यो युगसँग विद्रोह गर्छे । कस्तो विरोधाभास छ लोग्नेमान्छेको शक्ति र स्वास्नीमान्छेको चाहनाबीच । एकअर्काको निम्ति आवश्यक भएर पनि त्यसको प्राप्ति नहुनु साँच्चै नै बिडम्बना होइन र? आफ्नो इच्छा तृप्त नहुँदा चाहे त्यो लोग्नेमान्छे होस् चाहे त्यो स्वास्नीमान्छे, दुवै दुःखीत र खिन्न हुन्छन् । यो युग र यहाँका मानिसहरूसित तिनीहरू आक्रोसित हुन्छन् । त्यही भावनालाई उजागर गर्दै अनि कविको कलम अघिसर्छ –

झस्किन्छ एकान्तमा कुमारित्व झस्किन्छ समाधान नपाएर
बढ्दै जान्छ एक्लोपनको बोझ सम्पूर्ण वातावरणलाई खलबल्याउँदै
थिच्न खोज्छे युगलाई यौटा स्वास्नीमान्छे नाङ्गो दूधको मुन्टो देखाएर
विद्रोह गर्छे यो युगसित तिघ्रा सार्दै स्वास्नीमान्छे
नपुङ्सकको साँध पार गरेर
कत्रो अन्तर यो जीवनमा ?
आफूभित्र हुल्न खोजिएको यौटा पुरूसत्व (रित्तो पर्खाई, पृष्ठ २७)

यौनकुण्ठा र यौन अतृप्तिको पराकाष्ठाको अवस्थालाई कविले वर्णन गरेका छन् । मानिसको हरेक चाहना पूरा भएमा मात्र ऊ खुसी र सुखी हुन्छ । तर त्यो सम्भव छैन सबैलाई । त्यसमा पनि यौन चाहाना पूरा हुन पनि लोग्नेमान्छे र स्वास्नीमान्छे दुवै पर्खाईमा बसेका हुन्छन् । त्यो पर्खाइ यदि चाहाना विपरीत भइदियो भने पर्खाइ आफैँमा रित्तो र निरस भइदिन्छ । तब यौनचाहना केवल कल्पनामा मात्र सीमित हुन्छ र वास्ताविकताभन्दा टाढाटाढा । यस्तो अवस्थामा स्वास्नीमान्छेले नपुङ्सकजस्तो समयसँग विद्रोह गर्नु स्वभाविकै हो ।

लोग्नेमान्छे र स्वास्नीमान्छेबीचको सम्बन्धलाई लिङ्ग र कुण्डको बिम्ब प्रयोग गरी सृष्टिको प्रवाहलाई यसरी व्यक्त गर्नु भएको छ —

शिवलिङ्ग सधैं ठाडो भएर हेरिरहन्छ
कुण्ड सधैं गहिरिएर निर्मल भइरहन्छ । (कलङिकत आवाज, पृष्ठ ३९)

यौनाशक्तिको चरम सीमामा पुगेको कुनै पनि पुरूष मायालुभित्र यौटा त्यस्तो गन्ध भेट्छ जसले उसलाई हरबखत लठ्याइरहन्छ । मायालुलाई देखेपछि उसलाई इर्ष्या लाग्छ । ऊ मायालुलाई कागजलाई झैँ कच्याककुचुक यौटै डल्लो पारेर सम्पूर्ण आफैँभित्र राख्न चाहन्छ । कविको यो भावना निकै जोसिलो र तेजिलो छ । यौन आशक्ति र यौनभावनाले परिपूर्ण यौटा पुरूष जस्तै आफैँलाई पात्र बनाएर लेख्छन् –

अब त
तिमीभित्रको गन्धले लठ्ठिएको म
तिमीलाई देख्यो कि ईष्र्या लाग्छ
अनि एकाएक,
कच्याककुचुक पारेर आफूभित्र हुलिदिन मन लाग्छ ।

(एकाएक बगिसकेको हुन्छ, पृष्ठ ६१)

जहाँ जतिखेर मायालुलाई देखेपछि उनीभित्रको पुरुषत्व अझ शिर ठाडो पारेर उभिन्छ । हरेक युवतीलाई आफ्नै र आफूजस्तै यौनाशक्तिले भरिपूर्ण सम्झन्छन् र आफैँलाई बिर्सेर उसको सामु जेजस्तो अवस्थामा पनि प्रस्तुत हुन तम्सिन्छन् । अनि यसरी मनको भित्री यौनचाहाना यसरी उजागर गर्छन् –

तिमीलाई जुन क्षणमा देखे पनि
आफ्नै जस्तो लाग्छ
आफू जस्तै लाग्छ
सम्पूर्ण आफ्नो रूप फालेर
नाङ्गिन मन लाग्छ । (ऐ. ऐ., पृष्ठ ६२)

उनी आफ्नी मायालुलाई इच्छाको केन्द्रबिन्दु आफैँलाई बनाइदिन अनुरोध गर्छन् । आफू जहाँ भए पनि उनले चाहेको समयमा जे जसो गर्न पनि तयार हुन्छन् । मायालुको सामु कुनै लाज नमानी खुला प्रस्ताव राख्छन् यस प्रकारः

इच्छाको सम्पूर्ण केन्द्रबिन्दु
मलाइ नै बनाउ
अनि म वायुपंखी घोडा भएर तिमीमाथि चढुँला
तिमीले भनेजस्तै ।
तिमीले चाहेजस्तै । (केन्द्रबिन्दु, पृष्ठ ६३)

यस प्रकार नेपाली साहित्यमा यौनका पक्षमा बलियो वकालत गर्नुहुने पुष्कर लोहनी जीवनलाई विभिन्न दृष्टिकोणबाट नियाल्नु पनि हुन्छ । उहाँले आफ्नो कवितासङ्ग्रह “कौडी”मा जीवनका बारेमा धेरै भावनाहरू अभिव्यक्त गर्नुभएको छ । जीवन – मानिसको जीवन, संसारमा सबभन्दा महत्वपूर्ण छ । यो छ र त संसार रमाइलो छ । संसार हुनुको सार्थकता छ । अन्य प्राणीहरूभन्दा सर्वश्रेष्ठ प्राणी मानिस नै हो । मानिस विपनामा बाँच्ने मात्र होइन कि ऊ जीवनमा धेरै सपना पनि देख्छ । त्यसैले उसको अर्को संसार पनि छ – सपनाको संसार । संवेदनशील मानिसको सपना पनि संवेनदशील नै हुन्छ । यौटा मीठो सपनाको परिधिभित्र बाँचिरहेको मानिस कहिलेकाहीँ आफैँ पनि सपनाको संसारमा हराउन पुग्छ । अल्मलिन पुग्छ । “सपनै सपनाको चाङ” शीर्षक कवितामा कवि यसरी ब्युँझन्छन् सपनाबाट र भन्छन् —

झल्यास्स हुन्छु
अनि पो थाहा हुन्छ
टुँडीखेलको माझमा म त एक्लै रै छु ।

(सपनै सपनाको चाङ्, पृष्ठः १०)

हो, मान्छे सपना एक्लै देख्छ र सपनाबाट ब्युँझदा पनि उनी आफूलाई एक्लै नै पाउँछ । यहाँ कविले जेजस्तो सपना देखे त्यो आफ्नै देश, घर आँगन र आफू उभिएकै माटोमा देखे । टुँडिखेलजस्तै विशाल र फराकिलो थियो उहाँको सपना । साँच्चै सपना ठूलै देख्नु पर्दछ मानिसले । उनले देखेको सपना जीवनसँग गाँसिएको अनेक आकाँक्षा र आशाहरूको शृङ्खला हुन् । कति पूरा हुन्छन् कति हुँदैनन् । सबै मानिसलाई आफ्नो जीवन सार्थक र सुखी पार्न चाहन्छन् । तर त्यो सहजै पाउन कठिन हुन्छ । धेरै परिश्रम गर्दागर्दै पनि अनेक बाधा–अड्चनले त्यसलाई सधैं पछाडि धकेलिरहेको हुन्छ । आफू बाँचेको ठाउँ र परिवेश जहिले पनि चुनौतीपूर्ण हुन्छ त्यो चुनौतीसँग जहिले पनि लडिरहनु पर्दछ । र त्यसको सामना गरिरहनु पर्दछ । जहाँ जहिलेसुकै पनि ज्यूँका त्यूँ भैरहन्छन् मानिसको जीवनको विरूद्ध खडा हुनेहरू जसले हरबखत जीवनलाई टेढो आँखा तरिरहेको हुन्छ । आफू बाँचेको समयले जहिले पनि जीवनलाई चारैतिरबाट खेदिरहेको हुन्छ । लखेटिरहेको हुन्छ । जीवनमा धेरै धोखा पाइन्छ । धोका दिनेहरू धेरै छन् । आफू बाँचेको समय, परिवेश र अस्वस्थ वातावरणले मानिसलाई धोकासिवाय केही दिँदैन । ढल्नै लागेका पुराना भित्ताहरू हुन् कि खस्नै लागेका टुँडालहरू, यिनीहरूले जतिखेर पनि जीवनको खिल्ली उडाइरहन्छन् । यही हो जीवन कमजोर हुनुको नियति पनि । उज्यालोको आशमा बस्दाबस्दा उज्यालो नै अपहरित भैसक्छ थाहा पाई नपाई । त्यसैले त कवि लेख्छन् –

जुगौंदेखि लगलगिएको भित्ताले खिल्ली उडाउँछ
अझै धोका पाइरहेछौं मक्किएका टुँडालहरूबाट
छानाको एक पाखा खसिसकेछ
र, फुटेछ कोठाभित्र उज्यालाका मुहानहरू ।

(सपनै सपनाको चाङ्, पृष्ठः ११)

मानिसले जति धेरै र जति ठूलो सपना देखे पनि त्यो सपना पूर्ण भने थोरै मात्र हुन्छ । तर पनि ऊ सपना देख्न छोड्दैन, सपना देखिरहन्छ जीवनभर । यद्यपि जीवनको परिधि खुम्चिंदै गए पनि, जीवनको आयु छोटिदै गए पनि मानिस सपना बटुल्न भने छोड्दैन । कविकै शब्दमा –

सधैं सपनैसपनाको पत्र पल्टाउँदै जान्छु
खुम्चिँदै गएको जीवनको परिधि
मेरो सानो कोठामा गएर टुङ्गिन्छ । (ऐ. ऐ., पृष्ठः १२)

युग अर्थात् समय । समय हामीले बाँचिरहेको, भोगिरहेको र देखिरहेको–जो आफैँमा चुनौतीपूर्ण छ । बाँच्नेक्रममा हरबखत यसैसँग जुधिरहनु पर्दछ, अनेक बाधाहरू आउँछन् र तिनीहरूको सामना डटेर गर्नु पर्दछ । कहिलेकाहीँ जो कोहीलाई पनि लाग्छ कि यो जीवन वाक्कलाग्दो छ । दिक्कलाग्दो छ । कवि पुष्कर लोहनी कहिलेकाहीँ भावनामा वहकिएर जीवनप्रति उदासिन हुँदै बाँच्न नसक्ने स्थितिलाई यसरी व्यक्त गर्दछन् –

रेष्टुराभित्र छरिएको आवाज–
वाक्कलाग्दो जीवन
म एक्लै बाँच्न सक्तिनँ
यी लामा लामा दिनहरूसँग भिडेर । (युगको आवाज, पृष्ठः १३)

एकातिर कवि जीवनलाई निरस र उदास देख्दछन् भने अर्कोतिर जीवन बाँच्ने चाहानाबाट पर रहन पनि सक्दैनन् । जे जस्तो अवस्थामा रहेर पनि जे जस्तो विवशता र बाध्यता भोगेर पनि उनी अझ बाँच्न चाहन्छन् । यस संसारको मोहले उनभित्र बाँच्ने रहर अझ जागृत भइरहन्छ । मानिसबाट जति विश्वासघात पाए पनि, जति धोका खाए पनि, एक्लोपनले गाँजे पनि र मृत्युको छायाले आफूलाई घेरे पनि मानिस बाँच्न खोज्छ । अर्थात जीवनमा निरासा, छट्पटी र कुन्ठाहरूको सामना गर्दै र मृत्युसँग पनि जुध्दै मानिस बाँच्न चाहन्छ । त्यसैले कवि लेख्छन्–

अब त बाँच्ने रहर धेरैधेरै बढेको छ
सिकाउ, मलाई बाँच्न सिकाउ
सिकाउ, म बाँच्न चाहन्छु
सिकाउ, म मृत्युसित भिड्छु
सिकाउ, म एक्लोपनलाई लघार्छु ।
मलाई मृत्युको छायाबाट पर राख, पर राख
मलाई पनि बाँच्ने रहर छ । (बाँच्ने रहर, पृष्ठ १८)

जीवनलाई हरेक कोणबाट चिहाउने क्रममा कवि मान्छेको अभिलाषालाई समेत मृत्युको खाल्डोमा नै हुर्किरहेको देख्छन् । मानिसभित्र अनेकौं अभिलाषा हुन्छन् । तिनै अभिलाषाहरूभित्रै मानिस पनि बाँचिरहेको हुन्छ । यो यौटा वास्ताविकता हो यथार्थ जीवनको । त्यसैले कवि यौटा प्रश्न गर्दछन् –

के हाम्रो जीवन नबुझिएर संघर्षमा व्यस्त होला
अबूझ भएर एक्लै आफैँलाई धोका दिन सकिएला त?

(मृत्युको खाल्डोमा हुर्केको अभिलाषा, पृष्ठ १९)

संघर्षको अर्को नाम हो जीवन । त्यसैले होला योे सत्यलाई स्वीकार्दै कवि मृत्युसँग जुध्न तम्सिन्छन् । बाँच्नुको चाहनामा जस्तोसुकै बाधासँग पनि डट्न चाहन्छन्, भीड्न चाहन्छन् । सोझो र लुखुरे तालबाट जीवन बाँच्न सकिँदैन ।

जीवन जिउनुको क्रममा मानिसले हरेक बाधा–अड्चन, पीडा, सामाजिक, राजनीतिक र आर्थिक विडम्बना र विसङ्गति, द्वन्द्व, हत्या, हिँसा र अँध्यारो, अन्याय र अत्याचार आदि अनेकौं सामाजिक घटना दुर्घटनाका अवस्थाहरूसँग जुधिरहनु पर्दछ । अर्थात् तिनीहरूसँग निरन्तर संघर्षरत रहनु पर्दछ । त्यस्तो अवस्थाहरूबाट गुज्रँदा अनेकौं सफलता र असफलताहरूबीच जीवन पीडित र पिल्सिएको हुन्छ । जसले गर्दा यौटा संवेदनशील व्यक्तिभित्र जीवनप्रति एक प्रकारको वितृष्णा पैदा हुन्छ, जीवन हार–जीतको संघारमा उभिएको आभाष हुन्छ । आफ्नै परिचय र रूपको मृत्यु भएको जस्तो अनुभव पनि गर्दछ । त्यसैले कविको कलम यो लेख्छ –

उफ ! यो घृणालाग्दो जीवन
उफ ! गुनासै गुनासोमा हारेको जीवन
हामीले आफ्नै रूपलाई मारेका छौं
जानी जानी आफ्नै हातले आफ्नै कोठामा
अनि छट्पटाउँछौं हामी नै मृत्युको बाटो नपाएर ।

(मृत्युको खाल्टोमा हुर्केको अभिलाषा, पृष्ठ २०)

मानिस मानिसदेखि नै सशङ्कित हुनु पर्ने यो वर्तमान अवस्थामा कवि भित्ताहरूबाट समेत आफूलाई सशङ्कित पाउँछन् । अर्थात मानवीय अवयव–आँखा र कान नभएको भित्ताले यहाँ सुन्छ र देख्छ पनि । हामीकहाँ प्रचलित उखानै छ – भित्ताको पनि कान हुन्छ । त्यसैको कारण कहीँ केही कुरा गर्दा पनि होसियार हुनु पर्दछ । थाहै नपाई कसै न कसैले सुनेका हुन्छन् हाम्रा संवादहरू । सायद यही कारणले होला कवि भित्तादेखि सशङ्कित हुनु परेको र त कवि भन्छन् –

नहाँस मलाई देखेर
पाइला टेक्दै हिँडेको मभित्र विद्रोह नगर
साहारा खोज्दै हिँड्दा थाकेका मेरा इतिहास
नकोट्याउ मेरो इतिहास फेरि मेरो अगाडि आएर
जमेका मेरा रगतलाई अब पनि पातलो बनाउने कोसिस
सशङ्कित भित्ताहरू ! (सशङ्कित भित्ता, पृष्ठ २२)

सधैं आफू विरूद्ध उभिएको यो वर्तमानको अनेक शङ्का–आशङ्काहरूको चक्रव्यूहमा परेका कवि आफू षडयन्त्रमा फसेको ठान्दछन् । त्यो अनुभव र अनुभूतिलाई उनी यसरी व्यक्त गर्दछन् —

मलाई त यौटा डरलाग्दा विश्वासहरूले भरिएको रात चाहिन्छ
म सधैं षडयन्त्रमा फस्छु
र निदाउँछु, भोलिपल्ट हारेका सपना थुपारेर । (सशङ्कित भित्ता, पृष्ठ २३)

यहाँ कविले डरलाग्दा विश्वासहरूको माग गर्नुभएको छ । विश्वास पनि डरलाग्दो ? यो कस्तो आश्चर्य । जबकि विश्वास त भरपर्दो पो हुन्छ । स्वीकार योग्य हुन्छ । तर कवि त्यस्तो रात चाहन्छन् जसमा डरलाग्दो विश्वास भरिएको होस् । रात आफैँमा डरलाग्दो हुन्छ । रातको विश्वास गर्नु हुन्न । अँध्यारो भनेको अँध्यारो नै हो । अँँध्यारोभित्रै त बुनिन्छन् षड्यन्त्रका तानावाना । हामीसँग ठूलाठूला षड्यन्त्रका डरलाग्दा घटनाहरू छन् इतिहास र वर्तमानमा पनि । हुनसक्छ हाम्रो भविष्य अझ त्योभन्दा पनि ठूलो षड्यन्त्रमा पर्ला । कसले भन्न सक्छ र भोलिको कुरा? मानवतालाई चटक्कै बिर्सेर आफ्नै मात्र स्वार्थ पूरा गर्ने उद्देश्यले सधैंजसो मानिसको अस्तित्वमाथि नै आक्रमण र आतङ्क मच्चाउँदै हिँडेको वर्तमान त्यसै पनि डरलाग्दो सावित भएको छ । सायद त्यसै भएर होला कवि यही कुरालाई कवितामार्फत् भन्दछन् –

म त यौटा कथा बनिसकें
सुन्दा र सुनाउँदा आफैँ समेत बिलाएर हराएको
एकै क्षण टाँस्सिएको फ्रेन्च लेदर
मृत्यु अँगालेर हिँडेको युगसित योभन्दा अरू के छ र ?
पतित भएर फालिएको मानिसको लाम । (सशङ्कित भित्ता, पृष्ठः २४)

मानिस त्यो प्राणी हो जसभित्र अनेक आकाँक्षा पल्लवित भइरहेको हुन्छ । ती आकाँक्षा कहिले पनि मर्दैनन् जसरी कहिल्यै मर्दैन चउरको हरियो दूबो । दूबो जति छाँटे पनि जति काटे पनि झन्झन मौलाउँछ । झाङ्गिन्छ । फैलिन्छ यौटा बृहत आकारमा । दूबो नै दूबोले ढाकिएको चउर झैँ बनेको मानिसको छाती पनि सुन्दर र हरियो देखिन्छ । हरियो गन्ध अर्थात् जीवनको मीठो वासना । त्यसैले त मानिसहरू आफूभित्र निसासिरहेको र उठिरहेको तातो उकुसमुकुसलाई बाहिर फाल्न त्यही हरियो दूबोको चउरमा जान्छन् । आफूलाई स्वच्छ, सफा र फुर्तिलो पारेर घर फर्कन्छन् । कवि मानिसको इच्छा र दूबोलाई यौटा सत्यको रूपमा प्रस्तुत गर्न खोज्छन् । सत्य सधैं उजागर भइरहन्छ । किनकि सत्य कहिले मर्दैन । झूठो कहिले टिक्दैन । जसरी दूबो अमर हुन्छ, दूबो उम्रिरहन्छ र फैलिरहन्छ हाम्रो आँखावरिपरि, हाम्रो घरआँगनभरि । कवि लेख्छन् –

ढुङ्गाको काप कापबाट
दूबो निस्के झैँ
हृदयको कुना कुनाबाट
तरल भएर इच्छा बग्न थाल्छ
दूबो पलाए झैँ
इच्छा सधैं सधैं मलाई नै रहन्छ । (दूबो, पृष्ठः २५)

जीवनका अनगिन्ती मोडहरूमा कवि आफूलाई हिँडाइरहेका हुन्छन् । जीवन बाँच्नुको क्रममा जीवनसँग समय क्रमशः टाढिँदै जान्छ । वर्षहरू आइरहन्छन् । गइरहन्छन् । आपूले नचाहँदा नचाहँदै पनि वर्षहरू बित्दै जान्छन् । जीवनलाई थोत्रो पारेर । यही क्रममा बाध्यतावश प्रत्येक आउने वर्षहरूसित हामीले हात मिलाएर सम्झौता गर्नुको विकल्प हुँदैन । आफू जति कमजोर र दुब्लाउँदै गए पनि आमाले छातीको लाम्टा अर्थात दूध चुसाएर बच्चालाई हुर्काउन प्रयास गरे झैँ आफैँलाई रित्याएरै भए पनि आफ्ना पापहरू पखाल्ने कोसिस गर्दछ मान्छे हरेक वर्ष । यो यौटा जीवनको रीत नै हो । समय अनुसार बाँच्नु र समयसँगै सम्झौता गर्नु मानिसको साश्वत नियति हो । चाहेर पनि समयको विरूद्ध जान सक्दैन मान्छे । समयले जे जस्तो परिवर्तन ल्याउँछ त्यसलाई स्वीकार नगरी धर पाउँदैन । यही यथार्थतालाई कविको कविता बोल्छ —

सायद म बाँचिरहेछु
आफ्ना लाम्टाहरू अरूलाई चुसाएर
प्रत्येक आउने वर्षहरूसित हात मिलाएर

(आफूलाई हलुको पारेर, पृष्ठः२८)
… … …
मेरो एक अञ्जुली पानीमा
विरुपाक्ष सास फेर्छ
एक फन्को घुमाइमा
उन्मत्त भैरव तृप्त हुन्छ (ऐ. ऐ., पृष्ठ २९)

मानिस स्वतन्त्र भएर बाँच्न चाहन्छ । आफ्नो स्वतन्त्र अस्तित्वलाई सधैं जोगाइराख्न चाहन्छ । तर विभिन्न कारणले उसको यी दुवै चाहना अपूर्ण हुन्छन् । सायद उसमा श्राप परेको छ कि उसको चाहना अपूर्ण नै रहोस् । तर यो श्रामबाट मुक्ति पाउने कहिले त? ऊसँग विरुपाक्षको जस्तो आश र सिसिपसको जस्तै विश्वास लिएर बाँचिरहुनुसिवाय अर्को विकल्प छैन । उपाय छैन । अनि कवि गुनासो पोख्छन् –

म यौटा विश्वामित्र
स्वतन्त्र भएर एक्लै रहन सक्तिनँ
म अझ सबको सामुन्ने नाङ्गिन चाहन्थें
लगौंटीले थिचेको मेरो अस्तित्व
कता फुस्किन्छ कता ! (हंस, पृष्ठः ३४)

आँखिर जीवन के हो त ? यो मुलभूत प्रश्न सबैको वरिपरि घुमिरहेकै हुन्छ । कसैले यसलाई सहजरूपमा लिन्छन् भने कसैले गहन अर्थमा । मानिसले जीवनलाई जुनसुकै दृष्टिकोढणबाट हेरे पनि परिभाषामा बाँधेर राखे पनि र सविस्तार व्याख्या–विस्तार गरे पनि जीवन आआफ्नो भोगाइबाट प्राप्त अनुभव र अनुभूति नै हो । जीवन सबै कुरा हुँदाहुँदै पनि जीवन केही पनि होइन । किनकि जीवन आज छ भाेलि छैन । एकक्षणको रमिताजस्तो । रमिता हेरून्जेल सबथोक आफू अगाडि नै हुन्छ जब रमिता सकिन्छ अनि त सम्झना मात्र । झझल्को मात्र । यही कटु सत्य यथार्थलाई कवि यसरी कवितामा उतार्छन् –

मूर्ख जीवन के नै हो र
छायैछायाको खातले बनेको
अन्धकारको थुप्रो त हो नि ! (जीवन यै त हो नि, पृष्ठः ३७)

कति सार्थक छ उहाँको उद्गार जीवनप्रति । छाया आफैँमा यौटा अस्थायी क्षण हो । त्यो क्षण दृष्य र अदृष्य दुवै हो । अरूको सहायतामार्फत् प्रकट हुने दृष्य नै यौटा छाया हो । अर्थात् कुनै वस्तुमाथि जब घाम पर्दछ तब मात्र त्यसको छाया पनि प्रकट हुन्छ । जब घाम हराउँछ छाया पनि हराउँछ । त्यसैले यहाँ छाया छ पनि र छैन पनि । कति यथार्थ भाव ! जीवनप्रति । कविले जीवनलाई छायाजस्तै देख्नु भएको छ भोग्नु भएको छ । सायद यो सबैको उस्तै अनुभव हो । यसलाई नकार्न सकिँदैन ।

खासगरी उहाँ माया पिरतीका बारेमा बढी संवेदनशील भएर होला आफ्नी मायालुलाई धुर्की सुनाउन चाहनुहुन्छ तर उनी भने प्रणय–गीत मात्र अलापिरहन्छिन् । मायालुको मायाले जेलिएको कविको भावुकहृदय मायालुको हर आवाजलाई आह्वान मात्र सम्झन्छ यसरी –

धुर्की सुनाउन खोज्दा पनि
प्रयाण–गीत मात्र अलापिरहेको देखेर
तिम्रो मायाले जेलिएको मेरो हृदयले
हर आवाजलाई तिम्रै आह्वान सम्झन्छन् । (सुनाउनु छ, पृष्ठ ४२)

लेखक परिचय

त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रबाट अवकाशप्राप्त दिव्य गिरी ललितपुरको इमाडोलमा जन्मनु भएको हो । २०३२ सालमा नै गुलाफ रहेछ कागजको कविता प्रकाशन गरी लेखनीमा प्रवेश गर्नु भएपछि उहाँका आठ वटा कृति प्रकाशित भइसकेका छन् । उहाँका कङ्काल बस्ती (मुक्तकसङ्ग्रह), २०३८, सागर लहर किनार (गजलसङ्ग्रह), २०५४, धुनी तापेर (हाइकुसङ्ग्रह), २०६१, अनामिका (कथासङ्ग्रह), २०६१, स्वप्निल शिविर (मुक्तकसङ्ग्रह), २०६४, हराएका इलाकाहरू (कवितासङ्ग्रह), २०७३, भेडीगोठ र भेडो (लघुकथाकवितासङ्ग्रह), २०७३, सम्झनामा शकुन्तला (सस्मरण), २०७७ प्रकाशित भइसकेका छन् भने केही पुस्तक प्रकाशन हुने क्रममा रहेका छन् । उहाँले २०३७ सालदेखि २०३९ सालसम्म सौरभ साहित्यिक
साहित्यिक द्वैमासिकको सहसम्पादनसमेत गर्नुभएको थियो ।

उहाँले विशिष्ट कथा सम्मान (‘रचना’ रजतजयन्ती कथाअङ्कमा समावेश गरिएको पहिचान शिर्षकको कथाको निम्ति विशिष्ट कथा सम्मान प्राप्त भएको ।), उत्कृष्ट मुक्तकको लागि वैजयन्ती स्रष्टा सम्मान, काठमाडौं, २०७२, गोरखापत्र संस्थान, काठमाडौंद्वारा २०७४ मा आयोजित राष्ट्रिय लघुकथा प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको थियो ।
उहाँ अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको उपाध्यक्ष हुनुहुन्छ भने नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंको सदस्य हुनुहुन्छ । त्यस्तै नेपाल स्रष्टा समाज, काठमाडौंको उहाँ आजीवन सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया
Loading...