सबै घटनाक्रमहरू अकल्पनीय हुँदै गएको थियो । हिजो सबै ठीकठाक दुरुस्त थियो । घरको माहौल रमाइलो थियो सबै परिवारका सदस्यहरू आआफ्नो ठाउँमा व्यस्त थिए समय आफ्नै गतिमा चलिरहेको थियो । अकस्मात् बुबालाई असहज महसुस भयो । पेट फुलेर गाह्रो हुँदै गएको थियो दिउँसोको समय थियो । हतार हतार हामीले बुबालाई हेटौँडा चुरे हिलको इमर्जेन्सीमा पुराइसकेका थियौं ।

बुबालाई कुनै होश थिएन, अनपेक्षित रूपमा मुटुको चाल विस्तारै हराउँदै गएको थियो सर्वाङ्ग शरीर हिउँ जस्तै चिसो हुँदै गएको थियो । अन्ततः ईसीजीले अन्तिम धड्कन बन्द भएको सूचना सम्प्रेषण गर्‍यो इमर्जेन्सी वाडका मेडिकल अफिसरले कार्डियो पल्मनरी नियरेस्ट अट्याकको कारण मृत्यु भएको प्रमाणपत्र थमाइदिए मेरो हातमा ।

चुरे हिल हेटौँडाको लागि सरकारी अस्पतालभन्दा अलिकति सुविधाजन्य लाग्दथ्यो । यदि अलि उत्कृष्ट हस्पिटल हेटौँडामा भइदिएको भए सायद अकस्मात् हृदयाघात भएर बुबालाई गुमाउनु पर्ने अवस्था आउँदैन थियो होला । विधिको विधान स्वीकार्नुबाहेक कुनै विकल्प थिएन हामीसँग ।

मेरो आँखा रसाइरहेका थिए । माहौल एकछिनमा दुःखद बनिसकेको थियो । सबैका आँखा रसाइरहेका देखिन्थे । आमाको अनुहारमा मैले हेर्न सकिनँ । बुबाको शरीर छामें, चालचुल केही थिएन । मनभित्र भक्कानो छुटेर आयो । मन थाम्न सकिनँ, आँसु बरर झरे ।

किशन पौडेल

हेर्दाहेर्दै सबै कुराहरू अकल्पनीय हुँदै गएको थियो । एकैछिनमा आफन्त, नातागोताहरू भेला भैसकेका थिए । टाढा टाढाबाट आउनेहरू गाडी चढिसकेका थिए । अमेरिकाबाट भाइले आफ्नो प्लेनको टिकट बुक गरिसकेको थियो । काखी च्यापेर हस्पिटल लिएर गएको यहीँ हातले बुबाको चिसो पार्थिव शरीरलाई एउटा भ्यानमा सुताएर घरमा ल्याउँदा मेरो मन र मुटुले राम्रोसँग काम गरेको थिएन । हामी सबै जना भएर बुबाको चिसो शरीरलाई आँगनमा रहेको तुलसीको मोठमा सुतायौं । घरगाउँलेहरू आँगनभरि भेला भइसकेका थिए ।

बुबाको चिसो शरीर चिसो आगमनमा सेतो कपडा ओढेर लमतन्न सुतिरहेको थियो । त्योभित्र प्राण भने थिएन । मेरो शरीर भनेर माया गरेको त्यो शरीर त बुबाको त्यही थियो, तर त्यो मेरो भन्ने वस्तु त्यहाँभित्र थिएन । आत्माविनाको शरीरको कुनै औचित्य नहुने रहेछ आखिर त्यो कहाँ गयो उडेर यो संसारमा यहीँ एउटा रहस्य छ कसैले बुझ्न नसकेको ।

आँखा दान गर्नी बुबाको इच्छा थियो । त्यसै अनुरूप आँखा दानको लागि व्यवस्था मिलाउने कुरा भयो । साँझ झमक्क परिसकेको थियो । रातभरि बुबाको शवलाई कुरेर बस्नुपर्ने बाध्यता थियो । अर्को भाइ नेपालगन्जबाट नाइट चढिसकेको थियो । प्राणविनाको शरीरलाई आँगनमा कुरेर हामी दुई दाइभाइ र अन्य दाजुभाइ आफन्तहरूको साथ त्यो रात अनेकौँ कुराहरू गर्दै छर्लङ्ग बितायौँ ।

मनभित्र धेरै कुराहरू दौडिरहेको हुन्थ्यो । आखिर जिन्दगी के नै रहेछ र सबैले एक दिन यो संसार छोडेर जानू नै पर्ने रहेछ । मन बुझाउन यस्तै तर्कना र कल्पनाले मनलाई सान्त्वना दिँदै पुरै रात बुबाको चिसो शरीर छाम्दै कल्पिँदै बित्यो । माइलो भाइ विहानै आठ बजे आइपुग्यो । अघिल्लो दिउँसोसम्म ऊ बर्दियाको कुनै कुनामा थियो । त्यो दिन अकस्मात् ऊ टुप्लुक्क बुबाको पार्थिव शरीर समात्न हेटौँडा आइपुगेको थियो ।

जिन्दगी कसैले सोचेको जस्तो कहाँ हुने रहेछ ! भोलिको दिन कसैलाई थाहा छैन, कुनै भर छैन यस्तै रहेछ यो जिन्दगी ।

हामीलाई एउटा समाज र संस्कारले बाँधेको हुँदोरहेछ । परम्परा र संस्कृतिले आफैं डोर्‍याउने रहेछ । म यो गर्छु र त्यो गर्छु भनेर आफैं केही नहुने रहेछ ।

दिउँसो ३ बजे बुबाले प्राण त्याग गर्नुभएको, विहान ८ बजिसकेको थियो । सद्गतको लागि सागर जान हतार सबैलाई भइरहेको थियो । घरवरिपरि टो छिमेकहरू जम्मा भैसकेका थिए ।

पहिलो पिण्ड ढोकामा दिँदै तीन दाजुभाइ र ज्वाइँ भएर खाली खुट्टा धोती र गन्जीमा सागरतिर लाग्यौँ । जीवनकै पहिलो दुखद् अनुभव थियो मेरो यसरी खाली खुट्टा, धोती र गन्जीमा एउटा पार्थिव शरीरलाई बाँसमा बाँधेर काँधमा बोकेर लम्केको ।

हामीलाई एउटा समाज र संस्कारले बाँधेको हुँदोरहेछ । परम्परा र संस्कृतिले आफैं डोर्‍याउने रहेछ । म यो गर्छु र त्यो गर्छु भनेर आफैं केही नहुने रहेछ ।

बजारको मूल बाटो हुँदै, चौबाटोमा पिण्ड दान दिँदै, तातो पीच र ग्राभेल बाटोमा खाली खुट्टा बुबाको पार्थिव शरीर बोकेर हिँडेको पत्तै भएन । राप्ती तटमा बुबाको पार्थिव शरीरको लागि गाउँले दाजुभाइहरूले पहिले नै दाउराको बन्दोबस्त गरी चिता तयार गरिसक्नुभएको रहेछ ।

समाज, टोलछिमेकी यस्तो दुःखद् घडीमा अति सक्रिय हुने रहेछन् । हरेक कुराहरू स्वतःस्फूर्त हुने रहेछ । हाम्रो समाजको एउटा महत्त्वपूर्ण सकारात्मक पक्ष भनेको यही रहेछ । एक प्रकारको भाग्यमानी र गर्व महसुस हुँदोरहेछ यतिखेर, यो समाज, आफन्त र कुटुम्बहरूलाई नजिकैबाट महसुस गर्न पाउँदा ।

‘मलामी बोलाउनु पर्दैन, कमाउनु पर्छ’ भन्छन् । राप्ती किनार मलामीहरूले भरिएको देखिन्थ्यो चारैतिर । नातागोता, साथीभाइ र छरछिमेकी छरपस्ट छरिएका देखिन्थे । नचिनेको र नभेटेका अनुहारहरू पनि दाहसंस्कारमा सहभागी भएका देखिन्थे । बुबाको गुणगान गाउनेहरू धेरै थिए । ‘असल हुनुहुन्थ्यो, मनभित्र पाप थिएन, हल्का हुनुहुन्थ्यो । असल मान्छेको मृत्यु यस्तै सहजरूपमा हुन्छ । धेरै भाग्यमानी हुनुहुँदो रहेछ ।’ यस्तै यस्तै कुराहरू मलामीहरूको मुखबाट सुनिन्थे ।

चितामा पार्थिव शरीरलाई राखेर, तीनपटक घुमेर, मुखभित्र दागबत्ती दिन लाग्दा मेरो हात चसक्क पोल्यो । मलाई अलिकति पोल्दा कति धेरै दुख्यो तर हेर्दाहेर्दै बुबाको यति धेरै माया गरेको शरीर डढेर खरानी भयो । उहाँलाई अलिकति पनि दुखेन । पंचतत्वले बनेको शरीर आखिर त्यहीँ मिलेर गयो । प्राण वायुमा गयो, शरीर आगोले जलायो । अस्तु माटो र पानीमा घनिभूत भएर मिल्यो । आखिर एक दिन जिन्दगी यसैगरी मिलेर जाने रहेछ । तेरो मेरो भन्नु, रिस, ईर्ष्या र घमन्ड गर्नु पनि बेकार रहेछ । गम्भीर मृत्युबोध महसुस हुने रहेछ यतिखेर ।

भारी काँध लिएर घाट गएका हामी हल्का भएर फर्किँदै थियौँ । तर मन भने गह्रुङ्गो थियो । मलामीहरु घाटबाट नै सबै बिदा भैसकेका थिए । केवल बाँकी थिए दुई चार जना नजिकका आफन्तहरू । मृत्यु पर्यन्त गर्ने तेह्र दिनको काजक्रियाको कर्म सुरु भैसकेको थियो । दुई दिनदेखि पेटमा अन्न परेको थिएन । भोकप्यास त्यस्तै थियो, तापनि महसुस रतिभर थिएन । आखिर चल्ने रहेछ यो शरीरको रथ अन्नपानीविना दुई चार दिनसम्म ।

पहिलो रात तातोपानी मात्र खायौँ र आराम गर्यौँ । एउटै कोठाको छेउमा आमा अलग्गै सेतो धोती बेरेर कोरा बस्नु भएको थियो । आमाको त्यो रूपमा देख्दा मलाई कता कता असह्य पीडाबोध हुन्थ्यो । अर्को कोठामा बुहारीहरू हामीजस्तै गरी बसिरहेका थिए । आखिर हाम्रो संस्कार हो । यो सबै भोग्नैपर्छ, एउटा राडी र कम्बलमा चिसो भुइँमाथि ओछ्याएर सुत्यौँ । रात बितेको पनि थाहा नै भएन । हामी शारीरिक र मानसिक थकानले लखतरान परेका थियौँ ।

विहानै कान्छो भाइ हामीसँगै तेह्र दिनको कोरा बस्न कपाल मुन्डा गरेर सेतो कोराको कपडा बेरेर सहभागी हुन आइसकेको थियो । यो एउटा नमीठो पल थियो जिन्दगीको। पहिले पहिले भाइ घर आउँदा एक प्रकारको रौनक आउँथ्यो । एयरपोर्टसम्म लिन जानेहरुको लहर हुन्थ्यो । तर आज ऊ गह्रुङ्गो छाती बोकेर आँखाभरि आँशु टिलपिल पार्दै अथाह पीडा बोकेर एक्लै आइपुगेको थियो ।

भाइ अमेरिकाबाट कतार एअरलाइन्सको १५/२० घण्टाको निरन्तर उडानपछि रातको एक बजे काठमाडौँ उत्रियो । राति नै सुमो बुक गरेर विहान सबेरै आइपुग्यो । सेतो कपडा बेरेर लुसुक्क हामी नजिकै आएर हाम्रो तेह्र दिनको प्रथम काजक्रिया कर्ममा सहभागी भएको थियो ।

अब बुबाको सम्झना, माया र प्रेरणा मात्र हाम्रो साथ छ । उहाँसँगको सामिप्यता अब तस्बिरमा मात्र सीमित भएको छ।

जीवनका हरेक योजनाहरू थाँती राखेर मानिसले कल्पना नगरेको कुराहरू गर्नुपर्ने हुँदो रहेछ । हामीले सोचेर नै के हुने रहेछ र ! आखिर सबै कुराहरू आकस्मिक रूपमा कहीँकतैबाट नियन्त्रित हुने रहेछ ।

मृत्युपर्यन्त गरिने काजक्रियाहरू हाम्रो समाजमा चलिआएको परम्परा अनुसार नै सुचारु भयो । पाचौं दिनबाट गरुड पुराण सुन्न थाल्यौँ । पुराणमा वर्णन गरिएका मृत्युपछि प्राप्त हुने मोक्ष र अर्को जन्मको कर्म अनुसारको दण्ड व्यवस्थाले समाजलाई अनुशासित र सत्कर्म गर्नतर्फ प्रेरित गर्थ्यो । एउटा मन बुझाउने माध्यम थियो गरुड पुराण ।

तेह्र दिनसम्मको सामाजिक परम्परागत र रित्ती संस्कार अनुसार बुबाको सम्पूर्ण काम हामीले पूर्ण गर्यौँ । यो तेह्र दिनभित्र हाम्रा सारा आफन्त, कुलकुटुम्बहरूको धेरै साथ, सहयोग, माया र आत्मीयता हामीले महसुस गर्यौँ । बुबाको तेह्र दिनको सम्पूर्ण कर्म सकेर मासिक रूपमा गरिने मासिक कर्म हामीले हिन्दु पम्परानुसार गर्दै आयौँ ।

बुबा हामीबाट टाढा हुनुभएको पनि वर्ष दिन बितिसकेको छ । बुबाको वार्षीक पुण्यतिथि पनि सकियो पत्तै नपाई । समयको गतिले कोल्टे फेरिसकेको थियो ।

अब बुबाको सम्झना, माया र प्रेरणा मात्र हाम्रो साथ छ । उहाँसँगको सामिप्यता अब तस्बिरमा मात्र सीमित भएको छ। स्मृतिहरू मनभरि पोखिएको छ । हामीबीच बुबाको भौतिक शरीर छैन । तथापि हृदयभित्र जताततै बुबाको स्पर्शहरू महसुस गरिएका छौँ ।