दार्शनिकहरू भन्छन्, सपनाको मृत्यु नै मानिसको मृत्युकाे वास्तविक मोड हो । भौतिक मृत्यु फगत एक प्राकृतिक परिघटना हो । सपनाले नै मानिसलाई अक्कर र भीरहरूमा हिँडाउँछ, आकाशमा उडाउँछ, समुद्र तराउँछ, कहिले हँसाउँछ, कहिले रुवाउँछ । तर सफलताको चुचुरोमा पुर्याउँछ नै भन्ने कुनै पनि प्रत्याभूति सपनाले दिँदैन । सपना र त्यसलाई उभ्याउने आफूसँग भएको अथवा आफूले निर्माण गरेको धरातलबीच सामञ्जस्य भएन भने मान्छे लड्छ र जीवनको महाभारतमा पराजित हुन्छ । यो एउटा शाश्वत सत्य हो ।

यस दार्शनिक सत्यको एउटा बलियो साहित्यिक साक्ष्य हो, युवा उपन्यासकार टंक चौँलागाईंको भर्खरै बजारमा आएको उपन्यास “उबडखाबड” । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । उपन्यासकार चौँलागाईंको यसअघिको उपन्यास “काठमान्डु गीतमा” मा जस्तै यस उपन्यासमा पनि एक अर्धविक्षिप्त र समयको वेगवान् प्रवाहले झड्कारेको एउटा असन्तुलित पात्रको मनोविज्ञनाको आख्यानीकरण छ भने, अन्यत्रजस्तै रंगमञ्च र मनाेरन्जनको दुनियाँको पृष्ठभूमि छ, जुन उपन्यासका चौँलागाईंको आफ्नो कार्यक्षेत्रको दुनियाँ पनि हो । काठमाडौँकै सेरोफेरोमा घुमेको र लेखकले नजिकबाट नियालेको दुनियाँको छाप बोकेको हुनाले पनि उपन्यासको विश्वसनीयता उच्च छ, र सर्वथा ग्राह्य छ ।

उपन्यास, यसको प्रमुख पात्र जीवन नेपालीको करिब आधा जीवनको फेहरिस्त हो । पूर्वको कुनै गाउँबाट, साथी विक्रमको उक्साहटमा हिरो बन्नका लागि उसको काठमाडौँ प्रवेश, रंगमञ्च र चलचित्र क्षेत्रमा उसको अति कारुणिक सङ्घर्ष कथा, प्रेमिका निर्मलासँगको विवाह, दाम्पत्य र सहवास, निर्मलाको मृत्यु र उसको सम्पूर्ण सपनाको विभत्स विघटन, संक्षेपमा यस उपन्यासको कथासार हो । कथामा, सहायक कारकको रूपमा माओवादी द्वन्द्व, सरकारी र विद्रोही सेनाबाट हुने प्रताडना, हत्या, अपहरण, बेपत्ता पार्ने उपक्रम, नेपाली समाजमा व्याप्त छूवाछूत र भेदभाव, राजनैतिक अस्थिरता र अवसरवाद, सहरमा फस्टाएको यौनधन्दा, फिल्म उद्योगमा विद्यमान छालछाम, भोलिवाद र आडम्बर, ठगीका अनेकन संस्करण र छरछिमेकमा यदाकदा देखिने हैकम र दादागिरी आदि विषयले पनि बलियो प्रवेश पाएका छन् । फाट्टफुट्ट देखापर्ने सहयोगी भावना, मानवता,  प्रेम, पात्रहरूको भग्न जीवनलाई जोड्ने सूक्ष्म कडी हुन् ।

महेश पौड्याल

कथा, तरै पनि, जीवनको स्वप्न–सन्धानकै हो । कथा ठूलो विरोधाभासबाट सुरू हुन्छ, जसले सुरूकै पानाबाट मुख्य पात्रको अवश्यम्भावी पराजयको पूर्वानुमान गर्ने आधार पाठकहरूलाई प्रदान गर्दछ । स्वप्न–सन्धानको पनि एउटा बलियो आधार हुन्छ — आफूले देखेका सपना, र आफूसँग भएको प्रकृतिप्रदत्त अथवा आर्जित क्षमताबीचको न्यूनतम सामञ्जस्य । यो सामञ्जस्य शून्य भयो भने कि दुर्घटना हुन्छ, कि चमत्कार । जीवनको जीवन दुर्घटित भएको छ र ऊ, पीडित ज्याकबाट उसैको लवजमा “पिलित द्याक” मा परिणत भएको छ । कारण, उसको हिरो बन्ने सपना, र ऊसँग भएको आर्जित र प्रकृतिक सिपका बीच कुनै पनि सामञ्जस्य छैन । यो सामञ्जस्यको अनुपस्तितिलाई लेखक चौँलागाईँले उपन्यासको मुख्य सार बनाएका छन्, र उपन्यासको सामाजिक सन्देश यसै रहस्यको उद्घाटनमा निहित छ ।

पूर्वको कुनै गाउँमा हुर्किको जीवन, जन्मैदेखि तोते बोल्छ । आकर्षक पनि छैन, र बोल्दा थुक उछिट्याइरहन्छ । कलाकारमा हुनुपर्ने लक्षण कुनै पनि देखिँदैनन् । घरको आर्थिक दशा दारुण छ । दलित भएका कारण सामाजिक अवहेलना पनि सहनुपरेको छ । यो उसको यथार्थ हो । अर्कोपट्टि, बम्बई गएर, तथाकथित रूपमा फिल्मको निर्मितिको ज्ञान आर्जन गरेर आएको भनिएको गाउँले विक्रम काठमाडौँ गएर नेपाली फिल्ममा हिरो हुनू भन्ने सपनाको भूत जीवनको सोझो मस्तिष्कमा भरिदिन्छ । जीवनको यथार्थ र यसरी थोपरिएको सपनाबीच ठूलो खाडल छ, र न्यूनतम सामञ्जस्य पनि छैन । त्यहाँ केवल संघर्ष छ, उपहास छ, दुर्घटना छ र आक्कलझुक्कल झुक्याउन आउने ससाना सफलताजस्ता लाग्ने झिल्का र भ्रमहरू छन् । निर्मम सहरको उपहास छ, बर्बरता छ, उपेक्षा छ ।

कोकाकोला कहिल्यै नचाखेको, कपडा पसलमा राखिने डम्मी नचिनेको र समलिङ्गी सम्बन्धको सुइँको थाहा नपाएको जीवन, बस चढेर काठमाडौँ आउनु आफैँमा एउटा जोखिमको उपक्रम हो । आधुनिक दुनियाँको न्यूनतम ज्ञान पनि नभएको मान्छे, हिरो बन्न काठमाडौँ आउने कुरा पाठकको मनमा त्यति सटिक बस्दैन, तर त्यो लेखकको रोजाइ हो र यो हामी धेरैभित्र देखिने मृगतृष्णाको आख्यानीकरण हो । तर पनि, कारक र कारणबीचको न्यूनतम सामञ्जस्य भने यथार्थवादी उपन्यासहरूको न्यूनतम सर्त हो, जसमा उपन्यासकारले गम्भीर पुनर्विचार गर्नुपर्छ । सुरूकै पानाबाट छर्लङ्गै देखिने सम्भावित जोखिम, पछि गएर कथामा परिलक्षित भयो भने, कथामा त्यति धेरै रहस्य बँच्दैन, र कथाको दुखान्त पटाक्षेपले जन्माउनुपर्ने जति संवेग र सहानुभूति जन्माउँदैन । जीवनको पराजयका लागि पाठक सुरूदेखि नै करिब करिब तयार छन् । त्यसैले, उपन्यासको उत्तरार्धमा देखिने, जीवन नेपालीको दू्र्त अधोगत यात्राहरूले पाठकलाई त्यति संवेदित गर्दैनन् ।

जीवन काठमाडौँ आउनु, बजारको भाषा नबुुझ्दा प्रताडित र लज्ज्ति हुनु, समलिङ्गीहरूबाट बलात्कृत हुनु, प्रहरीको चंगुलमा पर्नु, पूलमुनि रात काट्नु आदि कुराले जीवनको अप्ठ्यारो यात्राको परिचय दिन्छन् । दयालु घरबेटीको घरमा, कुकुरलाई राख्ने गरेको, तर कुकुर मरेपछि खाली भएको कोठा पाउनु उसको भाग्यको टेको हो । सुरूमा भारी बोकेर, सरसामान ओसारेर गुजारा चलाएको जीवन, समयसँगै बागबजारमा अवस्थित चलचित्र तालिम केन्द्रमा पुग्छ  र केही समय तालिम पनि लिन्छ । मिसाल श्रेष्ठ, सन्ते र र्याम्बोजस्ता फिल्मसँग सम्बन्धित मान्छे, र निर्मला उर्फ नूर नाम गरेकी नायिकसँग परिचय हुनु उसको जीवनका नयाँ मोडहरू हुन् । फिल्ममा, उसले र उसको गाउँका साथीहरूले कल्पना गरेजस्तो हिरो ऊ कहिल्यै भएन, तर ससाना गौण भूमिकाहरूमा ऊ आफ्ना सपना टाँग्न बाध्य भयो । कहिले र्याम्बोको हातबाट लुटिन बाध्य भयो, कहिले मिसाल श्रेष्ठको भोलिवादको सिकार भयो । उनी आफैँ पनि समयक्रममा कि पागल भए, कि फरार । फिल्म उद्योगले जीवनलाई दिएको एकमात्र भरपर्दो कुरा भनेको उसकी जीवनसाथी निर्मला हो ।

निर्मलासँगको जीवनको सम्बन्धमा पनि समानताभन्दा बढी असमानता देखिन्छन् । पहिलो त जातमै बेमेल छ । दोस्रो, काठमाडौँमा रेस्टुराँमा नाचेकी, ग्लेमर बुझेकी, र चलचित्रका क्षेत्रमा राम्रो पकड भएकी निर्मला, कुरूप, तोते, नवप्रवेसी र गरिब जीवनसँग बिहे गर्न कसरी राजी भइन्, यसले पाठककाे तर्कसँगकाे न्यूनतम अपेक्षालाई पनि प्रश्नको घेराभित्र पार्छ ।  जीवनको सम्पूर्ण नियति आकस्मिकताहरूको फेहरिस्त हो भन्ने कुरा स्थापित गरिदिन्छ । निर्मलासँगको उसको प्रेम र दाम्पत्य पनि उस्तै उबडखाबड छ । घरबाट कुनै अप्रिय समाचार आएकाले निर्मला आफ्नो घर सिन्धुपाल्चोक जानु, जीवन एक्लै बस्न नसकेकाले पछिपछि लाग्नु, बाटोमा आर्मीद्वारा समाइनु, थुनिनु, पिटिनु र अन्ततः छोडिनु, निर्मलाका दाइको माओवादीबाट हत्या हुनु, जीवन र निर्मलाको आकस्मिक भेट हुनु, उनीहरू काठमाडौँ आउनु र मन्दिरमा बिहे गर्नु आदि घटना रैखिक कथाका कारुणिक ब्रेकरहरू हुन् । काठमाडौँमा पनि, लामो जुँघा राखेका कारणले सुराकी भएको आरोपमा जीवन अपहरणमा पर्नु, मरणासन्न हुने गरी पिटिनु र अस्पताल पर्नु, दलित भएको भेद खुल्नु र घरबेटीबाट निकालिनु, फेरि अर्को ठाउँ सर्नु, क्रमशः छोरी र छोरो जन्मनु, निर्मलाले घरेलु कामदारको रूपमा काम गर्न थाल्नु, छिमेकमा पासाबाट सधैँ प्रताडित हुनु आदि घटनाले जीवनको कारुणिक जीवनमा घाउ थपिररहेका छन् । अभिनय क्षेत्रबाट आक्कलझुक्कल मात्रै काम वा पैसा आउने भएकै कारण जीवन बरू सुटिङका लागि सेट बनाउने र घरैमा सिलाइ गरेर नाट्यसामग्री बनाउने काम गर्न थाल्छ । यसलाई सिप उद्योगमा विकल्पको खोजीको रूपमा पनि अर्थ्याउन सकिएला ।

अधिकांश कथा पूर्वदीप्तिको रूपमा आएको छ । कथाको समय वर्तमान हो । तीज पर्वको पृष्ठभूमि पनि छ । अन्य महिला सबै तीजमा नाच्न गए पनि निर्मला आफूले काम गर्ने घरमा काम गर्न गएकी छिन् । घरमा जीवन पनि काममै छ, नाट्यसामग्रीको निर्माणमा । दुःखद संयोग भनौँ, आफूले काम गर्ने घरको ग्यासको सिलिन्डर सकिएकाले, काँधमा हालेर साट्न जाँदै गरेकी निर्मलालाई कुनै गाडीले ठक्कर दिएर मरणासन्न पारेको छ । उनलाई कुनै दयालु ट्याक्सी ड्राइभरले अस्पताल लगेर छोडिदिएको छ र जीवनलाई खबर गरिदिएको छ । ऊ हतारिएर पुग्छ, अस्पतालले भने बोमाेजिम पैसा काडेर पनि रगतको व्यवस्था गर्छ । तर निर्मलालाई बचाउन सक्दैन । पशुपति आर्य घाटमा एक्लै, दाउरा किन्न चाहिने ठूलो रकमको अभाव तीन  दिनसम्म कुर्छ र अन्ततः एक्लै उनको दाहसंस्कार गर्छ । यसपछि, जीवन नेपालीको जीवनमा बचेका भग्न सपनाहरूको कङ्काल र पुराना र ससाना खुसीहरूको स्मरणमात्रै हो ।

उपन्यासले समातेको धार मनौवैज्ञानिक यथार्थवादको हो । यसको पनि सूक्ष्म स्वरूप आफूको खोजी हो । स्वअस्तित्वको खोजीमा नमिलेको गणित र व्याकरणलाई उपन्यासकारले सतहमा ल्याएका छन् । सपनाको सन्धान र आफूले बोेकेको वास्तविकताबीच न्यूनतम तालमेल हुनुको अपरिहार्यता यस उपन्यासले सूत्रमा दिएको जीवनसन्देश हो । यस तालमेलको अभावमा साथीभाइ, परिवार, समाज, गाउँ, सहर, राज्य, विद्रोही, अथवा भनौँ आफ्नै जीवनसाथी पनि लाचार हुन्छन्  र केही गर्न सक्दैनन् भन्ने कटु यथार्थलाई यस उपन्यासले सतहमा ल्याएको छ । कतै प्रथम र कतै तृतीय पुरुषी दृष्टिविन्दु एउटा सुन्दर प्रयोग हो । सुरूको पाठमा पात्र नै आएर लेखकसँग आफ्नो पात्रताका बारेमा बहस गर्नु र अगाडिको उपन्यास “काठमान्डु गीत” मा छोडिएका कतिपय अनुत्तरित प्रश्नको उत्तर खोज्नुले उपन्यासमा अधिऔपन्यासिक चरित्र र अन्तरपाठको स्वभाव स्थापित गरेको छ । साहित्यिक दृष्टिले यो एक सुन्दर प्रयोग हो ।

यति हुँदाहुँदै पनि उपन्यासमा केही प्रश्न भने छन् । दुःखान्त आख्यानमा के अनुभव गरिएको छ भने एउटा अवचेतन कमजोरीका कारण दुःखमा वा मृत्युको मुखमा पर्ने सकारात्मक पात्रले जुन अनुपातमा पाठकको मनमा करुणा जन्माउँछ,  त्यो सकारात्मकताको अभाव बोकेर उभिएको पात्रले सक्दैन । यस उपन्यासको हकमा, जीवन नेपालीमा, उसले आँटेको क्षेत्रमा सफलता पाउने आधार सुरूदेखि नै न्यून र कमजोर छ । उसको सपना सन्धान करिब करिब जुवाको दाउ जस्तो मात्रै छ । त्यसैले, पाठकको अपेक्षाअनुरूप नै ऊ विफल भएको छ । यो दुखान्त आख्यानको न्यूनतम अपेक्षाको विपरीत छ । निर्मलाको मृत्यको एक दुर्घटनाको कारण हो, जसमा उनको हात छैन । त्यसमा पनि पाठक लामो समय संवेदित हुन सक्दैनन् । फेरि, ऊ आफैँले पनि आफ्नो सपनाको बाटो छोडेर करिब करिब अर्धसिल्ली भन्न सुहाउने जीवन नेपालीलाई पछ्याउनु र उसैसँग सति जानुले निर्मला उद्देश्य र लक्ष्यविहीन पात्रका रूपमा स्थापित हुन्छिन् । त्यसैले, उनको अवसान, मूल कथाको व्याकरणमा अनौठो र अप्रत्यासित लाग्दैन । मृत्यु नै नभएको भए पनि, उनको उपस्थितिले जीवन नेपालीको स्वप्न–सन्धानमा खासै उल्लेख्य योगदान दिएको ठहर हुँदैन । फेरि, निर्मलाको जीवन नेपालीसँगको प्रेम र विवाह फगत एक भावुकता वा अकास्मिकता भन्दा पृथक    देखिँदैन ।

भाषामा देखिएका यथेष्ठ त्रुटिबारे प्रकाशक बोल्लान् । कथामा अनेकौँ ठाउँ आएर कथाको वातावरण बिगार्ने, पिसाब फेरेकाजस्ता कुरा नभएर कथा उभिँदैन र ? भन्ने प्रश्नमा उपन्याकार बोल्लान् । “यथार्थ लेखेको हो” भन्ने हुन् भने, यथार्थको कसी धेरै ठाउँ फुस्किएको कुरा माथि उल्लेखित छ । तोते पात्र हो जीवन तर वाक्यको सुरूमा आउने शब्द तोते  र त्यसपछि आउने, त्यही शब्द पनि, र बाँकी संवाद पनि बढो स्पष्टका साथ बोल्ने जीवनको बोली, यथार्थको कति पनि नजिक छैन, र यसले उपन्यासको पठनमा ब्रेक लगाइरहेको देखिन्छ ।

बीचतिर, प्रसङ्गवश घुसाइएको खरायो र सिंहको कथामा किन अङ्ग्रेजी भाषा थोपरियो, व्याख्याभन्दा पर छ र कथामा कृत्रिमता थपेको छ । आर्यघाटमा भएको निर्मलाको दाहसंस्कारको दृश्यले पाठकको मनमा छोडेको संवेगको तीव्रतालाई  त्यसपछि “खुसी छाएको पल” शीर्षकमा, एकपछि एक गरेर सेक्स, आइसक्रिम, पार्टी, फेस्टिबल आदि प्रसङ्गको सम्झनातिर मोडेर लेखकले आफैँ पटाक्षेपले जन्माएको संवेगात्मक तीव्रतालाई घटाएका छन्, जुन नगरेको भए बेस हुन्थ्यो ।

कपडा पोसाकमा डम्मी देखेर झुक्किनेजस्ता क्लिसे भइसकेका जोकहरूलाई पनि अब छोड्नुपर्ने हो कि?