साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथाः कोरोना र भट्टी गफ

Chovar Blues Mobile Size

डा. रवीन्द्र समीर

कति दिन भयो दिदी ? मेरो सोधाई द्वैदार्थक थियो ।
आज २ दिन भयो । उनले पोहोरसाल जस्तै जवाफ दिइन ।
ल छोइछिटो नगर्नुहोला । मैले ठट्टा गरेँ ।
म हिंड्दै थिएँ ।
कति दिन भयो दाइ ? मैले उही प्रश्न सोधेँ ।
आज तेह्र दिन भयो । उनले कर्मकाण्डी उत्तर दिए ।
त्यसो भए उम्किनु भएछ । मैले ठट्टाको भावमा बोलें ।
म हिंड्दै थिएँ ।
आज कति दिन भयो काका ? मेरो प्रश्न उही थियो ।
अझै २-३ दिन बाँकी छ । यो छाउगोठमा बस्न धेरै गाह्रो रहेछ । काकाले आइसोलेसनको पीडा पोखे ।
छोरीबुहारीलाई प्रत्येक महिना यस्तो गोठमा किन राख्नुहुन्छ त ? मैले मौका छोपें ।
म हिंड्दै थिएँ ।
रिपोर्ट के आयो काका ? बिनम्र भएर सोधें ।
नराम्रो रिपोर्ट आयो । पोजिटिभ । उनले मुख फाले ।
पोजिटिभ त राम्रो हुनुपर्ने है ? सिटि भ्यालु कति छ ? म जान्ने ठहरिएँ ।
भाइरस लोड धेरै छ । ८ छ । उनले कागज हेर्दै उत्तर दिए ।
काकीको कति छ ? मैले निदिखुदी गरें ।
उसको ३२ छ । एकदम कम भाइरसको लोड । उनले चस्मा निकाल्दै उत्तर दिए ।
हरे राम ! ८ लाई धेरै र ३२ लाई थोरै भन्नुपर्ने ।
नराम्रोलाई पोजिटिभ र राम्रोलाई नेगेटिभ भन्नुपर्ने । मैले थाहा भएको कुरा दोहोर्याएँ ।
कोरोनाको शास्त्र यस्तै हो बाबु ! आफन्तसंग डराउनु पर्ने, पराइसंग ढुक्क हुने ।
त्यति मात्र हो र, हार्ट एट्याक, क्यान्सर, किड्नी फेलजस्ता रोगसंग भन्दा एउटा नाथे भाइरससंग डराउनुपर्ने । काकाले विद्वता छाँट्ने सम्भावना बढ्यो ।
म हिंड्दै थिएँ ।
के छ साहुजी हालखबर ? मैले कुराकानीको ताल्चा खोलें ।
के हुनु नि ! भाइरस फोक्सोमा छ, सर्खारले देशैभर लकडाउन गर्छ । भाइरस नाकमुखबाट सर्छ, सरकारले सिमाना र नाका बन्द गर्छ । उनले पसलमा फसल नफल्नुको तिक्तता पोखे ।
म हिड्दै थिएँ, अस्पतालको गेटमा पुगें ।
बिहानको ड्युटी भएका तालुखुइले डाक्टर अस्पताल आउने क्रम सुरु भएको थियो ।
राम राम ! गार्डले डाक्टरलाई पो जाँच्दैछ । म आश्चर्यचकित भएँ ।
गार्ड दाइ, तपाइंले डाक्टरी पढ्नु भयो र ? डाक्टरलाई पो जाँच्दै हुनुहुन्छ ? मैले छक्क परेर सोधें ।
सबैको पालो आउँछ भाइ । उसले गमक्क फुलेर जबाफ दियो ।
म अस्पतालभित्र पस्छु है, टिभी हेर्न ? डराइडराइ सोधें ।
गार्डले मेरो ज्वरो नाप्यो र हातमा झोल राखिदियो ।
मेरो पछिपछि पण्डितजी आएका थिए । गार्डले ज्वरो नापेर पण्डितलाई हातमा झोल राखिदियो ।
शिब शिब भन्दै पण्डितजीले पन्चामृत खाए झैँ सुरुप्प पारे ।
गार्ड मरीमरी हाँस्यो ।
..
अस्पतालमा टिभी हेर्दै थिएँ ।
बैठक गर्ने कार्यालयको गेटमा गार्डले मन्त्रि तथा सुरक्षाकर्मीका हाकिमलाई कन्चटमा पेस्तोल ताकिरहेको देखें ।
ए गार्ड दाइ, हेर्नुहोस् त ! के अनर्थ भयो ? मैले गार्डलाई तानेर ल्याएँ ।
गार्डले भन्यो – कहाँ पेस्तोल ताक्नु ? त्यो त थर्मल गन हो के ज्वरो नाप्ने ! उसले मलाई उल्लु बनायो ।
कहिले सासुको पालो, कहिले बुहारीको पालो । म गुन्गुनाएं ।
कोरोना आएको सुरुसुरुमा यो अस्पतालले त गेटबाटै बिरामी सरकारी अस्पतालमा पठाउथ्यो । अहिले त बिरामीलाई रातो कार्पेट ओछ्याएको छ त ? मैले व्यंगात्मक पारा निकालें ।
गार्डले भन्यो – त्यो बेला सरकारले भरेको मानो मात्र लिन पाइन्थ्यो । अहिले त एउटा कोभिड आयो भने दश / बिश लाख आयो भन्छन् । जति लाख आएपनि आफ्नो तलब त्यहि आठ हजार हो । उसले खल्तीबाट सुर्ती निकालेर ओंठमा चिरिप्प पार्यो ।
अस्पतालबाट निस्केर म चिया पसलमा पुगें ।
राक्षसजस्तो भाइरसको नाम पनि विश्वसुन्दरीको नाम जस्तो, कोरोना रे ! एउटा च्याहाले ( जड्याहा भनेजस्तै ) गफको दाउ लगायो ।
कहाँ राक्षसजस्तो हुनु ? हेर्नु त यो कोरोनाको फोटो ! रंगीचंगी गहना जस्तो छ । अर्को च्याहाले मोबाइलबाट कोरोनाको फोटो देखायो ।
‘ इस ! के के न आफै देखेजस्तो । आइजा बाजी थापाम ! कोरोना भाइरस जुम्रो जस्तो हुन्छ ।’
सबैजना च्याहा हाँसो हाँसे ।
एउटा चुरौटेले धुँवा उडाउदै भन्यो – जहाँ गयो किरियापुत्रीको घरजस्तै लाग्छ । छुवाछुत प्रथा पनि एकदम मौलायो । घरमा शेर भएर बसेकाहरु एउटा कोठामा थुनिएका छन् । २ मिटर वरबाटै दाल, भात, तरकारी राखेको थाल रिंग पास गरेजस्तै पास गर्छन् .. हेर कन्तबिजोग !
ल दाइ ! चियाको पैसा उ गरेर उ गर्नुहोला, मैले पछि उ गर्नेछु ।
म घर फर्किएँ ।

घरमा धुमधाम चल्दै थियो ।
तरकारी तथा फलफुललाई सर्फ पानीले धुने ।
दुधको प्याकेटलाई साबुनपानीले धुने ।
छिमेकीसंग छत वा बार्दलीबाट मास्क लगाएर कुरा गर्ने ।
हात धोएको धोयै गर्ने ।
म बाहिरबाट आउँदा आँखा तरेर हेर्ने ।
मलाइ तलै नुहाएर, कपडा फेरेर मात्र माथि आउन अनुमति दिने ।
खाना खाएपछि सुत्ने अनि बिरालोको चालमा भागेर चिया पसलमा जाने ।
..
साँझ बढ्दै गएपछि चिया पसल ठर्रा पसलमा बढुवा हुन्थ्यो ।
‘ साला कोरोना, तेरो तागत छ भने आइजा सिंगल सिंगल लड्न । मैले तेरो बाउको के खाएको छु र तैले मेरो जागिर खाइस ? आच्छु खाएँ, बाच्छु खाएँ, झुसे बारुलो ।’
‘ मलाई कोरोना मात्रै लागोस् त, मलाइ जागिरबाट निकाल्नेलाई सामुन्नेबाट हाच्छ्युं नगरि कहाँ छोड्छु र ?’
‘ हामीजस्ता गरिबगुरुबालाई लुट्न यो मामारी चलाएको रे !’
‘ तँ संग के छ र लुट्न, तलाई बुंगा ?’
‘ टिभीमा त्यसको अनुहार देख्यो कि टिभी फुटाल्ने रिस उठ्छ । बडो फुर्ति दिन्छ । घरभित्रै बस्नुहोला रे ! सागसब्जी, फलफुल, गेडागुडी, अण्डा, माछामासु दैनिक खानुहोला रे ! त्यसका बाजेले दिन्छ र खाने ? ‘
‘ यो डब्लुएचवो जस्तो दहि चिउरे संसारमा कोहि छैन । पहिले स्वस्थ व्यक्तिले मास्क लगाउनु हुँदैन भन्यो । अहिले सबैले लगाउनुपर्छ भन्दैछ । पहिले लक्षण नभएका संक्रमितबाट रोग सर्दैन भन्थ्यो । पछि सर्छ भन्यो । पहिले रेमडेसेभिरले काम गर्छ भन्यो, अहिले काम गरिरहेको बेलामा काम गर्दैन भन्यो । पहिले खोप आएपछि महामारी हराउँछ भन्यो । अहिले खोपले महामारी हराउँदैन, मास्क लगाउ, आइसोलेसनमा बस भन्दैछ । एउटा ठेगानको कुरा गर्नुपर्छ नि ! ठ्याक्कै हाम्रो नेताजस्तो ।’
कोरोनाको नाममा लुट्नु लुटे । अरबौं पैसा कात्रोको गोजीमा सिलाएर राखेका छन् मुर्दारहरुले । जनताको गास खोसेर सात पुस्तालाई जम्मा गरे । अख्तियारको काम दश / बीस हजार खानेलाई मात्र समाउने रहेछ । काले काले मिलेर खाए भाले ।’
रमाइला भट्टीगफ सुनेर घर फर्किएँ । घरभन्दा भट्टी धेरै रमाइलो लाग्छ मलाइ ।
घर पुगेपछि माथिबाट आदेश आयो । लुरुक्क बाथरुम छिरें, नुहाएँ अनि कपडा फेरेर माथि गएँ ।
आजदेखि तलै सुत्नु ! कुकुरझैँ लखरलखर हिंड्नेलाई खाना, ओच्छ्यान सबै तल ।
मलाइ कोरोना लागेको भए पो आइसोलेसनमा बस्ने ? म जंगिएं ।
सकल पारिवारिक सदस्य एकजुट भएपछि मेरो केहि लागेन ।
बिहान चिया खान जाने सोंच बनाएको थिएँ, गेटमा ताल्चा ठोकेछन् । चोरझैं कम्पाउण्ड वाल नाघेर जान मन लागेन ।
दिएको खाने, टिभी हेर्ने अनि मोबाइल खेलाउने बाहेक केहि काम भएन ।
‘ बेहोस भएमा, बेहोस होला होला भएमा, पिशाब रोकिएमा मात्र अस्पताल जानुहोला ।’ मलाइ लाग्यो – मेरो टेलिभिजन पक्का बहुलायो । यसो भन्नुको साटो ‘ नाडी बन्द भएमा, शरीर चिसो भएमा, सास रोकिएमा आर्यघाट जानुहोला ?’ भनेर सिधै भनेको भए हुन्थ्यो ।
त्यो दिनदेखि मैले जंगेलाई हेर्न छोडें ।
कुनै बहस कार्यक्रम रमाइलो हुन्थ्यो । गज्जब के भयो भने सरकार पक्षका विद्वानहरुले सरकारले निशुल्क परीक्षण नगरेको ठिक छ, जनतालाई निशुल्क उपचार नगरेको ठिक छ, होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिको दाह संस्कार आफैले गर्ने नियम ठिक छ भन्दै थिए । सरकार विपक्षका विद्वानले सरकारले सशुल्क परीक्षण गरेपनि एबम निशुल्क परिक्षण गरेपनि बेठिक छ, सशुल्क तथा निशुल्क उपचार दुवै बेठिक छ भन्दै थिए ।
खानु पिउनुको त छुट्टै कुरा, सुँघ्न पनि नपाउने कार्यकर्ता एकआपसमा पाखुरा सुर्काउन थाले, फेसबुक र ट्वीटरमा ।
..
पत्रिकामा कोरोनाको पोको हुन्छ भनेर घरमा ल्याउन छोडेका थिए ।
मलाइ टाइम पास गर्न गाह्रो हुन लाग्यो ।
त्यसपछि म टिकटकमा लागें । सुरुसुरुमा खुब रमाइलो लाग्यो । आफैले गाएजस्तो, आफैले अभिनय गरेजस्तो … हिरो भएको भान भयो । पछि बुझें, क्या कार्टुन भएछु । सबै डिलेट गरें ।
..
अरुका स्टाटस हेर्दा मलाइ पनि विद्वान हुन मन लाग्यो ।
फेसबुकमा लेखें – देश र जनताको समुन्नतिको लागि गम्भीर रुपमा बाधक भएको यो कोरोना महामारीको अन्त्य गर्नु हामी सबैको कर्तब्य हो । मास्क लगाएर देश र जनताको पक्षमा आवाज बुलन्द गरौँ ।
कमेन्ट आए
– सहि कुरो ।
– तपाईं डब्लुएचओको एजेन्ट हो ? कति डलर खानुभयो ? कोरोना नै छैन । जो छैन त्यसको महामारी कसरी हुन्छ ?
– बिल गेट्सको डलर खाए होला नि !
– ज्ञानबर्धक कुरा ।
– हावा कुरो ।

सुको कमाइ नभएको ८ महिना भएको थियो । त्यो डलर कसरी कहाँबाट पाइँदो रहेछ ? बडो सोंचमग्न भएँ । अनि मलाइ गाली गर्नेलाई म्यासेन्जरमा खुसुक्क सोधें – सर, त्यो डलर पाउने तरिका के रहेछ ?

उसले जवाफ दियो – हुरी चलेको दिशामा उड्ने पातको के अर्थ ? हुरीको बिपरित उड्नुहोला, केहि न केहि कमाउनुहुन्छ, बद्नाम नै सहि ।
मैले जबाफ फर्काएँ – बरु ! खोले खाएर बस्छु ।

अर्को दिन साँझ पानी तान्ने मोटर बिग्रेकोले जेलबाट रिहा भएँ । बिग्रेको मोटर बोकेर भट्टीमा गएँ ।
‘ कोरोनाले मर्यो कि भन्ने ठानेको बाजे त टुप्लुक्क आयो बा !, लौ धोक कोदो लेबल ठर्रा ।’
‘ हेर ! यो कोरोना कहिल्यै सकिंदैन । कोरोना बढ्यो भने लकडाउन गर्छन्, अनेक ताउरमाउर गर्छन् । कोरोना घट्यो भने वास्तै गर्दैनन् अनि कोरोना बढाउँछन् । यस्तो दुहुनो गाइ कसैले छोड्छ ?’
‘ मन्त्रीले त म खानपिन गर्ने मान्छे हैन, गरिबको आँशु पुछ्न मात्र मन्त्रि हुन मानेको हुँ भन्छन् त !’
‘ पहिले सबैले त्यसै भन्छन् । जब माल आउँछ अनि मैले एक पैसा छुदैन, म सुत्ने पलंगमुनी गड्डीले भरिदेउ वा मेरो सालाको खातामा खोका जम्मा गरेको भौचर ल्याउ भन्छन् ।’
‘ अहिलेका मन्त्री समाजबादी मन्त्रि हुन् । नेता तथा आसेपासेलाई भोको राखेर आफुले खाँदैनन् । आफुले एक थाल भात खाँदा नेतालाई एक कचौरा भात र आसेपासेलाई पांच चम्चा भात खुवाएका छन् । अब खोपमा चाहिं सत्र पुस्ताको ख्याल गर्नेछन् ।’
‘ अर्को चुनावमा त्यस्तै हो, यी बेकम्माको हालत ।’
‘ के को हालत ? दुई चार करोड नेताको खल्तीमा राखेपछि चुनाबको टिकेट पाउँछन्, पांच सात करोड खर्च गरे चुनाब जित्छन् अनि दुई चार करोड नेता संसदीय दलको नेतालाई चढाएपछि मन्त्रि पद पड्काउँछन् । कुरा गर्छस् ।’
..
‘ आज यति ज्ञानगुनका कुरा सुन्न पाइयो । बेकारमा घरभित्र कोचेर !’ उसले बिग्रेको मोटर भट्टीमा बिर्सेर घरमा पुग्यो ।
‘ थुक्क जुनी ! मन्त्रीको आसेपासे भएको भएपनि पांच चम्चा भात खान त पाइँदो रहेछ नि ! पांच चम्चा भनेको ५ करोड रे !’ उसलाई जीवन निरर्थक लाग्यो ।
..
अर्को बिहान मोटर ल्याउँछु भन्दै उ चिया खान गयो ।
‘ संसारमा जहाँ पनि भोका र अघाएकाबीच द्वन्द हुन्छ । एउटा कोटरीले मासु पुलाउ खाइरहने अनि अर्को कोटरीले टुलुटुलु हेरेर बस्न कहाँ सक्छ ? कि बाँढेर खानुपर्यो कि छुट्टाभिन्ना हुनु पर्यो ।’
फुट्ने नै भए त ?
कहिले जुटेका थिए र ? भान्सा पालैपालो सम्हाल्ने कुरो मात्र मिलेको थियो ।
जे सुकै मरुन !

मेरो मात्र पोजिटिभ आएको हो र ? भट्टी चियापसलमा कन्ट्याक्ट ट्रेसिंग हुँदा ८७ जनाको पोजिटिभ आयो रे ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...