जेठको महिना, रातिको सुताइले मात्रै निद्रा नपुगेको अनुभव हुने महिनाको रुपमा मैले लिएको थिएँ । बिहानको ५ बजेतिर होला, आमाले एकदमै ठूलो स्वरमा कराएर बोलाएको मेरो कानले राम्रैसँग चाल पाएको थियो ।
“आज त जसरी भए पनि घट्ट जानुपर्छ बाबै, आज गइएन भने त पर्सि रोपाईंलाई रोटी बनाउने पिठो नै पुग्दैन । तेतिमानका खेताला हालेका छन्, खाना राम्रो दिएन भने त लाजै हुन्छ बा ! त्यसमाथि झन् पञ्चका प्रधान पनि रोपाईंमा बेठी हेर्न आउने रे !”
आमाले यसरी गनगन गरेर कराएको मैले खासै चासो दिएको थिइन् तर बा भने आछ्यानमै आएर उठ्का उठ् भनेर कराएपछि धेरै बेर सुत्नै मन लागेन । आँखाका परेलामा एकछत्र राज गरेकी निद्राकी राजकुमारीलाई मन नलाई नलाई भए पनि परतिर हुत्याउदै आँखा मिचीमिची भए पनि उठेँ । बिहानको नित्य कर्म सकाइसकेपछि भान्छामा हिजो साँझको बासी भात बाँकी थियो । कराईमा दुई चम्चा घिउ हालेर रातो बनाएपछि भातलाई ओल्टाई पल्टाई गरी मजाले कुराउनी लगाएर खाने तयारी गर्दैथिए, कहिल्यै बासी भात नखाने बहिनी आज कचौरो लिएर आई । कुराउनी लगाएको भात मुख मिठो पारी खाँदै थिएँ, बहिनीले कचौरो थापेपछि मनलाई कुँडाएर भए पनि अलिकति राखिदिएँ ।
रेडियो नेपालले बिहानको सात बजेको समाचारवाचन सकाएर राष्ट्रिय जागरणका गीत बजाइरहेको थियो । मैले यही अनुमान गरेको समय बिहानको ७ बजेर ३० मिनेट जति थियो होला । त्यतिबेला समयको मापन घामको उज्यालोका आधारमा धेरै गरिन्थ्यो । घडी त गाउँका पञ्चायत र इन्डिया गएर आएका लाहुरेहरुसँग मात्र हुन्थ्यो । मैले त घडी नै राम्रोसँग दुई तीन चोटी मात्रै हेर्ने मौका पाएको थिएँ, लगाउने त म सपना मात्रै देख्दथेँ । आमाले हिजो घाममा सुकाएको १० पाथी गहुँलाई जुटको थैलामा हालेर बाहिरबाट पछ्यौरीले बेरेर मजाको भारी बनाइदिनु भएको थियो । पारि घरको नैने पनि टुपुक्क आइपुग्यो । मैले पनि भारी बोकेर दुई जना लाग्यौँ घट्टतिर ।
घरबाट घट्ट लगभग दुई घण्टा जतिमा पुगिन्थ्यो । शिरमा गहुँको थैलाको भारी थियो तापनि भारी महसुस गरेकै थिइनँ । जब महसुस गर्दथेँ, मनमा अर्कै खालको धक्का लाग्थ्यो मलाई फेलको । मनमा कहीँकतै म फेल भएँ भने के गर्ने ? मेरा सबै सपना कर्णालीका भेलमा धकेलिएर जान्छन् होला भन्ने कुराले मनलाई खुब अमिलो बनाउँदथ्यो । नैने आफ्नै सुरमा ठाडी भाका गाउँदै ओलालोमा खुब लम्केको थियो । म भने मनलाई घरी गुलियो घरी अमिलो बनाउँदै बिस्तारै घट्टको ओरालो लागेको थिएँ ।
घट्ट पुग्दा त हामीभन्दा अगाडि दुईजनाले पालो उछिनी सकेका रहेछन् । उनीहरुको गहुँ पिसेर सकिन लगभग तीन घण्टा जति लाग्ने देखियो । नैलेलाई जाऊँ त अब खोला खेलउला भन्दै तलतिर आफ्ना पङ्खा मज्जाले फिँजाएर बगेको कर्णालीतिर लाग्यौँ ।
कर्णालीका पानीमा मैले खुबै डुबुल्की मारेँ । मैले जति चोटि डुबुल्की मारेँ, त्यति नै चोटि मेरा मनमा प्रश्नको घट्ट चलिहरेको हुन्थ्यो । यति ठूलो कर्णालीको पुग्ने ठाउँ कहाँ होला ? के उद्देश्य लिएर हिँडेको होला ? यसलाई यसरी गडगडाएर हिँड्दा कति पीडा भएको होला । जब म निर्मल रुपमा बगेको कर्णालीलाई हेर्दथेँ, मनले सोच्दथ्यो- म पनि यसैगरी अनगिन्ती सपनाका छालहरु बोकेर हिँडिरहेको छु । मेरो पनि एक गन्तव्य छ, जसलाई पूरा गर्न म शहर जसरी भए पनि जानु पर्छ ।
नैने र म कर्णाली किनारामा बालुवाको तातोमा उत्तानो परेर हात चिउँडीमा राख्दै जीवनमा के गर्ने भन्ने सोच बनाउँथ्यौँ । उसले अनौठो सोच राखेको थियो, हेलिकप्टरको पाइलट बन्ने ।
एक शुक्रबारको दिन स्कुलमा पञ्चायतको सक्रियतामा गरिब जनतालाई राहत दिने कार्यक्रम थियो । कार्यक्रममा अञ्चलाधीश आउने कुरा थियो । हामी स्वागतको लागि पंक्तिबद्ध बसेका थियौँ । टाढाबाट हेलिकप्टर नजिकिँदै आएर हाम्रो स्कुलको ग्राउण्डमा बस्यो । जब हेलिकप्टरको पाइलट बाहिर आयो हामीलाई खत्रा नै लाग्यो तर यसको प्रभाव नैनेमा परेछ । त्यही दिनदेखि त्यस्तै टोपी त्यस्तै पोशाक लगाएर एक दिन आफ्नै स्कुलको फिल्डमा हेलिकप्टर उतार्ने उसको सपना ।
कर्णालीका किनारामा बसेर हामी मौन सोचिरहेका थियौँ । पछाडिबाट एक मधुर स्वर मच्चिँदै आयो, “ए टेसलाई समाई डेउ ट कटि दुःख डिन सकेको मलाई मुर्धारले ।” सानो बाख्राको पाठो उफ्रिँदै उफ्रिँदै मेरै छेउ आइपुग्यो, मैले च्याप उसको खुट्टा समाएर आफ्नो वशमा लिएर उनको हातमा थमाएँ । सायद त्यो पाठाले खुबै दुःख दिएको भएर होला मगर्नी केटी खुब खुसी भइन् । उनकोे बोलीबाट त खासै केही आएन तर जे आयो त्यो मुस्कुराहटबाटै सबै आयो ।
मगर्नीको अनुहारले खै मलाई कस्तो छायाँ छोडेर गयो थाहै पाएन तर मलाई उनको त्यो गोरो अनुहार चम्किएका राता गाला चिम्सा तर भावका तरङ्गले भरिएका ती नयन, लिपस्टिक नलाए पनि लगाए जस्ता ती पालला ओठहरु अनि त्यो आफ्नै भाषामा खुब मिठास दिने सुरिलो त्यो स्वर सबैले लठ्ठ बनाएको थियो । मगर्नीलाई देखेर मेरा मनले उनलाई खुब तरिकाले विश्लेषण गर्यो, सबै कुरामा उत्कृष्टता दियो दिन सकेन त दुइटा कुरामा मात्रै एक त ऊ मगर, म बाहुन । अनि अर्को ऊ नपढेकी, म पढेको । दिमागलाई मैले खासै खेलाएन यी दुई कुराले गर्दा तर मनमा भने अलिकति केही पलाएको जस्तो महसुस भएको थियो ।
खासै चासो नदिएजस्तै गरी पुनः तातिएको शरीरलाई कर्णालीका डुबाए लगभग आधा घण्टा जति कर्णालीको पानीलाई महसुस गरे पानीमा यसै डुबेर माथि माथितिरबाट दौडिदै गरेको कर्णालीलाई हेर्दै बाले अगेनोको छेउमा बसेर भनेको कुरा सम्झिए, जब हिउँ पर्छ जुम्ला कालिकोट हुम्लामा त्यहाँका मान्छेहरु बाहिर खासै निस्कदैनन् । आफूलाई चाहिने जति सबै सामानहरु खाने कुरा, दाउरा, घाँस गर्मी मौसममा नै जम्मा गरेर राखेको हुन्छन, अलि हुने खानेहरु तराईतिर झर्छन्, न त सबै चिसोमा बाहिर आउँदैनन् । बालापनको मानस पटलले सोच्यो, एक पटक जुम्ला, हुम्ला, मुगुु जान पाएको भए त्यहाँको त्यो परिवेशलाई नजिकबाट नियालेको भए ।
घट्टको पालो आएर मैले मेरो थैलो पिसिसकेको थिएँ । बाँकी नैनेको मात्रै थियो त्यो पनि घट्टले पिस्न थालिसकेको थियो । म भने अल्छी लागेर बाहिर ढुङ्गामा बसेर खोलाको रोेपाई हेर्दै थिएँ, रोपाईंमा अर्नी खाने बेला भएको रहेछ । मगरको रोपाईं भएर होला तीनपाने, छ्याङजस्ता मादक कुराहरु टाढैबाट भए पनि अनुभव गर्न सकिन्थ्यो । हेरिरहेको देखेर होला मगर भाषामै मलाई एक वृद्ध आइमाईले रोटी र तरकारी पुर्याउन छोरीलाई पठाइन् । छोरी जब नजिकिँदै गई मैले चिनिहालेँ, त्यही मगर्नी केटी ! मैले खाँदैन भन्दा पनि उसले खानु के भोक लाको होला केटी सर्माएको छि केता भएर पनि भन्दै हातमा थमाई दि र फेरि उस्तै मुस्कानका साथ लजाउँदै दौडिई ।
यसपछि मन चङ्गाजस्तै भयो । खुब मिठो मानेर खाए नैनेलाई नदिएरै । बनाउने हात मिठो हो कि दिने हात, पत्तै पाइनँ तर खुब मिठो लागेको थियो । मगर्नीसँग पनि मायाको मौन घट्ट चलाएँ ।
नैनेको गहुँ पिसिसकेपछि दुवै उकालो लाग्यौँ । यस पटक भने मलाई उकालो, उकालो जस्तै लागेन । उकालोभरि मगर्नी सम्झिएँ । मनमा मगर्नीलाई राखेँ । ऊसँगै घरबार गरेर रमाएँ । उकालो ओरालोमा हाँस्दैहाँस्दै खोला झर्थ्यौं, उकाली चढ्थ्यौँ । घरबाट बा-आमाले मगर्नी बिहे गरिस् भनेर निकालिदिएपछि छुट्टै बसेर रमायौँ । सानी छोरीलाई हातमा खेलाउँदै ससुराली गएँ । सबैसबै कुराहरुसम्म कल्पनामै पुगेँ तर वास्तवमै म घर छेउको चौतारा मात्रै पुगेको थिएँ ।
नैने तल्लो बाटो जान्छु भन्दै हिँडिहाल्यो । म भने एकछिन थकाई मारेर जाने सोचेले चौतारामै बसेँ ।
रोपाईं सकिएको तीन दिनपछि स्कुलमा परीक्षा नतिजा आएको जानकारी पाएँ । हतार हतार स्कुल गएँ । स्कुलमा मलाई नै सबै कुरेर बसेका रहेछन् । सबैले बधाई दिँदैथिए । मेरो मन भने एक्कासि चङ्गा बनेर उड्न खोजिहरेको थिएँ । एक छिन रोकेँ मनलाई, आफ्नै आँखाले हेर्नु थियो । हेड सरको कोठामा गएर हेरेँ, रुद्रलाल जैसी नाम तेस्रो नम्बरमै थियो । अब भने मनलाई रोक्न खोजे पनि रोकिनेवाला थिएन । दौडिएँ, लामे ढुङ्गातिर ढुङ्गाको चुच्चोमा बसेर तलतिर आफ्नो गन्तव्य खोज्दै दौडिरहेको कर्णाली नदीलाई हेर्दै मनमनै भनेँ, तँसँगै म पनि गन्तव्यको खोजीमा निस्कने भएँ । त्यसपछि मैले मनलाई घट्टझैँ बेस्मारी चलाई चङ्गालाई आकाशको अनन्यसम्म उडाएँ ।
दशैँतिहारबाहेक म घर आउँदिन थिएँ शहरबाट तर यस पटक भने कूल पूजाका लागि घरमा लगभग एक महिना नै बस्ने गरी आएँ । मैले स्कुल छेउको चुच्चे ढङ्गामा बसेर मनको चङ्गा उडाएको पनि लगभग १८ वर्ष भएछ । गाउँ खुब घुम्न मन भयो । काखमा सानी छोरी च्यापेर निस्किएँ । गाउँका धेरै घरहरु पुराना भइसकेका थिए । कति त भत्केर निसानी मात्रै बाँकी थिए, भत्केका घरका ती यादहरु खुब मनको घट्टमा पिसिएर । नैनेको घरतिर गएँ । नैने पनि कति पुरानो लाग्यो, नैनेका चार ओटा छोरी मात्रै रहेछन् । मभन्दा दुई महिना जेठो नैने एसएलसी फेल भएपछि निराश भएर इन्डियाको बाटो तताएको थियो । विचराको हेलिकप्टर पाइलटको सपना घरको पाइलटमा गएर तुहिएछ । आफू नभए पनि आफ्ना सन्तानलाई पाइलट बनाउने सोचले उसले श्रीमतीमा पुनः भार थपेको रहेछ । नैनेसँग एकछिन बसेपछि उजेलीको घरतिर गएँ । त्यहाँ पुग्दा मन झन् तीतो भयो । स्कुलमा बुनेका सपनाका जालाहरु त बिस्तारै बिस्तारै च्यात्तिदै जाँदा रहेछन् । यसको महसुस मैले गरेकै थिइनँ । सच्चा र इमान्दार नर्सको रुपमा आफूलाई परिचित बनाउने सपना देखेकी उजेली आज आफ्नै घरको गर्भीली बुहारी बन्न सकेकी रहिनछ । सन्तानको पीरले कुँडिएकी रहिछ । उजेलीको घट्ट पनि परिवेशले घुमाउन नसकेर ठप्प भएको रहेछ ।
पञ्चायतको घट्ट चल्न नसकेर बहुदलको अलि बलियो घट्ट आयो भनेर सोचे गाउँलेले बहुदलसँगै घट्टको पत्थरै फुटाउने गरी आएको भेलले बहुदलको बलियो भनिएको पत्थरै फुटाइदियो । गाउँलेमा झन् डर र त्रास छाएको थियो । अब कसरी चल्छ घट्ट तर पुनः बलियो पत्थरको निर्माण भएर लोकतन्त्र नामको घट्ट चल्यो तर नैने उजेलीका घट्टहरु पुरै ठप्प भएछन् ।
पञ्चायतका प्रधान बाका घर गए । बा आँगनमा खोक्दै आफ्ना विगतका ती मीठा पलहरु सम्झँदै मृत्युको बाटो कुरिरहेका देखिन्थे । नमस्कार गरेँ । उनकै छेउमा गएर बसेँ । प्रधान बाले मेरी छोरीका गाला सुमसुमाए । मैले मन खिन्न बनाउँदै सोधेँ, बा गाउँ त सबैले छोडिसकेछन् है !
बाले पनि तलतिर हेर्दै सुस्केरा हालेर भने, “गाउँका १० वटा जति घरहरुबाहेक अरु घरहरु पुरै छोडेर गइसके । युवापुस्ता भन्ने कोही पनि देखिदैनन्, गाउँमा सबै बालक, वृद्ध र आइमाई मान्छे मात्रै छन् । तिमीजस्ता युवा पुस्ताहरु शहरको रौनकमा भुलिसक्यौ त गाउँ कसले बनाउँछ ? गैरी खेत, खोला खेल, टारी खेत कसले रोपिदिन्छ ? कर्णालीका कसिएका सुस्केरा कसले सुनिदिन्छ ? हामीलाई समयको घट्टले खुबै घुमाएको छ तर हामी भने आफ्नै घट्ट घुमाउन नसकेर थन्किएका छौँ । पुर्खाले हिजो यसो गरे उसो गरे भनेर कल्पनाका चुचुरा चुम्छौँ तर आफ्नै गाउँ बनाउन नसकेर शहर पसेका छौँ । आफ्ना गाउँका खुल्ला डाँडापाखाहरुमा रमाउन मन नलागेर शहरका काल्पनिक डाँडा र गल्लीहरुमा रमाएका छौँ । कर्णालीजस्ता कञ्चन नदीहरुमा पौडन मनले नमानेर शहरका बनावटी तालहरुमा पौडिएका छौँ । गाउँका रोदी र झ्याउरे नाच्न मन नलागेर शहरमा डिस्को र पार्टीमा नाच्न थालेका छौँ त अनि यो गाँउ कसरी बन्छ बा ? भन् त तँ, अब गाउँ फर्केर आउछस् र ?”
प्रधान बाले भनेका कुराहरुले मनलाई पूरै रुन्चे बनायो । सोचेँ, हुँदा पनि हो हामीले नै गाउँ बिगारेर छाडेका छौँ त कसलाई के दोष ? खै त आज हाम्रा खोला खेतका घट्टहरु ? सबै कुराहरु प्रविधिले प्रतिस्थापन गरिसक्यो तर हाम्रो सोचलाई खै ? छोरीको अनुहारमा हेरेँ, सोचेँ- मैले घट्टको उकालो ओरालो गरेर पढेँ बढेँ । मलाई घट्ट के हो थाहा छ तर कुनै जमानामा गएर कसैले घट्ट भनेको के हो सोध्यो भने के उत्तर दिन्छन् होला मेरी छोरीले ? हामीले पुर्खाको कला, सीप र कौशललाई सम्हालेर राखेनौँ भने आगामी पुस्ताले केही पनि अनुभव गर्न पाउने छैनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।