कुरा २० वर्ष अघिको हो ।

भर्खर बन्न थालेको राजमार्ग किनारमा एउटा सानो गाउँ थियो । तत्कालीन सडक विभागमा म खरदार पदमा कार्यरत थिएँ । साथीहरू मलाई छोटकरीमा ‘खर–साब’ भन्थे । हाम्रो अस्थायी मुकाम त्यही गाउँमा थियो ।

गाउँमा एउटा भुँडी पसल थियो । बिहान–दिउँसो तातो र साँझ परेपछि चिसो चिया खान पाइने ठाउँलाई भुँडी पसल भन्छन् पूर्वतिर । एउटा पुरानो टाँडे–घरमा तल चना–चिउरा र माथि भुटन–चिउराको ब्यापार हुन्थ्यो । पसलबाट मेरो क्वाटर टाढा थिएन । क्वाटरको आँगनबाट चाहँदा त्यो भट्टीभित्र को छिर्‍यो को निस्कियो देख्न सक्थेँ ।

भुँडी पसलकी मालिक्नी एक्काइस–बाइस वर्षकी मांसल शरीर भएकी आकर्षक युवती थिइन् । जातले बाहुनी । बाहुनी भएर पनि रक्सी व्यापार गर्छे भन्दै हियाएर बोल्ने आलोचकहरू थुप्रै थिए । उनका कारण लोग्नेको लगाम आफ्नो हातबाट फुत्किने हो कि भन्ने पिर गाउँका थुप्रै महिलालाई थियो । कारण गाउँका लगभग पुरुषहरू उनको आकर्षणमा परेका थिए ।

छिचिमिराहरू टुकीको उज्यालो देख्नासाथ वरपर झुम्मिने नै भए !

तिनको एउटा बूढो लोग्ने पनि थियो । बूढाले जेठी स्वास्नी मरेपछि कान्छी ल्याएको रे ! सानैमा बाबुसँग रिसाएर मधेस झरेको रे । कोसी तरेर चतरा हुँदै दक्षिण आउँदै गर्दा एक्लो केटो यताउति पल्याकपुलुक हेर्दै हिँडेको देखेर एउटा थारुले बोलाएछ । उसैकोेमा गोठालो बस्दाबस्दै यतै घरजम गरेछ । त्यो भुँडी पसल त कान्छी ल्याएपछि मात्र खोलेको रे । गोठालो र भुँडी पसलको बिचमा ऊ चुरको व्यापार गथ्र्यो । चुर बेच्न पकली, हरैँचा हुँदै रङ्गेलीसम्म पुग्ने । चुर बेच्दा–बेच्दै सुल्फा तान्न खल्ली भएको बूढो टिबि लागेदेखि चाहिँ घरमै थन्किएको रहेछ । घर बस्न थालेको पनि पाँच वर्ष भएको रहेछ ।

पसलमा घाम छउञ्जेल चिया, चमेना र पानामार चुरोट बिक्री हुन्थ्यो । साँझ परेपछि रक्सीका पारखीहरू टाँडतिर उक्लिन्थे ।
पसलको नाम, साइनबोर्ड केही पनि थिएन ।

मङ्सिरमा फारबिसगञ्जबाट रामलीला टोली आएको थियो । १५ दिनसम्म गाउँमा बसेको त्यो टोलीले प्रस्तुत गरेको ‘झुम्का गिरा रे, बरेलीके बजारमे झुम्का गिरा रे !’ बोलको हिन्दी गीत र नाच निकै हिट भएको थियो । गाउँका ठिटा र अधबैँसेहरू दोबाटोमा गुन्गुनाउँदै हिँड्थे ।
बाहुनीले दुवै कानमा ठुल्ठुला झुम्का लगाएकी थिइन् । रामलीलाबाट प्रभावित ठिटाहरूले उनको कोड नाम नै झुम्कावाली राखिदिए । साँझपख हावा खान निस्केका रउसेहरू उनको पसल छेउबाट हिँड्दै गर्दा झुम्का गिरा रे गीतको लयमा सुसेला हाल्थे । साथीभाइमाझ ‘झुम्कावालीको पसलमा जाने होइन,’ भनेर ठट्टासमेत चल्थ्यो ।

मैले झुम्कावाली रक्सी मात्र होइन भित्री कारोबार पनि गर्छिन् भन्ने कताकति सुनेको थिएँ ।

‘जे होस् घरको भात खान मन नलागेका बेलामा मिठो नास्ता खुवाउँछे झुम्कावालीले,’ साथीभाइका मुखबाट यस्तो कुरा सुन्दा म भित्रभित्रै रोमाञ्चित हुन्थेँ ।

मनको सिमसारमा अनेकखाले कुतूहलहरू उम्रिन्थे ।

आवश्यकताले मान्छेलाई जे पनि गराउँछ ।

तर म आवश्यकताको कुराले भन्दा पनि उनले कलमा मिचीमिची नुहाएको, जीउमा लपक्क पेटिकोट टाँसिएको देख्दा लाग्ने काउकुती सम्झेर एक्लै रोमाञ्चित हुन्थेँ । नुहाइसकेर तारमा सुकाएको पेटिकोट क्याटरको बार्दलीमा बसेर निकैबेरसम्म हेर्थेँ । भिजेको पेटिकोट कहाँ पुगेको छ भन्ने हेक्का नराखी खस्रो ढुङ्गामा कुर्कुच्चा घोटेको बेला म धेरै पटक सिरिङ–सिरिङ भएको छु ।

घर छोडेर हिँडेको तीन महिना भएको थियो ।

युवा भावनाहरू कर्‍याङकुरुङ भएर हजारौँ किलोमिटरको यात्रामा ओहोरदोहोर गरिरहन्थे । कहिले भी सेप बनाएर समूहमा, कहिले एक्ला–एक्लै उड्थे । बाजका हिंस्रक पञ्जाले चल्लो समातेको र चल्लो डरले कराएको, छटपटिएको मन पथ्र्यो । साँपले भ्यागुता गुडुँल्क्याएको र भ्यागुतो कराएको आवाज सुनिरहन मन लाग्थ्यो ।

म झुम्कावालीका बारेमा धेरै कुरा नजिकबाट जान्न चाहन्थेँ । किनकि साथीहरूले सुनाएका धेरै विवरणहरू अधुरा, कता के नमिले जस्ता छरपष्ट थिए ।

एकदिन तलब थापेको मौका पारेर साँझ पर्नासाथ म झुम्कावालीको पसलमा पुगेँ ।

‘सही समयमा आइएछ,’ वरपर मैले चिनेका जस्ता कोही देखिनँ । मन ढुक्क भयो ।

माथि जाने काठको ठाडो सिँढी थियो । म सिँढी उक्लेर सरासर टाँडमा पुगेँ ।

टाँडमा दुइटा कोठा रहेछन् । एउटामा दुई–तीन जना बस्न मिल्ने ब्रेन्च, एउटा लामो टेबुल, चुलो, केही गिलास, बोतल, प्लेटहरू राख्न मिल्ने ¥याक रहेछ । अर्कोमा सुत्ने–बस्ने ।

‘खोइ कता हो मान्छेहरू ?’

सुरुको कोठामा कोही नदेखेर मैले सोधेँ ।

‘यता छौँ है हामीहरू ?’

बोल्दै–बोल्दै झुम्कावाली बाहिर आइन् । पहिलो नजरमै झुम्कावालीका हल्का गुलाबी ओठ टल्किए । लिपिस्टिक लाउँदै थिइन् सायद ।
‘ए खर सा’ब पो हुनु हुँदो रै’छ !,’ अचम्म मान्दै उनले भनिन्, ‘बस्नु–बस्नु ।’

उता कोठाबाट खोकेको आवाज आयो । बूढो ओड्ने ओडेर सुतिरहेको थियो । । यता कोठामा म र झुम्कावाली दुई जनामात्र थियौँ । अर्को ग्राहक उक्लेको थिएन ।

पुस महिनाको कुरा हो ।

मलाई झुम्कावालीको छेउमा पुग्नुअघि डर–डर लागेको थियो । पहिलो अनुभव भएर होला ।

‘बस्नु न ! किन उभिइरहनुभएको ?’

‘आज एक्लै !,’ भन्दै म लामो ब्रेन्चको पल्लो छेउमा चुलोनजिकै पुगेर बसेँ ।

‘फुउउऊ ! फुउउऊ !,’ उनी चिसो चुलोमा झिँजाहरू जोडेर आगो सल्काउन थालिन् ।

पहिलोपल्ट मलाई नजिकै पाएर होला, उनको मांशल शरीरको लुगाले छोप्न बाँकी भागमा अलि–अलि लाज लत्पतिएको थियो । विशेषगरी ठिक्कको गालामा पहाडे लालीको ज्योत्सना थपिएको प्रष्ट देखिँदै थियो ।

‘कहिले नआउने मान्छे, बेकारमा किन मास्तिर उक्लिनुपरेको ? भने जस्तो पनि लाग्यो होला !’ भन्ने सोच्दै मैले चम्को उठेको भागतिर हेरेँ । भर्खर धुँवा पुत्पुताउँदै थियो । आगो बलिसकेको थिएन ।

धुँवाको प्रभाव बढेर मेरो आँखासम्म राग आइपुग्यो । राग अकबरे ! सानोमा सन्ठीको सिगरेट बनाएर तानेको धुँवाभन्दा पनि तिक्खर !

‘चुलो त निकै चिसो पो रै’छ ?,’ मैले उनको ध्यान आफूतिर तान्ने प्रयास गरेँ ।

‘बल्छ अब,’ एउटा लामो सुकेको झिँजोमाथि अर्को झिँजो खप्टिँदै उनले भनिन् ।

‘हेरौँ कत्तिको बल्दो रै’छ,’ मैले पत्याइनँ, भनौँ रेला गर्ने मुडमा आएँ ।

आँखाभरि आँसु पारेर उनले मतिर हेरिन् र फिस्स हाँस्दै भनिन् – ‘बाल्न जान्नुपर्छ, बलिहाल्छ नि !’

कोठामा कुनातिरको आधा भाग अँध्यारो थियो ।

तर जहाँसम्म मैले हेर्नुपर्ने थियो, त्यो सेरोफेरोमा चाहिँ उज्यालै थियो ।

म घरि चुलोतिर, घरि उनको जीउतिर हेरिरहेको थिएँ । आगो राम्ररी सल्किसकेको थिएन ।

‘के ख्वाउँछ्यौ त ?,’ मैले पञ्जा लाएका हत्केला रगड्दै सोधेँ ।

‘के खानुहुन्छ ?,’ कानका झुम्का बिस्तारै हल्लाउँदै उनले भनिन्, ‘रक्सी खानुहुन्छ ?’

‘कहाँको माल हो ?,’ नभए पनि अनुभवीले जस्तै दुई–अर्थी प्रश्न सोधेँ ।

‘चतराको लोकल हो,’ उनले भनिन्, ‘तीनपाने हो, मिठो छ ।’

मलाई रक्सीको स्वादका बोरमा केही जानकारी थिएन । तीनपाने के हो, चारपाने के हो ? कस्तो मिठो हुन्छ, कस्तो नमिठो !

‘मासु छैन ?’

‘छ ।’

‘केको छ ?,’

‘केको खानुहुन्छ ? खसीको पनि छ, कुखराको पनि छ,’ उनले अलिकति जोड दिँदै भनिन्, ‘जुन खाने भए पनि छ ।’

‘जुन ?’ अपेक्षाविपरीत उनले ‘जुन’ शब्दलाई जोड दिएको सुनेर मलाई कस्तो–कस्तो लाग्यो ।

कुरैले सिरिङ्ङ भयो । स्कुलमा साथीहरूसँग कुरा गर्दा, दादा कोड्केका सिनेमा हेर्दा त्यस्ता दुई–अर्थी संवाद वा प्रसङ्गमा हाँसिन्थ्यो मज्जाले, सिरिङ्ङ हुँदैनथ्यो ।

कुराकानीको रिल यति चाँडो घुम्ला भन्ने सोचेकै थिइनँ । अतः कुरा बुझे पनि एकै पटक तातो खिरमा माझैमा हात किन हाल्नु भन्ने लागेर भनेँ, ‘पहिले एक प्लेट खसीको मासु र चिउरा ल्याऊ । त्यसपछि अरू विचार गरुँला ।’

बिस्तारी आगो बल्न थाल्यो ।

उनले चुलोमा ताप्के बसाइन् र अलिकति मासु हालेर भुट्न थालिन् । म एकोहोरो उनलाई हेरिरहेको थिएँ । केहीबेरमा एउटा प्लेटमा अलिकति मासु, अलिकति चिउरा, अलिकति घिउमा भुटेको भटमास र दुई टुक्रा प्याज हालेर दिइन् ।

‘खोर्सानी छैन खोर्सानी ?’ एक चम्चा मासु–चिउरा मुखमा हाल्दै मैले सोधेँ ।

‘छ,’ पहिले नै काटिराखेको खोर्सानीका केही टुक्रा मेरो प्लेटमा राखिदिँदै भनिन्, ‘खर’साबको जिउ रन्केला भनेर नहाल्देको नि !’

‘जिस्किन त खुब आउँछ हैन,’ बोसोको चिल्लो लतपतिएको चिउरा चबाउँदै मैले भनेँ । चिउरा अलिअलि ओसिएको थियो ।

‘जिस्केकी होइन ! साँच्चै भनेकी । अकबरे हो अकबरे !’

‘त्यो त हेर्दै थाहा भो,’ मैले संयमित हुँदै भनेँ र अर्को एक टुक्रा मासुसँग चिउरा लट्पट्याएर मुखमा हालेँ । मासु भनेर चबाको त ग्रेभीमा लट्पटिएको हड्डी पो रै’छ ।

‘हड्डी त पाकेनछ !’ मैले जिस्क्याउँदै भनेँ ।

‘खसीको मासुमा त हड्डी भइहाल्छ नि । अर्को मासु खानुपर्छ र पो भने जस्तो हुन्छ !’

अर्को मासु ? कुरा घुमिफिरी रुम्जाटारकै सेरोफेरोमा थियो । तर मैले हलक्कै संयम गुमाउनु थिएन ।

‘अकबरेदेखि खासै डराउनुपर्दैन, मुखमा थोरै पिरो भए पनि ज्यानलाई फाइदा गर्छ,’ उनले पित्तलको गिलासमा पानी दिँदै भनिन् ।

पानी दिँदा थाहा नपाउने गरी हात छोइदिएँ । उताबाट कुनै अनपेक्षित प्रतिक्रिया आएन । म नजिकिने बहाना खोज्दै थिएँ ।
मौन सम्मति लक्षणम् । म खान छोडेर उनलाई नै एकोहोरो हेर्न थालेँछु ।

‘के हेर्नु भा’ त्यसरी ?’ झुम्कावालीले हल्का दाँत देखाउँदै भनिन्, ‘काँचै खाउँलाजस्तो गरेर !’ त्यसरी हाँस्दै–बोल्दा उनको गालामा परेको खोपिल्टा मलाई अहिले पनि याद छ ।

‘अनि सितन मात्र, सितनको साथी चाहिँदैन,’ मैले नजिकिने अर्को उपाय फेला पारेँ ।

‘एकछिन है,’ भन्दै उनी भित्र गइन् । एक बोतल तिनपाने र एउटा सिसाको गिलास ल्याएर प्लेटको छेउमा राखिदिइन् ।

मैले अचानक गोजीबाट दस–दसका दुइटा नोट उनको हातमा राखिदिँदै भनेँ – ‘आज के विचार छ ?’

‘अनि खर’साब के थरी नि ?’

एकाएक झुम्कावालीको प्रतिप्रश्नले म अचम्भित भएँ ।

सुरुमा मेरो आशय थाहा पाएर एकछिन त उनी लाजले रातो भएकी थिइन् । यति चाँडो म आफ्नो नियतमा ओर्लुँला भन्ने सायद उनलाई पनि लागेको थिएन । म सकारात्मक जवाफको आशासहित उनको आँखाको छेउछाउ गहिरिइरहेको थिएँ ।

मैले दिएको २० रुपियाँ चोलोमा घुसार्दै गरेको दृश्य तन्काउँदै, रोमाञ्चित हुँदै गरेको मैले अचानक यस्तो प्रश्नको आस गरेको थिइनँ ।

‘गुरागाई,’ मैले स्वाभाविक हुँदै भने । तर, मैले यस्तो प्रश्नको यहाँ के आवश्यकता छ भन्ने बुझिरहेको थिइनँ ।

मेरो थर गुरागाई भनेको सुन्नेबित्तिकै उनको पहाडे गालामा भएको लाली एकाएक फुस्रो भयो । उनले पैसा फिर्ता गर्दै भनिन् – ‘म पनि गुरागाईकी चेली हुँ । तपाई मसँग यस्ता कुरा नगर्नुहोस् ।’

बोल्दा–बोल्दै उनको बोलीमा रुवाइ मिसिइसकेको थियो ।

म अलिकति लज्जा र अलिकति अपराधबोधले भिजेको बिरालोजस्तै भएँ । त्यसपछि कसरी सिँढी ओर्लिएँ, कतिखेर बाटोमा आइपुगेँ, केही थाहा छैन । बाहिर शीतलहर चलिरहेको थियो । जिन्दगीमा त्यो दिनको जस्तो जाडो आजसम्म अनुभव भएको छैन ।

उपसंहार – आज त्यो गाउँको नाम तिनै झुम्कावालीको नामबाट झुम्का भएको छ । इनरुवा पानी–टङ्की छेउमा पनि एउटी सुकु भन्ने थिइन् । तिनको पसल त्यहाँ छउञ्जेल ड्राइभर–खलासीहरू सुकु चोक, सुकु चोक भन्थे । कान्छी चोकको नाम त आज पनि चलेकै छ ।

सानोमा आमाले सुनाउनुभएको झुम्कावालीको कथामा अलिकति फिक्सन मिसाएर तपाईंलाई सुनाएँ । खासमा झुम्कावालीको माइतको थर देवकोटा थियो । बाँकी आफैँ मिलाएर बुझ्नुहोला ।

२०४६ साल साउन ५ गते मैले ‘अपराध बोध’ शीर्षकमा लेखेको यो कथा २०५२ साल वैशाख २५ गते तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको आख्यान पत्रिका ‘समकालीन साहित्य’मा ‘प्रकाशनार्थ प्रेषित’ गरेको थिएँ । तर, छापिएन ।