टम क्रुज अभिनित ‘मिसन इम्पोसिबल’ भन्ने फिल्म हेर्नु भएको छ ? छैन भने यति मान्नुस् कि त्यो ठाउँबाट कुनै चिज निकाल्नु भनेको असम्भव कुरा हो । फिल्म हेर्नु भएको छ भने त कथा सुनाइरहनु परेन, नामै ‘मिसन इम्पोसिबल’ !
यस्तै अवस्थामा राखिएका दुर्लभ किताबहरूको संकलन र करिब ३३ लाख डलर बराबरका किताबहरू तीन वर्षअघि सन् २०१७ को जनवरीमा डकैती गरिएका थिए । गएको आइतबार मात्र सो घटनामा संलग्न भएका १३ जनालाई बेलायती र रोमानियन प्रहरीको संयुक्त टोलीले प्रकाउ गरेको छ ।
प्रहरीले ती किताब कहाँ बेपत्ता पारियो भनी संभावित ४५ ठाउँमा छापा मार्दा पूर्वी युरोपको रोमानियामा अनौठो तरिकाले लुकाइराखिएको प्रहरीले फेला पारेको थियो । यो पुस्तक फेला पारिएको एक महिनापछि यस कार्यमा संलग्न भएकाहरूमध्ये थपलाई पक्राउ गरिएको हो ।
दुर्लभ पुस्तकहरूको सूचीमा ग्यालिलियोले लेखेको र पहिलो पटक प्रकाशित पुस्तकदेखि सर आइज्याक न्युटनको प्रिन्सिपियासम्म छन् । यस्ता दुर्लभ पुस्तक करिब २ सयको संख्यामा रहेको बताइएको छ ।
यी पुस्तक अमेरिकाको लसभेगासको डाक बढाबढमा सहभागी गराइएपछि बेलायत ल्याइएको थियो । जनवरी महिनामा बेलायत ल्याइपुर्याइनेबित्तिकै यी किताब डकैती भएका थिए ।
यस डकैतीमा संलग्न दुई व्यक्ति ड्यानियल डेभिड र भिक्टर ओपारिउकले पुस्तक राखिएको ठाउँको छत भत्काएर चोरेका थिए । यसो गर्दा उनीहरूले पुस्तकमा रहेको सेन्सरलाई समेत काम नगर्ने बनाउन निकै मिहिनेत गरेका थिए ।
यो डकैतीमा करिब पाँच घण्टा लागेको र ती दुईलाई तेस्रो व्यक्ति नार्सिस पोपेस्कुले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यी किताबलाई पोपेस्कुले आफ्नो कारबाट तेस्रो ठाउँमा लगेको पाइएको थियो ।
सो कार पछि बेलायती प्रहरीहरूले रङ र काया नै परिवर्तन गरेको अवस्थामा फेला पारेका थिए ।
सो कारमा को को बसेका थिए भन्ने कुरा प्रहरीले कारको सिटको टाउकोमा अड्किएका कपालको डिएनए जाँच गरेर पत्ता लगाएको थियो । यति मात्र होइन, किताब डकैतीका क्रममा दुई जनाले खाएको बियर बोतलमा भएका छापको डिएनए जाँच र कारमा बसेका व्यक्तिहरूबीचको समानता भएपछि अनुसन्धानमा थप मद्दत पुगेको थियो ।
बेलायती प्रहरी अधिकारी एन्डी डुरहामले भने, ‘यी किताब अत्यन्तै मूल्यवान थिए र त्योभन्दा बढी यो अन्तर्राष्ट्रिय साँस्कृतिक सम्पदा भएकाले ठूलो मात्रामा प्रहरी परिचालन गर्नुपर्ने अवस्था आइपर्यो ।’
यस डकैतीमा रोमानियाको संगठित आपराधिक गिरोह नै लागिपरेको पत्ता लागेको थियो । यसअघि पनि बेलायतमा सोही किसिमको डकैती गरिएको शैलीसँग मिल्दोजुल्दो देखिएपछि प्रहरीले सो गिरोहलाई नै खोजी गरिरहेको थियो ।
सामान्यतः यस्ता गिरोहले छोटो समयमा आफ्नो डकैती भ्याउने र चोरिएका सामग्रीहरूलाई स-साना भागमा बाँडी विभिन्न ट्रान्सपोर्टबाट निश्चित ठाउँमा पुर्याउने गर्छन् ।
यस्ता संगठित गिरोहका विशेषज्ञ द मेट भन्छन्, ‘यो डकैतीमा संलग्न भएकाहरू रोमानियन अपराध परिवार नै हुन् । तिनको क्लाम्परू नामक समूह नै छ ।’
पुस्तक डकैती भएको दिन नै पोपेस्कुले रोमानियाको बल्हाममा एउटा घर भाडामा लिएका थिए । ती डकैती गरिएका पुस्तकलाई सोही घरको बेसमेन्टमा किताबलाई साना साना प्याकेटहरू बनाएर राखिएको थियो । चोरिएका पुस्तकलाई बल्हाम पुर्याउनका लागि मरियन मामालिगा र इलाई उङगुरेनुलाई नियुक्त गरिएको थियो । तिनले बेलायतबाट ती पुस्तकलाई रोमानियासम्म पुर्याएका थिए ।
यस्तै प्रक्रियाले यो समूहले यसअघि धेरै डकैती गरेको विज्ञहरू बताउँछन् । यो समूहले अढाई लाख डलर बराबरका ल्यापटप तथा अन्य महँगा इलेक्ट्रिक सामग्रीहरू यसअघि चोरेका थिए ।
यस कार्यमा संलग्नमध्ये एक जनालाई गएको मार्चमा नै प्रहरीले पक्राउ गरी अदालतले सजाय दिलाइसकेको छ । बाँकीका १२ जनालाई गएको शनिबार अदालतले थुनामा राखी थप अनुसन्धानका लागि आदेश दिएको छ ।
रोमानिया प्रहरीले यी पुस्तक फेला पारेपछि केही समयका लागि राजधानी बुखारेस्टस्थित नेसनल लाइब्रेरीमा राखेको थियो । गएको महिना मात्र यी पुस्तकका पाँच धनीमध्ये चार जना गई त्यहाँबाट दुर्लभ पुस्तकहरू लन्डन नै फिर्ता लगेका थिए ।
अनुसन्धान अधिकृत एन्डी डुरहाम भन्छन्, ‘प्रहरीको अथक प्रयासपछि चोरीमा संलग्न १३ जनाकै पुनर्मिलन सम्भव भएको छ ।’
फेला पारिएका सबै पुस्तकको अवस्था निकै राम्रो रहेको र कुनै पनि किसिमको खराबी नदेखिएको प्रहरी अधिकारी डुरहामले बताए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।