जर्मनीको फ्य्रांकफर्टमा यतिबेला विश्व पुस्तक मेला समापन भएको छ । आइतबार समापनको अवसरमा अनौठा शीर्षक भएका पुस्तकहरूको प्रतियोगितामा ‘एउटा बाटो किनारमा मुतिरहेको कुकुर’ले पुरस्कार हात पारेको छ ।

‘अ डग पिसिङ एट द एज अफ अ पाथ’ पुस्तकले अन्य प्रतिस्पर्धीलाई पछाडि पारी ४२ औँ द बुकसेलर/डायग्राम प्राइज फर अडेस्ट बुक टाइटल अफ दि इयर २०२० पुरस्कार हात पारेको हो ।

संसारकै ठूलो पुस्तक मेलाका रूपमा चिनिने यो मेला भने यस पटक महामारीका कारण थोरै समुदाय र अनलाइन छलफलमा मात्र सीमित हुन पुग्यो । तापनि मेलाका बारेमा सर्वसाधारणको चासो बटुल्न यो पुरस्कारले निकै सघायो ।

मुतिरहेको कुकुरसँगै प्रतिस्पर्धामा ‘रियल बुक टाइटल द्याट विल मेक यु लाफ’, ‘इन्ट्रोड्युसिङ द मेडिएभल एस’ (मध्यकालीन चाकको अध्ययन), ‘क्लासिकल एन्टिक्विटी इन हेभी मेटल म्युजिक’, २१ औँ शताब्दीमा वैदेशिक नीतिको विकल्प के हुनेबारे लेखिएको ‘हाउ टु मेक लभ टु अ डिस्पट’, ‘लनमुअर्सः एन इलुस्ट्रेटेड हिस्ट्री’, ‘द स्लटर अफ फार्म्ड एनिमल्सः प्राक्टिकल वेज टु इन्हान्स एनिमल वेल्फेयर’ लगायतका पुस्तकहरू थिए ।

कुकुरवाला पुस्तकले भने ४९ प्रतिशत मत ल्याएर पुरस्कार हात पारेको थियो । अन्य पुस्तकले भने त्यति धेरै मत प्राप्त गर्न सकेनन् ।

टिमोर क्षेत्रका आदिवासीहरूमाथि समाजशास्त्रीय अध्ययन गरी लेखिएको यो पुस्तकको शीर्षकले पाठकहरूलाई आकर्षित गर्ने अपेक्षासहित प्रकाशन गरिएको म्याकगिल क्विन्स युनिभर्सिटी प्रेसले प्रकाशन गरेको हो । पुस्तकका क्यानडेली लेखक ग्रेगोरी फोर्थले गम्भीर विषयको यति रोचक शीर्षक जुराउँदाको सास्तीका बीच पुरस्कार हात पार्दा खुसी लागेको जनाएका छन् ।