जर्मनीको १८५ वर्ष पुरानो प्रकाशन संस्था बर्टेल्सम्यानले पेइन्गुइन रेन्डम हाउस किनेको एक वर्ष नपुग्दै अर्को चर्चित प्रकाशक सिमोन एन्ड सुस्टर पनि हात पारेको छ । २ अर्ब १७ करोड डलरमा सिमोन एन्ड सुस्टर किनेको हो । सिमोन एन्ड सुस्टर किन्ने दौडमा न्युजकर्पका रूपर्ट मुर्डोकको पुस्तक प्रकाशन संस्था हार्पर कोलिन्स पनि रहेको थियो तर जर्मन मिडिया कम्पनी बर्टेल्सम्यानले यो बाजी हात मारेको हो ।

यससँगै संसारको लगभग आधाजसो अंग्रेजी भाषाका पुस्तकहरूको व्यापार यो कम्पनीमा केन्द्रित हुने भएको छ । त्यसै पनि यसअघि लगभग वार्षिक २ अर्ब डलरभन्दा बढीको किताब बेच्ने पेइन्गुइन रेन्डम हाउसको खातामा सिमोन एन्ड सुस्टरसमेत थपिएपछि चार अर्ब बढीको व्यापार थपिने अपेक्षा गरिएको छ ।

अंग्रेजी भाषा र अन्य प्रमुख भाषामा पुस्तक निकाल्ने संसारका प्रख्यात प्रकाशकहरूमा माथिका ती दुईबाहेक हेटाची लिभ्र, हार्पर कोलिन्स, स्कोलास्टिक आदि प्रकाशक पर्छन् । यी सबैको व्यापार वार्षिक रूपमा लगभग ११ अर्ब डलर हुने गरेको छ ।

बर्टेल्स्म्यानका प्रमुख कार्यकारी थोमस रेबले यो डिलपछि अकल्पनीय मूल्य थपिएको धारणा व्यक्त गरेका छन् । बुधबार मात्र यी दुई कम्पनी गाभिने घोषणा गरिएको थियो । त्यसो त यी दुई अमेरिकी कम्पनी गाभिने वा नगाभिने भन्ने विषयमा सरकारी स्वीकृति लिनुपर्ने हुन्छ । किनभने यसले अन्य कम्पनीहरूलाई प्रतिस्पर्धात्मक क्षमता घटाउने, अरू कम्पनीको आम्दानी सुकाइदिने सम्भावना बढ्ने देखियो भने सरकारले यस्तो मर्जर रोक्ने सम्भावना पनि हुन्छ ।

सिमोन एन्ड सुस्टरले वार्षिक दुई हजार पुस्तक प्रकाशन गर्ने गर्छ । हालसम्म यसले ३५ हजार शीर्षकका पुस्तक प्रकाशन गरिसकेको छ । पेइन्गुइन रेन्डम हाउसले भने वार्षिक १५ हजार शीर्षकका पुस्तक प्रकाशन गर्ने गर्छ ।

सन् १९२४ मा स्थापना भएको सिमोन एन्ड सुस्टर किने लगत्तै बर्टेल्सको खातामा संसारभरि ३२० वटा प्रकाशन संस्था रहने भएका छन् ।