साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सिधा रूसी भाषाबाट पहिलो पटक छेखफको कथाः अपराधी

Chovar Blues Mobile Size

कथा पढ्नुअघि

डा. बलराम अर्याल

समय खेर जान नदिन मैले छोटा-लामा रूसी कथा मूल भाषाबाट अनुवाद गरेँ । रूसी भाषाको सन्दर्भमा यहाँ लाटो देशको गाँडो तन्नेरी जो म आफूलाई ठान्छु । यी कथाहरूको छनोटको आधार चाहिँ यिनले दिने सन्देशहरू हुन् । म रूपलाई भन्दा सारलाई अलिकति भए पनि बढी महत्त्व दिनुपर्छ भनी ठान्छु ।

यी अनुवादहरू मूल कथाबाट टाढिएका छैनन् । अनुवादमा मैले मूल कृतिका संरचना र भावलाई सकेसम्म उतार्ने प्रयास गरेको छु । अर्थात् यहाँ भएका कथाहरू अनुवाद हुन्, व्याख्या होइनन् । मूल कृतिलाई व्याख्या गरेर गरिएको अनुवाद, जुन भाव अनुवादले बढी चिनिन्छ, मा लेखकको उपस्थिति कम हुन्छ, अनुवादकको बढी । यो मेरो निजी धारणा हो । रूसीमा यी कथाहरू पढ्दा सरर सर्छन् । यहाँ त्यसो नभएकोमा मेरो कमजोरी हो ।

अगाडि तपाईंले यो कथाको लेखकको नाममा एन्टन चेखभको ठाउँमा आन्तोन छेखफ नाम देख्नुभएर अचम्म मान्नुभयो होला । यसो गर्नु म ठीक ठान्दछु किनकि हामी अंग्रेजीका सबै खाले नाम-पदहरू पनि त्यसैगरी रूपान्तर गर्छौं । रूसीका चाहिँ किन यसो गर्न नहुने ? अर्थात् रूसीको ताल्स्तोइलाई हामीले टाल्स्टाय किन भन्नु पर्ने ? आलोचना स्वीकार्छु, त्यो पनि सहर्ष ।

यसअघि मैले शिसम प्रकाशन बालाजुबाट २०७५ मा ‘बसिबियाँलो’ किताब निकालेको थिएँ । त्यही बसिबियाँलोका कथाहरू नियमित रूपमा साहित्यपोस्टमा प्रकाशन हुनेछन् । कथा पढेर प्रतिक्रिया पाउनेछु भन्ने आशा गरेको छु ।

sagarmani mobile size

डा. बलराम अर्याल

 

अपराधी

अदालतको अनुसन्धान अधिकृतसामु खस्रो रङ्गी-चङ्गी कमिज र टालेको पाइन्ट लगाएको सानो अनि खिरौटे किसान उभिएको छ । रौँ नै रौँले भरिएको उसको अनुहार र बाक्लो आँखीभौँले गर्दा बल्ल-बल्ल देखिने उसका आँखाले निन्याउरो तर कठोरताको अनुभूति दिन्छन् । लामो समयदेखि नकाटेका कपालका डल्ला र लट्टाहरूले उसको टाउको भरिभराउ छ ।

‘जिनिस् ग्रिगोरियफ् !’ – अनुसन्धान अधिकृत यसरी सम्बोधन गर्छन्, र भन्छन्, ‘अलि नजिक आऊ र मेरा प्रश्नहरूको जवाफ देऊ । जुन महिनाको सात तारिख रेलवेको गार्ड इभान सिम्योनफ् आकिन्फफ् रेलवे लाइन जाँदा एक सय एकचालिसौँ कोशमा तिमीलाई रेलको लिक् बाँध्ने नट् झिकिरहेको अवस्थामा भेट्टायो । त्यो नट यही हो ? … नटैसमेत उसले तिमीलाई समात्यो । के कुरा यस्तै भएको थियो ?’

-क्या ?

-सबै यसरी भनेजस्तै भएको थियो कि ? जसरी आकिन्फफले बयान गरिरहेको
छ ।

-हो त्यस्तै भएको थियो ।

-ल ठीक छ; अनि के-को लागि तिमीले नट् निकाल्दै थियौ त ?

-क्या ?

-तिमी आफ्नो यो क्या-स्या हटाऊ, बरू मेरो सवालको जवाफ देऊ: के-को लागि तिमी नट् निकाल्दै थियौ ?

-नचाहिएको भा कहाँ निकाल्ने थेँ र नट्, – धोद्रो स्वरमा भन्यो उसले, यसैबीच दलीनतिर आँखा घुमाउँदै ।

-अनि के-को लागि चाहियो नि तिमीलाई यो नट ?

-अँ, नट् ? हामी नट बल्छीको डोरीमा झुन्ड्याउँछौँ नि, एउटा भारको रूपमा ।

-अनि हामी भनेको को नि ?

-हामी जनता … । अर्थात् क्लिमफ् गाउँका किसान ।

-अरे भाइ ! सुन; तिमी मन गडन्ते कुरा नगर, आफ्ना यस्ता मन गढन्ते कुराले मलाई मूर्ख नबनाऊ, बरू खसोखास के हो ? भन । यहाँ नट बल्छीमा झुन्ड्याउने भनेर झूटको कुनै तूक छैन ।

-हजूर, जीवनमा कहिल्यै झुटेको छैनँ मैले ! अनि यहाँ बोल्छु …? – भूत – भूत गर्दै रह्यो जिनिसले आँखा झिमझिम् गरेर । अँ, प्रभू ! के संभव छ त्यो चीजबिना ? अँ, तिमीले एउटा सानो माछा बल्छीको अँकुशेमा बाँध्यौ र पानीमा डुबायौ भने के त्यो जाला पानीको पिँधमा कुनै गह्रुङ्गो चीजबेगर ? के झूठ बोल्दै छु … , जिनिस् हाँस्दै रह्यो ।

-हामीकहाँ त्यसरी नै माछा मार्छन् मालिकहरू पनि । सबभन्दा बुद्धू बालक समेत
त्यो भारबिना माछा मार्न तत्पर रहने छैन । जसले माछा मार्ने ढङ्ग जानेको छैन ऊ मात्र त्यसो गर्ला त्यो फलामे टुक्राबेगर । मूर्खलाई त नियम नै कहाँ लेखिएको हुन्छ र … !

-बल्छीको भार बनाउन यो नट निकालेको हौ । तिमी यसै भन्दै छौ ?

-के-को लागि, नत्र ? खोपी खेल्नको लागि होइन त !

-भारको लागि तिमीले सिसा, गोली … किला-काँटा त्यस्तै अरू … लिन सक्थ्यौ नि … ।

-सिसा बाटोमा भेट्टाइन्न, किन्नु पर्छ ; किला-काँटाको चाहिँ कुनै तुक छैन यहाँ । नट्भन्दा राम्रो अरू केही हुँदैन यस काममा … । गह्रुँगो छ, अनि प्वाल पनि छ ।

-लट्ठकजस्तै कुरा गर्छ ! ठ्याक्कै हिजो मात्र जन्मेको जस्तो वा आकाशबाट यहाँ झरेको जस्तो । तिमी बुझ्दैनौ कि क्या हो बोल्ट निकालेर के हुन्छ भनेर ! बुद्धू कहीँको ? गार्डले झिमिक्क के गर्‍यो, ट्रेन त रेलवेको लिकबाट बाहिर ! मान्छे मर्छन् । मान्छे मार्ने थियौ नि त तिमीले !

-परमेश्वरले रक्षा गरून् प्रभू ! किन मार्ने मान्छे ? के हामी ख्रिस्तानी होइनौँ र ? वा हामी कुनै दुष्ट हौँ र ? जय होस् तिनीहरूको, सज्जन प्रभू ! आफ्नो काल बाँच्यौँ, त्यस्तो कुविचार समेत कहिल्यै आएको होइन दिमागमा … । मलाई बचाऊ, दया गर, देवी … ! हजूर, प्रभू !

-अनि केबाट, तिम्रो विचारमा, रेल दूर्घटनामा पर्छ ? दुई-तीनवटा के निकाल, बश दूर्घटना रेलको, तिम्रा बाजे !

-जिनिस् बिस्तारै मन्द मुस्कान फाल्छ, अनुसन्धान अधिकृतका कुराहरूमा पत्यार
नलागेको संकेत दिन, अनि यसो आखाँ झिंक्याउँछ उनीमाथि नै ।

-अँ ! हामी कति वर्षदेखि सबै गाउँ मिलेर बोल्ट निकाल्दै आएका छौँ, प्रभूले बचाएकै छन् यहाँ दूर्घटना … मान्छे मार्‍यो … । मैले लिक नै लगेको भए वा त्यहाँका सत्तरी नै निकालेर लिकको आडमा राखिदिएको भए, अँ त्यति खेर, हो रेलगाडी पल्टिन सक्थ्यो, यहाँ चाहिँ … थू ! नट् !

-बुझ न, भाइ ! नटले लिकका सत्तरीहरू उसँग जोड्छ ।

-यो चाहिँ बुझ्न सक्दैनौँ हामी …, अँ, हामी सबै नट् झिक्दैनौँ पनि त …, बाँकी पनि छोडिदिन्छौँ …, बुद्धि नै नभएको जस्तो पनि त गर्दैनौँ …, बुझ्छौँ नि … । जिनिस् हाई काढ्छ । आफ्नो सामुन्ने एउटा क्रस बनाउँछ ।

-गएको वर्ष यहाँ एउटा रेल-गाडी लिकबाट बाहिरिएको थियो, – अनुसन्धान अधिकृतले भने, अहिले आएर बुझियो, किन … ?

-के ?

-म भन्दै छु, गएको वर्ष रेल-गाडी किन लिकबाहिर गयो … ? अहिले आएर बुझ्दै छु यसो हुनुको कारण ।

-त्यसैमा त तपाईँहरू शिक्षित हुनुहुन्छ बुझ्नको लागि भनेर । – प्रभू-परमेश्वरलाई थाह थियो कसलाई बुझ्ने शक्ति दिनुभाथ्यो भनेर … । के कसो भनेर तपाईँले तर्क गर्नु भो, तर गार्ड । ऊ पनि त किसानै हो, के कसो हो बुझ्दै नबुझी कठालोमा समात्छ र घिसार्छ … । तिमी सोच, पछि घिसार ! भनियो, – किसान, किसानै हो र बुद्धि … । लेखिदिनुस्, हाकिम साप् ! त्यसैगरी ! उसले मलाई दुई-दुई चोटि बङ्गारै-बङ्गारामा बजाएको छ, पेटै-पेटमा त्यसरी नै !

-तिम्रो खान-तलासी लिँदा यो, एउटा अर्को नट् पनि त भेटिएको रहहेछ नि … । यो चाहिँ तिमीले कुन ठाउँबाट निकालेको नि ? अनि कहिले ?

-यो तपाईँ त्यो नट्को बारेमा बोल्दै हुनुहुन्छ, जुन एउटा सन्दुसको तल फेला पर्‍याथ्यो ?
-मलाई थाह भएन तिम्रो यो कहाँ थियो भनेर, तर यो फेला पारेछन् । अनि कहिले निकालेको नि तिमीले यो ?

-मैले यो निकालेको होइनँ, मलाई त, उ त्यो छ नि एक आँखे सिम्योनको छोरो इग्नाश्काले पो दिएको हो त । मैले त्यो भनेको, जुन सन्दुस तल थियो, तर त्यो जुन आँगनमा गाडामा थियो, त्यो चाहिँ हामीले मित्राफानफसँगै झिकेका हौँ ।

-कुन मित्राफानफसँग ?

-मित्राफानफ पित्रोफसँग … । सुन्नुभएको थिएन र केही पनि ? ठूला माछा मार्ने जाली बुन्छ र मालिकहरूलाई बेच्छ ऊ । उसलाई त झन् यस्ता नटहरू थुप्रै पो चाहिन्छन् त ! हरेक जालीमा दशवटा जति … ।

-सुन … । सजायसंबन्धी एक हजार एकासियौँ दफाले के भनेको छ भने रेलवेको कुनै पनि खाले हानी-नोक्सानी, जसको कारण त्यहाँ भएर जाने यातायातमा खतरा उत्पन्न हुन्छ, वापत् त्यसको दोषीलाई कठोर यातना शिबिरमा निर्वासित गरिन्छ ।

-हो, यस्ता कुराहरू महोदयहरूलाई बढी थाह हुन्छ … । हामी जनता निस्पट्ट …, केही बुझ्दैनौँ !
-तिमी सब बुझ्छौ ! यो त तिमी झूट बोल्दै छौ, मन-गढन्ते कुरा गर्दै छौ ! के-को लागि झूट बोल्ने नि ? गाउँमा गएर सोध्नुहोस्, पत्याउनुहुन्न भने … (नटको) बोझबिना त साना माछा मात्र मार्न सकिन्छ ।

-ल, चूप लाग … ।

सून-सान हुन्छ वातावरण । जिनिसले वतान भएको टेबुलतिर हेर्छ, अनि दृढ- निश्चित ढङ्गले आँखा झिमझिम गर्छ, मानौँ उसले आफू अगाडि वतान होइन, एउटा सूर्य नै देखिरहेको छ । उता अनुसन्धान अधिकारी भने फटाफट केही लेख्छन् ।

-म जाऊँ ? – केही बेरको सन्नाटापछि जिनिस् सोध्छ ।

-हुँदैन, अहँ हुँदैन । पैले तिमीलाई पहरामा लिनु पर्छ, झ्यालखानामा पठाउनु पर्छ ।
जिनिसले अब झिमझिम गर्न छोड्छ आफ्ना आँखा र प्रश्नको भावमा अनुसन्धान अधिकारी ट्वाल-ट्वाल्ती हेर्छ ।

-मतलब, कसरी झ्यालखाना ? हाकिम साहेब ! मेरो फुर्सद छैन, मलाई हाट जानु छ इगरबाट बोसोवापत तीन रूबल लिन … ।

-चूप लाग्, नबिथोल् !

-झ्यालखाना … ! केही निहूँ भए जान्थेँ । यसरी … राम्रोसँग बुझेको छु … केको लागि ?
चोरेको पनि छैनँ, झगडा गरेको पनि छैनँ … । यदि तपाईँलाई मैले बेलैमा कूत नतिरेको भन्ने शंका लागेको भए, प्रभू ! नपत्याउनुस् मुखियालाई … । उसले क्रश भिरेको छैन, उसको त धर्मै छैन, हजूर … ।

-चूप !

-यसै पनि चूप लाग्छु म …. । जिनिस् केही भुतभुत गर्छ । हामी दाजु-भाइ तीन जना छौँ: कुज्मा ग्रिगोरियफ्, इगर ग्रिगोरियफ्, अनि म, जिनिस् ग्रिगोरियफ् … ।

-तँ मलाई बिथोल्दै छस् । …. । ओ, सिम्योन् ! – अनुसन्धान अधिकृत चिच्याउँछ । लैजानू यसलाई यहाँबाट !

-दाजु-भाइ तीन हामी हौँ, जिनिस् भुत-भुत गर्छ, जब दुईजना सिपाहीले उसलाई कठघराबाट निकालेर बाहिर लग्दै गरे । भाइ, भाइको लागि प्रतिवादी होइन … । कुज्माले तिर्दैन, अनि तँ, जिनिस् जवाफ् दे … । न्यायाधीशज्यूहरू ! बुद्धिमत्तापूर्वक न्याय गर्नु पर्छ, यसै होइन । काटिइस् भने पनि आफ्नो कर्तुतको लागि होस्, आस्थाले होस् ।

प्रतिक्रिया
Loading...