हान राजवंशको दरबारमा वसन्तको एक बिहानी शीर्षकको यो चित्रकला चिनियाँ कलाको मास्टरपिसमध्येमा गनिइन्छ । ३०.६ बाई ५७४.१ सेन्टिमिटर लामो यो चित्रकला सिल्कमा रंग्याइएको छ । १६ औँ शताब्दीको मिङ राजवंशको पालामा दरबारिया चित्रकार कियु यिङ (१४९४-१५५२) ले बनाएका हुन् ।

हालको पूर्वी चीनको जियाङ्सु प्रान्तस्थित ताइकाङमा किसान परिवारमा जन्मिएका क्यु परिवारसहित सुझोउ शहर पुगे ।

युवाकालमा कियुले भित्ता रंग्याउने, धनीमानीको घरका बिममा चित्र बनाउनेजस्ता कार्य गरे । उनको सो कार्य त्यसबेलाका प्रख्यात क्यालिग्राफर तथा चित्रकार वेन झेङमिङ (१४७०-१५५९)ले प्रशंसा गरेपछि उनको भाग्य नै बद्लियो । उनको कला देखेर त्यसबखतका प्रख्यात कला शिक्षक झोउ चेन (१४६०-१५३५)ले उनलाई शिष्य बनाउन चाहे । उनको शिष्यत्वमा रहँदाका बेला उनले सङ राजवंशका प्रख्यात चित्रकलाहरूलाई नक्कल गर्ने कार्य गरे । यो नक्कल गर्ने कार्यले उनलाई चित्रकारिताको नयाँ कोण दिलायो ।

पछि उनले स्वतन्त्र रूपमा चरा, मानिसका अनुहार, फूल, घर र सुन्दर ल्यान्डस्केपहरू बनाए ।

यो स्प्रिङ मोर्निङ इन द हान प्यालेस ईशापूर्व २०२ देखि २२० अवधिको हान दरबारमा हुने गतिविधिलाई चित्रांकन गरिएको छ । जुन समयमा उनले त्यस समयको प्रतिविम्बन गरेका छन्, कतिपय सामग्री वर्तमानका उपयोग गरिएका भए पनि त्यो समयलाई जीवन्त बनाउन पर्याप्त रहेको विज्ञहरू बताउँछन् ।

यो चित्रको रोचक पक्ष के छ भने यसको पूर्ण स्क्रोल खोलेर हेर्ने हो भने एक सय १५ जना व्यक्ति यहाँ देखिन्छन् । दरबारका रखेलदेखि, नोकर्नीहरू, चित्रकारदेखि बालबालिका छन् । कुनै हतार यसमा देखिएको छैन । वसन्त यामको रमाइलोले सबैमा एक किसिमको खुसियाली छरेको छ । कोही बगैँचामा पानी पटाइरहेका छन्, कोही चेस खेल्दैछन्, कोही किताब पढ्दैछन्, कसैले पुतली पक्डने प्रयास गरिरहेको छ त कोही नृत्य र गफगाफमा मस्त छन् ।

दरबारका एक जना चित्रकारले कुनै दरबारिया स्त्रीको चित्र बनाइरहेको र केहीले त्यो चासोपूर्वक हेरिरहेको पनि देखिन्छ । त्यो बेला अरू दरबारिया स्त्रीभन्दा आफू राम्री देखिऊँ भनेर चित्रकारलाई घुस पनि खुवाउने गरिन्थ्यो ।

रोचक के हुन्थ्यो भने, त्यो बेला राजाकी रखेल हुन पनि यस्ता महिलाले फोटो राम्रो बनाइदिन आग्रह गर्थे र त्यसबापत राम्रै रकम घुस खुवाउँथे । एक पटकको कथा हो, राजाले मन पराएकी एक युवतीको चित्र कोर्दा एक चित्रकारले नराम्रो अनुहार बनाइदिए । जब ती युवतीसँग राजाको भेट भयो, उनको सौन्दर्यबाट यति मुग्ध भए कि नराम्रो चित्र कोर्ने चित्रकारलाई तत्काल टाउको गिँड्न आदेश दिए ।

यो चित्र हाल ताइवानको ताइपेईस्थित नेसनल प्यालेस म्युजियममा राखिएको छ ।

यसमा के हेर्ने ?
चित्रको सबैभन्दा दाहिनेतिर रातो गेट देखिन्छ । त्यसपछि बालबालिकासहित केही महिलाहरू छेउको पोखरीमा केही खेलिरहेको देखिन्छ । छेउमै दुई वटा मयूर देखिन्छन् । ती मयूरमध्ये एउटा मयूरले भने कोठाको झ्यालबाट केही खुवाउन खोजेकी महिलातर्फ ध्यान दिइरहेको छ ।

यसपछि देब्रे सर्दै जाँदा एक जना पुरूषलाई भर्खर बिदाइ गरिरहेकी महिला ढोकाको आडमा देखिन्छिन् । पुरूष हिँडिरहेको छ र उसको छेउमा एउटा बोन्साई रूख देखिन्छ । त्यसभन्दा अलि अगाडि आउँदा तीन जना पुरूष देखिन्छन्, जो केही लेनदेन गरिरहेका छन् । अलि अगाडि एक जना महिला अघि बढिरहेको देखिन्छ ।

त्यसभन्दा अलि अगाडि बढ्दा बगैँचेहरू फूलमा पानी हाल्ने गोड्ने गरिरहेका छन् । एउटी बालिका एक जना स्त्रीसँग केही कुरा सोधपुछ गरेझैँ देखिन्छ । त्यसभन्दा अलि अगाडि बढ्दा एक जना महिला रूखबाट केही टिप्दै गरेको र एक जना बालिकाले केही थापेजस्तो देखिन्छ ।

रूखको फेदमा दुई स्त्री कुराकानी गरिरहेका छन् भने अर्की स्त्री परैबाट उनीहरूका कुरा भेउ पाउन खोजेझैँ देखिन्छ । त्यसको ठीक पछाडिपट्टि दुई जना व्यक्ति देखिन्छन् ।

त्यसभन्दा अलि अगाडि बढ्दा संगीतज्ञ र नर्तकहरूको भिड छ, जो नाच्ने गाउने र बजाउने अभ्यासमा छ । त्यसभन्दा अलि अघि बढ्दा एउटा समूह भूइँमा बसेर केही खेलिरहेको प्रतीत हुन्छ । पर दुई जना स्त्री भने पुस्तक अध्ययनमा मग्न छन् ।

अर्को सेक्सनमा भने केही महिलाहरू चीनकै प्रख्यात खेल खौखौ खेलिरहेका छन् । केही हेरिरहेका छन् । कोही रम्रिरहेका छन् । पर बालबालिकालाई खेलाइरहेका स्त्री पनि देखिन्छन् र कोही भने बुन्ने कुरामा मस्त देखिन्छन् ।

यसपछि मुख्य भागमा एक जना चित्रकारले एक स्त्रीको अनुहार पेन्टिङ गरिरहेको देखिन्छ । छेउमा हेर्नेहरू र सेविकाहरूको दल पनि त्यहाँ देखिन्छ ।

यसरी एउटा जीवन्त जीवन त्यहाँ देखिन्छ । यसका लागि प्रत्येक मानिसको गतिविधि हेर्नु निकै रमाइलो हुन्छ । १८ फिटभन्दा लामो यो चित्रकला यहाँ सोही स्तरमा हेर्न नमिल्ला तर यसको भव्यता तपाईंले कल्पना गर्न भने सक्नुहुनेछ । तापनि यसको ठूलो स्वरूपमा हेर्नका लागि यसलाई राइट क्लिक गर्नुहोस् र अर्को ट्याबमा जुम गरी हेर्नुहोस् ।

अथवा, तलको लिंक कपी गरी अर्को ट्याबमा पेस्ट गर्नुहोस् र यसको स्वाद लिनुहोस् ।

https://the-public-domain-review.imgix.net/collections/spring-morning-in-the-han-palace-17th-c/8027323230_a44029d052_o.jpg?