साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको चौँधौँ संस्करणमा आर पी गाउँले, युवराज भण्डारी र सुरज गैरे सर्वोत्कृष्ट मुक्तककारका रूपमा चयन भएका छन् ।
यसैगरी सामान्य कमजोरीका कारण डा. सुरज निरौला, अड्कुर र केबी पारखी पछि परेका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको चार सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने आर पी गाउँले, युवराज भण्डारी र सुरज गैरेका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।
डा. लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहेका छन् । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गरेका थिए ।
प्रधानसम्पादक कोइरालाले काव्य विभागलाई भने, “तोकिएको नियममा रहेर १४ मुक्तक प्राप्त भएका थिए । केही मुक्तकहरू नियमबाहिर रहेर पनि प्राप्त भएका थिए ।”
चाडबाडका कारणले पन्ध्र दिनको समय राखेर मुक्तककार आफैँले तोकेको विषयमा मुक्तक पठाउन सकिने सुविधा दिइएको थियो । यसलाई पाठकले खुब रूचाएको अनुभव गरिएको छ ।
५० साता चल्ने यस प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ । छानिएका ४ सय ५० मुक्तकको पुस्तकसमेत प्रकाशन गरिनेछ ।
विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।
मुक्तक प्रतियोगिताको अर्को संस्करण मंसिर १२ गतेदेखि शुरू हुनेछ ।
पढ्नुहोस् विजयी मुक्तकहरूः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।