निर्वीर्य संसारका बासिन्दाहरू
दीप्ति कुशवाह
कवि परिचयः
नागपुर, महाराष्ट्रकी स्थायी बासिन्दा दीप्ति कुशवाह मूलतः कवि र कलाकार हुन् । स्नातकोत्तर तहसम्मको शिक्षा आर्जन गरेकी उनले खासगरी लोककला, कविता, निबन्धजस्ता क्षेत्रहरूमा आफ्नो विशेष पहिचान बनाएकी छन् । प्रकाशनका दृष्टिले उनका लोकचित्रकलासम्बन्धी एक पुस्तक ‘मोतियन चौक पुराओ’ र एक कविता सङ्ग्रह ‘आशाएँ हैं आयुध’ प्रकाशित छन् । यसै कविता सङ्ग्रहका लागि उनले महाराष्ट्र हिन्दी साहित्य अकादमीबाट प्रथम पुरस्कार प्राप्त गरेकी छन् । उनका कविता देशका अनेक प्रतिष्ठित पत्रपत्रिकाहरूमा प्रकाशित छन् । लोककला विषयक लेखन, चित्राङ्कन र अनुवादमा पनि उनको रुचि छ । राजधानी दिल्ली र अन्य अनेक स्थानमा उनका चित्रकलाहरूको प्रदर्शनी भइसकेको छ ।
‘निर्वीर्य दुनियां के बाशिंदे’ शीर्षकको प्रस्तुत कविता दीप्तिको एक निकै चर्चित र धरैले रुचाएको कविता हो । तेस्रो लिङ्गीहरूलाई विषय बनाएर लेखिएको यस कविताले उनीहरूलाई हेर्ने एउटा फरक र मानवतावादी दृष्टिकोण प्रस्तुत गरेको छ । तेस्रो लिङ्गीहरू मान्छेकै कोखबाट जन्मिएका मान्छे भए पनि तिनले कसरी एक प्रकारको पारिवारिक सामाजिक बहिष्करणको जीवन बाँचिरहेका छन् भन्ने सन्दर्भलाई मनोवैज्ञानिक ढङ्गले यस कविताले चित्रण गरेको छ । भाषान्तर कविताको यो शृङ्खलामा निकै कम लेखकले लेख्न रुचि देखाएको यसै विषयमा लेखिएको कविताको नेपाली अनुवाद प्रस्तुत गरिएको छ । साथमा कविका दुई लोकचित्रकला पनि दिइएका छन् ।
-अनुवादक
निर्वीर्य संसारका बासिन्दाहरू
दीप्ति कुशवाह
आफ्नै शरीर छ कारागार यिनका लागि
निधारमा टाँसिएको छ
प्रकृतिको अक्षम्य भुलको कलङ्क
जसमा कुनै दोष छैन यिनको
कुलपरम्पराको
यशोगानले भरिएका धर्मग्रन्थहरूमा
छैन यिनको कुनै पहिचान
केवल नाममा एउटा झुटो गरिमा
कुनै धनुर्धारी वा सुदर्शनचक्रधारीका नामसित
जोडिएपछि
जसले देखाउँछ
कुनै दैवीय परम्परासँग सम्बन्ध
कलियुगमा राज्य गर्ने वरदान पनि
लेखिएको छ
त्यतैकतै पहेँला पानाहरूमा
र भोगिरहेछन्
वर्तमानको श्राप यिनीहरू बेखबर
सुदूर अतीतका पृष्ठभूमिसम्म भेटिन्छन्
बुच्चा जिन्दगीका प्रमाणहरू
मिश्र, बेबिलोन, मोहनजोदडो…
आफ्ना इतिहासमा
थिचेका छन् तहतहमा
नपुंसक पीडाका निसान
‘नपुंसक’ शब्द एउटा गालीजसरी प्रकट हुन्छ
जसमा चम्किन्छ छवि एउटा खोपीको
जहाँ राजाहरूका लागि ती
रनिवासहरूको सुरक्षामा
प्रमाणपत्र थिए आश्वस्तिका
यिनको उभयलिङ्गी व्यक्तित्व
उपयोगी थियो गुप्तचरीका लागि
सकिए राजाहरू, भत्किए खोपीहरू
बाँकी रहे यिनीहरू
वस्तु बने लाजसरमका
जन्मनासाथ
बन्छन् अबुझ प्रश्नचिह्न परिवारका लागि
लोकनिन्दाका कारण
तिनको बालबोलीमा मुग्ध भएर
ओच्छ्याइँदैन आफ्नो हृदय
जसले आमाको आँचलमा उदासी
पिताको हृदयमा कटुता घोल्दछन्
गुलाबी वा आकाशे कुनै रङ हुँदैनन्
नाथ भएका यी अनाथहरूका लागि
बाल्यकालमा पाएको नामले पनि
दिँदैन साथ टाढासम्म
दोस्रोपटक नामकरणका साथ
द्वन्द्वले भरिएको संसारको
एउटा भाग बन्दछन्
नक्कली स्तनहरू र नारीपोसाकका साथ
अश्लील कोसिस गर्छन्
सम्पूर्ण नारी देखिने
पुंसत्वको त्याग एउटा भम्भीर प्रश्न हो
प्रकृतिले सुम्पिन्छ यिनलाई
जीवनयात्राका लागि
घाम, हावा, पानी र त्यही खाद्यान्न
जुन हामी सबैको भागमा छ
संवेदनाहरूमा दिन्छ
एकै जस्तो प्रभाव
भालेपोथीको मायामोहमा हराएका हामी
बिर्सिरहन्छौँ
हाम्रो यत्नको सानो टुक्राले
घटाउन सक्छ
कापुरुषहरूका जीवनयापनका यन्त्रणाहरू
बढाउन सक्छ
विरोधाभासहरूको प्रतिरोध गर्ने उत्साह
यहाँ घोषणापत्रहरूमा लोभलाग्दा वाचाहरू छन्
विकासका परिभाषाहरूमा
प्रदान गरिँदै छन् सुविधाहरू र आरक्षण
कुनै पनि शारीरिक कमजोरीले पीडितहरूका लागि
त्यहीँ यी अवयवविशेषको अविकासका लागि
सहानुभूतिसम्म छैन कसैसँग
कुनै दण्ड छैन निर्धारित
तिनका लागि जसले दुत्कार्छन् यिनलाई
बर्साउँछन् बहिष्कारका कोर्रा
खुल्दैनन् कुनै ढोका यिनका लागि
न मानवका, न मानवाधिकारका
यौनिक पहिचानको बन्द भुलभुलैयामा
स्वाहा हुनका लागि शापित छ
यिनको प्रच्छन्न सामाजिक जीवन
चुँडाएर
तितामिठा स्मृतिका धागाहरू
यिनले निस्किनुपर्छ
अन्तहीन बाटाहरूमा
जहाँ हुँदैनन् आमाबाका ममताका वृक्ष
भाइबहिनीका स्नेहका लहराहरू
त्यो संसारमा
अघि बढिरहेका यी पाइलाहरूको भाग्यमा
हुँदैन लेखिएको गृह पुनरागमन कहिल्यै
बन्जर मरुभूमि हुन् यी
कुनै बीज हालिँदैन जसमा आजीवन
प्रेमको अर्द्रतासम्म भेटिँदैन
उपेक्षाका थप्पडहरू झेल्दै
मात्र आलीहरूमा रोकिन्छ जीवन
“हरेक पुरुषमा हुन्छे एक स्त्री
हरेक स्त्रीमा हुन्छ एक पुरुष”
यसो भन्ने ज्ञानीले समेत बताउन सक्दैनन्
दर्शनको कुन जस्केलामा
होला निर्णय
मनुका यी वंशजहरूको
स्त्री देहमा पुरुषको मस्तिष्क
वा पुरुषको शरीरमा स्त्रीको !
पेन्डुलम झैँ हल्लिरहेको मन लिएर
ती तपाईँका खुसीहरूमा
खोज्छन् आफ्ना खुसीहरू
पवित्रता खन्याउँछन् आफ्ना आशीर्वादहरूका
जसले तपाईँका खुसीहरू बन्न सकून् दोब्बर
सट्टामा लिएर दुराग्रहको प्रसाद
फर्किन्छन् आफ्नो निर्वीर्य संसारमा
हस्ताक्षार गर्नका लागि
कुनै नयाँ सङ्ग्रामका काला विधानहरूमा
यिनको आकाशको सीमा छ मात्र यिनका आँखासम्म
कुनै रहस्यमय संसारका बासिन्दाजसरी
आफ्नो वंशका अन्तिम एकाइ
यी अर्धनारीश्वर
थकित उत्पीडित निद्राबिच
बाटो बिराएर आउने सपनाहरूमा सम्भवतः
आउँदो हो कुनै राजकुमार
सेतो घोडामा चढेर
अथवा कुनै अप्सरा गर्दी होली प्रतीक्षा
हत्केलामा राखेर आँखीभौँको रौँ
के माग्दा होलान् ती !
अथवा उडाइदिँदा हुन् त्यसलाई
केही नमागीकनै
त्यो कृपण-कठोर दातालाई
दुविधाबाट उद्धार गर्नका लागि
आफ्ना सुप्त यौन इच्छाहरूमा
पुग्न चाहन्छन् होला ती पनि
पर्वतको शिखरसम्म
उत्रिन घाटीका गहिराइहरूमा
कुनै कलकलाउँदो नदीमा
टाढासम्म बगेर जाने आनन्दले
सुम्सुम्याउँछ होला तिनको मनलाई पनि
तिनको हित हुँदैन प्रविष्ट
कसैको विचारमा
बलात् सुख चिथोर्नेहरू छन् अधिकांश
चिठी निकालेर फ्याँकिने
खामहरूजस्तो छ यिनको नियति
देख्दा आक्रान्त देखिए पनि
यी आफ्ना व्यवहारमा
लुकाएर राखेका हुन्छन् आफूभित्र
आफूसँगसँगै आफ्नो वंश
समाप्त हुँदै गरेको देख्ने डर
ठिकठिक अनुमान गर्न कठिन छ
यिनको बेसुरोपनको
यी भोगिएका तीक्तताहरू हुन् तिनका
जसले खोसेका छन् अन्तसको मिठास
तालीहरूको कर्कश ध्वनिमा लुकेका छन्
एकान्तका शोकगाथाहरू
निर्लज्जता देखाएर छोप्ने गर्छन्
अपूर्ण इच्छाहरूको सामूहिक रोदन
हारमोनहरूको
जटिल-कुटिल छलकपटमा फसेका तृतीय लिङ्गी
होइनन् सही पदार्थ
नोबेलका लागि
योग्य छैनन् यी
चिकित्साको क्षेत्रमा कुनै हलचलका
साहित्यिक विमर्शका कुनै धारा पनि
निस्किँदैनन् यिनलाई स्पर्श गर्दै
बजारमा चल्ने सिक्का पनि होइनन् यी
अस्त्र र शस्त्रमा अल्झिएका मान्छेहरू
जो हरेक मनुष्यलाई उपयोगका वस्तु ठान्छन्
फेर्न सकेका छैनन् अझै यिनलाई उपकरणमा
त्यसैले यिनको मृत्युको समाचार छापिइरहेको छैन
समाचारपत्रको कुनै कुनामा
छापिइरहेको छैन-
कि, गाडिँदै छन् केही लासहरू
खाल्टामा सिधा उभ्याइएर
थुकिँदै छ जुगुप्सा जसमाथि
आफ्नै आफन्हरूद्वारा
पिटिँदै छ चप्पलहरूले
यस आशमा-
कि, नफर्कियून् ती फेरि कहिल्यै यस योनिमा
समयको समुद्रमा
आँधीबेहरीका बीच
बिनामाझी, बिनाबहना
भौँतारिन्छन् डुङ्गाहरू
डगमगाउँदै र लच्किँदै
अन्ततः कता जान्छन्
कसलाई थाहा छ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।