१. हामी हाँस्दा

(विनोद गौचन)

म हाँसेँ
ऊ पनि हाँसी
हाँसैहाँसोमा मिसिएर हामी
यति धेरै हाँस्यौं कि
हाँसो रित्तिदा
बल्ल थाहा भो—
हाम्रो हाँसो सहन नसकेर
वरपरका मान्छेहरू
रुँदै रहेछन् !

 

२. लौरो

(उदय निरौला)

उकालाको सहारा
बाटाको साथी
थकानको सहारा
जसरी प्रयोग गरे पनि हुने
जसरी उपभोग गरे पनि हुने
उकालोको अन्तिम टुङ्गोमा
स्वार्थ सकिएपछि
हुइँक्याए हुने, घुँएœयाए हुँने !
चल्न चलाउन अर्काको बल चाहिने
भैँचालोको सानै धक्काले
हल्लिने, रन्थनिने !

समग्रमा
समष्टिमा लौरोको हुलिया यत्ति नै हो
लौरो जस्तै–जस्तै
हामी मान्छेहरूको
खासै परिचय पनि यत्ति नै हो !

 

३. प्रियतमा

(उत्तम भौकाजी)

मायालुका मनहरू
मैनजस्तै विचारहरू
पग्लिएछन् जताततै
सम्हालिने ठाउँहरू !

अँगालेर खुसीहरू
सँगालेर यादहरू
मातेर मस्किदिने
नशालु ती रातहरू !

भरिएका मीठा–मीठा
रसिला ती दिनहरू
ओसिलो नजरभित्र
कसिएका छिनहरू !

 

४. कालो डाबर

(केशव सिलवाल)

हावाले
आँखा चिम्लिएर वेग मार्छ
सूर्य सुटुक्क
अर्कैको कोठामा झुल्किन्छ
फूललाई छाडेर
बास्नाले आत्महत्या गर्दा
मेरो जीउभरि कालो दाग आउँछ !

मसँग केही छैन—
केवल काला दागहरू छन् !

 

५. एउटा तिक्त उत्तर

(ज्योति जङ्गल)

मान्छेको नाममा त
उमङ्गको जीवन जन्मिनुपर्छ
विद्रोहको मृत्यु
बत्तीको अँध्यारो मात्रै हो !

अझ—
लाचार–लाचार
निरीह बाँच्न गन्हाएको
तिम्रो मुखको मदिराले
तिमीलाई मान्छे हुन दिँदैन कहिल्यै !
कहिल्यै तिमी
मान्छे हुन पनि सक्दैनौ !