साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सौन्दर्यको अर्को नाम हुन्छ र ?

Chovar Blues Mobile Size

यो जगत आखिरमा प्रकृति, प्राणी र अझ प्राणीहरूमा पनि  मानिसकै कारणले सुन्दर भएको होला। यो जगतको नियमलाई चटक्क बिर्सनु हो भने जीवनको मापन गर्न उमेर मात्र प्रर्याप्त हुन्न । उमेरको हिसाब त एउटा छुट्टै पाटो हो, तर जीवन बचाइमा भोगिने यात्राका अनगिन्ती मार्गहरू माझ आफूले टेकेका डोबहरू पनि समेट्नु पर्ने हुन्छ।  जीवन गतिमा मात्र सिमित राख्ने हो भने प्रारम्भ र अन्तको साधरण रूप हो भन्ने बुझिएला। यसैले नियतिको अर्को अमूर्त पद्धतिसँगै  मुस्कुराउनु नै जीवनको सौन्दर्य हो । नत्र त आफैंले आफ्नो छाती पिटिपिटी रोएर दुख्नु र अरूको तमासा बन्नु जस्तै न हो। यसलाई यदि नस्वीकार्ने हो भने आफ्नै प्रतिरूपले नै यातना दिन्छ।

यस कुराबाट कहिलेकहीँ आरोपित भएर यही जगतमा युद्ध गर्न पनि तम्सिरहें । यो व्यग्रतामा आत्तिएर ब्रह्माण्ड चिहाउन बल गर्दा मेरो मन मस्तिष्कको तहबाट हातालाग्छ भगवान कृष्णले देवकीलाई मुख खोलेर देखाएको ब्राह्मणको गोलार्ध। यो भन्ने दुस्साहस गरिसकेपछि  सौन्दर्यको नाम नै किन चाहियो र हजुर !

जीवन सङ्घर्ष हो र साधना जीवन प्राप्तिको सौन्दर्य। साधनले तिखार्छ मान्छेको चेतनालाई । अनि त जोसुकैलाई अन्य कर्ममा झैं लेखनमा पनि सङ्घर्षको भावले चिमट्छ त । फेरि साहित्य लेख्न सङ्घर्षरत बल हैन शब्दसँग खेलेर लेख्नुको मीठासमा लेखकसँगै पाठकले बेग्लै आनन्द पाउछन्। तनाव हैन, रमाइलो मानेर शब्दसँग खेल्ने सङ्घर्षका साथ लेख्नु हो त साहित्यको सौन्दर्य यत्रतत्र हुन्छ । आफूले हैन, शब्द र भावले लेख्न लगाओस् लेखकलाई । जसले विचारको बेजोड प्रस्तुतिको क्षमता र कर्मक्षेत्रको हिसाब गर्न सजिलो होस्।

लक्ष्मी उप्रेती

लेखनमा शब्द र शैलीको  प्रभाव र प्रस्तुति गर्ने  कलाबाट पाठक अभिभूत हुन्छ । त्यहीँ प्रस्तुतिको माधुर्यसँगै क्षमता भएमा अनुभूतिका तरङ्गहरू सलबलाउँदै यथार्थको नजिक पुगिन्छ सायद । साहित्यको सौन्दर्य भनेको लेखकको चिन्तनशील मनस्थितिबाट उब्जिएका चेतना र साधनासँगै क्षमताको भाव हो।  यो अभ्यासमा  योगको अनुभूत गरेर पाठकलाई पनि लेखकले आफूसँग हिँडाउन सक्नु सुखको पराकाष्ठा भन्ने ठानेर अरू जस्तै म पनि लागि रहेछु निरन्तर। कहिले शब्दमा खेल्दै त कहिले शब्दले खोलाउँछ मलाई पनि। शब्दले खेलाओस् अनि लेख्न सकौं भन्ने चाहाना हरदम भइरहन्छ। तर सक्दिनँ र मलाई चिथोरिरहेछ ।

sagarmani mobile size

संघर्षको रंगमा पनि मीठो भाव मिसाएर लेख्नु अनि कल्पनामा डुल्नु लेखकको चेतनाजन्य कर्म र पाठकको सन्तुष्टि हो भन्ने त मैले पनि बुझेकी छु । यो बुझाइले कहिलेकहीँ अनर्थमा आफैंलाई तीखो काढा बनेर घोच्छ। यस्तोमा कतिपटक त आफूलाई रित्तो बनाएर नचाहादा पनि अरूको खुसीमा उत्सव मनाएका क्षणका यादहरू  जीवनमा खात लागिरहेका छन् । अनि मथिङ्गल नै हल्लाउनेगरी ती यादका भावहरू तछाड मछाड गरेर आउछन् र मलाई कायल बनाउँछन् ।

जीवनको लयमा बग्ने बौद्धिक ज्ञानको मार्ग, कर्म र विवेकको निरिक्षणमा मापन गरेर म रमाइउँछु कहिले त । जिन्दगीलाई यसरी तरङ्गमा छचल्काउनु हो भने जीवन गुनासो मात्र हुन्छ। यो गुनासोबाट अलग्गिएर नयाँ दुनियाँको आविष्कार गर्ने सोचमा बारम्बार जीवन यायावर बन्छ। तर  सौन्दर्यको अनुभूतिमा आफूलाई भर्न कहाँ सक्नु र ! त्यसैले जहाँ पुग्ने बाटो बनाउन सकिन्छ त्यहाँ पुग्ने अठोट गरेर नै आफ्ना भुल सच्याउनु हो। नत्र प्रेमको धुन हराएर विरहका धुनले बरवाद भई महाभूलको आरोपमा मुछिन पनि सकिएला है ।

कसैको पनि आफ्नै हिसाबमा जीवनको यात्रा तय गर्न सक्दैन्। तर बेलाबखत जीवनलाई जीवनसँग जोड घटाउ गर्न भने भुल्न हुँदैन। यस कुरालाई आत्मासाथ गरेर म पनि उत्साहित हुँदै प्रशन्नताको आरोहण गर्छु। नत्र त जीवन नै अधुरो ठानिन्छ र प्रशन्न हुन नै सक्दिनँ। यसको जड नै जीवनभित्र पलाउने पराजिता मानसिकताको संशय हो भन्ने लाग्छ । जसले हातमा आएको अवसर पनि उम्किएर जान्छ । मेरो यस्तो अलापलाई तमासा ठानेर हेर्ने मानिसहरूको भीडले कहिलेकहीँ म आफैंलाई किचिरहेको हुन्छ । यहाँले पनि मेरो ठाउँमा उभिएर एकपटक सोच्नुहोस् त ! त्यसबेला केही अनुमान लगाएर आफूलाई नै  छाम्नु हुनेछ । अनि खुसी बटुल्न सक्नु नै बुद्धिमानी मानेर अलग्गै बसेर तमासा हेर्ने दर्शक बनिन पनि सक्नुहोला, यो तमासे बनेर छरिन पनि सक्नुहोला ।

यतिसम्म भन्ने साहस गरेपछि मलाई लाग्छ जटिलताका साथ यात्रा गर्न सक्नु जीवन आफैं उत्सर्गमा पुग्नु हो। यसले जीवन र जगतबारे केही ज्ञान भयो भने मानिसले आफ्नो पहिचान आफैं बनाउन सक्छ । अध्ययनबाट जीवन र जगतको ज्ञान पुरै प्राप्त हुन नसके पनि  केही बुझ्न सहजता ल्याउला। आफूले देखेको, भोगेको र सहभागिता जनाएको क्षणलाई आधार बनाएर आफ्नो अनुभूति प्रस्तुत गर्दा रमाइलो लाग्ने विचारसँग म अनुभवी छु ।

साहित्य, संगीत र नाटक लेख्नु, आफू सन्तुष्ट हुनु, खुसी हुनु त छँदै छ। त्योभन्दा पृथक रूपमा जाँदा सामाजको समसामयिक चित्र उतारेर सत्यको उद्घाटनसँगै नकरात्मक पक्षमा विरोधको भाव उजागर गर्नु हो। यसैले साहित्यलाई अन्य विषयसँग तुलना गर्न नै मिल्दैन। सौन्दर्य शास्त्रीय मूल्यको चिन्तनमा समाजलाई साहित्यले घचघच्याउने काम गर्छ। यो हुनु सौन्दर्यको नै उत्तम दर्शन ठानेर मन पराउछु । यदि यो तर्क धर्मरायो भने समाज झन् पतन हुन पनि बेर नलाग्ला। समाजमा चेतनशील र बौद्धिक व्यक्तिले लोभ र लालची मनस्थिति बनाउनु भनेको  आफूलाई निरिह  ठान्नु र आफैंमा विद्रोही भावको सुत्रपात गर्नु हो । यसले साहित्यमा रंगहिन र उदास भावको वर्चश्व हुनसक्छ ।

लेखनको परम्परागत इतिहास मानव सभ्यतासँगै सुरु भएको पाइन्छ। अनि त प्रकृतिलाई सहायता गर्ने सामर्थ्य र सौन्दर्य भाव लेखनमा हुन्छ भनेर विद्वानको धारणामा अरू जस्तै म पनि निमग्न  हुन्छु। लेखकले आफ्नो  क्षमता, रुचि र धैर्यलाई सधैं आफूसँग हिँडाउनु पर्छ। विधा अनुसारका पात्र, विचार र परिवेशको न्यायोचित प्रस्तुति लेखनमा भयो भने पाठकलाई आन्नदसँगै चेतनाको तहमा पुराउन सक्छ। यस्ता लेख पढ्न पाउदा आनन्दको लहरमा कहिलेकहीँ म पनि चिन्तन गर्दै रमाएकी छु। यसैले साहित्य सिर्जनामा सर्जकले समाजका नै मानवीय चेतनालाई छोएर अनि समय र परिस्थितिलाई उभ्याएर लेख्नु जीवनवादी हुन्छ भन्ने कुरा नकार्न सकिन्न होला।

मानिसको सपना पूरा नभए पनि केही छैन। अनन्त मानिस इमान्दार भए जीवन नै  महत्वपूर्ण हुन्छ। मानिस नरिसाई प्रशन्न भएर जिन्दगीको अर्थ खोज्नु हो त आहाँ ! त्यो नै सत्यम शिवम् सुन्दरम् हैन र। सत्यको नजिक पुग्न केही  जटिल हुन्छ तर नसकिने चै हुदै होइन है । सकेसम्म सत्यलाई आत्मासाथ गरेर असल भएर बाँच्नु हो जीवन त । सत्यको अनुमोदन गरेर सत्यको नै नजिक पुग्नु हो भने सौन्दर्यको क्षितिज पनि आफैं बनाउन सकिन्छ । जीवन यस्तो लयमा बगाउदा सार्थक होला नहोला थाहा छैन तर म चाहिँ आशावादी छु । यसले आफ्ना सन्ततिलाई डोर्याउने मजबुत हातहरू पनि बनेको आभास छ। जीवनले जीवनलाई बुझ्ने भनेको पनि यही हो। अलिकति भए नि हामी  हाम्रो जगतका कुरा जान्नु  जीवनको सारत्व होला। अनि फेरि एकाएक सोच्छु, कहिलेकहीँ जीवनमा एउटा क्षितिजको अन्दाज गरेर निमग्न रमाउनुको अर्थ चाहिँ के हो त ? तर जे अर्थ भए नि रमाउने गर्छु म । समयको भागदौडमा  क्षितिजमा रमाउनु पनि त जीवन त्रासदीबाट बँच्नु हो सायद । जसबाट एकतमासले ममा परिवर्तन भएर खुसीको आयम झुल्कन्छ।

कुनै दिन अज्ञान र अवचेतन मनसँगै दम्भले कसैलाई वास्ता नगरेकोमा भने म निकै मतलवी र भावहिन भएको आभासमा रित्तो रित्तो भएर  पछुताएकी पनि छु। अनि यसबेला आफूले देखेका अधुरा सपनालाई स्वाट्ट त्यागेर जीवनपथमा लाग्ने एउटा विपनाको सौन्दर्य आयम थप्न  कामना गरिरहेको हुन्छु । यो कुराका लागि प्रकृति नै प्रर्याप्त ठान्छु । यो धरातल कहाँसम्म फिजिएको छ, कस्लाई थाहा छ र ! तर मान्छेले आफ्नो धरातल बिर्सनु त हुन्न। बिर्सियो भने न जगत बुझ्छ न जीवन नै बुझ्छ। जगत र जीवन नबुझ्नु आफ्नो गति लरखराउनु हो भन्ने लाग्छ ! बुझ्नेले आफैंले टेकेको धरातललाई साक्षी राखेर समाज र परिवारको नापजोख गर्न पनि मजाले सक्छ । तर नढाटी भन्नु पर्दा म पनि यो कुरामा बारम्बार विखण्डित हुने गर्छु ।

मानिस सफल असफल या चिन्ता शान्ति र विचलन उत्साह जे नै हुदाँ पनि जीवनको मूल्याङ्कन गर्ने आफैंभित्र चेतना छ भने अति उत्तम । तर चेतना हुनेले पनि आफ्नो मूल्याङ्कन पूर्णरूपमा गरेका हुन्छन् त ! अहँ हुँदैनन्। किनकि मूल्याङ्कन भनेको जीवनलाई कमजोर बनाउने चिन्तन हो। कसलाई आफू कमजोर भएको मन पर्छ र ! मान्छेले यहीँ आर्जन गरेको कर्मबाट कोही सबैका प्रेरक पनि हुन्छन् कोही दुष्ट पनि हुन्छन्। जब जीवनको आरम्भ हुन्छ जीवन सुरु हुन्छ। जीवनको अन्त्य हुन्छ  जीवनको अस्तित्व सकिन्छ । तर उसको कर्मबाट जगतमा उसको प्रतिष्ठा रहिरहन्छ। अनि एउटा कटुसत्य, आउँदा र जादाँ भने जसले पनि रित्तै आउनु र जानु पर्ने यो जगतको नियमको नियतिमा आवद्व छ मानिस । तर आउँदा र जादाँ बीचको समयमा भने कति चाहिने हो मानिसलाई ? अचम्म लाग्छ । सुख सुविधाको  भौतिक तत्व मात्र हाेइन, माया, प्रेम, लोभ, लालच, रिस, ईष्या, अहंकार, समाज, संस्कार, परम्परा, पद्धति , विकास,  शिक्षा, मैत्रिक भावना, ज्ञान अध्यात्म ! के के हो के के । यसमा कोही अछुतो छैन भन्दा अतिशयोक्ति नहोला जस्तो लाग्छ।

अरूलाई आपत् विपत् पर्दा मतलव नराख्ने मान्छे निकृष्ट हुन्छ। यस्तोसँग संगत गर्नु व्यर्थ हुन्छ। नदेखे जस्तो गर्नेहरू पनि कुनै गतिला हुन्नन्। यो हुनु भनेको जीवनबाट भाग्नु या भनौं जीवनसँगको लडाइँ हो जस्तो लाग्छ मलाई त । कुनै पनि मान्छेले जीवनसँग लडेर जीवन जितिदैन् । तर मुस्कुराएर त संसार नै जितिन्छ भन्ने भाव कति राम्रो हो ।  राम्रो आँखाले संसार हेर्ने मन हुनु जीवनमा जीवन्तताको समष्टि हो सायद। यो सौन्दर्यको पराकाष्ठा बनी निसंकोच निर्विवाद चलिरहन्छ। यसमा कहिले अहंकार निलेर कहिले अहंकार नै ओकलेर संसारको तारतम्य मिलाउने मनको कुरा गरेर के साध्य।

सूर्योदयको रक्तिम आकार, दिनको प्रकाश र कालो रातको त्रासदी क्षण, जूनताराको स्निग्ध भाव,  कल्पनाको स्वर्णिम पल, प्रकृतिका अनन्त सिर्जना र सृष्टिको लय अनि अरू के के हो प्रिय पाठक महोदया ! यहाँहरूले पनि प्ररिक्रम गरेर त हेर्नु जीवन र जगतलाई । जब जगत फूल जस्तो हुन्छ तब जीवनमा पनि बसन्त बहार छाउँछ । जब जगतमा हरियाली छाउँछ तब जीवनमा फुर्ति बडेर शरिर नै उड्न खोज्छ ।  तर मान्छेले एउटा कुरा चाहादा शरीरले गर्न सके पनि मनले गर्न कहाँ दिन्छ ? कहिलेकहीँ पो संजोग जुर्छ र मन पनि मिल्छ त जीवनलाई आफ्नै ठानेर ! त्यसबेला मन र जीवन नीलो आकाश बनी शान्त हुन्छ।

मानिसहरू भरसक आफ्नो परिधिको संसार आफ्नै तरिकाले बनाएर उमङ्ग बाढ्ने चिन्तन गर्छन्। आफ्नो  क्षितिज आफैंले कोर्छन् र त्यसमा सकेसम्म राम्रो चेतनाको आकार दिन उद्विग्न हुन्छन् । जसले गर्दा क्षितिजको सरोवरमा डुबेर रमाउँछन्।  कतिले त क्षितिजलाई आफ्नो मनमा अटाउन पनि दुस्साहस ठानेर पन्छिएर अन्ततः जीवन माटोमा मिलाउँछन्। कल्पनामा एकैछिनमा संसार चक्कर लगाउन सकिन्छ। यसमा शब्दको ध्वनिसँग खेल्नुमा पनि सौन्दर्यवोध हुन्छ। अनि सौन्दर्य केलाई भन्ने हो, नाम खोज्दै म अनमस्कमा परेर एकाएक पहाड अग्लिए, पहाड चिराचिरा भएर फाट्यों । हैन हैन, म बरफ जमें, बरफ त पग्लिएर तरल भयो। म समुन्द्रको सतही बनें, हरे ! समुन्द्र त उफ्रिएर मलाई निल्न आयो। अनि क्षितिजमा छरिएका टुक्रामा टासिन पुगें ।  क्षितिज समेटिएर आफैंभित्रको रहस्यमा लुकाउन खोज्यो । अहँ, मैले सौन्दर्यको अर्को नाम नै कहीँ भेटिनँ । अन्ततः आफैं यो निर्क्यौलमा पुगेर ढुक्क भएकी छु । सौन्दर्यको अर्को नाम हुँदैन र अरू नाम राख्न मिल्दैन। सौन्दर्य आफैंमा अलौकिक आभाको उज्यालो नाम हो ।

प्रतिक्रिया
Loading...