आजकल साहित्यको बजारमा आत्मकथाहरू धेरै नै देख्छु म, चाहे ती आफैंले लेखेका हुन् वा घोस्ट राइटरको सहायतामा लेखिएका, तर पाठक र समीक्षक त्यति सन्तुष्ट भएको देखिदैन । आफ्नो समयको स्वकेंद्रित मुल्यांकन र आत्मस्तुतिगानका पुलिन्दा भएको ठान्छन् केही मान्छेहरु । यी असन्तुष्टिका बाबजुत् आत्मकथामा उल्लेखित विषय, प्रसङ्ग र तथ्यमाथिको सत्यताको कसीको प्राधिकार स्वयं लेखक नै हुन्छ । आफ्नो जीवनबारे के भन्ने, के नभन्ने, कति भन्ने, कसरी भन्ने, आदि कुरा लेखककै तजवीजका कुरा हुन् ।

यो त भयो आत्मकथाको कुरो तर यहाँ चर्चा गर्न खोजिएको किताब त्यस्तो आत्मकथाको किताब नभई संस्मरण हो । जनकलाल शर्माका ३४ वटा संस्मरणहरुको सँगालो, त्यो पनि तुलनात्मक रुपमा पुरानो अर्थात् साझा प्रकाशनले साठी सालमै छापेको । यी संस्मरणहरु शर्मा स्वयंले पुस्तकको रुपमा तयार परेका भने होइनन् । चालीस र पचासको दशकमा शर्माले विभिन्न स्मृतिग्रन्थ र पत्रपत्रिकाहरुमा उतारेका स्मृतिहरुलाई डा. माधवप्रसाद पोख्ररेल र डा. सुमन ढकालले खोज, संकलन गरी पुस्तकको स्वरुपमा ल्याउने काम गरेका हुन् ।

‘हाम्रो समाज एक अध्ययन’, ‘जोसमनी सन्त परम्परा र साहित्य’, ‘कौतुकमय डोल्पो’ जस्ता अनुसन्धानमुलक पुस्तकहरुका लेखक जनकलाल शर्माले त्यस बखतका प्रखर व्यक्तिहरु बाबुराम आचार्य, गोपाल पाण्डे असिम, केशवराज पिंडाली, बीपी कोइराला, राहुल सांकृत्यायन, बालकृष्ण सम, नयराज पन्त, योगी नरहरिनाथ, टंकप्रसाद आचार्य, ईश्वर बराल, सत्यमोहन जोशी, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, धनबज्र बज्राचार्य लगायतका व्यक्तिहरुसँगको सम्बन्ध र उनीहरुको व्यक्तित्वको बारेमा मसिनो गरी केलाएका छन् ।

सम्झनाका झिना रेखाहरु शीर्षकको संस्मरणमा शर्माले कोइराला परिवारसँग जोडिएका स्मृतिहरुलाई पंक्तिबद्ध गरेका छन् । बीपी कोइरलालाका बुबा कृष्णप्रसाद कोइरालासँग शर्माको बुबाको समयदेखि नै चिनजान रहेछ । कृष्णप्रसाद कोइरालले तराईको चन्द्रगंज र इलामको गोर्खे भन्सारको ठेक्का लिँदा कस्ता हर्कतहरु गर्नु परेको थियो भन्ने बारेको रोचक प्रसंगको बयान छ यसमा । पहाडबाट तराईतर्फको बसाइसराईको सन्दर्भमा महेन्द्र राजमार्गको निर्माण, औलो उन्मुलन आदिलाई आधार मानेर व्याख्या गरिन्छ तर राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नै तराईतर्फ हुने बसाइसराईलाई राज्यले नै प्रोत्साहन गरेको देखिन्छ । शर्मा लेख्छन्, “चन्द्र शमशेरले धेरै बस्ती बसाउने प्रयत्न गरे तराई खण्डमा । १९२४–२६ इश्वीमा अत्यन्त धेरै जंगल फँडानी भयो नेपालमा । भारतले नयाँ नयाँ रेलवे लाइन बनायो त्यस समय । जंगलको काठ बेचेर पैसा आउछ भन्ने थाहा थिएन राणाहरुलाई । ब्रिटिश भारतले काठ किनिदिँदा चिठी परेजस्तो भयो उनीहरुलाई ।” (सम्झनाका झिना रेखाहरु–१, पेज ३४)

यसरी काठ कटान गर्न र खाली गरिएको जग्गामा बस्ती बसाउनको लागि राणाहरुलाई मान्छे चाहिएको थियो र त्यसका लागि राजनीतिक मुद्दाबाहेक ज्यानमारा समेतलाई छुट दिएका थिए । साथै पञ्चायत कालमा गाउँ फर्क अभियान चलेको थियो तर त्यो अभियान नेपालको मौलिक अभियान चाहिँ थिएन रहेछ, “युरोपमा औद्योगिक क्रान्तिपछि सहरको आबादी बढ्यो भने गाउँ सुनसान हुन थालेका थिए त्यस समय । त्यसैलाई सन्तुलित पार्न गाउँ फर्क अभियान आएको थियो युरोपमा सर्वप्रथम र त्यसैको भारतीयकरण गरे महात्मा गान्धी र डा. राजेन्द्रप्रसादले ।” (बाबुराम आचार्यः एक संस्मरण, पेज १५)

पुस्तकमा यस्ता केही प्रसंगहरु छन्, ती प्रसंगहरु अहिले पढिरहँदा हामीलाई त्यति स्वभाविक लाग्दैनन् । जस्तै, “सात साल अगाडिसम्म होटेलमा खाने बानी थिएन नेपालीहरुको । नयाँ सडक र कुलेखानीको एउटा होटेलबाहेक अरु होटेल नै थिएनन् । हलुवाईको मिठाइ पसलबाहेक अरु चिया पसल पनि थिएनन् । होटेलमा पस्नु सामाजिक मर्यादाको उल्लङ्घन मान्थे त्यस समय ।” (चनु उप्रेतीः एक झझल्को, पेज २)

अहिले काठमाडौंको चिया संस्कृतिमा बाँचेका मानिसहरु र हप्ताको एक दुईपटक बाहिर रेष्टुरेन्टमा गएर खानु पर्ने बानी परिसकेका मानिसहरुको लागि यो अलिक अनौठो लाग्ने कुरा हो । पहिले होटेलमा गएर खाने प्रवृतिलाई सांस्कृतिक र धार्मिक नियमहरुको विरुद्ध गएको मानिन्थ्यो भने अहिले सामाजिक प्रतिष्ठाको विषय मानिन्छ । यसले हाम्रो समाजमा आएको परिवर्तनलाई देखाउछ । त्यतिबेलाको समयमा प्रतिबन्धित थिएन अफिम नेपालमा ।

“प्रायः प्रत्येक टोलमा अफिमची बूढाहरु पाइने गर्थे त्यस समय । धेरैजसो हुनेखाने महिलाका पोल्टामा केराउको दाना जत्रो अफिमको गोली पाइन्थ्यो खोजिपसेका खण्डमा । काखको बालक सुताउने काममा प्रयोग हुन्थ्यो त्यस्तो अफिमको गोली । आफ्ना दूधका मुन्टामा अफिम दलेर दुध चुसाउने गर्थे नानीलाई आमाहरु ।”(पण्डित वासुदेव भट्टराई, पेज १२) अहिले त कथा जस्तो लाग्छ यी सबै कुरा ।
यही शीर्षकको अर्को भागमा शर्माले बीपीसँगको व्यक्तिगत सम्बन्धको बारेमा लेखेका छन् । २००९ सालको मंसिर पुसतिर महापण्डित राहुल सांकृत्यायन काठमाडौँ आउने भएका थिए र आवासको प्रबन्धको लागि जनकलाल शर्मालाई आग्रह गरेका थिए । मधुमेहका रोगी सांकृत्यायनलाई बस्नको लागि ‘एट्याच बाथरूम’ सहितको आवास चाहिएको थियो । नेपालमा त्यतिबेला होटलहरु पनि खुलिसकेका थिएनन् । राणाहरुबाहेक अरुका घरमा विरलै त्यो सुविधा थियो । चारैचौरस चाहरेपछि उनी बीपी कहाँ पुग्छन् । बीपी त्यतिबेला पुतालीसडकको रातो बङ्गलामा बस्दा रहेछन् । प्रयोजन नखुलाईकन रातो बङ्गला एक महिनाको लागि मागी हेर्छन् । बीपी हाँसीहाँसी तयार हुन्छन् । जब उद्धेश्य थाहा पाउछन् अनि अति प्रशन्न हुन्छन् । साथै शर्माले सूर्यविक्रम ज्ञवालीलाई रोयल नेपाल एकेडेमीको सदस्य सचिवमा नियुक्तिको लागि खेलेको भूमिका र सोभियत संघका राष्ट्रपति भोरोसिलोभ नेपाल भ्रमणमा आउँदाको प्रसङ्ग साथै भारतकी प्रशिद्ध इतिहासकार रोमीला थापर पनि त्यतिबेला नेपाल भ्रमणमा आएकी रहिछन्, बीपी को निजि पाहुनाको रुपमा । जनकलाल शर्माका यी स्मृतिहरूले बीपीको उदार व्यक्तित्वमाथि थप प्रकाश पर्न सहयोग गरेका छन् ।

अवश्य पनि राहुल सांकृत्यायनका धेरै मित्रहरु थिए नेपालमा, तर नेपालसम्बन्धी विषयमा सम्पर्क सूत्रको काम जनकलाल शर्माले गरेका थिए । जनकलालकै अनुसार राहुलसँग उनको जम्मा सातपटक भेट भएको थियो, तर राहुल भारतको जुनसुकै ठाउँ वा चीन, श्रीलंका जहाँ जान्थे आफ्नो काम र योजनाको बारेमा जनकलाललाई जानकारी गराउँदा रहेछन । हराएका बाहेक एक सय चार चिठी त उनले राष्ट्रिय अभिलेखालयलाई दिएका रहेछन् ।

यहाँ पढ्दै जाँदा थाहा हुन्छ कि शर्मा राहुलको व्यक्तित्वबाट अति नै प्रभावित भएको थाहा हुन्छ । एक ठाउँमा उनी लेख्छन, “एक–दुई विषयमा प्रतिभा हुनु नौलो कुरा होइन त्यो, तर औंलामा गन्न नभ्याईने विषयमा प्रतिभा हुनु अनौठो कुरा मान्नुपर्छ । त्यसलाई पौर्वात्य दर्शन, पाश्चात्य दर्शन, व्यवहारिक राजनीति, आधुनिक समाजवाद, भाषा, व्याकरण, काव्य, कोश, मौलिक उपन्यास, मौलिक कथा, सम्पादन, संकलन, संक्षेपीकरण, अनुवाद, देशदर्शन यात्रा, पुरातत्व, इतिहास, विज्ञान, जीवनी, आदि कुन विषय छोएको छैन उसले ? संसारका प्रमुख चौबीस भाषामा लेख्न, पढ्न, र पढाउन सक्छ ।”

यसबाट प्रष्ट हुन्छ कि राहुल बहुमुखी प्रतिभा सम्पन्न व्यक्ति थिए । विश्वका धेरै ठाउँमा पुगेका उनले एक सय आठभन्दा धेरै किताब लेखेका छन् । रसियाको पेत्रोग्राद विश्वविद्यालयमा संस्कृत र अन्य दक्षिण एसियाली भाषा साहित्यको प्राध्यापक भएर काम गरे । साथै चीन सरकारको भाषा सुधार आयोगको सल्लाहकारको रुपमा आफ्नो विद्वताको प्रयोग गरे । (राहुलका साथ केही समयः पेज ५६, ५७) । वास्तव मै यस्तो व्यक्तित्वबाट प्रभावित हुनु अस्वाभाविक थिएन ।

राहुललाई लिएर केही विवादका कुराहरु सुन्न पाइन्छ कहिलेकाहीँ । राहुलको जीवन यायावरीमै बितेको थियो धेरै । सोह्र वर्षको उमेरमा नै घर छोडेर हिँडेका थिए । यसै सन्दर्भमा आउने पहिलो आरोप के हो भने, उनी जहाँ जान्थे त्यहाँ विवाह गर्थे र त्यो ठाउँ छोडेर अर्को ठाउँ गएपछि अर्कै विवाह गर्थे । राहुललाई चिन्ने र पढ्ने मान्छेहरुबाट सुनेको हो मैले पनि । अर्को कुरा, राहुलले तिब्बतको बारेमा विसद् अध्ययन गरेका थिए । भारतबाट लोप भैसकेका ग्रन्थहरुलाई भारतमा ल्याई पुनरुत्थान गरेका थिए । यसै सन्दर्भमा, अर्काको देशबाट सांस्कृतिक सम्पदा अनधिकृत रुपमा ल्याउने कुरालाई लूटको संज्ञा दिनुपर्छ भन्नेहरु पनि थिए । यो दुवै विषयमा शर्माले चित्तबुझ्दो जवाफ दिएर आरोपहरुको खण्डन गरेका छन । (महापण्डित राहुल सांकृत्यायनः एक संस्मरण पेज, ६५ र ७८,७९)

यसबाहेक कमला परियारसँग राहुलको बिहे हुनुमा शर्माको अप्रत्यक्ष भूमिका, राहुल नेपाल आउँदा बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटासँगको भेटवार्ताको प्रसंग, राहुल कम्युनिष्ट पार्टीको सदस्यबाट निलम्बित हुनुका पछाडिको कारण लगायतका प्रसंगहरु रोचक छन् । नेपाल र नेपालीप्रति हार्दिक सद्भाव थियो राहुलको, विवाह पनि नेपाली मुलकी भारतीय नागरिक कमलासँग भएर हुनुपर्छ । नेपालको इतिहाससँग सम्बन्धी एउटा पुस्तक लेखेका रहेछन् राहुलले तर छापिए पछाडि प्रेसबाटै गायब भएछ सबै प्रति । (राहुलका साथ केही समयः पेज ५९)

राहुलको अध्ययनको जुन अपरिमित दायरा थियो त्यसको आधारमा भन्न सक्छौं कि त्यो पक्कै पनि महत्वपूर्ण सामग्री हुन सक्थ्यो नेपालको इतिहासका सन्दर्भमा ।

राहुलसँगको हिमान्चल यात्राका क्रममा जनकलालले जे जे प्रमाणहरु र लेखोटहरु फेला पारे त्यसको आधारमा सुगौली सन्धीपूर्व नेपालको सिमाना सतलजसम्म मात्र नभई रावी नदीसम्म पुगेको कुरा दावी गरेका छन् । साथै शर्माले त्यहाँका स्थानीय जनताले गाउने लोकगीत पनि संकलन गरेर ल्याएका रहेछनः

“राजा तेरे गोरखियाने लुट्या पहाड
लुट्या पहाड गोरिया लुट्या पहाड
तीसा लुट्या, बैरा लुट्या, लुट्या भान्दलकि हार
पाँगीदी पंगवालिया लुटियाँ लुटी बाँकी नार
सुन्ना लुट्या, चान्दी लुट्या, लुट्या जवाहारा
सजा सुत्ति कामिनी लुटियाँ लुट्या पहाड “
(महापण्डित राहुलका साथ हिमान्चलयात्रामा, पेज ९१)

धरणीधर कोइराला र केशवराज पिंडालीको बारेमा पनि छुट्टाछुटै शीर्षक अन्तर्गत लेखेका छन् । धरणीधरको बारेमा लेख्दा मोटामोटी रुपमा दार्जिलिङको इतिहास नै लेखेका छन् । सुधपाले नेपाली साहित्य सम्मेलन नामको संस्था गठन गर्न खेलेको भूमिका र नेपाली साहित्यको क्षेत्रमा धरणीधरको व्यक्तिगत योगदानको बारेमा चर्चा गरेका छन् । केशवराज पिंडालीको बारेमा जे लेखेका छन् त्यसबाट प्रस्ट रुपमा थाहा हुन्छ कि जनकलाल शर्मा पूर्वीय साहित्य परम्पराको साथै पाश्चात्य साहित्यका पनि ज्ञाता थिए, समको संस्मरणमा जे लेखेका छन् यो कुरा थप प्रस्ट हुन्छ ।

‘फर्केर हेर्दा’मा उनी आफ्नो बाल्यकाल र जन्मस्थान इलामतिर फर्केका छन् । इलाममा कसरी डाँडाभरिका रुखहरु काटियो र चिया बगान बनाइयो भन्ने कुरादेखि लिएर त्यतिबेलाको जात व्यवस्थामा टिकेको समाजको बारेमा लेखेका छन् । विशेषगरि उनले उल्लेख गरेका दुइटा कुराहरु उदृत गर्न चाहन्छुः “शिखासुत्र सरकारले नै झिकेपछि कुनै गाह्रो परेन सन्यासी हुन । नेपाली समाजबाट विरक्तिएर मुगलानवासी हुन पुगे नयाँ सन्यासीहरु ।” र गरिबीले सताएको नेपाली केटो पैसा कमाउन होमिएछ दार्जिलिङको पुल बजार भन्ने ठाउँतिर । औलो ज्वरोले थलिएछ, केही दिन सुतेछ इस्टमित्रको घरमा । घर आएपछि भाते मुद्दा लाग्यो भोटेले छोएको जाउलो खायो भनेर ।” (फर्केर हेर्दा, पेज ११२)

यी दुई उदृतांशबाट थाहा हुन्छ कि तत्कालीन राज्य नै कसरी हात धोएर लागेको थियो वर्ण व्यवस्थाको संरक्षण गर्न भनेर । सामाजिक संरचना र मानिसको मनोविज्ञानमा वर्ण व्यवस्थाको जरो कति बलियो थियो भने, “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन” भनेर लेख्ने लक्ष्मीप्रसाद देवकोटा स्वयं बाहिर निस्कन सकेका थिएनन् । २००९ सालमा राहुल सांकृत्यायन काठमाडौं आउँदा रात्रिभोजका लागि निम्ता गरे राहुल र उनकी श्रीमती कमलालाई । उक्त रात्रिभोजमा बीपी कोइराला, बालचन्द्र शर्मा, केदारमान व्यथित, बालकृष्ण सम साथमा जनकलाल शर्मा पनि उपस्थित रहेछन् । परिचयका क्रममा कमलाले भन्नै पर्यो माइती कुलको बारेमा । सबै जना हिँडिसकेपछि छिँडीदेखि बुइगलसम्म लिप्नुपर्यो देवकोटा परिवारले घरलाई फेरि पवित्र तुल्याउन । त्यति मात्र होइन, रुद्री पाठ र भजनकिर्तन पनि गर्यो देवकोटा परिवारले । (उज्यालोतिर फर्केर हेर्दा, पेज २२४)

बालकृष्ण समको व्यक्तित्व र उनीसँगको सम्बन्धको विवेचना पनि खुब मज्जाले गरेका छन् शर्माले । बालकृष्ण सम बहुप्रतीभा सम्पन्न व्यक्ति अवश्य थिए । नेपाली साहित्यका नाट्यसम्राट हुन, कवि पनि हुन् । एक जना असल चित्रकार र तत्कालीन राणा खान्दानका फोटोग्राफर । सात सालको परिवर्तनपश्चात् ‘शमशेर’बाट ‘सम’ बने त्यसपछि बीपी कोइरालाका भक्त बनेछन् । सम ईश्वरप्रति आस्था राख्ने परम्पराबाट आएका भने बीपी ईश्वरप्रति पटक्कै आस्था नभएका व्यक्ति । शंकर लामिछानेले एउटा अन्तर्वार्ताका क्रममा सोधेछन्, ‘तपाईँ ईश्वरमा आस्था राख्नु हुन्छ कि हुँदैन ?’ भनेर समले अनिश्वरवादी हुँ भनेर भनेछन् । त्यतिबेला समको दरवारको ढोकामाथिः

“यो कुनै वास हो नाथ मेरो जिवनमार्गको,
तिमीतिर हिँड्नेछु स्वप्न पुरा भएपछि”

लेखिएको रहेछ । लामिछानेले त्यो नाथ कसलाई सम्बोधन गरेको हो भनेर सोधेपछि त्यसलाई फेर्नेछु भनेर समले जवाफ दिएका रहेछन् र फेरेछन् पनि । यस्तो बदलाव आउनुमा बीपीको प्रभाव थियो होला । शर्माले समको व्यक्तित्वको अर्को पाटो माथिको पर्दा पनि उधारिदिएका छन्, उनि लेख्छन्, “बालकृष्ण सममा जति साहित्यिक व्यक्तित्व थियो त्योभन्दा बढी घमण्ड पनि थियो उनमा । नाटकको विषयमा एउटा जिज्ञासा राखेको थिए बालकृष्ण समसित एक दिन । युरोपमा शेक्सपियर जन्म्यो भने एसिया महादेशमा भास र कालिदासपछि बालकृष्ण सम मात्र जन्म्यो नाटकका क्षेत्रमा भन्ने उत्तर दिएका थिए उनले ।” (नेपाली साहित्यका अनन्य व्यक्तित्व बालकृष्ण सम, पेज १२८)

राणा परिवारको सदस्यको रुपमा गर्भे जर्नेल भएको व्यक्ति, हुकुमी शासन परम्पराबाट निर्दिष्ठ भएको व्यक्ति हुनुका हिसाबबाट यो अभिव्यक्ति त्यति अश्वभाविक थिएन तर कवि हृदय भएको मानिएका व्यक्तिको लागि त्यति सुहाउने कुरा चाहिँ होइन ।

उल्लेखनीय अरु प्रसंगहरु पनि छन् । सात सालपछि पनि नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिने प्रयत्न गरेको थियो । आफ्नो राष्ट्रभाषा, राष्ट्रिय गान र राष्ट्रिय ध्वजा हुनुपर्ने सर्तसहितको पत्र आएको थियो उताबाट । ब्रोडकाष्टिङ र पब्लिसिटीका डाइरेक्टर भएको कारणले समसम्म आइपुग्यो यो कुरा । शर्मा लेख्छन्, “राष्ट्रभाषामा ढुलमुले नीति थियो नेपाली कांग्रेसको । राष्ट्रिय झन्डा र राष्ट्रगानमा पनि स्पष्ट थिएन कोही । क्रान्तिका समय विराटनगरको प्रजातन्त्र रेडियोले गाएका देश बन्दनाका मार्चिङ सङ राष्ट्रिय गानको निमित्त पठाइयो भने राष्ट्रिय झन्डामा चारतारे झन्डा नै पठाउन बाध्य भए सम”, यसमा उल्लेखित भएको राष्ट्रभाषामा ढुलमुले नीतिको अर्थ नेपाली वा हिन्दी भन्ने सन्दर्भमा प्रयोग हुनुपर्छ । किनकि मात्रिकाप्रसाद कोइराला त खुलेरै हिन्दीको पक्षमा लागेका थिए र बाँकी कुरा त मजाकको रुपमा इतिहासमा दर्ज नै छन् ।

अर्को प्रसंग, सम चित्रकार पनि थिए । राष्ट्रिय चिन्ह र राष्ट्रिय विभूतिको प्रारूप उनैले तयार गरेका थिए । यो विषयमा शर्माको के छ भने समले बनाएको गाईको चित्र नेपालको स्थानीय गाईको स्वरूपमा छैन । दरवारभित्र बेलायती गाई मात्र देखेका समले त्यस्तै गाई बनाइदिए र अर्को अंशुवर्माको टोपी र अरनिकोले समातेको औजार पनि समले गरेका ऐतिहासिक दोषहरु हुन् । (नेपाली साहित्यका अनन्य व्यक्तित्व बालकृष्ण सम, पेज १२६)

जिउँदा सहिद टंकप्रसाद आचार्यको सम्झना गर्दा पुरै प्रजापरिषद्को इतिहास कथेका छन् शर्माले । साथै सात साल अगाडी प्रजातन्त्र प्राप्तिका प्रयासहरु कसरी विकसित भए साथै नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको वृतान्त पनि छ । सुरुमा यो संस्थाको नाम अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस थियो, तर पछि नेपालबाट गएका प्रतिनिधिहरुले विरोध गरेपछि ‘अखिल भारतीय’ शब्दावली झिकियो । सोही प्रसंगमा शर्माले अर्को विवादास्पद कुरा पनि उल्लेख गरेका छन्, “नेपाल भारतको एउटा प्रशासनिक इकाई मात्र भएको तर्क पनि राखियो । भारतका समाजवादी पार्टीका कार्यकर्ता विश्वेश्वरप्रसाद कोइरलाबाट ।”

बीपी, जयप्रकाश, नारायण र राममनोहर लोहियाबाट अति प्रभावित थिए र अति निकट थिए साथै समाजवादी पार्टीका सदस्य पनि थिए तर नेपाललाई भारतको प्रशासनिक इकाई भनेर कुन आधारमा भनेका हुन् त्यो चाहिँ प्रस्ट छैन । जनकलाल शर्मा त्यसका प्रत्यक्षदर्शी हुन् वा त्यो सूचना उनले अन्य कुनै स्रोतबाट प्राप्त गरेका हुन् खुलाएका छैनन् ।

राजा महेन्द्रले टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाएका थिए २०१२ सालमा र डेढ वर्षको उनको कार्यकालमा सम्पन्न भएका उनका कामहरुको सप्रसङ्ग स्मरण गरेका छन् शर्माले । जस्तैः कर्मचारी व्यवस्थापनको लागि बनेको नेपाल निजामती सेवा ऐन २०१३, प्राचीन स्मारक संरक्षण ऐन २०१३, रोयल नेपाल ऐकेडेमीको स्थापना, नेपाल राष्ट्र बैंकको स्थापना, पन्चवर्षीय योजनाको सुरुवात, वैदेशिक मामिलामा पञ्चशील नीतिको पालना आदिको उदाहरण दिँदै टंकप्रसाद र उनको कार्यकाल इतिहासको कोशेढुंगाको रुपमा व्याखा गरेका छन्। शर्माको जस्तै विचार मानवशास्त्री जेम्स फिसरले पनि दिएका छन्, विशेषगरी नेपाली समाजको आधुनिकीकरण र विश्वव्यापिकरणको मार्गमा डोराउनको लागि टंकप्रसादको कार्यकाल ‘ब्रेकथ्रु’ हो भनेर ।

इश्वर बराल र सत्यमोहन जोशी नेपाली कला संस्कृति र साहित्यको क्षेत्रका अग्रणी व्यक्तिहरु हुन् भनेर त भनिरहनु परेन । बरालको बारेमा उनको व्यक्तिगत जीवनका रोचक जानकारीहरु दिएका छन भने जोशीले नेपाली कला संस्कृतिको क्षेत्रमा गरेको खोजको फेहरिस्त लगाएका छन । न्युजिल्यान्ड पुग्ने पहिलो व्यक्ति रहेछन सत्यमोहन जोशी, न्युजिल्यान्डको प्रमुख ठाउँहरु घुमेर आइसकेपछि त्यहाँको माउरी जातिको बारेमा नेपाली भाषामा पहिलो लेख लेख्ने काम गरेछन । तीन पटक मदन पुरस्कारबाट पुरस्कृत हुने, नेपालको साहित्य, कला र संस्कृतिको क्षेत्रमा अतुलनीय योगदान पुर्याउने जोशीलाई एक सय बीस वर्ष बाँचुन भन्ने शुभकामना दिएका छन शर्माले र जोशोले पनि यसै वर्ष शतवार्षिकी मनाएका छन् ।

सुन फाल्ने ठाउँ भन्ने शीर्षकभित्र आफ्नो पारिवारिक पृष्ठभूमिमा तत्कालीन नेपाली समाजको पूर्वोत्तर भारत र बर्मासँगको सम्बन्धको शब्दचित्र प्रस्तुत गरेका छन्। तत्कालीन हुकुमी व्यवस्थाले कागती निचोरे जस्तै निचोरेको थियो नेपाली समाजलाई । ‘हुकुमको जवाफ छैन कालको ओखती छैन’ भन्थे मान्छेहरु । यस्तो अवश्थामा अरुका लागि भाडाका सिपाही बनेर जान्थे कति, कति भारी बोक्न, पशुपालन र कृषिकर्म गर्न जान्थे असम, बर्मातिर । त्यो त्यतिबेलाको समयमा नेपालको नेपालबाट पूर्वोत्तर भारत र म्यान्मारतिर हुने बसाइसराइको स्वरूप थियो । मैले पनि सुनेको हुँ, बर्मा असमतिर जाने कथाहरु । हाम्रै गाउँका कति मान्छेहरु असम र बर्मा गएर कहिल्यै फर्केका छैनन्। यो संस्मरणमा जनकलाल शर्माले आफ्नो परिवारको कथामार्फत् सम्पूर्ण समाजले गरेको खोज, यात्रा, दुःखकष्ट, त्यसबाट कसैले पाएको खुसी र कसैको दुःखान्तको चित्र उतारेका छन् ।

जनकलाल शर्माको जीवन विविधतापूर्ण थियो । उनले युवा अवस्थामा नै आम मानिसले भन्दा धेरै कुराको अनुभव र ज्ञान लिएका थिए । भुँइमान्छेदेखि राज्यको उच्च तहमा बस्ने व्यक्तिहरुको संगत गरेका थिए । पढ्नकै लागि दार्जीलिङ, कोलकाता, बनारस, बर्ढा र पुनासम्म पुगेका उनी व्यक्तिगत भ्रमण, जागिर र अनुसन्धानको शिलशिलामा नेपालका कुनाकाप्चादेखि भारतका विभिन्न स्थान र युरोपका लन्डन, पेरिस, जर्मनी, हल्याण्डसम्म पुगेका थिए। यो विविधताले गर्दा पनि होला, उनका संस्मरणहरु रोचक छन् तर पनि पुस्तकको रुपमा तयार गर्ने उद्धेश्यका साथ नलेखिएका कारण पाठकलाई केही समस्या पर्न सक्छ ।

टुक्रे संस्मरणहरु छन् तसर्थ धेरै ठाउँमा प्रसंगहरुको लय विच्छेद भएको छ । यसले गर्दा पनि स्मृतिले सहज, सरल र प्राकृतिक गतिमा बहाव लिन पाएको छैन । धेरै संस्मरणहरु स्मृतिग्रन्थका लागि लेखिएका छन्, तसर्थ यस्तो अवस्थामा लेख्ने पर्ने दबाब पनि परेको हुन सक्छ लेखकलाई, त्यो बाध्यता देख्न सकिन्छ केही संस्मरणहरुमा । साथै यी संस्मरणहरुमा शर्माले धेरै व्यक्तिहरुको बारेमा, केही यात्राको बारेमा, थोरै बाल्यकाल र विद्यार्थी जीवनका सम्झनाहरुको बारेमा लेखेका छन्, तसर्थ यसबाट शर्माको व्यक्तिगत र पारिवारिक जीवन भन्दा पनि त्यतिबेलाका राजनीतिक र साहित्यिक व्यक्तिहरुको बारेमा र त्यतिबेलाको सामाजिक र राजनीतिक परिस्थितिको बारेमा जान्न र बुझ्न सहयोग पुग्छ ।

एउटा व्यक्ति फगत व्यक्तिमात्र हुँदैन, समग्र समाज व्यवस्थाको एउटा अंश पनि हुन्छ । व्यक्ति र बाँचेको समयले एकअर्काका बीचमा नियमित रुपमा अन्तरक्रिया गरिरहेका हुन्छन् । व्यक्ति दौडिएको समय र समयले पदचाप छोडेर गएको व्यक्ति एकअर्काका सबैभन्दा ठूला साक्षी हुन् । एउटा व्यक्तिको अभिव्यक्ति उसको समयको आवाज हो । उनको समयको साक्षात्कार गर्न चाहनेहरु को लागि ‘जनकलाल शर्माका संस्मरण’ एउटा उपयुक्त पुस्तक हो ।