१. पहिलो लघुकथा
(मञ्चन भएको)
पहिचानको खोजी
कृष्ण शाह यात्री
उसको काम लाससँग चलखेल गर्नु हो अर्थात् भनौँ, ऊ अकालमा मरेकाहरूको ‘पोस्टमार्टम’ गर्ने काम गर्दछ । उसको कर्मलाई कतिले महान् र पुण्यको काम ठान्छ भने कतिले त्यसलाई घृणा र हेयको दृष्टिले समेत हेर्दछ ।
जसले, जे भने पनि उसले आफ्नो काम छाडेको छैन ।
अस्पतालको लासघरको फ्रिजमा राखिएका अधिकांश लासलाई उसले न्याय गरेको छ । अचेल त को व्यक्ति, के कारणले मरेको हो ? भन्ने कुरा उसलाई लासको प्रकृति हेरेर नै थाहा लाग्ने भइसकेको छ । जुन कुरामा ऊ गर्व पनि गर्दछ ।
उसले यसरी धेरैजनाको पोस्टमार्टम गरिसकेको छ । नेता, अभिनेता, चित्रकार, व्यापारी, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, शिक्षक, विद्यार्थी आदि विभिन्न पेसा र वर्गका अकालमा मरेका, मारिएका नर तथा नारीहरूको अङ्ग/प्रत्यङ्ग नहिच्किचाइकन उसले चिरफार गरेको छ । सुरुसुरुमा उसलाई अप्ठ्यारो लाग्ने गरे पनि पछि–पछि त भुत्तेऔजारले समेत ऊ लासलाई जबर्जस्ती रेट्दै काट्न पटक्कै नहिच्किचाउने भइसकेको थियो ।
एक दिन उसले आफ्नो कामको बारेमा निकै सोच्यो । घरमा उसको कपडा धुँदा श्रीमतीलाई हुने मानसिक पीडा, छोराछोरीलाई आफ्नो बाबुको पेसाबारे भन्नुपर्दा हुने आत्मग्लानि र आफन्तहरूले हेर्ने नकारात्मक सोचलाई उसले निकै गम्भीरतापूर्वक सोच्यो । सोच्दासोच्दै उसलाई आफ्नो कामप्रति एकदमै वितृष्णा जाग्यो । त्यसपछि उसले व्यावहारिक जीवनबाट नै संन्यास लिने विचार गर्यो । उसले गृहस्थी जीवन त्याग्यो र संसारको रीतिथिति बुझ्नका लागि जोगीको भेष धारण गर्यो ।
यात्राको क्रममा उसले निर्ममतापूर्वक निर्दोष पशु रेट्दै गरेको बगरेलाई देख्यो । अलि पर पुगेपछि उसले बम/बारुदको विस्फोटनमा परेका मृतकहरूलाई देख्यो । त्यसभन्दा पनि पर उसले रोग, व्याधि र भोकमरीले ढलेका लास देख्यो जसको मृत्युको कसैलाई वास्ता थिएन । त्यसपछि उसलाई आफ्नो कर्तव्यबोध भयो । जिउँदालाई भन्दा मरेकालाई पहिचान दिनु सर्वोच्च काम हो भन्ने निष्कर्ष निकाल्दै भोलिपल्टदेखि ऊ पुरानै काममा फर्कियो ।
###
(“पहिचानको खोजी” नेपाली रङ्गमञ्चमा मञ्चित प्रथम लघुकथा हो । यसको प्रदर्शन २०६४ सालमा कृष्ण शाह यात्रीको परिकल्पना एवम् निर्देशनमा गुरुकुल काठमाडौँमा भएको थियो । यो लघुकथा कृष्ण शाह यात्रीको लघुकथासंग्रह ‘तारो’मा समेत संगृहित छ ।
कृष्ण शाह यात्री कुशल लघुकथाकार हुनुहुन्छ । उहाँले २०५० सालदेखि लघुकथामा सक्रिय हुँदै तीन वटा लघुकथा कृतिहरू प्रकाशनमा ल्याउनु भएको छ ।)
२. स्वर्णकालीन लघुकथा
दुष्यन्त शकुन्तला भेट
रत्न कोजू
धेरै समयपछि दुष्यन्त र शकुन्तलाको भेट भइरहेछ । यो ठाउँ कुनै आश्रम वा कण्वको तपोभूमि थिएन । आँखाहरू जुधिरहे–अपरिचितताको मुद्रामा । सायद उनीहरूले अघिल्ला भेटहरूलाई बिर्सिसकेछन् । यसभन्दा अघिल्लो भेटमा उनीहरूले औंठी साटासाट गरेर एक–अर्काको औंलामा लगाइदिएका थिए । सायद त्यसैलाई सम्झन कोशिश गरिरहेछन् । तर त्यहाँ औंठीहरू थिएनन्, दुवै एक–अर्काबाट आफूलाई मुक्त–मुक्त जस्तो अनुभव गरे । त्यसको सट्टामा उनीहरूको औंलामा भित्रै औंठी थिए । तर त्यो उनीहरूसित एक–आपसमा सम्बन्धित जस्तो अनुभव गरेनन् ।
###
(भक्तपुरमा जन्मनु भएको रत्न कोजूले नेपाली लघुकथाको स्वर्णकालीन समयको प्रारम्भिक चरणबाटै लघुकथाहरू लेख्नु भएको हो । उहाँको २०३९ सालमा आख्यान संग्रह “बूढो वर्तमान” प्रकाशनमा आएको थियो । त्यसै संग्रहमा उहाँको १२ वटा लघुकथाहरू संग्रहित थिए ।
प्रस्तुत “दुष्यन्त र सकुन्तला भेट” लघुकथा छोटो भएरै पनि प्रेम हराउँदा साथमा रहेको प्रेमका प्रतीकहरू स्वत: हराउने यथार्थलाई गम्भीर तरिकाले व्याख्या गरेको छ ।)
३. मलाई मनपरेको लघुकथा
साँचो माया
हेमलता उप्रेती
“आमा, लड्डु, पेडा, जेरी, स्याउ, अनार, केरा ल्याएको छु । ल खानुहोस् ।”
आमाले हुन्छ भन्नुभो तर केही खानुभएन ।
“आमा, हजुरलाई जापानी सारी ल्याइदिएको छु । हेर्नुहोस् त कति राम्रो छ !”
आमाले पुलुक्क हेर्नु मात्र भयो । चासो गर्नुभएन ।
“आमा, आज सौराहा घुम्न जाऔ है !”
राजुले गाडी तयार पार्यो तर आमाले ‘मलाई सन्च छैन’ भनेर जानुभएन ।
“आमा, हेर्नु त हजुरलाई रानीहार बनाएर ल्याइदिएको छु ।”
आमाको मुहारमा चमक देखिएन ।
“आमा, ल लिनुहोस् यो दश हजार । हजुरलाई पकेट खर्च । जे मन लाग्छ, गर्नुहोला ।”
आमाले मलाई चाहिँदैन भनेर समाउनु भएन ।
आमालाई हरतरहले खुशी पार्न खोजे पनि प्रयासहरु असफल भएपछि राजु निकै दुःखी भयो । आमा किन खुशी हुनुभएन, कसरी खुशी पार्न सकिन्छ भनेर चिन्तन गर्यो । वृद्दवृद्दाले लेखेका आत्मकथाहरु पढ्यो । वृद्ध मनोविज्ञानका पुस्तकहरु पढ्यो । वृद्धवृद्धाका स्वभाव, रुचि र व्यवहारहरूको अध्ययन गर्यो ।
अनि उसले आमालाई कपडा पसलमा लिएर गयो र आफ्ना लागि कपडा रोज्न अनुरोध गर्यो । आमाले छ सयको सुतीको सारी रोज्नुभयो । सुन पसलमा लिएर गयो । आमाले चारानीको झुम्के बुलाकी मात्र माग्नुभयो । मिठाई फलफूल पसलमा काँचो नरिवल मात्र टिप्नुभयो । घुम्न कता जाने भनेर सोध्यो, आमाले मनकामना भन्नुभयो । राजुले महिनाभरिको कमाई सबै दिँदै तपाईंलाई चाहिए जति राख्नुहोस् भन्यो । आमाले दुई हजार राखेर अरु फिर्ता दिनुभयो ।
तथापि यसपटक आमाको मुहारमा अस्तिभन्दा धेरै खुशी देखेर हर्षविभोर भई राजु आमालाई केही भन्न खोज्दै थियो, आमाले आफैँ मुख फोर्नुभयो, “मलाई थाहा छ । तँ मलाई धेरै माया गर्छस् । तर मलाई माया गर्नु भनेको आफ्नो रोजाइका महङ्गा कुराहरु किनिदिनु होइन । मलाई ऐलेको जमानाका महङ्गा कुराहरुको न रहर छ न आवश्यकता । मलाई आफ्नोपनमा बाँच्नदेऊ, मेरा चाहनाहरु पूरा गर्नदेऊ र मेरो भावनाको सम्मान गर । त्यही मेरालागि साँचो माया हो ।”
###
(इलामकी हेमलता उप्रेती पेशाले शिक्षिका भए पनि नेपाली लघुकथाको कुशल विद्यार्थी हुनुहुन्छ । लघुकथाहरू पढ्दै लेख्दै र सिक्दै गर्ने उहाँको स्वभाव छ ।
प्रस्तुत “साँचोको माया” कथामा उहाँले बूढ्यौली अवस्थाको चोखो मायालाई सरल शब्दहरूमा गम्भीर पाराले उतार्नु भएको छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।