साउन–भदौको महिना । कतै धान पसाउँदै थिए, कतै धानका बाला झुलेका थिए । यता मकैबारीमा मकैमा दाना लाग्दैथ्यो । जब मकै खान लायक भयो । बगालका बगाल चराहरू आउन थाले र मकै खाएर सताउन थाले ।

चराहरूको रखवारी गर्नका लागि जिउबुझ्ना बारीको एक कुनामा एउटा अँटवा बनाएको छ । अँटवामाथि बसेर हल्लाउन मिल्ने झुप्पेदार डोरी पनि लगाएको छ र डोरीमा एउटा भैंसी–घण्टा पनि झुण्ड्याएको छ । डोरी तान्दा डोरीमा लगाएका झुप्पाहरू फुरफुर–फुरफुर हल्लिन्छ भने घण्टा पनि ड्वाङ–ड्वाङ, ड्वाङ–ड्वाङ गरी बज्छ ।

जिउबुझ्नाको एउटी जवान छोरी दुखनियाँ पनि छे । ऊ अँटवामाथि बसेर दिनभरि गोंरी बुन्ने र मकैको रखवारी गर्ने गर्छे । जब चराहरू मकैमा बस्छन् तब ऊ जोर–जोरले ‘ह्वाह्–ह्वाह्’ भनेर चिच्याउँछे । चिच्याउँदा पनि नभागेपछि ऊ हत्तपत्त डोरी तान्छे र डोरीको झुप्पा फरफराउने अनि घण्टाको ‘ड्वाङ–ड्वाङ’ आवाजले चराहरू तर्सिएर पखेटा हल्लाउँदै उड्थे ।

बारीमा मकै मात्र होइन, झाङमा काँक्राहरू पनि लटरम्मै फलेका छन् । यसरी दुखनियाँले दिनभरि रखवारी गरेर मकै बचाएकी छे । तर, रातिको रखवारी गर्ने कोही थिएन । राति गाउँका छाडा सुंगुरहरू मकैबारीमा पस्थे र मकै सोत्तर पारेर जान्थे । यता चोर पसेर काँक्रा चोरेर लैजान्थे ।

 

जिउबुझ्नाले कैयौं दिन त सुंगुरको लागि पासो पनि थाप्यो । चोर समात्न राति बारीमै लुकेर–ढुकेर बस्यो तर न पासोमा सुंगुर फँसे, न उसले चोर भेट्टाउन सक्यो । ऊ सुंगुरहरूले खाएको मकै देखेर मन दुखाउँथ्यो र नोक्सानी हेरेर चिन्ता मुद्रामा घर फर्किन्थ्यो ।

एक दिन एउटा उपाय निकाल्यो । बुख्याँचा बनायो र बारीको एक कुनामा लगेर ठड्यायो । बुख्याँचा पराल बेरेर मान्छे आकारको बनाएको थियो । एउटा लठ्ठी हालेर उसको दुवै हात बनायो । सानो काठ हालेर घाँटी बनायो । खुट्टा भने उही परालकै बनिहाल्यो । उसलाई अड्याउने एउटा बाँसको किलो खोजेर पनि ठड्यायो ।

एक छिनपछि घाँटी बनाएको काठको किलामा फुटेको करुवा राख्यो । ठ्याक्कै मान्छेको टाउको जत्रो । करुवाको टुँटी लाम्चो नाक, तेलमा फिटेको कालो खरानीको आँखा र खरानीकै लामो–लामो जुँगा पनि बनायो । बुख्याँचाको टक्लु टाउकोमा टुटेको छोपा (छत्री) लगाइदियो । एउटा हातमा काठको चम्किने कागज बेरेको खुकुरी र अर्को हातमा बाँसको लौरो समाइदियो ।

त्यसैगरी उसले फाटेको कमिज, खैरो रङको सुरुवाल र लामपुच्छे भेगवा (लगौटी) पनि लगाइदियो । भेगवा हावा चल्दा जोर–जोरसँग हल्लिन्थ्यो ।

बुख्याँचा टाढाबाट हेर्दा ठ्याक्कै मान्छे जस्तै देखिन्थ्यो, नजिकबाट जोकरजस्तै । बुख्याँचा बनेपछि जिउबुझ्नाले एकफेर गहिरिएर हेर्‍यो । हाँसो उठ्यो र ऊ हल्का मुस्कुरायो एक्लै । सायद आफूले बनाएको बुख्याँचा सन्तोष लागेर होला उसलाई ।

बुख्याँचाभन्दा अलिकति टाढा एउटा सिमलको रुख थियो । सिमलमा सुगा, गिद्ध, फेचुहा लगायतका अरु चराहरू पनि थिए । सिमलको पश्चिमपट्टिको हाँगोमा एउटा लाटोकोसेरो पनि बस्थ्यो । ऊ साँझ परेपछि आफ्नो गुँडबाट निस्केर अँध्यारोमा नजरले तल हेर्‍थ्यो । तल मुसा, किरा, फट्याङ्ग्रा जे देख्थ्यो, त्यही आफ्नो आहार बनाउँथ्यो र पेट भरेर आफ्नो गुँडमा गएर सुत्थ्यो ।

सदाझैं आज पनि लाटोकोसेरोले टाउको निकालेर तल हेर्‍यो । ऊ एकाएक झस्कियो । देख्यो, चम्किरहेको खुकुरी र बाँसको लौरो लिएर उभिएको अजंगको मान्छे । अजंगको मान्छे देखेर उसको सातो उड्यो । ऊ थरथर काँप्दै धेरै बेरसम्म उसलाई हरिरह्यो । तर, बुख्याँचा त्यहाँबाट टस्मस गर्ने कुरै थिएन । लाटोकोसेरो निराश भएर चुपचाप आफ्नै गुँडमा गएर बस्यो । आजको रात यसैगरी बित्यो । ऊ भोकै सुत्यो ।

बुख्याँचा देखेर अर्को दिन पनि गुँडबाट बाहिर आउन सकेन लाटोकोसेरो । दिउँसो अरु चराहरूले लखेट्ने, ठुङ्ने डरले बाहिर निस्किन सक्दैनथ्यो । राति बुख्याँचा देखेर ।

जब तेस्रो दिन भयो, भोकले खपिनसक्नु भएपछि ऊ हिम्मत गरेर बाहिर निस्क्यो । भोकले आजीत भएको थियो तर पनि डराउँदै–डराउँदै मान्छे भनिएको बुख्याँचालाई नजिकबाट हेर्न खोज्यो । बुख्याँचा उभिएको देख्यो । उसलाई लाज लाग्यो र खुशी पनि । खुशीले आफ्नो तीन दिनको भोक पनि बिर्‍स्यो । ऊ फट्फटाउँदै बुख्याँचाको कुममाथि बस्यो र सुनायो आफ्नो सबै वृत्तान्त । बुख्याँचा उसको कहानी सुनेर मन–मनै हाँस्यो तर कुनै प्रतिक्रिया दिएन । आज लाटोकोसेरोले धीतमरुन्जेल पेट पनि भर्‍यो र आफ्नै गुँडमा गएर बस्यो ।

केहीबेरमा, सधैँ पल्केका सुंगुरहरू मकैका डाँठ भाँच्दै आउन थाले । बुख्याँचा झस्कियो, के आयो भनेर । उसले नियालेर हेर्‍यो । एक बगाल सुंगुरहरू आएको देख्यो । ऊतिरै बढिरहेका सुंगुरहरू उसलाई देखेपछि टक्क रोकिए । हातमा खुकुरी र बाँसको लौरो लिएर कुनै मान्छे उभिएको देखेर उनीहरूको पनि हिम्मत आएन । केहीबेरसम्म उसलाई हेरे र आ–आफ्नो बाटो लागे । बारीमा मकै खान पाएनन् ।

त्यसो त आज साँझ स्यालहरू पनि उसकै छेउमा आएर कराए । एकाएक स्याल कराउँदा उसको झन्नै सातो गएन । धेरैबेरसम्म उसको मुटु ढुकढुक गरिरह्यो । जब ऊसँग ठोक्किदै कतै दौडिए तब उसको ख्याल आयो र बरबरायो । ‘थुक्क ! साला स्यालहरू, सातो खालान् झैं गर्छन् ।’

उसलाई रात रमाइलो लाग्दैन । झ्याउँकिरीहरू रातभरि गीत गाउँछन् । उसलाई झ्याउँकिरीको गीत मन पर्दैन । दक्षिणपट्टिको कदमको रुखमा चमेराहरू ‘चेंचे–मेंमे’ गर्छन् । ‘चेंचे–मेंमे’ले गर्दा उसको रातभरि निद्रा पनि पर्दैन । जुनकिरीहरू ‘प्लिक–प्लिक’ उज्यालो बालेको भने उसलाई खूब मन पर्छ ।

रात नरमाइलो भए पनि दिन भने उसलाई बितेको पत्तै हुँदैन । जब बिहान हुन्छ, भँगेराहरू मकैको धानामा बसेर नाच्छन्, उसको कुममा बसेर गीत गाउँछन् । गीत खूब सुन्छ ऊ । पुतलीहरू फूल–फूलमाथि, पात–पातमाथि फुर्र–फुर्र नाच्छन् । उनीहरूको नाच देखेर ऊ बहुत रमाउँछ । ढुक्कुर र परेवा घुटुर–घुटुर घुरेको पनि उसलाई खुब मनपर्छ । टाउको हल्लाई, हल्लाई नाचेको अझ मनपर्छ ।

तर, बुख्याँचालाई यी कुरा भन्दा बढी दुखनियाँ मनपर्छ । ठिक्कको गोरी, ठिक्कको उचाई, जीउडाल मिलेको पूर्णिमाको जुन झैं झुल्किने दुखनियाँलाई ऊ खूब हेर्छ । अँट्वा चढ्नेबेला अनि झर्नेबेला ऊ अझ बढी ख्याल गर्छ । किनकि चढ्ने–झर्नेबेला उसले लगाएको नेँह्गाका आगा फर्किएर गोरो साप्रा देखिन्छ । ऊ त्यही साप्रा देखेर बहुत रोमान्टिक हुन्छ ।

दुखनियाँ दिनभरि आफ्नै धुनमा गोंरी बुनिराख्छे, बुख्याँचा उसको दिनभरिको काम हेरेर चित्त बुझाउँछ । एक दिन दुखनियाँको सखी–संगीहरू हाँस्दै अँट्वामाथि चढे । सबै जना बसेर ज्यामिर, निबुवा, काँक्रा खान थाले । ज्यामिरको बासना बुख्याँचासम्म आइपुग्यो । अमिलो ज्यामिरको बासनाले उसको मुखमा पानी समेत आयो । मागूँ–मागूँ लाग्यो । ऊ घुटु–घुटु थूक निल्यो तर माग्न भने सकेन ।

केटीहरू अरुबेला मनभित्र उम्सिएको कुरा बताउन चाहँदैनन् । तर, आफ्ना साथी–संगीहरूसँग भने खुलेरै कुरा गर्छन् । आज त्यहाँ जम्मा भएकाहरूले पनि खुलेरै गफ गरे । प्रायः आ–आफ्ना प्रेमकहानी सुनाए उनीहरू । यता बुख्याँचाले निकै ध्यानपूर्वक सुनिरह्यो । निकै रोमान्टिक कहानीहरू । तर, दुखनियाँले आफ्नो कहानी सुनाउन भ्याइन । बुख्याँचाले मन–मनै सोँच्यो, ‘सायद उनको आफ्नो प्रेमी कोही छैन होला, मबाहेक !’

एकछिन पछि केटीहरू, एकार्कालाई काउकुती लगाएर जिस्किन थाले । काउकुती मात्रै होइन एकार्काले समाता–समात पनि गर्न थाले । जसले गर्दा उनीहरू बीच हाँसोको फोहरा उठ्यो । अँटवा डगमगायो । बुख्याँचा उनीहरूका सबै क्रियाकलाप हेर्दै थियो । निकै रोमान्टिक लाग्यो । त्यो सबै देखेर बेस्सरी हाँस्यो तर उसको हाँसो कसैले सुनेन ।

यता मकैमा एक हुल सुँगाहरू आएर बसे । दुखनियाँले चिच्याउँदै डोरी तानी । डोरीमा बाँधेको झुप्पा फुर्र फुर्र गर्‍यो र घण्टा ‘ड्वाङ–ड्वाङ, ड्वाङ–ड्वाङ’ गुञ्जियो । सुगाहरू ‘तैं–तैं, तैं–तैं’ गर्दै त्यहाँबाट भागे । सबैको ध्यान उतै तानियो र सबै चुप लागे । एकछिनपछि सबै आ–आफ्ना घरतिर लागे ।

लाटोकोसेरो आफ्नो आहार खोज्न हरेक दिन बाहिर निस्कन्थ्यो । पेट भरेपछि बुख्याँचाको कुममाथि बसेर देश–परदेश घुमेको कथा सुनाउँथ्यो । कथा सुनाउँदा धेरैजसो जलपरी, राजा–रानीको कथा सुनाउँथ्यो । यसैगरी कहिले हँस्यौली–ठट्यौली, चुट्किला, कहिले गाउँखाने कथा, कहिले त गाउँघरमा भएको गतिविधिहरू पनि सुनाउँथ्यो । देश दुनियाँको कुरा सुनेर बुख्याँचा सम्झिन्थ्यो, ‘आफूलाई यता–उता जान नपाएर के भो ? सबै यहीँ सुन्न पाइहालिन्छ ।’ ऊ मनमनै सन्तोषको सास फेर्छ ।

कहिले लाटोकोसेरोले आफ्नो बुढेसकालको दुखिया कहानी पनि सुनाउँथ्यो । ऊ ध्यानपूर्वक सुन्थ्यो र आफैँ गुनगुनाउँथ्यो । ‘मेरो पनि दुःख छ, म आफ्नो दुःख कसलाई सुनाउँ, म बोल्न नि सक्तैन । मेरो दुःख कसले बुझ्ने ?’

कहिलेकाहीँ बुख्याँचामाथि एउटा फेचुहा बस्न आउँथ्यो । ऊ बहुत फोहोरी थियो । कहिले उसको टाउकोमा दिसा गरिदिन्थ्यो । कहिले हातमा त कहिले उसको कपडामा । आज पनि उसको टाउकोमाथि बसेर आहारा खोजिरहेको छ । उता बारको अग्लो किलोमा बसेर कुक्लेंरवा चरो ‘कुक्लेंर–कुक्लेंर’ बोल्यो । ऊ बोलेको सुनेर बुख्याँचा मन–मनै ‘छिः यस्तो फोहोर बोलिरा’छ,’ भनेर बरबरायो ।

ठीक यसै समय फेचुहा चराले उसको टाउकोमा दिसा गरिदियो । दिसा बगेर उसको मुखसम्म आइपुग्यो । ‘उःहुँ’ भन्दै मुख बटार्‍यो र बरबरायो । ‘यो बेबकुफ काले, जहाँ पाउँछ, त्यहीँ दिसा गरेर हैरान बनाउँछ ।’

सायद, यो सबै देखेर मकैमा फुद्रुक–फुद्रुक उफ्रिदै फिस्टे चरा ‘ठीक–ठीक’ भनेर उसलाई खिसी गरिरहेको थियो । बुख्याँचालाई झनै रिस उठ्यो । ‘साला यही लठ्ठोले हान्छु, अनि त्यहीँ मर्छस्,’ बरबरायो आफैँ । तर, ऊसँग लठ्ठी उठाउन सक्ने सामर्‍थ्य थिएन । मन–मनै गुनगुनायो मात्रै ।

आज दुखनियाँ रखवारी गर्न आइनन् । उसलाई नदेखेर बुख्याँचालाई सुनसान लाग्यो । धेरै बेरसम्म उसले प्रतीक्षा गर्‍यो तर पनि ऊ आइन । केहीबेरमा एक हूल सुगाहरू आएर मकैमा बसे र मकै खाना थाले । बुख्याँचा उनीहरूलाई देखेर आत्तियो । मन–मनै खूब चिच्यायो तर उसले चिच्याएको सुगाहरूले सुने या सुनेनन् पत्तै पाएन ।

एकछिन पछि मकै बारीमा दुई जना केटाहरू आए । उनीहरू पनि उसकै अगाडि फलेको काँक्रो टिप्न थाले । काँक्रो चोरेको देखेर आत्तिदै बोल्यो, ‘ओई ! फटाहाहरू, किन अरुको काँक्रो चोरेको ? तिमीहरूको बाउको कमाई हो ? आफू खुशी किन काँक्रा टिप्छौ हँ ?’ उनीहरूले उसको आवाजै सुनेनन् । उल्टै एउटाले उसलाई लात लगायो र अर्कोले मुक्का हान्यो । ऊ हारेको गिद्ध जस्तै हेरी मात्र रह्यो । केही गर्न सकेन ।

अर्को दिन दुखनियाँ अलि बढी सिंगार पटार गरेर आई । बुख्याँचाले उसलाई जिन्दगीमा पहिलो पटक यसरी श्रृंगार गरेको देखेको थियो । त्यसो त ऊ बिना श्रृंगार पनि राम्री देखिन्थी । थरिथरिका श्रृंगारमा सजिएपछि त झन् ऊ ठ्याक्कै अप्सरा जस्तै देखिएकी थिई ।

ऊ आउनेबित्तिकै सदाजस्तै फटाफट अँट्वामा चढी । उनको पछि–पछि अर्को एक जवान ठिटो पनि चढ्यो । यसभन्दा पहिले बुख्याँचाले उसलाई कहिले पनि देखेको थिएन । उसलाई भ्रममा परेजस्तो लाग्यो । टाउको झट्कारेर गहिरिएर हेर्‍यो । साँच्चिकै जस्तो लाग्यो । दुखनियाँ उसको हात समातेर माथि तान्दै थिई । त्यो सब दृश्य देखेर बुख्याँचाको मन चिसो भयो ।

एकछिनपछि दुवैले खाजा खाना थाले, एकार्काकाले जुठो खाना र खुवाउन थाले, कुनै कुनै बेला त म्वाइँ पनि खान्थे दुवै । यो सब दृश्य उसले आफ्ना आँखाअगाडि देख्यो । यस्तो त उसले जिन्दगीमा कहिल्यै देखेको पनि थिएन । जब ठिटोले आफ्नो हात दुखनियाँको वक्षस्थलसम्म पुर्‍यायो, उसको आङ् सिरिङ गर्‍यो । उसलाई आफैँ लाज लागेर आयो । ठिटो मसोरा–मसोर गर्न थाल्यो, अरु के के हो के के ….!

यसले सम्झियो, अस्ति सुनेका प्रेमकहानीहरू । आज आफ्नै आँखा अगाडि दुखनियाँको असली कहानी देख्यो । जसलाई ऊ आफ्नो सम्झेको थियो, उसैलाई आफ्नो आँखाअगाडि यस्तो देखेपछि उसको आँखाबाट तप्पतप्प आँसु झर्‍यो अनि भित्रभित्रै रोयो पनि ।

साँझ परेपछि झ्याउँकिरीहरू कराउन थाले । उनीहरूको आवाज सुनेर उसको टाउको फुट्लाझैँ लाग्यो, आज जुनकिरीको प्लिक–प्लिक पनि मन परेन ।

ऊ निराश भएर बसिरहेको थियो । एक हुल सुंगुर ‘घुई–घुई’ गर्दै मकैबारीमा आउन थाले । सुंगुरले आज बुख्याँचाको कुनै वास्ता गरेनन् । बारीमा मकै ‘चर्‍याक–मर्‍याक’ गरी खान थाले । बुख्याँचाले कुनै प्रतिक्रिया दिएन । मन–मनै बरबरायो ‘खाऊ, जत्ति सक्छौ खाऊ, यो मकै तिमीहरूको पनि हो ।’

सायद, आज बुख्याँचा बेखुसी मुद्रामा थियो । ऊ ज्यादै निराश देखिन्थ्यो ।

अँध्यारो भयो । लाटोकोसेरो तल झर्‍यो । बुख्याँचालाई निराश देख्यो । आफ्नै साथी निराश देखेपछि जिज्ञासा राख्यो । बुख्याँचाले आफ्नो सबै वृतान्त सुनायो ।

आखिर बुख्याँचाको कुरा सुनिदिने को थियो र ? उही लाटोकोसेरो मात्रै त हो ! कुनै समय बुख्याँचालाई देखेर तीन दिनसम्म भोकै बिताए पनि हिजोआज सबैभन्दा नजिकको साथी बुख्याँचा भएको छ लाटोकोसेरोको ।

लाटोकोसेरो कुनै दिन मलिन हुँदा आफ्नो बितेका दिनहरूका कहानी सुनाउँथ्यो । आज आफ्नो साथीको दुःखमा साथ दिन भनौँ या उसलाई खुशी देख्न आफ्नो प्रेमकहानी सुनाउन थाल्यो । उसको आफ्नो वास्तविक कहानी, बहुत रोमान्टिक कहानी । उसको कहानी सुनेर बुख्याँचा सबै दुःख बिर्सिएर खुशी देखियो । बुख्याँचा खुशी देखेर लाटोकोसेरो पनि खुशी भयो । ऊ केहीबेर बुख्याँचाको कुममाथि फट्फटायो र बिदा लिएर आफ्नो गुँडमा गई बस्यो ।

बिहान भयो । दुखनियाँ पनि आफ्नो गोंरी बुन्ने, पूँजा, कसुङ्गा र अधुरो गोंरी बोकेर आई र अँटवामाथि चढी । देख्दै मन लोभ्याउने दुखनियाँ, बुख्याँचाले किन हो कुन्नि आज उसलाई खासै राम्री मानेन । सोझो नजरले हेर्दा पनि हेरेन । न त कुनै वास्ता गर्‍यो ।

समय बित्दै गयो । मकै पाक्यो । जिउबुझ्नाले बारीको मकै पनि घरभित्र भित्र्यायो । मकै भित्राएपछि दुखनियाँ पनि आउन छोडी । मकैबारी पुरै उजाड भयो । हूलका हूल आउने चराहरू पनि आउन छाडे । भँगेरा, फेचुहा, कुक्लेंरवा, फिस्टे पनि आउन छाडे । उसलाई अझ सुनसान लाग्यो । राति लाटोकोसेरो कथा सुनाएर साथ दिन्थ्यो र रात मजाले बित्थ्यो । तर, बिहान हुँदा उराठ लाग्थ्यो ।

एक दिन ठूलै हुरी–बतास चल्यो । बुख्याँचा लग–लग, थर–थर काम्न थाल्यो । एकैछिनमा उसले लगाएको छोपा (छत्री) उडायो । हेर्दा–हेर्दै उसको टाउको उखेलेर भुईंमा थ्याच्च फुटाली दियो । ऊ बिना टाउकोको भयो । तैपनि हुरीसँग प्रतिकार गर्न कैयौं पटक खुकुरी नचायो र लौरो पनि फन्नायो तर केही गर्न सकेन । केहीबेरमा हातको खुकुरी र लौरो पनि खोस्यो हावाले र उसलाई त्यहीँ लडायो । बुख्याँचाको अवशान भयो । अवशानपछि लाटोकोसेरो पनि एक्लो भयो । केही दिनपछि ऊ पनि बसाईं सरी टाढाको दुनियाँमा पुग्यो ।