‘आज बाहिर नगए हुन्थ्यो ?’ भात पस्किँदै कृपा अत्यन्त मसिनो स्वरमा विवेकलाई आग्रह बिसाउँछिन् । यद्यपि विवेकको जवाफ अपेक्षित हुन्छ । उनी उभिएकी छन् भने विवेक कुर्सीमा बसी डाइनिङ टेबुलमाथि राखेको थालीमा भात सपासप हसुर्दै छ । परिकारमा उसलाई मनपर्ने खसीको टाउकोको रस बनेको छ ।
‘किन ?’ विवेकले फुत्काइ सकेको थियो–‘माथिबाट टिकट आइसक्यो र !’ घाँटीबाट निक्लिसकेको बोली जिब्रोमै लटपटिन्छ किनभने मुखभित्र गाँसका साथमा मासुको टुक्रो जो हुन्छ ।
‘के भएको हो कुन्नि ! रातिदेखि टाउको खपिनसक्नु गरी चट्याकचट्याक गर्दैछ । कपालका जरासमेत हल्लिएका छन् । कर्कलाको पात भएको छ जीउ, लल्याकलुलुक । पेट सफा नभएको सात दिन भइसक्यो । म कसरी उभिएकी छु, धन्धा गरेकी छु, आफैँलाई थाहा छैन । डाक्टरलाई ….।’
खपिनसक्नु भएर होला, यदाकदा मात्र ‘कम्प्लेन’ गर्ने कृपाले रोगको लामै फेहरिस्त सुनाउँछिन् र कसौँडीमा बचेको जति मासु खल्यातखुलुत उसकै भागमा खन्याउँछिन् ।
‘स्वास्नीमान्छेको शरीर यस्तै हो । सृष्टिकर्ताले नै दया नगरेपछि कसको के लाग्छ ? फेरि तेरो विराम त बाह्रमासे,’ हात चुठ्ने बेलामा कृपाको विसञ्चोमाथि विवेक अत्यन्त हल्का र भद्दा टिप्पणी गर्छ । यसको अर्थ उसले कृपाको निवेदनलाई दरपिठ गर्न सोझै इन्कार गरेको हो ।
‘चिसो घर छ । घामको मुख देख्नु छैन । बाह्रै महिना पानीसँग खेल्नुपर्ने बाध्यता छ । थकाइ लाग्यो भन्न पाइँदैन । आराम कुन चराको नाम हो, थाहा छैन । रजस्वला हुँदा पनि….।’ विवेकले बाह्रमासे रोगीको ट्याग भिराउँदा कृपालाई अत्यन्तै नमीठो लाग्छ । तुरुन्तै ओठे जवाफ फर्काउन मन लाग्छ । फर्काउँदिनन् । ‘कहिल्यै रोगसोक नलाग्ने पनि मान्छेका जीउ हुन्छ र !’ रोक्दारोक्दै यतिसम्म भने फुत्किहाल्छ ।
पाइतलामुनिको धुलो मान्दै आएकी स्वास्नीले प्रतिक्रिया जनाउने हिम्मत गरेकोमा उसलाई रिस त पक्कै उठेको हुँदो हो । तर सवालजवाफ गर्नपट्टि लाग्दैन । तुरुन्तै चित्तबुझ्दो जवाफ नसुझेर पनि हुन सक्छ, ऊ फनफनाउँदै कोठाभित्र पस्छ र रिसलाई मत्थर पार्न चार–पाँच पटक अनुलोमविलोम गर्छ । आक्रोश केही शान्त भइसकेपछि निधार र आँखामुन्तिरको भागमा ‘रिङ्कल फ्रि’ दलदाल गर्छ । आधा खुइलिएको तालुलाई बचेखुचेको कपालले छोप्ने असफल प्रयास गर्दै ‘हेयर सेरम’ दल्छ । ऐनामा वर्कीफर्की आफैँलाई नियाल्दै गजक्क पर्छ– ‘पचासे भइसक्दा पनि ‘फिजिक मेन्टेन’ भएकै हो ।’ कृपाले नै आइरन लगाएका कपडा र टिलिक्क टल्काएका जुत्ता लगाउँछ र टिमिकटिमिक गर्दै बाहिरिन्छ ।
विवेक गेटबाट बाहिर ननिक्लिउन्जेलसम्म झ्यालबाट कृपा आसे नजर लगाइरहन्छिन् । उसले आश्वासन त परै जावस्, फर्केर हेर्नेसम्म कष्ट बिसाउँदैन । बरु नजिकैको किराना पसलमा उभिन्छ, पान बहार किन्ने निहुँमा ।
‘चिटिक्क देखिनु भएको छ त । ‘छक्का पञ्जा’ हेर्न जाने भए मलाई पनि लैजानुस् क्यार ! म साथी हुन तयार छु,’ हरेक दिनजस्तै उसलाई देख्नासाथ छोरी फेसबुकबाट टाउको उठाउँछे । जीउ तनक्क तन्काउँछे र परेला नचाउँदै चञ्चले मुस्कानको छर्राले हिर्काउँछे ।
छोरी मलिलो माटोमा फलेको सुन्तलाझैँ छ, पोटिली र रसिली । टोलभरिका मर्द कहलिन रुचाउनेहरू अनेक बहानामा छोरीको एक झलक पाउन उसको पसलमा दिनमा तीन–चार पटक हाजिरी जनाएकै हुन्छन् । उभिएकै हुन्छन् । त्यसै कारण आमाले छोरीको जीउमा पाक्न लागेका फललाई दिनानाथको अनुकम्पाबाट प्राप्त प्रसाद मानेकी छ । भन्नु परोइन, पसलमा आमा मात्र उभिएको समयमा झिँगो भन्किँदैन । छोरीसमेतको उपस्थितिमा आमाको हात खाली हुँदैन ।
छोरीका धेरै ग्राहकहरू मध्येको एउटा खास ग्राहक विवेक पनि हो । ऊ पान बहारको अम्मली त होइन तर त्यस पसलको नजिक पुग्नासाथ उसलाई पान बहारको तलतल खपिनसक्नु भइहाल्छ । छोरीको सुकोमल हातबाट प्राप्त पान बहारको साथमा मृदु मुस्कानको पुरिया मुखभित्र नहालेको दिनमा दिनभरि उसको मुख खल्लो खल्लो न कस्तोकस्तो बेस्वाद महसुस भइरहन्छ । त्यसैले आज पनि उसले नियमितता भङ्ग गरेको छैन ।
‘पक्का जाने हो ? अप्रिल फुल बनाएको त होइन ?’ विवेक चोर बिरालोको नजरले चारैतिर नियाल्दै छोरीको कानमा साउती गर्छ । यस निहुँमा उसको दाहिने गाला चिमोट्न भ्याउँछ ।
‘कसम !’ छोरी रुद्रघण्टी समात्दै खितखिताउँछे ।
‘नाइँ नभन्नू ल, आउने शनिबार पक्का !’ विवेक गोजीबाट पर्स निकाल्छ र पान बहारको पुडिया पकड्ने निहुँमा गैँडा अर्पण गर्छ । गैँडा थमाउँदा ऊ छोरीको कमलो हात स्पर्श गर्न बिर्सिंदैन । त्यस क्षणमा ऊ घर बिर्सिन्छ । स्वास्नी बिर्सिन्छ । महत्त्वपूर्ण कुरा, ऊ आफूलाई कलिलो, दुधिलो मकैको घोगो महसुस गर्छ । ‘परेलीमा तिमीलाई बसाऊँ कि…’ गीत सुसेल्दै ऊ पान बहारको प्याकेट खोल्छ । पूरै प्याकेटको माल मुखभित्र हाल्छ । मुखभरि रस निकाल्छ । रस थुक्दैन । घुटुक्क निल्छ र अफिसतर्फ लम्किन्छ ।
≠ ≠ ≠ ≠
विवेक ठेकेदारी गर्छ । जस्तोसुकै बन्द, हडताल किन नहोस्, ऊ अफिस पुगेकै हुन्छ । आज पनि माओवादीले बन्द आव्हान गरेको दिन परेको छ । पिउन आइसकेको छैन, सार्वजनिक यातायात नपाएर हुन सक्छ । ऊ आफैँ गेट खोल्छ र कुर्सीमाथि थचारिन्छ ।
‘सर पनि क्या …..!’ केही बेरपछि अधबैँसे पिउन तामाङ हस्याङफस्याङ गर्दै झुल्किन्छ । ‘बन्दको दिनमा पनि स्वास्नीसँग गुटुमुटु नपरेर किन सास्ती व्यहोर्नुपरेको होला,’ भन्न खोजेको हुनुपर्छ । आँट गर्दैन । सङ्कोच मानेझैँ गर्छ । कुचो उठाउँछ र कोठा बढार्न थाल्छ ।
‘तिमी पनि नआएको भए भइहाल्थ्यो नि !’ सहानुभूति जागेर होइन कि कुरोको मेलो सुरु गर्नलाई मात्र विवेक दुई शब्द चुहाउँछ ।
‘नआएर के गर्नु, सर !’ पिउनले स्वास्नीको योगदानको साथमा उसको रोगको कथा धेरै पटक सुनाइसकेको छ । त्यसैले सुस्केरामा कथा दोहर्याउँछ ।
‘मर्द भएर पनि के रोगी स्वास्नीसँग अल्झिराखेको ? खुट्टा भए जुत्ता….!’ सायद विवेक आफ्नो मनको अन्तरकुन्तरको आवाज ओकल्छ ।
‘त्यसो नभन्नोस् सर ! अग्निलाई साक्षी राखी सिउँदो हालेकी स्वास्नी हो । उसलाई अप्ठ्यारो पर्दा मैले कसरी पिठ्यूँ फर्काउन मिल्छ ?’ पिउन थोरै शब्दमा धेरै थोक व्यक्त गर्छ ।
‘ल, ल भैगो । खुरुखुरु आफ्नो काम गर्ने !’ ऊ पत्रिकाका पन्नाले मुख छोप्छ । सायद उसलाई पिउनको भनाइ उपदेशजस्तो लाग्छ ।
‘तर मेरो जीवनमा पानीबाहेक, ओरालोबाहेक….,’ विवेक भुतभुताउँदै दाह्रा किट्छ ।
ऊ चटक्कै बिर्सिन्छ कि कृपा पनि मान्छे हुन् । उनका पनि इच्छा, चाहना, सपना थिए होलान् । विवाहको बलिवेदीमा ती इच्छा, चाहनालाई दाह गर्दै ‘पूर्ण गृहिणी’ भएर बस्न रुचाइन् । आफ्नो जिन्दगी परिवारलाई नै समर्पण गर्नु नारी कर्तव्य सम्झिन् । घरधन्धामै रमाइन् । केटाकेटीको भविष्यमाथि नै आफ्नो भविष्य देखिन् । उनकै लालनपालन, संस्कार तथा कडा अनुशासनको कारणले छोरो ट्वाँटे, भित्ते भएको छैन । छोरीले भुस्याहा कुकुर भुकाउँदै हिँडेकी छैन । उनको सहयोगबिना विवेकले बनियान, मोजासम्म फेला पार्दैन । आफ्नो हातले पानीसम्म सार्दैन । तर पनि पतिबाट उनीले सम्मान, प्रशंसा त उत्तरी गोलार्धको कुरा भयो, सहानुभूतिको ‘स’ पनि पाउँदिनन् । पाएकी छैनन् । अझ पटक–पटक दोहोर्याउने गर्छ–‘मेरो जीवनमा ओरालोबाहेक…।’
≠ ≠ ≠ ≠
‘कामधाम छैन । साइटमा पनि जान मिलेन । यसो रिसोर्टतिर ‘सेलिब्रेट’ गरौँ न त !’ पार्टनर प्रस्ताव राख्छ । दिन ढल्नै लागेको थियो । यसको अर्थ रमाइलो गर्ने उपयुक्त समय ।
‘हुन्छ, जाने भए जाने !’ विवेकले पार्टनरको प्रस्ताव भुइँमा खस्न नपाउँदै स्वीकृतिको मोहर ठोकिहाल्छ ।
उनीहरू सँगै काम गर्न थालेको एक दशकभन्दा बढी भइसकेको छ । त्यसैले दुवैलाई एक अर्काको आनीबानी थाहा छ । पार्टनर जुनबेला पनि आन्द्राभुँडी पखालिहाल्छ भने विवेक नापतौल गरेर मात्र जिब्रो चलाउँछ । पार्टनर समय पाउनासाथ रमाइलो गर्ने मुडमा आइहाल्छ भने विवेकचाहिँ यस मामिलामा कन्जुस छ । जोखना हेर्ने गर्छ ।
‘एउटा सामान्य अनुरोधमै कसरी तयार हुनुभयो त, श्रीमान् ! खास ‘बात छ’ जस्तो छ नि !’ पार्टनर विवेकको नाडी समात्छ ।
‘त्यस्तै छ,’ विवेक कब्जियत परेको स्वर निकाल्छ ।
पार्टनर बुझिहाल्छ, विवेक दाम्पत्य जीवन, खासगरी स्वास्नीको जीउको धुलो उडाउने मुडमा छ । यस्तो किनभने स्वास्नीको क्रियाकर्म गर्नुपरेमा मात्र ऊ तानतुन गर्ने मुडमा आउने गर्छ ।
≠ ≠ ≠ ≠
‘घरमा छिट्टै गएर कालो, रोगी खाप्चो हेर्ने मन छैन क्या !’ विवेक चौथो गिलासको अन्तिम घुट्को स्वाट्ट निल्छ । चुरोट सल्काउँछ र चानचुन एक घण्टापछि मात्र पार्टनरको प्रस्ताव सहजै स्वीकार्नुको रहस्य ओकल्छ ।
‘आफूलाई तथाकथित पढेलेखेको विद्वान भन्न रुचाउँछस् । गर्ने बेलामा यस्तो पटमूर्ख, बज्रस्वाँठ, कोदे तर्क गर्छस् । तिनै कालो खाप्चो भएकी स्वास्नीले घरव्यवहार सम्हालेकी छन् र त तैँले मस्ती मार्न पाएको छस् । उनीले चुलोचौको सम्हालेकी छन् र त भनेको टाइममा मीठोमसिनो हसुर्न पाएको छस् । पटुका कसीकसी खर्च गरेकी छन् र त दुई पैसो जोगाएको छस् । रह्यो बिरामीको कुरा । सानोतिनो रोग कसलाई लाग्दैन र !’ पार्टनरले लामै भाषण छाँट्न चाहेको थियो । यतिमै टुङ्ग्याउँछ तर उखान नभनी रहन सक्दैन– ‘भालूलाई पुराण…।’
‘अचानोको मार तँलाई के थाहा ?’ विवेक गिलासमा अर्को पेग थप्छ । यस पटक पानी मिलाउँदैन । पूरै निट पिउँछ । तरल पदार्थ निलिसकेपछि काँचो पिँडालु टोकेको मुख बनाउँछ । थाहा भएन, रक्सी निट पिएकोले हो वा स्वास्नीको चेहरा सम्झेर हो ।
‘भो, भो । बिगार्नु पर्दैन मुख । सोझी स्वास्नी भेट्टाएको छस्, गौ प्राणी । मलाई थाहा छ, भाउजूले दूध मात्र दिन जानेकी छन् । घाँस माग्न जानेकी छैनन् । भाउजूले कहिल्यै ठूलो स्वर लगाएको थाहा छैन । कम्प्लेन गर्न जानेकै छैनन् । अझ भन्छ– ‘अचानोको दर्द ….। भुङ्ग्रोलाई चलाउने काम नगर है, पछुताउनुपर्ला ।’ पार्टनर पनि झमझम भइसकेको हुँदो हो, विवेकको तर्कको दरै प्रतिवाद गर्छ । तर्कको साथमा चेतावनी पनि दिन भ्याउँछ ।
‘तेरो घरमा पो निरोगी, कमाउ स्वास्नी छन् । घरमा पस्न नपाउँदै महमिश्रित मुस्कानले स्वागत गर्छिन् । ओछ्यानमा त झन् मायाको पोखरीभित्र चुर्लुम्म डुबाउँदी हुन् । आफ्नु त सदाबहार रोगी स्वास्नी ! घरमा पस्न पाएको हुँदैन, कब्जियत, पायल्स, बाथ, प्रेसरबाहेक अरू थोकको कुरै हुँदैन । कहिले कहिले त लाग्छ, राँडलाई तकियाले मुख छोपेर सदाका लागि…।’ विवेक हावामा मुठी बजार्दै दाह्रा किट्छ ।
‘रमाइलो गर्न बसेको । अलिकति चढायो कि यो मोरो अनापसनाप बक्न थालिहाल्छ । सिङ न पुच्छरको रडाको मच्चाइहाल्छ । मन नपरेको भए किन बिहा गर्नु ?’ पार्टनर धारे हात लाउँदै टाप कस्छ किनकि उसलाई थाहा छ, अब विवेकको मुखबाट स्वास्नीलाई परमधाम पुर्याउने शब्दबाहेक कुनै शब्द निक्लिनेवाला छैनन् ।
≠ ≠ ≠ ≠
‘ट्याक्सी,’ पार्टनर उठिसकेपछि पनि विवेक थप एक क्वार्टर तुर्छ र लडखडाउँदै सडकमा पुगेर ट्याक्सी रोक्छ ।
‘कहाँ पुग्नु पर्ने ?’ ट्याक्सी उसैको अगाडि घ्याच्च रोकिन्छ ।
‘हेल…। हेल मिन्स यु नो, जहन्नुम । जहन्नुम भनेको नरक क्या नरक !’ जस्तो कि आम जड्याहाको आदत हुन्छ, झोल ‘इन’ भएपछि गाई खाने भाषा ‘आउट’ गर्नैपर्ने । ऊ पनि हल्लिँदै भटट….ट अङ्ग्रेजी शब्दका पर्रा छाड्छ ।
‘सक्कली जड्याहाको फेला परिएछ ।’ चालक फतफताउँदै ट्याक्सी हुइक्याउँछ ।
≠ ≠ ≠ ≠
‘ढोका खोल्, वे…….र……..।’ मध्य रात भइसकेको हुँदो हो । घरको दैलोअगाडि टोलै थर्काउने गरी अश्लील गाली बक्दै विवेक गर्जिन्छ र ढोकामा दुई लात बजार्छ । ढोका खुल्दैन तर कृपाको सपना भने खलबलिन्छ ।
सपनामा विवेकले कृपालाई गुनाइमुनाइ, खुसामद गरी हस्पिटलजस्तो ठाउँमा लिएको थियो । यद्यपि उनीलाई डाक्टर देखाउनुपर्ने कुनै त्यस्तो रोगले च्यापेको थिएन । उसले पर्चा काटिसकेको थियो । डाक्टर आइनसकेकोले उनीहरू बेन्चमा बसी डाक्टरको प्रतीक्षामा थिए । कृपा अत्यन्त दुविधामा थिइन्, बस्नु कि सुटुक्क घर जानु वा अरू थोक केही गर्नु । यही अन्योलग्रस्त अवस्थामा उनका आँखा ¥याकमा सजाइएको सल्यानी खुकुरीमा परेका थिए । उनी खुकुरी समात्न उठ्न मात्र के लागेकी थिइन् ढोकामाथि लात बज्रिहाल्यो ।
‘कस्तो ज्यानै जाने गरी धोक्न सकेको ? बाटोमा दुर्घटना परेको भए …..।’ उसको मुखबाट निक्लेको रक्सीको दुर्गन्ध रोक्न कृपाले धोतीको सप्कोले नाक छोप्छिन् र उसलाई घिसार्दै, लतार्दै ओछ्यानसम्म पुर्याउँछिन् ।
‘मेरो….. आत्माले….. शान्ती…… पाउँथ्यो । मैले…… सदाका…… लागि…. मुक्ति…… पाउँथेँ ।’ उसको लर्वराएको स्वरमा कृपाप्रति बाल्टिन घृणा पोखिन्छ । केही क्षणमै ओठको कापबाट फिँज निकाल्दै घुर्न थाल्छ ।
बिहान तारो नउदाउन्जेलसम्म कृपा परेला झिमिक्क गर्न सक्दिनन् । उनको दिमागमा रातभरि माकुराको जालो बनिरहन्छ । उनी जालोबाट फुत्किन अनेक प्रयास गर्छिन् तर कुनै हालतमा सक्दिनन् । उनी ओछ्यान छोड्नुभन्दा अगाडि पोइको चेहरा नियालेर हेर्छिन् । पोइले गहिरो निन्द्रामा पनि भयानक षडयन्त्रको तानाबाना बुनिरहेझैँ लाग्छ ।
≠ ≠ ≠ ≠
‘जाने भन्या होइन ?’ विवेक आठ बजेतिर जागा हुन्छ । तरोताजा भइसकेपछि बरण्डाको कुर्सीमाथि बस्छ । लभ्ली पुच्छर हल्लाउँदै उसको खुट्टामा लुटपुटिन थाल्छे । उसलाई कुकुर्नीले माया देखाएको पटक्कै मन पर्दैन । दुवै खुट्टाले लभ्लीलाई हुत्याइदिन्छ । लभ्ली क्वाँ……क्वाँ गर्दै कुनातिर लाग्छे । ऊ एक्लै चरम सन्तुष्टिको हाँसो पोख्छ । ठिक त्यही समयमा चिया बोकेर आइपुगेकी कृपालाई साङ्केतिक भाषामा आदेश र अनुरोध दुवै गर्छ– ‘जाने भन्या होइन ?’ थाहा भएन उसको भनाइ नियोजित थियो कि अकस्मातको ।
‘जान्नँ ।’ विवेकको आसय बुझेरै होला, कृपा झर्किंदै फनक्क फर्किन्छिन् । सायद पहिलो पटक पोइलाई नकारात्मक जवाफ दिन्छिन् ।
‘आठौँ आश्चर्य भनेको यही होला । ढुङ्गो पल्टाउनुपर्छ कि क्या ? अचम्मै भयो । अवश्य केही ‘राज’ हुनुपर्छ । होइन भने मैले चेक अप गराउनुपर्यो भन्न लागेको महिनौँ होइन भइसक्यो । कहिल्यै कानमा तेल हालेको होइन । हिजै राति मात्र सराप्नु सराप्दै थियो । अनेकथरि गाली बक्दै थियो । अहिले फनक्कै घुमेको छ । होइन, राम्रो मनले त भनेकै होइन । यदि यसो हो भने यसले अवश्य पनि साथीको क्लिनिकमा जाने कुरा गर्ने छ ।’ उनीले भान्सामा तरकारी चलाउँदै गर्दा डाडुसँगै मनको डाडु पनि घुमाउँछिन् र राति देखेको अधुरो सपना केलाउन थाल्छिन् ।
≠ ≠ ≠ ≠
‘कहाँ जाने भनेको ?’ स्वास्नीलाई सघाउनु त के भान्सातिर विवेकले नहेरेको, पाइलो नटेकेको जुग भइसकेको थियो । बरण्डा अथवा कोठामै खाना टक्य्राउनुपर्थ्यो । त्यस दिनमा भने चिया तुरिसकेपछि ऊ भान्सामा पाइलो टेक्छ । यही मौकामा आफ्नो शङ्का निवारण गर्न उनी अन्जान बन्दै विवेकसँग आँखा जुधाउँछिन् ।
‘तैँले डाक्टर देखाउने भनेको पनि महिनौँ भइसक्यो । कहिल्यै साइत जुरेन । ठेकेदारको कामै यस्तो । फुर्सदै नहुने । फेरि तँ पनि उस्तै छस् । जस्तोसुकै अशक्त हालतमा पनि ओछ्यान नपर्ने । सकिनसकी घरधन्दा भ्याइहाल्ने । हिजो पो साथीले तेरो बखान गर्दा झल्याँस्स ब्युझिएँ । मैले तँप्रति अन्याय गरेजस्तो लागेको छ । जे भयो, सो भयो । भोलि नारी दिवस हो, सरकारी बिदा । बिदा नभए पनि यत्रै सिद्धि । मेरो एक जना डाक्टर साथीको क्लिनिक छ । आज त्यहीँ जाने र समय लिएर राम्रोसँग चेक अप गराउने ।’ विवेक हदैसम्म नरम भएर आत्मालोचनाको भाषा बोल्छ ।
विवेकको भनाइले कृपा राति देखेको सपना पुनः सम्झिन्छिन् र जीउमा तीन हात लामो काँडा उमार्छिन् । चिटचिट पसिना निकाल्छिन् । शरीर सिताङ्ग भएको अनुभूत गर्छिन् । ‘भाइसँग सरसल्लाह गर्नुपर्यो जस्तो छ,’ उनी वकिल भाइको याद गर्छिन् ।
‘साथी अनितासँग सल्लाह माग्दा कस्तो होला ?’ उनी तर्कनाको भुमरीभित्र फस्दै जान्छिन् तर निकासको दुलो कतै फेला पार्दिनन् । निकासविहीन अवस्थामा उनी पोइलाई हेर्छिन् । पोइ आरामसाथ दाह्री सेभ गर्दै हुन्छ । उनी पोइको हातको रेजरलाई कसाईको हातमा भएको धारिलो खुकुरी देख्छिन् ।
‘के सोच्न लागिस् ? छिटो खाएर बाटो लागौँ । नेपालमा जहाँ गए पनि लाइनमा बस्नै पर्छ । डाक्टरले दश बजेअगाडि नै पुग्नु भनेका छन् । चिन्ता गर्नु पर्दैन । विज्ञानले धेरै फड्को मारिसक्यो । आजकल कस्ता-कस्ता असाध्य रोग त चेट हुन्छन् भने तेरो त मामुली रोग हो ।’ विवेकले सायद स्वास्नीको दुविधाग्रस्त चेहरा पढ्यो होला, उनीलाई ढाढस दिने प्रयत्न गर्छ ।
‘यसले असल त पक्कै चिताएको छैन । हे देउती माता ! छोराछोरी सल्लाह गर्ने उमेरका छैनन् । छरछिमेकलाई गुहार्न सुहाएन । ल, कसैलाई सुनाइहाले पनि कसले पो पत्याउला र ! बरु उल्टै मलाई नै पागल भन्लान् । जे पो पर्ला । एक जान्नँ, दुई जान्नँ । मरिगए जान्नँ ।’ पहिले मनभित्रै उनीले मदानी चलाएकी थिइन् । ‘जे पो पर्ला…’ पछिका वाक्य मात्र अनायास माछा चिप्लेजस्तो फुतुक्क फुत्किन्छन् ।
‘के वाहियात कुरा गर्छे यो । तँलाई प्यारालाइसिस भएको छैन । हर्ट अट्याक भएको छैन । किन आउनुपर्यो भाइ ? फेरि बोलाउनासाथ भाइलाई छुट्टि मिल्छ ? सिङ्गै पोइ म छँदै छु । यहाँ यत्रो सुविधा छ । किन बिनासित्तिमा डराएको भन्या । वनको बाघले नखाए पनि मनको बाघले खाएरै छाड्छ भनेको यही हो ।’ विवेक उनीलाई सम्झाउने र मनाउने धुपाउरो घुमाउँछ ।
‘मलाई डाक्टर देखाउनुपर्ने रोग नै लागेको छैन । कहिले कहिले झकल्याझुकलुङ हुने हो, जुन सबैलाई हुन्छ । दुई–चार दिनमा आफैँ बिसेक भइहाल्छ । बेफ्वाँकमा डाक्टरलाई भेटी किन चढाउने ?’ उनी पैसालाई हतियार बनाउँदै तर्किन खोज्छिन् ।
तर, विवेक एक मान्दैन । खाने बेलामा मायालु पाराले सम्झाउँछ । वर्षौंपछि उनको कपाल सुमसुम्याउँछ । आफैँले स्वास्नीलाई मन पर्ने रातो सिफनको साडी बाकसबाट निकालेर लगाउन दिन्छ ।
‘सजिलोसँग बस्,’ विवेक मोटर साइकल स्टार्ट गर्छ ।
‘हे काली माता ! मलाई हिम्मत देऊ । ताकत देऊ ।’ उनी अन्तस्करणदेखि पुनः माता स्मरण गर्छिन् ।
विवेक स्वास्नीलाई दुई हात कम्मरमा राखी अठ्याउन भन्छ । कृपा पनि मोटरसाइकलमा बस्दा उसले भनेजस्तै गरी बस्छिन् । उनको दिमाग मोटर साइकलको स्पिडभन्दा बढी नै चल्न सुरु गर्छ । क्लिनिकअगाडि पुग्दा उनका दुवै हातले अन्जानैमा विवेकको घाँटी कस्न पुग्छन् । अन्जानमा भएको कृपाको घाँटी अठ्याइले विवेक अत्तालिन्छ र आलसतालसको स्थितिमा ह्याण्ड ब्रेकमा राखेको हात पनि उठ्छ । उनको हातको पकड मजबुत भएकोले उसका खुट्टा पनि ओइलाएको रायोको साग हुन्छन्, लत्याकलुतुक ।
र, विवेकलाई अहिले भने तातो भुङ्ग्रोमा हात घुसाएको भान भइरहेको हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।