रजस्वलाबाट चोखिने चौथो दिन । रजस्वालावतीको फुकुवा दिन ।
नुहाइवरी सकेपछि शरीरका अङ्ग अङ्ग स्निग्धि, मुलायम र कामवासनाको चहचह चापल्य ।
तल, बारीको पर्खालमा चार दिनसम्म लगाइएका लुगाहरू धोइवरी सुकाएका हुन्छन् । चोलो, फरिया, पेटिकोट ।
साधनाको चिल्लो चम्किलो केशको झाङ । त्यो झाङिएको हुन्छ । ऊ माथि कौसीमा बसेकी छ कलिलो घाममा । केशका चिल्ला केस्राहरू कुनै कीमती कालो रेशमजस्ता चमचमाएका हुन्छन् ।
साधना घुँडामा शिर टेकाएर घामपट्टि आङ फर्काई कहिले गुनगुनाउँछे, कहिले मनमनै किसिम किसिमका कुराहरु खेलाउँछे ।
चार दिनसम्म कसैलाई छुन दिनु हुन्न रे । कसैसँग कुरा गर्दा पनि वरै बसेर कुरा गर्नुपर्छ रे । यो आइमाईको रजस्वलाले के पाप गरेको रहेछ कुन्नि । मन बाँधेर राख्नुपर्ने । एउटा कुनामा थुचुक्क । आफैँसित थुपुक्क सुत्नुपर्ने ।
चाडपर्व, साइत, सगुनमा त देखा पर्न नहुने रे । अपशकुन लाग्छ रे । कुन जन्मको अपराध यो कुन्नि । अछुतजस्तो हुनुपर्ने । सबैले छोइएला छोइएला भन्दै तर्केर हिँड्छन् । साँच्चि के हो आइमाईको जात सृष्टि हुनुअघि च्यामिनी पो थिई । कि न पोडिनी पो थिई कि ।
साधनाको यो दोस्रो पटकको रजस्वला हो । दोस्रो पटक पर सकेकी, नछुने भएकी ।
महिनामा चारदिन मनै मन कुटकुटिएर बस्नुपर्ने । तिनै चारदिन भित्रमा कतैबाट बिहेमा निम्तो आउला । अथवा रमाइलो कुनै पूजा-आजाको निम्तो आउला ।
आएर के गर्ने ? जान पाइने होइन । जानै नहुने रे । अपशकुन लाग्ने रे । हुन त अभागिनी जात नि आइमाईको जात । त्यो पनि कसरी भन्ने खोइ । रजस्वला नभई गर्भधारण नभई सन्तान नहुने । सन्तान नभएको संसार पनि कहाँ हुन्छ र ? हुन सक्छ र ?
फेरि के विधिको खेदो यो रजस्वलालाई ? के को छिः छिः र दुरदुर रजस्वलावतीलाई ।
= = =
घाम अब मध्यान्हबाट सरेर ढल्किँदै गैराछ । हावा जुन अघिसम्म छँदै थिएन जस्तो थियो, अलि सिरसिर । नुहाएको आङ जीउ तात्न लाग्याे, अहिले ढुकढुकाउन लाइराछ ।
साधना जुरुक्क उठ्छे । आङ पाखुरा तनक्क तन्काउँछे । सुकेको कपालको झाँक्रो दुवै हातले समाउँछे । दुई फ्याक पार्छे र मुठ्याउँछे । चुल्ठो बटार्दै लगेर पछाडि जुरोमा घुर्साछे । अनायास दुवै हात मसक्क बटार्छे । पिँडौला र तिघ्राहरू पनि तन्काउँछे । यसो गर्दा उसको मासल बिम्बहरू । फलतः छातीमा टाँसिएका चोलोको माथिल्लो टाँक चुटुक्क टुक्रेर लत्रिन्छ ।
र, भित्रको अर्ध स्तन भाग घाममा उध्रिन्छ । फेरि केले हो कुन्नि मनमनै झल्याँस्स झस्किन्छे । बारीको पर्खालमा सुकाएका लुगाहरू सुके होलान् । फेरि कतै बतासले झारेर भुइँमा लतारिदियो भने ?
= = =
साधना तल ओर्लेर लुगाहरू छामछुम गर्छे । फरिया तानेर मुज्याउँदै गाँठो पारी घुसार्छे । चोलो काखीमा च्याप्छे । पेटिकोट उचालेर हेर्छे ।
यो के ? एक ठाउँ त चिस्सै छ । ल्याथल्याथ्ती । अरू भाग त सबै सुक्या छ । यो एक ठाउँ मात्रै किन चिसै छ।
के मनमा आएर हो कुन्नि यसो सुँघ्छे ।
खुँह
नाक चेप्याएर भन्छे ।
छिः के जस्तो के जस्तो गन्ध पनि । कुन असिद्धिले होला ? तर कसले छ्याप्छ । दिउँसो दिनदहाडै त्यो पनि अन्त ठाउँ नपाएर अर्का लुगाफाटामा ?
अनि किन त त्यस्तै त्यस्तै गन्ध आको त ? आफ्नो भए पनि यौटा कुरा भन्नु नि, भैगो ल ।
पेटिकोटको भिज्या भाग जति बटोर साबुनले बेसरी धुन्छे । मटक्क निचोरेर पहिलेकै ठाउँमा सुकाउँछे ।
घाम पनि छ । हावा पनि छ । सुक्न त चाँडै सुक्ला ।
– घले, ए घले !
– हजुर ?
– मुवाँ, कहाँ होइसिन्छ ?
साधनालाई के थाहा उसकी सासूमुवाँ पछाडि थानथुन गरिरहेकी छिन् ।
– किन किन ब्वारी ?
– ए, हजुर त यही होइसिन्छ
साधना एकछिन केही बोल्दिन । केही बोल्न सक्दिनँ । खालि मुन्टो निहुराएर घाँटीमा कुरो अड्काइराछिन् ।
सासूमुवाँ फेरि सोध्छिन्, “भन न केही भन्नु छ कि ?”
होइन… यसै यसै… केही होइन ।
ल हेर हेर तिमीले भन्न खोज्या कुरा लुकायौ नि । तिमीले पनि मसँग कुरा लुकाउनुपर्छ र ? के म तिम्रो सासू मात्रै हुँ र ? तिम्री आमाजस्ती पनि त हुँ । तिम्रै आमासरह त हु नि । उसमाथि, मैले तिमीलाई के बुहारीमात्र भन्ठानेकी छु त ? छोरीजस्तै ठानेर माया पनि त दिएकी छु । होइन त, ल भन साँचो साँचो भन ।
– हो त्यो त हो ।
– अनि के त … भन्न ला कुरा भन्दै नभनीकनकिन घाँटीमा अड्काई रात ? भन, तिमीले मलाई कुनै पनि कुरो भन्न सङ्कुचाउनु पर्दैन । तिमी छौ र त मलाई छोरो नफर्केर आए पनि शून्य भने लागेको छैन ।
ल पर्यो फसाद साधनालाई । भन्न खोजेको कुरोमा झन् गाँठो पर्यो । साधना हक्क न बक्क भई ।
होइन, आज यो बुहारीलाई के भाको ? त्यस्तो खुलस्त कुरा गर्ने मान्छे आज किन आफैँमा निमोठिएर उभिराकी ।
बुहारीको दुवै पाखुरा समाएर घचघच्याउँदै सोध्छिन्, “ल भन तिमीले भन्न ला कुरो नभनी हुँदैन । ढाँटेर भन्यौ भने मलाई मार्या पाप ! ल भन बुहारी, भन बा भन । म कत्ति पनि दिक्क मान्दिन । नाइँनास्ति गर्दिनँ । ल भन ल ।”
अब साधनालाई भन्न धक पर्छ । सासुमुवाँले गर्दिनँ भनेपछि ।
शिर निहुराएर खुट्टाको औँलाले भुइँ कोतर्दै भन्छे, “पन्ध्र बीस दिन माइत बस्न जाऊँ कि ?”
सासूमुवाँको हातले एक्कासि उसको पाखुरा छाड्छ । सोच्दै नसोचेको कुरा सुन्नु परेजस्तो । उनको मुहार कताकता मच्किन्छ र उनी मायालु आवाजमा भन्छिन्, “किन र ह्याँ तिमीलाई कुनै दुःख सहनुपर्या छ र ? कि पट्यार घर बस्ता बस्ता ? मैले हेर्दा त तिमीलाई घर र माइती कतै फरक परेको होलाजस्तो लाग्दैन । फेरि किन हो तिमीलाई माइत जान मन लागेको ? घरको दुःख माइतमा पोखौँ भने दुःख तिमीलाई परेको छैन र ? भन न । मलाई पनि आमै सम्झ । म के अरूजस्तो बुहारी पाएँ भनेर कजाएर राख्ने खालकी सासू हुँ त ? कि तिमीलाई त्यस्तो पर्या छ मनमा ?”
“होइन होइन हजुर मेरी आफ्नै मुवाँजस्तै होइसिन्छ …”
“अनि अनि किन त माइत जान्छु भनेकी त ?”
“भैगो जान्न… जान्न मुवाँ यसै भनेकी …”
बतास अब सिरसिर होइन स्याँठलाई लिएर पनि चल्छ । आकाशमा सूर्य ढल्के लगाएको टोपी पट्ठो हुँदै गैराछ । सायद डाँडाको पुछारमा पर्खी बसेकी सन्ध्या मैयाँलाई च्वाप्प म्वाइँ खान होला । काउकुती र कुतकुतीको मौसम पनि छ त ।
साधना मनमनै अन्दाज गर्छे । बारीको पर्खालमा सुकाएको पेटिकोट सुक्यो होला ।
= = =
– भाउजू, भाउजू
– किन सानुबाबु ?
– यी ह्याँ तल हजुरको चिठ्ठी ल्याछ । मलाई दिएन हजुरले नै बुझ्नुपर्छ रे । बुझेको सही गर्नुपर्छ रे ।
दगुर्दै दगुर्दै साधना तल ओर्लिन्छे । ढोकामा त हुलाकी पो रहेछ । चिठीको पोको बोकेर ल्याएको ।
– श्रीमती साधना शर्मा भनेको तपाईं नै हो ?
– हो ।
– लिबक्स्योस्, बुझेको सही गर्दी बक्स्योस् ।
साधना चिठी खोलेर हेर्छ । उहाँले पठाउनु भा रैछ ।
हुलाकी नमस्कार गरेर जान्छ । साधनालाई के मनमा आएर हो कुन्नि अलि पर पुगिसकेको हुलाकीलाई ए पख त भनेर अडाउँछिन् । र हडबडाउँदै माथि गएर हुलाकीलाई रु. दुईको नोट दिएर भन्छिन्, “लाऊ, चुरोट खाएर जाऊ है ।”
हुलाकी निहुरेर नमस्कार गर्दै बाटो लाग्छ ।
हत्तपत्त खाम खोलेर चिठ्ठी पढ्दै साधना भर्याङ उक्लिँदै उकालो चढ्छे । अरू सब लोलोपोतोको कुरा हुन् । तर आखिरमा भने लेखेका रहेछन् ।
साधना के गर्नु फर्कन अझै दुई महिना ढिला होलाजस्तो छ । तिमीलाई त्यहाँ एक्लै बनाएर मलाई के खुसी भयो होला र यहाँ । मान्छे विदेशतिर जान पाए कस्तो न भइएला ठान्छन् । तर यहाँ त मलाई के भन्नु खोइ । झलझलती तिम्रै सम्झना आइरहन्छ । तिम्रो सम्झनाले सताइरहन्छ ।
उँ.. चेपारे ओठका कुरा । विदेशमा कस्ता कस्ता होलान् । मेरो सम्झनाले सताइरहन्छ रे हुँ पापी ।
साधना मनमनै कुरा गर्छिन् ।
दुई महिना अर्थात् दुई रजस्वला अरू उनले टार्नुपर्ने भएछ निष्ठुर ।
अब त घाम पनि डुब्छ । झिसमिसे साँझ । पेटिकोट झिक्न फेरि तल ओर्लिन्छे । चारैतिर छामछुम गर्छे । फेरि यो के अचम्म उफ् ! फेरि उही ठाउँ ल्याथल्याथती । त्यो ठाउँबाट एक प्रकारको तात्तातो बाफ उठिरहेछ । यसो सुँघ्छे । उँ अघिकै जस्तो गन्ध ।
उफ् ! हे भगवान् । चारैतिर हेर्छे । पर्खालका ढोकैनिर यौटा केटो उभिरा छ । भोटेजस्तो छ पाँच छ वर्षको । भुकुल्ले ! सुरुवाल नलाएको, सिङले भोटे ।
ए ल कुरा बल्ल पो खुल्यो । केटोको हात समाएर गाला चड्काउँला जस्तो गरेर भन्छे, “किन मुतेको ह्याँ ? ल भन् ।”
भोटेको मुख फुलेर झन् भुकुल्लै हुन्छ । ठुल्ठुला बाटुले आँखा झिसमिस गर्छ । आँखाको चहकमा हठिलोपन– ऊ भन्छ, “मैले हो त ?”
“कल्ले हो त तैँले नभए ?”
भोटे केटो अकमकाउँछ र एकछिनमा देख्या कुरा सबै भन्छ, “ऊ त्यो घोत्लेले मैले कति हुत् हुत् गलेँ । मान्दै मानेनन् । पल्खालबाट घुम्दै दान्थ । ऊ .. त्यो छुकाको लुगामा छुङ्छ । अनि अनि ?”
“अनि के ?”
“अनि के ?”
भोटे भा कुरा भन्छ, “अनि, अनि पछालीको यौता खुत्ता यत्लो उथालेल, यथो गलेल तुलुकतुलक मुत्थ । अनि अनि भागेर फुत्त दान्थ ।”
“अँ होला”
“हो थाँत्तै हो, मैले देख्या ऊ त्यै त हो नि ।”
पल्लो घरको गोरेटो बाटोमा यौटा मोटो घोर्ले अघिल्लो दुई खुट्टा ठड्याएर पल्याकपुलुक हेर्छ ।
साधना ढुङ्गा टिपेर हिर्काउन जान्छे । घोर्ले त उल्टो पुच्छरको झुप्पा हल्लाउँदै उसैतिर पो आइपुग्छ । भएभरको रातो जिब्रो मुखबाहिर निकालेर उल्टो ऊ साधनाको गुलाफी कुर्कुच्चा यसैयसै चाटुँला जस्तो पो गर्छ ।
साधनालाई लात्ताले हानूँजस्तो लाग्छ । तर के हो, के हो । टोक्ने पो हो कि ! भैगो ।
ऊ पछि पछि सर्दै हातको ढुङ्गाले हानुँलाजस्तो गरेर “हट हट” भन्दै जान्छे ।
तर कहाँ ! घोर्ले त उसलाई चाटेर छोडौँलाजस्तो गरेर भुइँमा लुटपुटिँदै उसैको वरपर पो सर्दै आउँछ । सायद उसलाई मात चढ्छ कि ! खै के हो !
थुक्क थुकेर साधना ढोका ढ्याम्म लगाउँछे । उसले थुकेको सेतो फिँजलाई घोर्ले सुँघ्छ । अनि त्यसैमा भए पनि पछिल्लो खुट्टो उचालेर तुरुकतुरुक तुर्क्याउँछ । चारै खुट्टाले भुइँ फट्कारेर धूलो उडाई जान्छ बुङ्ग । साधना घोर्लेको यो क्रियाकलाप जाली ढोकाबाट हेर्छे, हेरिरहन्छे ।
घोर्ले मोटो । मस्त मोटो । उन्मुक्त सिङ्गो बाघजस्तो ।
साधनाको जीउ आङ अनायास विचित्र प्रकारको सम्मोहनले सिरिङि सिरिङ गर्छ । जिउभरि हप्प । जाडोमा चाहिने गरम गरम बाफले उसलाई अँगालोमा अँठ्याउँछ । आँखाको तरेलीमा ल्यायोपन रसाएर आउँछ उसको ।
जालीदार ढोकाबाटै ऊ टाढा टाढासम्म हेर्छे । हेरिरहन्छे र हातमा मुज्याएको श्रीमानकाे चिठी आवेगमा झ्वाट्टै दोहोर्याउँदै पढ्छे –
उँ । उनलाई फर्कन अझै दुई महिना लाग्छ रे, दुई महिना अर्थात् अब उसले दुई रजस्वला अझै पर्खनुपर्ने हुन्छ । ह्याँ र उनको श्रीमानलाई घोर्लेले दिएको दुःख के थाहा ?
के यो कुरा उनी फिर्ती चिठीमा लेखुन् ? भो, भैगो । पापीको मनमा फेरि अर्को टुसो पलायो भने नि ।
साधनाको आँखा जालीदार ढोको टाढा टाढासम्म पुगेर नाङ्गो अन्धकारमा बिलाउँछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।