Chovar Blues Mobile Size

म एउटा कथा लेख्न चाहन्थेँ। आफ्नो सानो र सुखी जिन्दगीको । तर यो कथा मेरो मनबाट कागजमा उत्रिन पाएन। मसँगै उसको पनि अन्त्य भयो।

मलाई रूखाखोकी लागिरहन्छ र यसलाई म सामान्य बिरामीका रूपमा लिन्छु। तर कहिलेकाहीँ यसले निकै सताउँछ। धेरै लामो समयसम्म औषधि खाइरहनु पर्ने। दिक्कै लाग्ने गरी। यसपाली रूघाखोकी लागेको दुई महिना भइसक्दा पनि जाती हुने छाँट छैन। बर्खाको बेला काममा जाँदा पनि भिज्नु पर्ने बाध्यता। बरसाती र छाता पनि छन् तर फिल्डमा काम गर्दा दुवैको खासै काम छैन। एक दिन बेलुका सरूलाई भने – “हेर् न सरू, मेरो खोकी त जाती नै हुँदैन। दुई महिनाभन्दा पनि बढी भैसक्यो, के गर्नु हौ ?”

सरू अलिक झर्केर भन्छे – “आ.. मैले अस्ति नै भन्या हैन, घोपा गएर विशेषज्ञलाई देखाऔँ भनेर। खाली त्यै विनय डाक्टरकाँ गयो, अनि त्यै कफ सिरप र एन्टिबायोटिक दिन्छ। बिसेक हुन पनि कति गाह्रो। खाउन्जेल अलिक कम भएझैँ अनि फेरि जस्ताको तस्तै।”

सरू ठीकै भन्छे। मैले नै अटेरी गरेको हो। साउनको महिना छ। फिल्डमा काम पनि उत्तिकै छ। तर सधैँ त यस्तो हुँदैनथ्यो। चीसो र ओसप्रति अलिक बढी नै संवेदनशील छ मेरो शरीर। त्यसैले पानी पर्ने मौसममा असजिलो भै नै रहन्छ तर यसपालिको खोकी चाहिँ निकै लामो गइरहेको छ। झरी पनि त झर्को लाग्ने गरी परिरहेको छ। इटहरीमा यसरी झरी परेको मैले त थाहा पाएको थिइनँ। सरूलाई बिस्तारै भन्छु – “भोलि हिँड् न त घोपा । तीन बजे म अफिसबाट आउँछु, तँ दोकान छिटै बन्द गर्नु, अनि जाऔँला।”

दुई छोराहरूको ओछ्यान मिलाउन व्यस्त सरू भन्छे – “म त जहिल्यै तयार छु। आफैँ तीन बजे आउने हो कि होइन ?”

म आश्वस्त पार्न खोज्छु – “भोलि त पक्का। तँ तयार भएर पसल गएर बस। म त्यतै आउँछु।”

सरूले ‘हुन्छ’ भन्ने आशयमा टाउको हल्लाएपछि मलाई पनि केही ढुक्क भयो। खोकी त लागि नै रहेको छ। एन्टिबायोटिक पनि खाइरहेको छु। कफ सिरप पनि छोडेको छैन तर किन यस्तो हुन्छ ? छातीमा केही असजिलो बढेको पनि छ।

ओछ्यानमा पल्टिएर सरूलाई हेर्छु। ऊ व्यस्त छे। तेह्र वर्षको प्रत्यूष र दस वर्षको वसन्तलाई सुताउने तरखर गर्दैछ। अघि बेलुका छ बजे मात्र त आइपुगेकी ऊ पनि। हङकङ बजारमा सानो झुप्रे पसल चलाएर बसेकी छे। तयारी पोसाकहरूको खुद्रा पसल। सस्तोमा पाइने। थोरै पैसा भएकाहरूले पनि लाउन मिल्ने लुगाहरू। प्रशस्त दलाली गर्नु पर्ने। सरू बाठी छे, मानिसको स्वभाव हेरेर दाम भन्न सिपालु भैसकी।

बिहान घरको सरसफाई र खाना पकाउने काम सकेर उसलाई पसल कुद्न र मलाई अफिस जान सधैँ चटारो पर्छ। थोरै तिना काम त म सघाउँछु पनि तर केही महिना यता अलिक गलेको अनुभव गर्न थालेको छु। फेरि यो जाति नहुने रूघा खोकीले यसपालि निकै सतायो। छोराछोरीलाई सुताएर सरू सुत्न आउँदा दस बज्न लागिसकेको हुन्छ।

दिनभरीको कामले गलेकी सरू ओछ्यानमा लड्ने बित्तिकै निदाउँछे। लाग्छ, सरूका सबै सपनाहरू कतै हराएका छन्। एउटी सुन्दर युवतीका रूपमा उसले देखेका सुख-सयलका सपनाहरू । बिचरी, घर-व्यवहार र कर्तव्य पालना गर्दागर्दै थाकेर बिसाएजस्ती देखिन्छे। मेरो भित्र अन्तरकुन्तरमा कतै एउटा हुक उठ्छ। सोच्छु, सरूको जिन्दगीका लागि म कति दोषी छु ? शतप्रतिशत… अहँ पट्क्कै हिसाब मिल्दैन। बिहान उठेदेखि रातिसम्म भ्याइनभ्याइ कामै मात्र गरिरहनुपर्दा दिक्क पनि लाग्दो हो, खुइ काढिरहने पलहरूबाट फुत्त निस्किन पनि मन लाग्दो हो। तर उसका ती दिग्दारीहरू कहिल्यै अनुहारमा आएनन्। गजबको शालिन अनुहार छ सरूको। दुःखलाई पचाउन सक्ने अद्भूत क्षमता छ ऊसँग।
छेउमा मस्त निदाइरहेकी सरूको अवोध अनुहारमा हेर्दै म कल्पना गर्छु – कतै मलाई असाध्य रोग त लागेको छैन ? यसले ज्यानै त लिँदैन ? म केही गरी मरिगएँ भने सरूले के गर्ली। यी छोराहरूलाई कसरी हुर्काउली ? कल्पनै मात्रले पनि आङ सिरिङ्ग हुन्छ। मभित्रका उदासीहरू कताकता बाहिर पोखिन खोज्छन्। आफ्नो कल्पनाको छनक सरूलाई नपरोस् भनी केही होसियार हुन्छु। तर ऊ निदाइकेकी छे। जति सोचे पनि भयो नि अब त तर म पनि निदाउने कोसिस गर्छु।

पेइङमा टिकट काट्नेहरूको लाइन निकै लामो छ। सरू लाइनमा बस्छे र म अलिक परको यात्रु कुर्सीमा। असजिलो भैराखेको छ र मनमा अनेक कल्पनाहरूले डेरा जमाइराखेका छन्। दिमागमा अचानक अनौठा विचारहरूको होडबाजी नै चलेको छ। जीवन र मृत्युका असङ्ख्य विवादहरू मेरा दिमागमा खेलिरहेका छन्। एक-दुई पल्ट त आकाशमा उडेझैँ पनि लागेको छ। किन यस्तो भैराखेको छ, हिजो र आजमै मैले यतिविघ्न किन सोच्नु पर्ने। भ्रम पनि त हैन। आफ्ना वरिपरिका मानिसहरू हेर्छु सबै आफ्नै काममा व्यस्त छन्। लाइनमा लागेका मानिसहरू हेर्छु र कल्पना गर्छु हरेकका बिरामी बेग्लै होलान्, दुःख र व्यथा बेग्लै होलान्। मैजस्ता आत्तिन लागेका होलान् कति ? मलाई लाग्छ मानिसहरू आफ्ना व्यथा लुकाउन खप्पिस छन्। एक से एक कलाकारहरू हुन् यी मानिसहरू…। लाग्छ, यो संसारै एउटा रङ्गमञ्च हो।

डा. प्रमोद प्रधान सोध्नुहुन्छ – “कति भयो यस्तो भएको ?”

मैले बोल्नै नपाई सरूले जबाफ दिन्छे – “सर, अहिले त करिब दुई महिना भयो तर यस्तो बारम्बार हुने गरेको छ। मैले त उहिल्यै यहाँ जचाउन आउँ भनेकी तर मान्ने भए पो…”

सरूले अरूथोक केके भनी थाहा भएन। मेरो रोगलाई सरूले धेरै बढाइ-चढाइ गर्छे कि झैँ लाग्दै थियो। अलिक रिस पनि उठ्दै थियो, किन बाठी हुन परेको पोल लगाउन। दिमागको कुनै कुनामा रिसको एउटा अगुल्टो बल्न खोज्दै थियो।

“…. ल तुरून्त छातीको एक्सरे गराएर ल्याउनू त। यो दुई कोणबाट गराउनु। म अझै दुईघण्टा यहीँ बस्छु। म लेखिदिऊँला। तल भएन भने इमर्जेन्सीमा गराउँदा पनि हुन्छ।”

डा. प्रमोदको भनाइ सुनेपछि भने मलाई भित्र कतै चिसो पस्यो। ला.., ढिला पो गरिएछ कि क्याहो ? भन्ने लाग्यो। सरूसँग छिटोछिटो रेडियोलोजी विभागतिर दौडिएँ। डा. प्रमोदको पूर्जा दिएपछि पनि एकछिन पर्खिन भने र सरू एक्सरे शुल्क तिर्नतिर लागी। मलाई निकै बेचैनी भइरहेको थियो। किन डाक्टरले यति हतार गरे ? साँच्चिकै निकै गम्भीर बिरामी लागेको छ कि क्या हो ? त्यत्तिकै अत्तालिने त मेरो बानी छैन तर आज म निकै विचलित छु। छातीको भारीपन घटेको पनि त छैन। बल्लबल्ल बस्न पाएको ठाउँमा बसेर एक्सरे गर्न आउने जाने मानिसहरूलाई नियाल्न थाल्छु।

हामी आउनुभन्दा अघिदेखि नै एकजना खुट्टा भाँचिएर प्लास्टर चढाएका मानिस स्ट्रेचरमै सुतिराखेका छन्। करिब उन्नाइस वर्षको युवक उनीसित छ। सुतेका मानिसको अनुहार भावविहीन देखिन्छ, लाग्छ उनको दिमागमा विचारहरू नै छैनन्। तर युवक चिन्तित देखिन्छ, भित्र कतैको पीडा अनुहारमा आएर पोखिएझैँ लाग्छ। विषादग्रस्त सो युवक बारम्बार आफ्नो पालो आयो कि भन्दै काउन्टरमा आइरहन्छ। काउन्टरमा बसेकी महिला चाहिँ कसैसँग हाँसी खुसी बोलेको देखिन्नन्। पहिले पनि यहाँ त्यस्तै त हुन्थे। जहिल्यै झर्कोफर्को गर्ने र राम्ररी बोल्दा पनि नबोल्ने। बिरामीको पीडामाथि यिनको रूखो व्यवहारले नूनचुक थपेझैँ हुने। मलाई त त्यता हेर्न पनि मन लागेको छैन तर आँखाहरू पुगिहाल्छन्। आफ्नो पालो कतिबेला आउला भन्ने कत्रो सकस, त्यही माथि पालो नआइन्जेल बिल तिरेको पुर्जी सरूले ल्याइन भने, फेरि कति कुर्नु पर्ने हो। ए ऊ.. सरू आइपुगी। यसो घडी हेरेको, ठ्याक्कै आधा घण्टा लागेछ। एकछिनपछि पालो आयो र झोलापोका सरूलाई जिम्मा लगाएर छिरेँ एक्स रे कोठाभित्र।

एक्सरे रिपोर्ट लिन आधाघण्टा फेरि कुर्नुपर्ने भय़ो। बाहिर निस्केर सरूसँग भनेँ- “सरू हिँड्। बाहिर निस्कियौँ। एकछिन डुलेर आऔँ।” आधा घण्टा बिताउनु थियो। रेडियोलोजी विभागबाट निस्केर अलिक मास्तिर रहेको इमर्जेन्सी विभागको पछिल्तिरबाट बाहिर निस्कियौँ। साढे पाँच भएको हुँदो हो। आकाश धुमिल थियो तर पानी परिहाल्ला भन्ने लागेन। बाहिर निस्केर चौरीमा थ्याच्च बसेपछि सरूलाई भने, “सरू, तैँले भनेको नमानेर मैले गल्ती पो गरेँ कि क्या हो ?”

सरूले अनौठो अनुहार लगाई। सधैँ सरूका भावहरू सजिलै पढ्न सक्ने मलाई आज उसको मुद्राले अत्यायो। फेरि सोधेँ – “बोल्दिनस् त, केही भन् न।”

सरूले अनुहारको भावमा कुनै परिवर्तन नल्याइ भनी, “मेरो बोलीको के मूल्य छ र तपाईँ सामु। मेरो हैसियत नै के र ?”

सरूको जवाफले खङ्ग्रङ्ग भएँ । साँच्चिकै मलाई कुनै गम्भीर रोग लागेको छ र जचाउँन ढिला भएको हो भने चाहिँ सरूले मलाई माफ गर्दिनँ। मैले माफी माग्ने बाटो नै कहाँ रह्यो र ! मलाई आज आफैँदेखि साह्रै रिस उठेर आयो। मैले जानाजान हेलचेक्र्याइँ त गरेको हैन तर अलिक अटेर चाहिँ गरेकै हो। सानातिना रोगहरू सजिलै पचाउन बानी परिसकेको। रोगको गम्भीरतामा अलिकति ध्यान पुर्‍याएको भए….। आ.. कति थोक सोच्नु परेको ! एक्स-रेको रिपोर्ट आएकै छैन। डाक्टरले केही भनेकै छैन। किन किन नराम्रा विचार मात्र टाउका भरी आउँछन्। सरूलाई हेरेँ। ऊ माथि भेडेटारतिर फर्किएकी थिई। मैले ऊ भएतिरै हेरेँ भेडेटारका डाँढामाथि बडेमानका साउने काला बादलहरूको थुप्रो थियो।

एक्स-रे रिपोर्ट हेरेपछि डाक्टर अचानक गम्भीर भए। उनले पहिले मेरो अनुहार हेरे। त्यसपछि सरूको अनुहार हेरे। भने – “हेर्नुहोस्..छातीमा दाग देखिएको छ। ठूलै छ। अहिले मैले यहाँ केही भन्न सक्ने स्थिति छैन। एकपल्ट तुरुन्तै भरतपुर गएर जचाउँनुहोस्। त्यस्तो आत्तिइहाल्नु पर्ने छैन। तर छिटो गएर जचाएको राम्रो।”

मैले सरूको अनुहारमा हेरेँ। ऊ मैतिर हेरिरहेकी थिई। मैले बोल्ने कुरा सकिएजस्तो लाग्यो। सरूलाई म कसरी सम्बोधन गरौँ। सरूको आँखाहरू हेर्दा लाग्थ्यो, ती फाट्न लागेका बादलझैँ छन्। कुनै पनि बेला अचानक भेल बनी बर्सिन सक्छन्। आँखा त त्यस्ता भए, मनभित्र के भएको होला। मेरा हात खुट्टाहरू निदाए, कुनै संवेदना रहेन तिनमा। खै कतिबेला त्यहाँबाट उठियो र इटहरी घर आइपुगियो केही थाहा भएन। केही पकाएर खाइयो कि खाइएन त्यो पनि थाहा भएन। निदाएँ निदाइनँ, त्यो पनि थाहा भएन। थाहा भयो त एउटै कुरा – मलाई खोकी लागिरहेको छ र छाती हिजोभन्दा दोब्बर गह्रौँ भएको छ। छातीसितै मन पनि तौलिन मन लाग्यो। मन पनि त्यत्तिकै उचाली नसक्नु गह्रौँ भएको रहेछ।

बिपी मेमोरियल क्यान्सर अस्पतालका डा. वरूण सिग्देललाई यतातिरको सबै रिपोर्टहरू देखाएपछि उनले निकैबेर घोरिएर मलाई हेरे एउटा कागजको चिर्कटोमा केहो कोरे र सरूलाई दिँदै भने – “उहाँको सिटी स्क्यान गराएर रिपोर्ट लिई आउनुहोला।”

मैले सरूको आँखातिर हेर्नै सकिनँ। आज म रून्चे बालकझैँ भएको छु र सरू मेरो अभिभावक। उसले जे भन्यो, म त्यही मानिरहेको छु। कतिका दिन त टेरपुच्छर लगाइनँ। तर, अब लाग्यो मैले जिद्दी कसेर मेरो आयु बढ्ने छैन। फेरि बाँचिरहने रहर पनि त पुगेकै थिएन ! मैले देखेको थिएँ, मानिसहरू साह्रै सिकिस्त भएपछि मात्रै भरतपुर जान्छन् र फर्की आएपछि त्यति बाँच्दैनन्। मेरो पनि त नियति त्यही नै होला। तर मेरा त थुप्रै योजनाहरू बाँकी नै छन्। बाहिर झरी दर्किरहेकै छ। साउने झरीले मनभरी एकतमासको अमिलो भरिएको छ। सरूले बिस्तारै मेरो हात समाती र भनी – ‘हिँड्नुस् !” म लुरुलुरु उसका पछाडि लागेँ।

अजङ्गको सिटी स्क्यानरभित्र छिर्दा लाग्यो, कतै यै मेसिनले सिध्याउने त हैन ! तर विश्वास गर्न कर लाग्यो, त्यो त मात्र फोटो खिच्ने मेसिन हो। फरक त्यत्ति हो, यसले भित्रको फोटो खिच्छ, जसलाई एल्बममा राखेर हेर्न नमिल्ला। मेसिनमा छिर्दा र निस्कँदा, छाती गह्रौँ भई नै राखेको थियो।

रिपोर्ट लिएर डा. वरूण सिग्देलकहाँ जाँदा उनले मलाई बाहिरै बस्न भने र सरूलाई लिएर भित्री कोठामा गए। मेरो आशङ्का अझै दह्रो हुँदै गयो। केही नभएको भए त मलाई पनि सँगै राख्दा भैहाल्थ्यो नि ! मेरो बिरामीले के हामी दुई बीच दरार त ल्याएन ? कतै केही मबाट लुकाइँदै त छैन ? किन यस्तो भएको ? केही क्षणपछि मलाई पनि बोलाए र भित्र गएँ। आफ्नो कुर्सीमा बिराजमान डा. सिग्देल गम्भीर थिए। छेउपट्टि सरू बसेकी थिई । उसको अनुहार सपाट थियो, भावविहीन जस्तो। मलाई देखेपछि डा. सिग्देलले गम्भीर भएर भने – “बस्नुस्। हेर्नुहोस् तपाईँहरू धेरै ढिलो आउनु भयो। सायद तपाईँलाई पनि गम्भीर रोग लागेको छ भनी शङ्का त लागिसकेको हुनुपर्छ। तपाईँका अनुमान र शङ्का सत्य नै भएका छन्। तपाईँलाई सुरुको अवस्थाको फोक्सोको क्यान्सर भएको छ। तर पटक्कै डराउनु पर्दैन। औषधि गरेपछि जाति हुन्छ। मैले दुई महिनालाई दबाई लेखिदिएको छु। दुई महिनापछि फेरि आउनुहोला।”

डाक्टरको भनाइ सुनेपछि बाहिरको साउने झरीले भिजाएजसरी भित्र कतै भिज्यो। सरूतिर फर्केर हेरेँ। ऊ निर्निमेष डाक्टरको अनुहारतिर हेरिरहेकी थिई। सायद उसलाई विशेष अझै केही भनेको छ कि ? तर मलाई नै क्यान्सर भयो भनेर भनिसकेपछि लुक्न के बाँकी रह्यो र ? औषधि गरेपछि जाति त भैहाल्छ। क्यान्सर निको भएर सफल जीवन बाँचेका कैयन् मानिसहरू पनि त मैले नै चिनेको छु।

तर अहिले मलाई लाग्यो मैले सरूले भनेको नमानेर धेरै ढिलो गरेँ। अब औषधि गराइको शारीरिक पीडा त छँदैछ, आर्थिक भार कति थपिने हो थाहा छैन। फेरि यस्तो बिरामीको के भर र? ज्यान अब सिद्धिएकै हो कि भने पनि लाग्न थाल्यो। छालाभित्रका अङ्गहरूले कतिबेला काम गर्न छोड्छन् थाहै नहुने। ऊफ…। सरूको अनुहार अझै भावविहीन छ।

सबै कागजपत्र बोकेर बाहिर निस्किँदा बेतमासको झरी परिरहेको हुन्छ तर जसोतसो होटल त पुग्नै पर्‍यो।

जिन्दगी कस्तो असजिलो ! हिजोअस्तिसम्म सामान्य थिएँ। लाग्थ्यो केही भएकै छैन। तर अब लाग्छ जिन्दगीले पूरै कोल्टे फेरेको छ। कुनै कुरा सिधा छैन। छातीभित्रको गह्रौँ भारी अब मन र मस्तिष्कतिर छिर्न थालिसक्यो। म गल्न थाली सकेँ।

इटहरी घर आइपुगेको दिन साँझ परेको थियो। मनभित्र विचित्रको बेचैनीले मलाई शान्त हुन दिइरहेको थिएन। मेरो अन्तर राम्ररी छामेकी सरू निकै अत्तालिएकी देखिन्थी। तर इटहरी आइपुगेपछि उसमा अनौठो धैर्य छाएको थियो। छोराहरू कतै खेल्न गएका रहेछन्, हामी आएको चाल पाएर घरमा आए। सरूले सधैँझैँ छोराहरूलाई सुमसुम्याइन् र भान्सा छिरिन्। ठूलो छोरो प्रत्यूष मेरो छेउमा आयो र सोध्यो – “बाबा, कस्तो छ हजुरलाई ? के भन्यो डाक्टरले ?”

म के भनौँ सोची रहेकै थिएँ, सरूले भान्साबाटै जबाफ दिई – “केही छैन छोरा त्यस्तो। लामो बिरामी भएकाले अलिक धेरै समय औषधि खानु पर्छ रे ! दुई महिनापछि बोलाको छ। डराउने कुरा केही छैन।”

सरूले कुरो सम्हाली। म भए सायद साँचो कुरा भन्थेँ कि ! मलाई झूटो बोल्नै आउँदैन। रोगको निदान भएपछि मेरो मन मस्तिष्क साह्रै गलेको थियो। थकाइले निद्रा लाग्न थालेछ। सालीले भान्सा तयार गरिसकेकी रहिछन्। सरूले कोठामै खाना ल्याइदिई, छातीको गह्रौँपनसँगै खाना खाएँ, पुर्लुक्क पल्टिएँ र निदाएँ।

भोलिपल्ट देखि मेरो पूरै दिनचर्या परिवर्तन भयो। मानिसहरू हुल बाँधेर मलाई हेर्न आउन थाले। पहिले आफन्तहरू आए, अनि छरछिमेकी र त्यसपछाडि टाढाका। मलाई अब धेरै बाँच्छु जस्तो लाग्न छाड्यो। अचानक जीवनले हरेश खायो। छातीको बेथाले असाध्यै पिरोल्न थाल्यो। अफिसमा बिरामी बिदाका लागि निवेदन सरूलाई पठाएँ।

दुई दिनपछि उदयपुरबाट बा-आमा आइपुग्नु भयो। अस्सी वर्षका कुप्री परेका मेरा बा र बहत्तर वर्षकी आमा। मैले उहाँहरूसित आँखा मिलाउन सकिनँ। बा-आमा सरासरी आएर मेरो ओछ्यान छेऊ बस्नुभयो। आमा बोल्न सकिरहनु भएको थिएन। बाले मेरो हात सुमसुम्याउँदै भन्नुभयो- “साइँला तँलाई कस्तो छ ? यो के भो नानी ?”

मैले मनलाई दह्रो बनाउँदै भनेँ – “बा, यस्तो रोग थुप्रैलाई लाग्छ। ओखतीमूलो गरेपछि जाति पनि हुन्छ। मलाई पनि सुरुको अवस्था छ, जाति हुन्छ भनेको छ। यी हेर्नु त, यति धेरै औषधि दिएर पठाएका छन्।”

मलाई भित्र मनमा कतै यो कुरा साँच्चै हो जस्तो पनि लागिरहेको थियो। तर मनको कुनाबाट शङ्का फुत्किरहेको थिएन। डाक्टरले सरूलाई एक्लै भित्र बोलाएर पक्कै केही त भनेका होलान्। मैले सरूलाई एक दुई पल्ट सोधेँ पनि तर उसले जबाफै दिइन। मलाई पनि धेरै कर गर्न मन लागेन। भनौँ कर गर्ने आँट आएन। सरूका अगाडि म कमजोर थिएँ। सरूले हजारौँ पटक राम्रा ठाउँमा जचाउन जाऔँ भन्दा, मैले नै अटेर गरेको थिएँ। त्यही अटेरको फल अहिले भोग्नु परेको छ जस्तो लाग्यो।

बाले फेरि भन्नुभयो – “बिसेक होस् है नानी तलाईँ। भगवानले रच्छे गरून्।”

मैले के बोल्ने हो जान्दै जानिनँ। चुपै लागेर बसिरहेँ। अब जो आए पनि चुप लागेर बस्थेँ। थरी थरीका मानिस आउँथे। अनेक किसिमका ज्ञान, र अनुभव र सीपका कुरा गर्थे। होमियोपेथीदेखि लिएर धामी झाँक्रीसम्मको कुरा हुन्थ्यो। लाग्थ्यो, मानिसहरू कसरी यतिधेरै जान्ने भएका। मलाई हेर्न आएको हरेक दोस्रो मानिस आफ्नो विज्ञता देखाउन थाल्थ्यो। विशेषज्ञ भएझैँ, सबै बखान गर्ने। म बिरामी भएको, मलाई कष्ट भएको, गाह्रो परेको, सरू र अरू परिवारका सदस्यहरूलाई झर्को लागेको कुरा मानिस बुझ्दैन थिए। उनीहरूको अनुहार र आँखाहरूमा म “क्यान्सर लागेको बिचरा” थिएँ जसलागि दुई शब्द भनिदिए पुग्थ्यो। मेरा घरबाट निस्किएर गएपछि, उनीहरूका अरू नै कुराहरू हुँदा हुन्। मलाई के थाहा ? मेरो पीडालाई बुझ्ने एकदुई जना छिमेकी थिए, जो सधैँ राती आउँथे, थोरै बोल्थे र धेरै भनेर जान्थे। प्रेरणा र सत्प्रयासका कुरा मात्र गर्थे। ती मित्रहरू आउँदा म फेरि बाँच्थेँ।

अब मलाई विस्तारै रोगले च्याप्न थालिसकेको थियो। औषधिमूलो खाँदै थिएँ तर केही भेटेको जस्तो लागेन। एन्टिबायोटिक र एनाल्जेसिकजस्ता देखिने अचम्मका क्याप्सुल र झोल दवाइहरूमात्र थिए। क्यान्सरका लागि केमो थेरापी र रेडियो थेरापी सुनेको थिएँ तर डाक्टरले त त्यसको कुरै गरेका थिएनन्।अब मेरो मन फेरि झस्कियो। रोगको अवस्था चाल पाउन छटपटी भइरह्यो। सरूलाई सोध्न सकिनँ। त्यसै पनि ऊ कामै कामले थिचिएकी थिई। बेलुका मेरा छेउमा आउँथी र हात सुमसुम्याउँदै बसी रहन्थी। उसका आँखाहरू गम्भीर थिए। निद्रा उसका आँखाहरूबाट कोसौँ टाढा थियो।

डाक्टरका कागज पत्रहरूबाट केही चाल पाइन्छ कि भनी हेर्न थालेँ। धरानदेखिकै कागजपत्रहरू हेर्दै गएँ। डाक्टरी भाषा सबै बुझ्ने कुरा त भएन तर कतै रोगको नाम, प्रकार र विभिन्न परीक्षणहरू बुझ्न सकिने खालका थिए। एक्स रे, सिटी स्क्यान, एसिडिसी आदिजस्ता शब्दावलीको अर्थ त बुझ्न सकिन्थ्यो। धरानको कागजबाट केही पत्ता नलागेपछि भरतपुरको कागज हेर्न थालेँ। भित्री पन्नामा कतै लेखेर अन्डरलाइन गरिएको थियो – टर्मिनल ब्रोन्कोएल्भिओलर कार्सिनोमा। यो देखेपछि मन खङ्ग्रङ्ग भयो। जिन्दगीको अब अन्त्य नै रहेछ। बीचको शब्द नबुझे पनि टर्मिनल र कार्सिनोमा नै काफी थिए, रोगको प्रकृति बुझाउन। म अब केही दिनको पाहुना मात्र थिएँ।

ओफो.. अब कहिले त मेरो अन्तिम दिन। बेथा हेर्दा त धेरै दिन टिक्छु जस्तो लागेन। मैले मनलाई दह्रो बनाउनै थियो। सरूले मलाई अप्ठ्यारो पर्छ भनेरै होला मलाई सबै कुरा नभनेकी। होस्, म पनि चाल पाएजस्तो गर्दिनँ। तर फेरि लाग्छ म आफ्नो जीजिविषा कसरी लुकाउँहोला। मलाई अझै कति धेरै बाँच्नु थियो ! कति धेरै योजना थिए ! यी छोराहरूलाई राम्ररी पढाउनु थियो ! यै घरलाई पनि सिँगारेर सुन्दर बनाउँला भन्ने थियो ! सरूलाई लिएर कतै घुम्न पनि गएको थिइनँ। उसलाई तीर्थयात्रा गराउनु थियो। आफूलाई पनि जान मन लागेका अनेकन ठाउँहरू थिए। हे ईश्वर… मलाई किन यति छिटै आफूतिरै बोलायौ। अलिक वर्षपछि आउने थिएँ नि त !

दस दिन पछि मेरो पिसाब पनि रोकियो। लाख कोसिस गरेँ पिसाब फेर्न, तर सकिनँ। यता सास फेर्न पनि दिनानुदिन गाह्रो भैरहेको थियो। के गर्नु अब ? पछुताउनु र रूनु बाहेक म के नै गर्न सक्थेँ र..! सरू निर्निमेष काम गरिरहेकी छ। छेउमा राखेर केही कुरा पनि त गर्न सक्तिनँ। सँगै बसेर जिन्दगी जिउने कुरा त सखापै भै गयो। कहिलेकाहीँ त लाग्थ्यो, सरूलाई बोलाएर छेउमा राखूँ, ऊसँ मनग्गे बोलूँ। तर म आँखै मिलाउन सकिरहेको छैन ऊसँग। भन्न मन लाग्थ्यो – “सरू, छेउमा आइज न हौ, केही कुरा गरौँ। अब केही दिनमा म मरी त हाल्छु।” तर मुखबाट एउटै शब्द निस्किँदैनथ्यो। लाचार पनि कस्तो थिएँ म !

डाक्टरले आएर क्याथेटर घुसाएर एउटा थैलो झुन्ड्याइदिए। अब पिसाब पनि त्यसैमा गर्नु पर्ने भयो। दवाई खाइरहेको थिएँ तर बेथा बढ्दै थियो।

एक दिन बिहान उठ्दा छाती साह्रै गह्रौँ भएको थियो। उठ्न खोजीहेरेँ सकिनँ। मलाई लाग्यो अब धेरै दिन छैनन्। दिउँसो सरूलाई बोलाएर भनेँ – “सरू, अब मेरा दिन धेरै छैनन्। मलाई घोपा लैजा। म यस घरमा प्राण त्याग्न सक्तिनँ।” भनिसकेपछि मेरो भक्कानो छुट्यो। सरू, अर्कोपट्टि फर्किई। थाहा भयो ऊ पनि रोइरहेकी छे।

किन र कसरी नरोओस् बिचरी ! ऊफ…!!
त्यही बेलुका सरूले एम्बुलेन्समा हालेर मलाई घोपा लगी। मेडिसिन वार्डमा भर्ना गरिदिए डाक्टरले। त्यस राति कुनै इन्जेक्सन दिएका थिए सायद त्यसैले निदाएँ राम्ररी।

दिउँसो मानिसहरू मलाई हेर्न आउन थाले। मलाई लाग्यो, यिनीहरूले मलाई अन्तिम बिदाई गर्दैछन्। मानिसहरू छउन्जेल मलाई राम्रै लाग्थ्यो। केही पीडा पनि कम भएझैँ लाग्थ्यो। दिनभरि जसो मान्छेहरू भै रहन्थेतर म धेरै गलिरहेको थिएँ। मानिसहरू जब आउँथे, एक किसिमको खुसी लाग्थ्यो। तर जब उनीहरू जान्थे, तब मन त्यति अमिलो हुन्थ्यो कि भक्कानो नै फुट्थ्यो। मैले चाहेका आफन्तहरूसँग फेरि भेट हुँदैन, म मर्छु भन्ने भावना मभित्र छिर्थ्यो र म रून्थेँ। सरू अक्क न बक्क पर्थी र रून थाल्थी। छेउछाउका बिरामीहरू छक्क परेर हेर्थे। धेरैले सोधे पनि के बिरामी भनेर तर हामीले भनेनौँ। मैले नै नभन्नू भनेँ सरूलाई।

घोपामा एकदिन दुई दिन हुँदै पाँच दिन बित्यो। अब मेरो फोक्सोले काम दिन छाडी सकेको थियो। डाक्टरहरूले अक्सिजन मास्क लगाइदिएका थिए। सास फेर्न धेरै सजिलो भएझैँ लाग्यो।

अर्को दिन देख्छु। सरू डाको छोडेर रोइरहेकी छे। मेरा छेउमै डाक्टरहरू उभिएका छन्। मलाई सेतो कपडा ओडाएछन्। ए… म त मरी पो सकेछु ! मैले मेरो सानो र सुखी जिन्दगी समेटेर लेख्न चाहेको कथा लेखिएन… सो कथा मेरो मनमै मसँगै यस पृथ्वीबाट अलप भएर गयो…।