अग्रहरि समाजमा देखापर्ने विभिन्न विकृतिका विरुद्ध अभियानहरू चलाइरहन्छन् । धेरैले उनको अभियानमा साथ र सहयोग पनि गरेका छन् । उनी सभाहलमा उपस्थित श्रोताको संख्या देखेर हौसिएका थिए ।

‘सामाजिक सञ्जालको विकृति विरुद्धको अभियानमा’ उपस्थित सबैलाई अभिवादन गर्दै मन्तव्य दिन थाले अग्रहरि ।

‘अहिले देखिएका विभिन्न सामाजिक सञ्जालले हाम्रो दैनिकी तहसनहस बनाएको छ । यसको उचित भन्दा अनुचित प्रयोगले समाजलाई दुर्गतितिर डोर्याएको छ । तपाईं-हाम्रा नानीबाबुहरुको भविष्य अन्धकारतर्फ धकेलिरहेको छ,’ उनको भाषणको भिडियोसमेत बनिरहेको थियो ।

‘फेसबुक, इन्स्टाग्राम, भाइबर, टिकटक, कुनै पनि सञ्जालले तपाईं-हामीलाई सही मार्गमा

हरिचन्द्र ढकाल

डोर्याएजस्तो लाग्दैन । यिनबाट मानिस मनरोगी भएको छ । हेर्नुस्, फेसबुकमा पाँच हजार साथी छन् भनेर मख्ख पर्ने हामी मर्दापर्दा बीस जना मानिस जुटाउन मुस्किल परेको छ । कस्तो विश्मय असी वर्षे बूढोको साथी दश वर्षे बालक, ससुरा-बुहारी साथी, हजुरबुबाका साथी नातिनातिना ! यस्तो पनि हुन्छ ? उनले अलि लामै प्रवचन दिए । फोटो खिच्नेहरुतर्फ हेरेर उनी हल्का मुस्कुराउँथे ।

‘आज जन्मदिनमा फूल र उपहारसहित साथी भेट्ने दिन गए । फेसबुकमा बधाई दियो सकियो । गोपनीयता सबै भंग छ । असुरक्षा बढेको छ । आफूले देखाउन खोजेका काम कुरामा लाइक कमेन्ट आएन भनेर हामी निराशावादी भएका छौँ । वास्तवमै हामी कुलतमा फँसेका छौँ । यसबाट निस्कन जरुरी छ,’ सहयोगीले उनको फोटो र भिडियो बनाइरहेका थिए ।

उनले थप्दै गए, ‘विचार गरौँ त, के यी चिजबिना हाम्रो दैनिकी चलेको थिएन र ? हाम्रा भावना र आत्मियता कति नजिक थियो पहिला ! तर अहिले सबै बिथोलिएको छ । घरघरमा अश्लीलताको बिगबिगी छ । छोराछोरीहरु नग्नतातिर अग्रसर देखिन्छन् । बेलैमा सचेत बनौँ है !’

यसपछि तालीका पर्रा छुटे ।

लगभग दुई घण्टा जतिको भाषणपछि कार्यक्रम सकियो ।

‘सबै फोटाहरु, भिडियोहरु फेसबुकमा अपलोड गर्यौ ?’ आफ्ना सहयोगीलाई अग्रहरिले सोधे ।

‘ चार हजार जति लाइक र सय जति कमेन्ट आएको छ हजूर,’ सहयोगीले मुस्कानसहित जवाफ दिए ।

‘लाइक, कमेन्ट किन कम भो यस पटक ? फलोअर अलि बढाउन प्रचार गर्नुपर्यो !’ अग्रहरिको निराशा झल्कियो ।

गोजीबाट लाखौँको दाम पर्ने मोबाइल झिकेर सेल्फी लिँदै एउटा घच्चीको फेसबुक स्टाटस हाले अग्रहरिले, ‘भोलिको कार्यक्रम पश्चिम डाँडाबजार !’

स्टाटसको मुनि ‘सामाजिक सञ्जाल विकृतिविरोधी अभियन्ता अग्रहरि’ लेख्न उनले छुटाएनन् ।