एकादेशमा सरकारको लकडाउनको आदेशको उल्लङ्घन गर्दै असंख्य मानिसको हुल टुँडिखेलतिर ओइरिरहेको थियो ।
हुल सयौंको होइन, हजारौंको होइन, लाखौंको थियो । म पनि त्यही हुलमा थिएँ ।
टुँडिखेल बाहिर यौटा ठूलो बोर्ड राखिएको थियो । बोर्डको सिरानमा लेखिएको थियो, ‘सामूहिक आत्महत्या ।’
त्यसमुनि लेखिएको थियो, “ राष्ट्रले संकटको सामना गरिरहेको बेला, जनताले सहनै मुस्किल सकस खपिरहेको बेला
हामी तपसिलका व्यक्तिहरू, हाम्रो परिवार र नाताकुटुम्बले समेत साथ दिएर भ्रष्टाचार, अनियमितता गरेर आफ्नो
व्यक्तिगत स्वार्थ पूर्ति गर्ने मात्र काम गरेर जघन्य अपराध गरेको कबुल गर्दछौँ । अत: मरेपछि नर्कमा जानुभन्दा
त्यो कुकर्मको प्रायश्चितका लागि हामीले सामूहिक आत्महत्या गर्ने निर्णय गरेका हौँ । तपाईं जनताले हामीहरूको
लाशलाई जुत्ता चप्पलले हानेर तथा थुकेर हाम्रो पाप धुन सहयोग गर्नु होला !’
यसपछि लामो नामको सूचि थियो र सबैको हस्ताक्षरसमेत थियो ।
मानिसहरूको भीड टुँडिखेलको गेटबाट भित्र प्रवेश गर्दै थियो । म पनि छिरेँ कम्पाउण्डमा !
बाफ रे बाफ ! कस्तो अचम्मको दृश्य ! सयौँ मान्छेहरु डोरीमा झुण्डिएका थिए । सबैको छातीमा तिनको नाम, पद, कबुल गरेको अपराध ईत्यादि लेखिएको थियो । कोही मन्त्री, सांसद, व्यापारी, ठेकेदार, बिचौलिया, दलाल, सप्लाएर, उच्च पदस्थ सरकारी मान्छेहरू, कसैका त परिवारै पनि ! मान्छेहरू लाम लागेर तिनको लाशलाई थुकिरहेका थिए ।
लगाएको जुत्ता चप्पल खोलेर हिर्काउँदै पनि थिए । कति त मैले चिनेका थिए । कति फोटोमा वा टिभीमा देखेका थिए । कति समाचारमा नाम पढेका मात्र थिए । कति अपरिचित थिए । कति एक्लै । कति सपत्नी । कति सप्रेमी-सप्रेमिका थिए । कति हाकिम र पिए थिए । झुण्डिएका लाशहरूको लामो लर्को देखेर मलाई हुनसम्मको अचम्म लागिरहेको थियो ।
मैले पनि जोड जोडले थुथु गर्दै थुक्न थालेँ । खुट्टाको जुत्ता खोलेर ‘लौ खा ! लौखा !’ भन्दै हान्न थालेँ !
‘हैन ए बूढा, आठ बजेसम्म घुरेर सुत्दै के निद्रामा बर्बराएको हँ !’ श्रीमतीको स्वरले झसंग भएर म ब्युँझिएँ ।
हत्तेरिका कस्तो अनौठो सपना देखिएछ ।
खासमा के छ खबर भनेर मैले टेलिभिजन खोलेँ । क्या अचम्म, अघि सपनामा भ्रष्टाचार कबुलेर टुँडिखेलमा झुण्डिएर लास भएका मान्छेहरू समसामयिक बहसमा भाग लिँदै कुर्लीकुर्ली चिच्याइरहेका थिए, ‘मैले एक पैसा अनियमित गरेको छैन । भ्रष्टाचार गरेको छैन । यदि अनियमित र भ्रष्टाचार गरेको प्रमाणित भएमा म झुण्डिन तयार छु ।’
मैले टिभी अफ गरेँ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।