गण्डकीको सेरोफेरो लोकसाहित्यको उर्वर भूमि हो । परापूर्व कालदेखि नै यस क्षेत्रका लोकभाकाहरुले सबैको मनमुटुलाई छोएको कुरामा कसैको दुई मत छैन । गीतसंगीतको क्षेत्रमा रमाउने यहाँका मानिसहरुले मौलिक लोकभाकाहरुलाई आजपर्यन्त जोगाएर राखेका छन् । विभिन्न मेला, पर्व, उत्सवमा गाउने रमाउने हामी लोकसाहित्यमा अत्यन्तै अगाडि छौँ । बालन, भजन, घाँटु, सोरठी, मारुनी, कृष्णचरित्र, कौरा, चुड्का, रोइला, ठाडोभाका, यानीमाया जस्ता कयौँ अन्य लोकभाकाहरु यहाँका गाउँघरमा आज पनि गाइन्छन् । हाम्रा पूर्खाहरुको जीवन गीत र संगीतमा भिजेको थियो, जसरी गण्डकी नदीले यसको वरपरका क्षेत्रलाई सिँचित गरेको छ त्यसैगरी यहाँको लोकभाकाहरुले सबैको मनमुटुलाई सिँचित गरेको छ । कुनै समय मनोरञ्जनको साधनका रुपमा रोधीघरहरु थिए । त्यहाँ गीत गाएर दिनभरिको थकान मेट्ने हाम्रा पौरखी पूर्खाहरु आपैmं गायक र संगीतकार थिए । सुखमा पनि गीत गाएर नाच्थे, दुःखमा पनि गीत गाएर मनको पीडा कम गर्थे । एकअर्कामा सुमधुर सम्बन्ध थियो, डाहा थिएन, आह्रिस थिएन । यसर्थ गीत र संगीत मानवलाई बाँच्न सिकाउने माध्यम पनि हो ।
लमजुङ जिल्ला, गण्डकी अञ्चलमा पर्ने लोकसाहित्यको अत्यन्त समृद्धशाली क्षेत्र हो । लमजुङ जिल्लाको पहिचान हो लमजुङे ठाडोभाका, दोहोरीको रुपमा समूहमा गाइने ठाडोभाकाको उत्पत्ति स्थल लमजुङ भए पनि यसले गोर्खा, तनहुँ, स्याङ्जालगायत गण्डकी अञ्चलका धेरै भूभागमा फुल्ने र पैmलने मौका पायो । यो भाका सुदूर पश्चिमतिर गाइने ठाडीभाका, बग्लुङलगायतका भेगमा गाइने ठाडोभाकाभन्दा फरक छ ।
लमजुङे ठाडोभाकाको इतिहास खोज्दै जाँदा लमजुङ जिल्लाको हाँडीखोला बर्धानमा जन्मनु भएको स्व. देउबहादुर दुराको नाम सबैभन्दा अग्रपंक्तिमा आउँछ । उनैले लमजुङे ठाडोभाकाको सूत्रपात गरेका हुन् भनिन्छ । विशेष गरी देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङ्ग, भीमबहादुर दुरागायतको अथक प्रयास र गायनले गर्दा यो गीतले अस्तित्व पाएको हो । लमजुङ जिल्लाको कर्पुटार, ठूलस्वाँरा, सुन्दरबजार जस्ता मेला लाग्ने स्थानमा मादल भिरेर केटा र केटी बनेर यो भाका सिकाएपछि अरुले पनि गाउन थालेको हो भनिन्छ । कुनै समयमा यो गीत पश्चिमाञ्चल क्षेत्रमा अत्यन्तै प्रचलित थियो । गण्डकी प्रदेशका विभिन्न स्थानमा हुने मेला, उत्सव र चाडपर्वहरुमा यो गीत गाइन्थ्यो । भनिन्छ– यो गीत गाउँदा सात दिन सात रातसम्म पनि धीत मर्दैन रे । आज पनि लमजुङ जिल्लाको कर्पुटार मेला, तुर्लुङकोट मेला र त्यहाँ वरिपरि गाउँमा विभिन्न अवसरहरुमा गाइन्छ । लमजुङे ठाडोभाका ठाउँअनुसार अलि फरक परे पनि शैली चाहिँ एउटै हुन्छ । लमजुङपूर्व र गोर्खा जिल्लामा गाइने भाका अलि फरक हुन्छ तर शैली एउटै हुन्छ ।
मदलको तालमा समूहमा गाइने यो गीत अत्यन्त रमाइलो र शृङ्खलाबद्ध हुनाले सुन्न खुबै मजा आउँछ । टाढा टाढाका गाउँबाट गीत सुन्न मानिसहरु मेला लाग्ने ठाउँमा पुग्छन् । दुवै पक्षले गीतको सवालजवाफ कुशल ढंगले दिने हुँदा गीतमा कडा प्रतिस्पर्धा हुन्छ र कहिलेकाहीँ निकै लामो समयसम्म चलिरहन्छ । श्रोता तथा दर्शकहरुचाहिँ मजा मानेर भोक प्यास बिर्सेर सुनिरहन्छन् । भनिन्छ– ठाडोभाकाको सुरुवात भेटे पनि गाउने नै हो भने अन्त्य भेट्न गाह्रो हुन्छ । ठाडो भाकामा प्रायः माया, प्रेम, सुख, दुःखका विषय समेटिन्छन् ।
विभिन्न उत्सव र कार्यक्रमहरुमा गाइने ठाडोभाका मादलको तालमा गाइने सामूहिक गीत हो । यो गीत एकल गाउन भने कठिन हुन्छ । दोहोरी नै भएकाले यसमा पनि केटापक्ष र केटीपक्ष हुन्छन् । दुवै पक्षमा एक एक जना प्रमुख गायक गायिका हुन्छ । प्रमुख गायकले गीत उठाउन सुरु गरेपछि अन्तराको अन्त्यमा सबैले छोप्ने गरिन्छ ।
यो गीत अरु गीतभन्दा फरक शैलीमा गाइन्छ । सर्वप्रथम एक जनाले गीत फलाक्दै गाउँछन् । यसरी गाउँदा अनुप्रास मिलाउने गरिन्छ र पहिलो अन्तराको अन्तिम गाइसकेपछि सबैले उक्त अन्तरा गाउँछन् र पुनः दोस्रो अन्तरा गाइन्छ । दोस्रो अन्तराको अन्त्यमा पनि सबैले गाउँछन् । यसरी दुई अन्तरा गाएपछि एक चरण सकिन्छ । पहिलो र दोस्रो अन्तराको अन्त्यानुप्रास र बीचबीचमा पनि अनुप्रास कुशल रुपमा प्रयोग गरेर गाइन्छ ।
गीतको सुरुवात भने केटापक्षबाट हुन्छ । अरु दोहोरी जस्तो यसमा एकैचोटि मायाप्रेमबाट सुरु नगरी स्थानीय देवीदेवता, सीमेभूमे, पितृ, दर्शक सबैको आर्शीवाद लिने गरिन्छ र एक अथवा दुई चरण गाएपछि मात्र चिनजान र विषयप्रवेश गरिन्छ । यसरी गीत गाउँदै जाँदा देवीदेउता, पितृहरुको आर्शीवाद, परिचय, सोधनी, साइनोपात हुँदै मायाप्रेम अनि सुखदुःख र हाँसोठट्टामा प्रवेश गरेर गाइन्छ भने अन्त्य चाहिँ समय हेरेर गरिन्छ । टुक्काहरु जोड्दा इतिहास, पुराण, कथा, गाउँ समाजका दृष्टान्तहरु पनि प्रयोग गरिन्छ । यसरी यो गीतको एक चरण पूरा हुन दुई अन्तरा गाउने गरिन्छ ।
यसमा थेगोको प्रयोग हुन्छ जस्तैः ए होला र यसै माया जाला, ए दायाँ बायाँ लाइदेऊ चोखो माया, ए माया, छायाँ छोपी लैजाऊ माया आदि । गीतको सुरुमा हा…..हो…गरेर लामो लेघ्रो तानेर गीत सुरु गरिन्छ र अनुप्रास युक्त टुक्का गाँस्दै गाइन्छ ।
गीतको सुरुवातको उदाहरणः
हा…..हा… हो…….एकै र मुठी खरकोमा घाँस
भेँडी गोठै थुमेलाई
समूह (आहै थुमेलाई हो थेगो………………………………….थुमेलाई) (पहिलो अन्तरा)
हा…..हा हो ….. नदी जाँगर त¥यो
बाउबाजेको नाउँमा भेटभाको दिनमा
एक दुई नाता भनी दिनु प¥यो
हा……..हो दोसरो चरण हीतको रे माया पहिलो चरण भूमेलाई
(आहै चरण भूमेलाई हो………थेगो सहित समूहले गाउने) दोस्रो अन्तरा
–बुद्धिमान गुरुङ्ग (धम्पु)
यसरी एक चरण गीत सकिए पछि बल्ल अर्को चरण सुरु हुन्छ । यसपछि भने साइनोपात, मायाप्रेम र सुखदुःख र बाल्यकालका कुराहरु लगायत विषयवस्तु अनुसार गीत अघि बढ्दछ ।
ठाडोभाका गाउनु सजिलो छैन । यसको निम्ति प्रशस्त अभ्यास चाहिन्छ । तत्काल गीत रचना गर्न सक्ने विभिन्न क्षेत्रमा राम्रो ज्ञान भएको, विपक्षीको टुक्कालाई ध्यानमा राखेर तत्कालै उत्तर दिनुपर्ने क्षमता हुनै पर्छ । यही कठिनाइले गर्दा होला अचेल ठाडोभाका गाउने पुस्ता खासै छैनन् । अरु दोहोरीमा जस्तो सहज गायन यसमा छैन । त्यसैले यो गीत सामान्य गीत गाउनेले गाउन अलि कठिन हुन्छ । यसको लागि निरन्तर साधना र गायन नै आवश्यक हुन्छ ।
लमजुङे ठाडोभाका संरक्षणमा पछिल्लो प्रयासः
लमजुङ, गोर्खा, तनहुँलगायत पश्चिमाञ्चलका विभिन्न क्षेत्रमा गाइने यो गीत देउबहादुर दुराको पहिलो पुस्ताको अन्त्य भएसँगै दोस्रो पुस्तामा आइपुग्दा विस्तारै यसलाई गाउन छोड्नेहरु बढ्न थाले । दोस्रो पुस्तामा गीत गाउने सङ्ख्या कम हुँदै गयो । लमजुङे ठाडोभाकालाई यो स्थानमा पुर्याउन ठाडोभाका शिरोमणि भेँडीखर्के साइला (स्व. दीर्घराज अधिकारी)को योगदानलाई बिर्सन हुँदैन । सबैलाई ठाडोभाका गाउन उत्साह दिँदै मादल भिरेर घरघर मान्छे खोज्दै हिँड्ने देवी गुरुङ्गलाई बिर्सियौँ भने अन्याय हुन्छ । भेँडीखर्के साईँला, भक्तिमाया दुरा, देवी गुरुङ्ग र उहाँको समूहको अथक प्रयासले गाउँघरमा सीमित रहेको ठाडोभाकाले रेकर्डिङ र संरक्षणको मौका पाउन सकेको हो । यस कार्यमा लाग्नुहुने सबैलाई बिर्सनु आफैँलाई बिर्सनु हो । स्व. भेँडीखर्के साइँलासँगै गाउने तनहुँका कलाकारहरु ज्ञानमाया थापा, उत्तम गुरुङ्ग आदि कलाकारहरु छन् भने पछिल्लो समयमा मञ्जु बि.क. लगायतले पनि गएको पाइन्छ ।
वर्तमानमा भने लमजुङ ठूलोस्वाँरा घर भई हाल पोखरामा बस्ने बुद्धिमान गुरुङ्ग (धम्पु दुरा) र उहाँको समूह यस कार्यमा लागिपरेको देखिन्छ । लमजुङे ठाडोभाकाका संरक्षणमा भीम दुरा, धम्पु दुरा, मीनमाया गुरुङ्ग, काशीदेवी गुरुङ्ग, उत्तम गुरुङ्ग, कृष्ण गुरुङ्ग, राजु परियार, मञ्जु बि.क., राधा भण्डारी, शंकर परियार, गंगामाया गुरुङ्ग, देउबहादुर दुराका नाति लगायत प्रत्यक्ष गाउने र सहयोग गर्नुहुने सम्पूर्ण लमजुङे ठाडोभाका पारखीहरुको कारण लमजुङे ठाडोभाकाले पुनर्जीवन पाएको छ ।
लमजुङे ठाडोभाका संरक्षण र संर्वद्धन कार्यमा इन्दे्रणी कार्यक्रम र यसका सञ्चालक आदरणीय दाजु कृष्ण कँडेल र उहाँको टिमलाई बिर्सने हो भने ठूलो अन्याय हुन्छ । पछिल्लो समयमा लमजुङ जिल्लाको कुना कुनामा पुगेर लमजुङका लोकभाका संरक्षणमा उहाँको योगदान अतुलनीय छ । सबैको अथक प्रयासले लमजुङे ठाडोभाका पुनर्जीवित भएको छ । ठाडोभाकाका कलाकार खोज्दै हिँड्नु हुने देवी गुरुङ्गलगायत ठाडोभाका प्रेमीहरुकै पथमा हिँडी कहिले आप्mनै स्टुडियोमा त कहिले गाउँघरमा कलाकारकै घरघर पुगेर लोप भैसकेको लमजुङे ठाडो भाका संरक्षणमा निरन्तर लाग्ने इन्द्रेणी कार्यक्रम र सबै ठाडो भाका प्रेमीहरुलाई जति प्रशंसा गरे पनि कम नै हुन्छ ।
संस्कृति सभ्यताको जननी हो । लमजुङे ठाडोभाका लमजुङेहरुको मात्र नभएर देशकै निधी भएकाले यसको संरक्षणमा सबै एकजुट भएर लाग्नु पर्ने देखिन्छ भने पछिल्लो पुस्ताले पनि सिक्नु र जानेकाले सिकाउनु पर्ने देखिन्छ ।
(यस लेखसम्बन्धी कुनै टिप्पणी भए tamangganesh772@gmail.com मा सुझाव पठाउनुहोला)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।