साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

ममीको खुट्टा

Chovar Blues Mobile Size

एक आलस्यको क्षणमा म एउटा क्युरियोको दोकानमा घुम्न लागेको थिएँ । तपाईंहरूलाई थाहा नै छ, अचेल पेरिसमा क्युरियोका सामग्रीहरू किन्ने एउटा फेसन नै भएको छ । पुराना कलाकृति, पुराना विचित्र वस्तु हात पार्ने सौख एउटा साधारण मानिसलाई पनि हुन्छ ।

मेरो पसलेको दोकानमा नपाइने चिज केही छैन । त्यहाँ अचम्म अचम्मका पुराकालीन वस्तुहरू झुण्डिएका छन् । एउटा आलमारीमा रातो माटोका इट्रस्कन बत्ती छ, बुट्टैबुट्टाले भरिएको । प्राचीन जापानी थाल छन् रातो र नीलो रङका कलाकृतिले परिपूर्ण । छेवैमा बर्नाड पलासीका कृतिहरू पनि छन्, जसमा साँप, भ्यागुता, छेपारो आदि खोपिएका छन् । त्यो पसललाई पुराना कलाकृति अर्थात् एन्टिकको भण्डार नै भने हुन्छ ।

जसै म यी पुराकालीन कलाकृति कोट्याउँदै हेर्दै थिएँ, त्यही बेला पसले मेरो नजिक आयो । यो पसलेको अनुहार अचम्मको छ, एउटा ठूलो खप्पर, सेतो केशले ढाकिएको । नाक चुच्चो, हात पातला, नसैनसाले परिपूर्ण । भनूँ, एउटा पुरानो विचित्र कलाकृतिजस्तो !

‘महाशय तपाईं आज केही किन्नु हुन्न ?’ उसले भन्यो, ‘यो साँपजस्तो हतियार हेर्नोस् त, यो धेरै वर्ष पुरानो हो अथवा जोसेफ हेराको दुई वटा बिँड भएको यो तरवार हेर्नोस्, कति सुन्दर छ ! फेरि यो छुरी हेर्नोस्, कस्तो विचित्रको कलाकृति छ ।’

‘होइन, होइन,’ मैले भनेँ, ‘यस्ता हत्याका सामग्रीहरू मसित प्रशस्तै छन् । मलाई त सानो मूर्तिजस्तो चाहिन्छ, जसले पेपरवेटको काम पनि गरोस् । तर मलाई काँसको चीज चाहिँ मन पर्दैन नि !’

वनदेवताजस्तो त्यो बूढो पसलेले थरिथरिका सामानहरू खोतल्न थाल्यो । अन्त्यमा मेरो अघि काँसका केही प्राचीन चिनियाँ देउताका मूर्तिहरू राखिदियो ।

म भने चिनियाँ माटोको एउटा ड्रेगन र बेरूपको मेक्सिकन देवताको बीच के छानूँ भनेर हिच्किचाइरहेको थिएँ । त्यस बेला मेरो आँखा एउटा सुन्दर खुट्टामा पर्यो ।

यो खुट्टा कुर्कुच्चामा भाँचिएको थियो यसको रङ गुलाबी थियो । अचम्मैको आकर्षक, हेर्दा जीवितजस्तो देखिन्थ्यो । एकाएक मेरो मन त्यस चीजमा आकृष्ट भयो । यो चीज मैले लिनैपर्छ भन्ने लाग्यो ।

‘यो खुट्टा म किन्छु !’ मैले पसलेलाई भनेँ । उसले व्यंग्यको दृष्टिले मलाई हेर्यो अनि त्यो वस्तु राम्ररी जाँच्न मलाई दियो ।

यसको हल्का ओजनले मलाई अचम्भित पार्यो । यो धातुको खुट्टा थिएन तर राम्रै मासुको खुट्टा थियो- दबाई हालेर राखिएको ममीको खुट्टा । यसलाई मैले राम्ररी नियालेर हेरेँ । छालाका मसिना प्वालहरू देखिन्थे । खुट्टाका औँलाहरू पातला थिए, अति सुकोमल । नङहरू पनि अति सुन्दर थिए, सफा र चम्किला । मानौँ, यस्तो लाग्थ्यो- यो खुट्टाले कहिल्यै भुइँ टेकेको छैन । मात्र बहुमूल्य कार्पेटहरू छोएको हुँदो हो ।

‘हा, हा ! तपाईं राजकुमारी हरमोनथिसको खुट्टा चाहनुहुन्छ ?’ पसले करायो अनि ममा आँखा गाड्दै भन्यो, ‘हा हा हा ! पेपरवेटको लागि ! अनौठो विचार हो, एकदमै कलापूर्ण विचार । बूढो फेरोले आफ्नी प्यारी छोरीको खुट्टा पेपरवेटको निम्ति प्रयोग गरिँदैछ भन्ने सुनेको भए कस्तो आश्चर्य मान्ने थियो होला ? उसकी प्यारी छोरीको लाश कस्तो हिफाजतसँग राख्न लगाएको थियो होला !’

‘यो ममीको खुट्टाको निम्ति तिमी कति माग्छौ ?’

‘यसको त म एकदमै बेसी दाम पाउँछु । यो त खूबै शानदार सामग्री छ । यसको जोडा भए पाँच सय फ्रांकभन्दा कममा बेच्ने थिइनँ । फेरोकी छोरी पो त ! इजिप्टकी सम्राट्की छोरी ! यस्तो दुर्लभ जिनिस कहीँ पाइन्छ ?’

‘निश्चय नै यो साधारण चीज होइन, तापनि भन कति दिऊँ ? मसित एक सय फ्रांक छ । त्योभन्दा महँगो केही किन्न सक्दिनँ ।’

‘राजकुमारी हरमोनथिसको खुट्टाको दाम एक सय मात्र ? त्यो त एकदमै कम भयो । यो त साँच्चिकै खुट्टा हो !’ पसले टाउको हल्लाउँदै अनि आँखा घुमाउँदै गुन्गुनायो । ‘ठीक छ, लैजानुहोस् । तपाईं त मेरो पुरानो ग्राहक हुनुहुन्छ ।’ अनि उसले एउटा लुगाको टुक्रामा यसलाई बेरेर एउटा सुन्दर झोलामा हाल्यो । ‘यो झोला पनि कम दामी होइन नि ! कस्तो नरम र बलियो छ,’ उसले भन्यो ।

उसले पैसा हत्केलामा राख्यो अनि आफ्नो ब्यागमा हाल्दै भन्यो, ‘राजकुमारी हरमोनथिसको खुट्टा पेपरवेट बनाउने अरे…’

त्यसपछि उसका चम्किला आँखा मतिर फ्याँकेर उसले तिखो स्वरमा भन्यो, ‘बूढो फेरो खुसी हुने छैन है, उसले छोरीलाई साह्रै माया गरेको थियो ।’

‘तिम्रो कुरा सुन्दा त तिमी फेरोकै समकालीन थियौजस्तो बुझिन्छ नि त ! तिमी हजारौँ वर्ष पुरानो पिरामिडजत्तिकै पुरानो हौ कि क्या हो ?’ ढोकामा पुगेर मैले हाँस्दै जवाफ दिएँ ।

म घर गएँ । भर्खर पाएको कलाकृतिले म अत्यन्त प्रशन्न थिएँ ।

घर पुग्नेबित्तिकै यस चीजलाई काममा लगाइहालूँ भन्ने विचारले यत्रतत्र छरिएका कागजहरूलाई जम्मा गरी खुट्टा त्यसैमाथि राखिदिएँ । यसको असर बडो रोमाञ्चक भयो ।

शृंगारको यो वस्तु पाएर म अत्यन्त प्रफुल्लित थिएँ । प्रफुल्लित नहुनु पनि कसरी ? राजकुमारी हरमोनथिसको एउटा अंग मसित छ, जुन कम्तीमा पनि चार हजार वर्ष पुरानो होला ।

घरदेखि निस्केर म एउटा होटलमा गएँ र रक्सी खान थालेँ ।

रक्सीको असरले होला मेरो मगज अलि धमिलियो । घर फर्कंदा धूपको एक किसिमको बास्नाले घरै ढाकेको जस्तो लाग्यो ।

आँखा लाग्न थालेको थियो । निकै बेरसम्म सबैथोक मेरो निम्ति धमिलो भयो ।

तर बिस्तारै मेरो मनमा उज्यालो छायो अनि निद्रादेवीले मलाई स्पर्श गर्न थालेजस्तो भयो ।

धूपको त्यो बास्ना अझ तीव्र भयो । टाउको अलि दुखेजस्तो भयो । के यो रक्सीको असर त होइन ?

मैले कोठालाई बिस्तारै चहारेँ । तर त्यहाँ मलाई उत्तेजित गर्ने केही थिएन । हरेक चीज ठीक ठाउँमा थियो । बत्ती सधैँजस्तो बलिरहेको थियो । पर्दा त्यसरी नै झुण्डिरहेको थियो । सबथोकमा निद्रालु स्तब्धता थियो ।

तर एक छिनमा यो निस्तब्धता भंग होलाजस्तो भयो । भुइँका काठहरू चरर गरेर कराएको जस्तो लाग्यो, बत्ती धमिलो भएर बलेजस्तो लाग्यो ।

त्यो खुट्टा स्थिर थिउन । चार हजार वर्षदेखि दबाई हालेर राखेको खुट्टा चल्मलाउन थाल्यो । अनि एउटा पाहाजस्तो यो कागजमा फैलियो । यसको कुर्कुच्चाले मन्द आवाज गरेको पनि स्पष्ट सुन्न थालेँ ।

यो भर्खर किनेको चीजले मलाई त्रस्त पार्न थाल्यो । कमसेकम म चाहन्छु, मेरो पेपरवेट स्थिर होस् । अनि कसरी शरीरबिना नै यो खुट्टा हिँड्न सक्छ ? यस्तो एउटा भावनाले मलाई समात्न थाल्यो ।

हठात् मैले मेरो कोठाका पर्दाहरू हल्लिएको देखेँ अनि मैले यस्तो आवाज सुनेँ मानौँ भुइँमा कोही एक खुट्टाले उफ्रँदैछ । मैले स्वीकार गर्नुपर्छ, म पालैपालो चिसो भएँ, तातो पनि भएँ । मेरो पिठ्यूँमा चिसो बतासले हानेजस्तो लाग्यो र मेरा केशहरू ठाडा ठाडा भए ।

कोठाको पर्दा उघ्रियो र मेरो अघि एउटा अति भव्य आकृति देखापर्यो जुन मेरो कल्पनामा पनि थिएन । यहाँ एउटी भर्खरकी तरूणी थिई, खैरो रङकी, इजिप्सियन ढंगकी असाध्य सुन्दर युवती । उसका आँखा बदाम आकारका थिए । ती आँखाहरू अति मनोहर, परेलामुनि चमचम चम्किरहेका थिए । उसको कम्मर पातलो, सलक्क परेको थियो । उसको नाक सुलुत्त परेर मिलेको थियो । उसका हातपाखुरा राजकुमारीको जस्तो सुकोमल थिए, प्रशस्त गरगहना लादिएका । केशमा पनि विभिन्न शृंगारका वस्तुहरू थिए । गलामा सानो मूर्तिको आकृति कुँदिएको बहुमूल्य हार थियो ।

उसको पोशाक पनि अति चमकदार थियो । त्यहाँ अनेक थरिका चित्रहरू अंकित थिए ।

हठात् मलाई पसलेले दिउँसो भनेको कुरा स्मरण भयो ।

‘बूढो फेरो खुसी हुने छैन । उसले छोरीलाई साह्रै माया गरेको थियो ।’

एउटा कुराले म अझ झस्किएँ । त्यस युवतीको एउटा मात्र खुट्टा थियो, अर्को खुट्टाको चाहिँ कुर्कुच्चा भाँचिएको थियो ।

त्यो युवती त्यो खुट्टा भएको टेबलको छेउमा गएर उभिई । उसका आँखा मोतीका दानाजस्ता आँशुले भरिए ।

ऊ अझसम्म बोलेकी थिइन तर उसको मनमा के कुरा छ मलाई थाहा भयो । उसले आफ्नो खुट्टालाई हेरी- यो साँच्चै उसकै खुट्टा थियो । उसको अनुहारमा विषादको भाव झल्किरहेको थियो । त्यो खुट्टा यताउता गर्दै उफ्य्रो । दुई तीन पल्ट उसले त्यो खुट्टा टिप्ने कोसिस गरी ।

त्यसपछि राजकुमारी हरमोनथिस र त्यो खुट्टामा एउटा यस्तो विचित्र वार्तालाप भयो कि म विस्मित भएँ ।

मीठो र गुञ्जायमान स्वरमा उसले भनी, ‘मेरो प्यारो खुट्टा ! तिमी किन मदेखि सधैँ भाग्छौ ? थाहा छ, तिमीलाई मैले कति हिफाजत गरेकी थिएँ । मैले तिमीलाई सुगन्धित पानीमा धोएकी थिएँ । तिम्रो पैतालामा मैले सबभन्दा बहुमूल्य खजूरतेल लगाएकी थिएँ । मैले तिम्रो नङ सुनको कैँचीले काटेको थिएँ र बहुरंगी पालिस लगाएकी थिएँ । मेरो खुट्टा देखेर इजिप्टका सम्पूर्ण युवतीहरू ईर्ष्यालु भएका थिए ।’

खुट्टाले अत्यन्त सन्तप्त स्वरमा भन्यो, ‘तपाईंलाई थाहा छ, अहिले म मेरो वशमा छैन । मलाई त यहाँ किनेर ल्याइएको छ । एउटा अरबबासीले त्यो शाही चिहान खनेर मलाई काटेर ल्याई त्यो पसलेलाई बेचेको थियो । तपाईंसित पाँच मोहर सुन छ ?’

‘अहो, मसित छैन त ! मेरा सबै रूपियाँ-पैसा चोरी भए,’ रूँदै राजकुमारी हरमोनथिसले भनी ।

‘राजकुमारी !’ मैले बीचैमा कुरा काटेर भनेँ, ‘मैले कसैको खुट्टा त्यसै राखेको छैन । तपाईंसित पैसा छैन भने पनि यो खुट्टा तपाईंलाई सहर्ष प्रदान गर्छु । यस्ती सुन्दरी हरमोनथिसको लंगडोपनाको कारण म रहेछु भन्ने जानेर म अति दुःखी छु ।’

मैले यी शब्दहरू यस्तो दरबारी भाषामा भनेँ शायद राजकुमारी पनि छक्क परी ।

गहिरो कृतज्ञतामा उसले शिर निहुर्याई अनि उसका आँखा अत्यन्त उज्यालो भएर चम्के । उसको खुट्टा हातमा लिई अनि कुर्कुच्चामा मिलाई । त्यसपछि ऊ कोठामा यताउता हिँड्न थाली मानौँ ऊ हेर्न चाहन्थी, अब ऊ लंगडी अझै पनि छ कि छैन ।

‘अहो ! मेरा पिता कति खुसी हुनेछन् ! मेरो खुट्टा भाँचिएको देखेर उनी अति दुःखी थिए । आउनुस्, म तपाईंलाई मेरा पिताकहाँ लैजान्छु । उनले तपाईंलाई सहर्ष स्वागत गर्नेछन् किनभने तपाईंले मलाई मेरो खुट्टा दिनुभयो ।’

यो प्रस्ताव स्वाभाविक नै थियो । हतार हतार मैले फूलैफूल भएको कोट लगाएँ । मलाई लाग्यो, म शाही खानदानकै जस्तो देखिन्छु । त्यसपछि मैले राजकुमारी हरमोनथिसलाई ‘म तयार भएँ’ भनेर सूचना दिएँ ।

जानुअघि राजकुमारीले गलाबाट त्यो मूर्तिको आकृति कुँदिएको हार निकाली र कागजको थुप्रोमाथि पेपरवेटजस्तो पारेर राखिदिई ।

‘ठीक छ, होइन त ?’ उसले हाँस्दै भनी, ‘तपाईंको पेपरवेट मैले लगेकी छु । त्यसको साटो यो राखेकी हुँ ।’

उसले मेरो हात समाती । उसको हात अति सुकोमल र सर्पको छालाजस्तो चिसो थियो ।

हामी हिँड्यौँ ।

केही क्षण हामी ठूलो फाँटमा काँडको द्रूत गतिले हिँडिरह्यौँ, जहाँ छायाँजस्ता आकृतिहरू यताउता कुदिरहेका थिए ।

त्यसपछि केही क्षण हामीले समुद्र र आकाश मात्र देखिरह्यौँ ।

फेरि टाढा स्तम्भहरू देखिए, फेरि विराट भवनहरू देखापरे । धेरै पुराना एकअर्काको नजिक लगाइएका अग्ला पर्खालजस्तै देखिने रूखहरूका दुई पंक्तिहरूबीच अति सुन्दर उद्यानपथ बनेको थियो । हामी त्यस उद्यानपथबाट जान थाल्यौँ । चारैतिर शान्ति फैलिएको थियो ।

हामी हाम्रो गन्तव्य स्थानतिर आइपुग्यौँ ।

राजकुमारी हरमोनथिसले मलाई गुलाबी रङका विशाल भवनतिर लगी । भवन अगाडि एउटा ठूलो तलाउ थियो, जहाँ नुहाउनका लागि किनारा बनाइएको थियो ।

राजकुमारीले एउटा बत्ती बाली अनि ऊ मेरो अघि अघि हिँड्न थाली । भवनका भित्तामा विभिन्न किसिमका चित्रहरू अंकित थिए ।

अन्त्यमा हामी एउटा यति विशाल हलमा आइपुग्यौँ कि आँखाले यसको सीमारेखा थाहा पाउन सकिँदैनथ्यो । दुवैपट्टि विराट खाँबाहरू उभिएका थिए– त्यसको बीचमा उज्यालो बत्ती झलमल्ल बलिरहेको थियो ।

राजकुमारी हरमोनथिसले मेरो हात अझै समातिरहेकी थिई । त्यहाँबाट जाँदा राजकुमारीले परिचित ममीहरूलाई नमस्कार गर्दै हिँडी ।

मैले आँखा फैलाएर त्यहाँ भएका वस्तुहरू निहार्न थालेँ । त्यहाँ विभिन्न राष्ट्रका राजाहरू थिए, प्राचीन, चाउरी परेका राजाहरू !

त्यहाँ इजिप्टका राजा फेरोहरू पनि थिए, चियोप्स, चेफ्रेनिस, साममेटिस, सिसोट्रिस, अमिनेटेह, सबै पिरामिडका अज्ञात राजाहरू ।

यी सम्पूर्ण विचित्र दृश्यहरू हेर्न दिएपछि राजकुमारी हरमोनथिसले मलाई उसका पिता फेरोका अघि लगेर उपस्थित गराई । फेरोले नम्र भावमा शिर हल्लाए ।

‘मैले मेरो खुट्टा पाएँ !’ राजकुमारी हर्षले आफ्ना साना हात बजाउँदै चिच्याई, ‘यिनै भद्र मानिस हुन्, जसले मलाई मेरो खुट्टा दिए ।’

त्यहाँ बसेका समस्त देशका राजाहरूले कोरसमा दोहोर्याए, ‘राजकुमारी हरमोनथिसले आफ्नो खुट्टा पाइन् ।’

‘हे आकाश ! हे सूर्य ! हे सम्पूर्ण देवदेवता हो ! यी मानिस साँच्चै साहसी र योग्य रहेछन् !’ फेरो कराए र कमलको फूल कुँदिएको राजदण्ड मतिर तेर्स्याए ।

‘तिमी के इनाम चाहन्छौ ?’ उनले चर्को स्वरमा सोधे ।

एकछिन म हक्क न बक्क भएँ । फेरि आफूलाई सम्हालेर शान्त भावमा भनेँ, ‘म राजकुमारी हरमोनथिसको हात माग्छु । अर्थात् म उसलाई बिहे गर्न चाहन्छु ।’

खुट्टा दिएबापत उसको हात माग्नु मलाई एकदमै उपयुक्त लाग्यो ।

मेरो अनुरोध सुनेर तीन छक्क परी फेरोले आँखा च्यातेर मलाई हेरे ।

‘तिमी कुन देशबाट आएका हौ ? तिम्रो उमेर कति हो ?’

‘माननीय फेरो ! म फ्रान्सबासी हुँ र अहिले सत्ताइस वर्षको पुगेँ ।’

‘सत्ताइस वर्ष पुगेको ? अनि उसले तीन हजार वर्ष पुगेकी राजकुमारी हरमोनथिसलाई बिहे गर्न चाहन्छ ?’ त्यहाँ उपस्थित जम्मै फेरोहरू एक स्वरमा चिच्याए ।

‘तिमी दुई हजार वर्ष मात्र पुगेको भए पनि म तिमीलाई मेरी छोरी राजकुमारी हरमोनथिस दिने थिएँ,’ माननीय फेरोले भने, ‘तर यो असंगति, यो अन्तर साह्रै ठूलो भयो । फेरि हामीले हाम्रा छोरीहरूको निम्ति यस्तो वर पनि खोज्नुपर्छ, जसले आफूलाई हजार हजार वर्षसम्म बचाएर राख्न सक्छन् । तिमीहरूले आफूलाई सुरक्षित राख्न जानेका छैनौ । पन्ध्र सय वर्षअघि मर्नेहरू पनि कति जना माटोमा मिलिसके तर मेरो मासु हेर– यो हात हरेर ढुंगाजस्तो ठोस छ । मेरा हड्डीहरू फलामजस्तै बलिया छन् । म संसारको अन्तिम दिनसम्म पनि उत्तिकै ताजा र तगडा रहनेछु । मेरी छोरी हरमोनथिस फलामको मूर्तिभन्दा पनि अझ बेसी टिक्ने छ । हेर, म अझै कति बलियो छु । मेरो पकड कति मजबुत छ ।’

यति भनेर उनले मलाई यस्तो जोडले समाते कि मेरा हातका औँठीहरू पनि औँलाकै मासुमा भासिए ।

उनले यति जोडले मलाई दबाए कि म झस्केर ब्यूँझेँ । मेरा साथी अल्फ्रेड मेरो पाखुरा झक्झकाउँदै कराउँदै थिए, ‘तिमी कस्तो सुतुवा हौ हँ ? के तिम्रो कानमा पटाका पड्काउनु पर्छ ? दिउँसो भइसक्यो ! तिमीलाई थाहा छैन, आज हाम्रो कहाँ जाने कुरा थियो ?’

‘हे भगवान् ! मैले त भुसुक्कै बिर्सेछु । कस्तो विचित्रको सपना देखेछु ।’

हतार हतार मैले लुगा फेरेँ ।

मैले हिजो बेलुकी किनेको चिज खोज्न थालेँ तर कस्तो अचम्म ! त्यहाँ ममीको खुट्टा थिएन तर त्यसको सट्टा राजकुमारी हरमोनथिसले छोडेको मूर्तिको आकृति कुँदिएको हार थियो ।

(फ्रान्सेली साहित्यमा पिएरे जुल्स थियोफिल गटियरको ठूलो नाम छ । १८११ अगस्त ३० मा जन्मिएका उनी कवि, नाटककार, उपन्यासकार, पत्रकार, कला तथा साहित्य आलोचक थिए । रोमान्टिसिज्मका पक्षधरका रूपमा चिनिने उनका सिर्जनामा नयाँ नयाँ वादहरू देखा परे । उनका रचनालाई आदर्श मान्नेहरूमा बाल्जाक, बौडेलेयर, गोनकोर्ट दाजुभाइ, फ्लौबर्ट, एज्रा पाउन्ड, इलियट, जेम्स, प्राउस्ट, अस्कर वाइल्ड लगायत थिए ।)

अनुवादः राजनारायण प्रधान

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्ः

प्रतिक्रिया
Loading...