मूल : कविता महाजन
अनुवाद : गोविन्द गिरी प्रेरणा
स्त्रीहरू डराउॅंछन्
एक्लै दुक्लै हुंदा
अँध्योरोसँग….जगमग उज्यालोसँग
डराउँछन्
अपरिचित-सुपरिचित छिमेकीहरूसँग ।
मध्याह्नमा ढोकाको घण्टी बज्दा
राति टेलिफोनसँग-नपढिएको आ.वा.सँग
स्त्रीहरू डराउँछन् सुन्दरी देखिँदा
सँगै हिँडेका कुनै पनि पुरूषसँग
सासुसँग, लोग्नेसँग, छोरासँग
छेपारोसँग….मूसासँग ।
स्त्रीलाई चाहिन्छ सुरक्षा
सहारा जसोतसो टिक्नका लागि
आफ्नो स्त्रीत्व जोगाउनका लागि
स्त्रीहरू छरिदिन्छन् स्त्रीत्व लाखौँका बीच
तर सम्हाल्छे
सिन्दूरदेखि कोखसम्म
साना ठूला अंश : क्षमताको खाडल पुर्न ।
भयको लयमा थर्थराउँछन्
दुर्लभ भएका स्त्रीहरू
बन्द गर्छन् सारा झ्यालहरू ढोकाहरू
रोक्छन् हावालाई वर्षालाई घामलाई
वन्द गर्छन् संवेदनाका सारा प्वालहरू
हड्बडाउँछन् …. डराउँछन् स्त्रीहरू ।
डराउँछन् स्त्रीहरू
बन्धनलाई नकार्छन् आफ्नो मनले
उत्तेजनामा आतुर भएका शरीरसँग
सोच्ने दिमागको क्षमतासँग
डराउँछन् स्त्रीहरू
अन्त्यसम्म आफू आफैँसँग डराउँछन् ।
{कविता महाजन (१९६७-२०१८)मराठी भाषाकी सुप्रसिध्द लेखिका थिइन् । उनी कवयित्री, कथाकार, उपन्यासकार तथा अनुवादिका थिइन् । उनले उर्दू भाषाकी प्रख्यात कथाकार ईश्मत चुगताईका कथाहरूको मराठी अनुवादका लागि साहित्य अकादमी पुरस्कार पाएकी थिइन् । उनका कतिपय कवितामा महिलाको स्थिति, महिलाको मनोविज्ञान एवम् महिलाको जीवनका विविध पक्षलाई समेटेको पाइन्छ । प्रस्तुत कविता पनि त्यस्तै प्रवृत्तिको प्रतिनिधि कविता हो ।}
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।