पूर्वलाई कार्यक्षेत्र बनाएर दिनरात कलाकर्ममा तल्लिन ललितकला क्षेत्रका स्थापित र सशक्त हस्ताक्षर हुन्, महेन्द्र राई। उनको स्पष्ट, आकर्षक र उम्दा कलाहरूले विशेषगरी हिमाल, पहाड, तराईका नेपाली परिवेश र जनजीवनकाबारे चित्रण गरिएका पाइन्छन्।

धरान, सुनसरीका कलाकार राई विद्यालय तहदेखि नै रहर अनि गुरुहरुको हौसलाले कलाक्षेत्रमा प्रवेश गरेको बताउँछन् ।

एस.एल.सी.पछि ललितकला क्याम्पसमा कला अध्ययन गरेका उनले थुप्रै पुरस्कारहरूबाट सम्मानित भइसकेका छन् । २०५२ सालमा मोरङ जुनियर रेडक्रस जिल्लाव्यापी कला प्रतियोगितामा तेस्रो पुरस्कार, २०६२ सालमा पूर्वाञ्चल चित्रकला प्रतियोगितामा सान्त्वना पुरस्कार, २०६७ सालमा युनिभर्सल पिस फेडेरेसनको पिस एम्बेसेडर एवार्ड, २०६९ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कदरपत्र सम्मान, २०७२ सालमा पूर्वाञ्चल विशेष पुरस्कार, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको उत्कृष्ट कलाकार पुरस्कार २०७६, अन्तरार्ष्ट्रिय जलरङ कार्यशाला, आई.डब्ल्यु.एस. नेपालजस्ता एक दर्जन बढी पुरस्कार र अवार्डहरूबाट सम्मानित भइसकेका छन् ।

हाल धरानमा युमा फाइन आर्ट एकेडेमी सञ्चालन गरिरहेका राई कलासम्बन्धी विभिन्न संघसंस्थाहरूमा समेत आबद्ध छन् ।

हालसम्म २०६६, २०७१ सालमा दुई पल्ट एकल कला प्रदर्शनी गरिसकेका राईले चार दर्जनभन्दा धेरै सामूहिक कला प्रदर्शनीमा भाग लिइसकेका छन् । आउनुहोस्, आज हामी उनै चर्चित कलाकार महेन्द्र राईका कलाहरू अवलोकन गरौँः