मेरा बा’ले
वर्षौंदेखि राखेको एउटा सपनाको सन्दुक छ ।

जिन्दगीभरि गोठालो गरेको तीता–मीठा कुरा
संगालेर राखेको पोको,
मालिकको गाली गलौच
हृदयमा लागेका चोट
र बनावटी मुस्कान छ,
हो, यी सबै चीजहरुको पोको पारेर
उही सन्दुकमा राखेका छन् ।

हलो–जुवा, गुँइ–गोरु, खेत–बारी
जहाँ मेरा बा’का हात–खुट्टाहरू चल्छन्
सीप चल्छन् र जाँगर चल्छन्
हो, म त्यही देखिरहेछु,
पानी नपाएर धाँजा फाटेका खेतजस्तै
पट्पटी फुटेका खुट्टाहरू
कर्कलाका पात जस्तै गलेका हातहरू
तर, पनि
जब जाँगर र पाखुरी चलाउँथे बा’ले
यता बर्षातको पानी
घरको छानोबाट खसेर
ती धाँजा फाटेका खेत सिंचित भएझैं
मेरा बा’का श्रम र पौरखले निस्किएका
पसिनाले मन सिंच्थे
र पटपटी फुटेका खुट्टाहरू बिशेक हुन्थे
जहाँ बा’का सुन्दर सपनाहरू हाँस्थे ।

मंसिरमा भरिएका भकारीहरू
जब रित्तिएर भदौरे भेलझैं ओरालो लाग्थे
र राज गर्थे दुःखका पोकाहरू
यता बा’का लगौंटीमा
अभावका गाँठोहरू पर्थे
अनि, बा खुब गहिरिएर हेर्थे
मालिकको जालझेलमा लुकेका बनावटी हाँसो
मेरी आमाको मौनता
हाम्रा आँखाहरूमा आशाको नजर
बिचरा ! बा
निर्जवाफ तल टाउको निहुराउँथे
र मनको सन्दुकमा
यो कुरा पनि पोको पारेर राख्थे ।

माघ डेवानी, भुरा खेलमा
बर्षभरिका तीता–मीठा कुरा संगालेर
मनभरि हिम्मत र सपना बोकेर
जब जान्थे बा सभामा
यता, मालिकका एक कटौरी रक्सी
एक दुना मासु
र मीठो वचन सुनेर
बोकेर गएको मनको पोको
कहिल्यै फुकाउन सकेनन्
र फर्काएर ल्याउथे
अनि, राख्थे आफ्नै सन्दुकमा ।

जहाँ मालिकबाट भोकमरीमा ल्याएको धान
दिदीको बिहेमा लिएको ऋण
र, अजिङ्गर जस्तै मोटाइरहेको सौंकी
बिचरा ! बा
यी सब आँखै अगाडि देखे पनि
गुपचुप पोको पारेर राख्थे आफ्नो सन्दुकमा ।

जब बा मलाई छोडेर गए
र, मैले खोलेको थिएँ
बा’ले राखेको त्यही सन्दुक
जहाँ बा’का पीडा र दुःखका पोका
सुन्दर सपनाको पोको थियो
र एउटा अलग्गै लुकाइएको पोको पनि थियो
जहाँ मेरी आमाको टीका थियो
संगालेर राखिएको प्यार थियो
र, सुन्दर कहानी थियो
जसको एक छेउमा गाँठो पारेर राखिएको सगुन थियो ।
त्यसमा लेखिएको थियो
यो सन्दुक तिम्रो हो
यो जिन्दगी तिम्रो हो
यो सपना पनि तिम्रो हो
अब यी बालबच्चाहरुलाई भविष्य देखाउने
अभिभारा पनि तिम्रो हो ।