कवि परिचयः
२४ जनवरी, १९७५ मा पूर्वी उत्तर प्रदेशको एक गाउँमा जन्मेका अशोक पाण्डेयले गोरखपुर विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । ‘लगभग अनामंत्रित’ र ‘प्रलय में लय जितना’ उनका प्रकाशित कविताकृति हुन् । एउटा कथा सङ्कलनसहित भूमण्डलीकरण, मार्क्सवाद र काव्य-आलोचनामाथि उनका एकएक किताब प्रकाशित छन् । उनले कश्मीरमाथि पनि दुई महत्त्वपूर्ण किताबहरू ‘कश्मीरनामा : इतिहास और समकाल’ तथा ‘कश्मीर और कश्मीरी पंडित’ लेखेका छन् । यीबाहेक हालै गान्धी हत्यामाथि एक किताब, ‘उसने गांधी को क्यों मारा’ पाण्डेयको बहुचर्चित पुस्तक हो ।

उनका कविता तथा कथाहरू पन्जाबी, मराठी, नेपाली, अङ्ग्रेज़ीसहित अनेक भाषामा अनुवाद भएका छन् । कविताका लागि उनले विभिन्न पुरस्कार पनि प्राप्त गरेका छन् । समसामयिक विषयमा हिन्दी तथा अङ्ग्रेज़ीमा नियमित लेखन गरिरहेका पाण्डेय अनुवादक पनि हुन् ।

सम्पर्कः
वेबसाईट : http://ashokkumarpandey.com

 

हत्यारासँग कुराकानी

अशोककुमार पाण्डेय

 

(एक)

त्यसो भए तिम्रो घर ?

घर छोडिदिएको थिएँ मैले
घरहरूसँग घृणा थियो मलाई
सबैभन्दा पहिला आफ्नो घर उजाडेँ मैले
घृणा थियो मलाई सानातिना मान्छेसँग
घृणा थियो मलाई गरिबीसँग, गरिबसँग घृणा थियो
कठिनसँग बल्ने चुलोको आगोसित घृणा थियो मलाई
ती सबैसबैसँग घृणा थियो जो थिएनन् मेरा लागि
जे थिए मेरा लागि मलाई घृणा थियो तीसँग पनि

वास्तवमा मैले घर छोडिनँ
आफ्नै घृणाहरूको घर बनाएँ मैले
र, जीवनभरि त्यसैमा रहेँ आनन्दसँग

घरहरू, जुन जलाएँ मैले
तिनको चित्कार मेरो जीवनको सङ्गीत हो

 

(दुई)

प्रेम ?
प्रेम मान्छेको सबैभन्दा ठूलो कमजोरी हो
मैले गरिनँ प्रेम र बन्दै गएँ बलवान् दिनप्रतिदिन
वीरहरू प्रेम गर्दैनन्, वसुन्धरा तिनकी भोग्या हुन्छिन्

जङ्गल देखेँ मैले ती मलाई लुक्ने ठाउँ लागे
मलाई तीव्र आँधी उपयोगी लाग्यो हत्याका लागि
बालकहरू देखेर दुःख हुन्थ्यो मलाई
रातारात हुर्कियून् ती भन्ने मेरो चाहना थियो
स्त्रीहरू मेरो जीवनमा चित्कारझैँ आए

मैले प्रेम गरेँ आफैँलाई
र आनन्दित रहेँ ।

 

(तीन)

डर लाग्दैन तिमीलाई ?

डर लागेन मलाई कहिल्यै…
वास्तवमा लाग्यो
चित्कार उपचार थियो मेरो डरको
बगिरहेको रगतले हौसला भरे मेरा नसाहरूमा
त्रसित आँखाहरूको काँतरपनले हर्‍यो मेरो डर

जहाँबाट सुरु हुन्छ तिम्रो डर
त्यहाँबाट मेरो समाप्त हुन्छ
रातको अन्धकारसँग हैन दिनको उज्यालोसँग डराउँछु म

(चार)

सपनाहरू… ?

मलाई घृणा छ सपनाहरूसँग
तिनको आशङ्कामा म सुत्दिनँ रातभर
थाहा छैन कताबाट आउँछन् शान्त नदीकिनार
खेल मैदान, केटाकेटी… ती महिलाहरू
जसलाई धेरै पछाडि
छोडिआएथेँ कतै

म चाहन्नँ सपना देखून् मानिसहरू र बिर्सिऊन् डराउन
केही क्षणका लागि
म चाहन्नँ सपना देखून् मानिसहरू
र सुरु गरिदिऊन् सोच्न
म चाहन्नँ सपना देखून् मानिसहरू
र गुनगुनाउन थालून् निद्रामा
म चाहन्नँ सपना देख्दादेख्दै तिनीहरू
इतिहासको कुनै कन्दरामा फेला पारून् प्रेम
र, ब्युँझिएपछि चित्कारका ठाउँमा पढ्न थालून् कविताहरू

वास्तवमा मलाई घृणा छ कविताहरूसँग पनि
र, सङ्गीतका ती धुनहरूसँग पनि
जो उत्रेर आउँछन् हृदयबाट
मलाई नाराहरू मन पर्छन् र धेरै तीव्र सङ्गीत
जुन सीमित रहून् ओठ र कानहरूसम्म
म चाहन्छु, हृदयले मात्र बाटो देखाओस् रगतलाई
र, जब सटीक ठाउँमा प्रहार गरूँ म छुरी
तब निस्केर रातो बनाओस् धरती

म इतिहासमा गएर
समूल नष्ट गरिदिन चाहन्छु ताजमहललाई
सूलीमा चढाएर बाजबहादुरलाई
रूपमतीलाई जलाइदिन चाहन्छु
जलाइदिन चाहन्छु ती सबै पुस्तकहरू
जसले देखाउँछन् सपना

म उनीहरूका सपनामा अन्धकार भरिदिन चाहन्छु
वा यति उज्यालो कि नदेखियोस् केही पनि

 

(पाँच)

तर ?

जानुस् अब मलाई केही कुरा गर्नु छैन !

 

 

 

***
kavitakosh.org बाट
अनुवादः निमेष निखिल