क्याम्पसमा नेपाल परिचय पढ्दा सुनेको नाम हो प्रा. रामकुमार पाँडे । इतिहास र तथ्यलाई पनि मिठोसँग प्रस्तुत गर्न सक्ने प्रा. पाँडेलाई सुरुका दिन इतिहासकार मात्र भनेर चिनेको थिएँ । पछि थाहा भयो, उहाँ एउटा असली सर्जक पनि हुनुहुँदोरहेछ । हास्यव्यङ्ग्यमा स्थापित उहाँ नेपालमा हाइकु विधालाई स्थापित र लोकप्रिय बनाउने शीर्षस्थ साधकमध्ये एक । भिन्नभिन्न विधा र तिनको लेखनमा आफूलाई घुलन गर्न सक्ने सीपका धनी प्रा.पाँडेलाई धेरै कोणबाट चिन्न सकिने रहेछ । उहाँको वाङ्मयी यात्रा कलाबाट प्रारम्भ भएको हो । कविता, हास्यव्यङ्ग्यय, निबन्ध, इतिहास, संस्कृतिमा पनि उहाँका कलम अनवरत छन् । कथा, मुक्तक, गुप्तक, हाइकु, गजल र सिजो लेखनमा प्रा.रामकुमार पाँडे स्थापित नाम हो । साहित्य अनुसन्धानलगायत भूगोल, इतिहास, शिक्षाशास्त्र, वातावरण, जनसङ्ख्या, नेपाल तथा जापान अध्ययनमा उहाँको विशिष्ट पहिचान छ ।
वि.सं.२००३ असार २५ गते ललितपुरमा जन्मनुभएका पाँडेले भूगोल र सामाजिक शिक्षामा स्नातकोत्तर तथा उचाइ भूगोलमा शोध विशिष्टीकरण गर्नुभएको छ । वि.सं.२०१८ सालमा ललितपुरबाट प्रकाशित हुने युवा पत्रिकामा छापिएको
‘म अग्लो भएँ’ हास्यव्यङ्ग्यबाट उहाँको लेखनले औपचारिक प्रकाशनको पहिलो मुहुर्त पाएको हो । पहिलो कविता नयाँ संसार नामक सिने पत्रिकामा ‘राग लज्जान्तर निशा’ २०२१ असार ३२ गते छापिएको छ ।
यसैगरी पहिलो व्यङ्ग्यचित्र २०२२ मा मायालु मनोरञ्जनात्मक पत्रिकामा कार्टुन संवाद स्तम्भमा छापिएको थियो भने पहिलो पुस्तक हास्यव्यङ्ग्य ‘ख्यालख्याल’ कौवा प्रकाशनबाट २०२३ मा छापिएको छ । नेपाली भाषामा उहाँका विविध विषयका झण्डै एकसय भन्दा बढी पुस्तक प्रकाशित छन् भने अङ्ग्रेजीमा यसको आधा जति होलान् । पचासभन्दा बढी पाण्डुलिपि तयार छन् भन्दा पत्याउनै गाह्रो पर्छ । कहिले लेख्नुहुन्छ, कसरी लेख्नुहुन्छ ? सर्जक, अनुसन्धाता, लेखक, प्राध्यापक एउटा विविधतापूर्ण पुस्तकालय प्रा. रामकुमार पाँडेबारे कहाँबाट लेख्नु, कहाँ लगेर बिट मार्नु !? प्रा. पाँडेलाई आफ्नो जीवनकालमा यी सबै पाण्डुलिपि प्रकाशित होलान् जस्तो लाग्दैन । धेरैले उहाँलाई ‘एउटा संस्थाले गर्नुपर्ने काम गर्दै हुनुहुन्छ’ भन्दा उहाँ
बल्ल आफ्ना कामको गणना गर्नुहुन्छ । अन्यथा यति लेखेँ भनेर उहाँलाई प्रचार गर्नुछैन । उहाँलाई धेरैले लेखकीय दृष्टिले व्यक्ति होइन संस्था भन्छन् । उहाँलाई लाग्छ, नेपालमा व्यक्तिले गरेका कामको मूल्याङ्कन गरी सरकारले संस्थालाई दिने अनुदान व्यक्तिलाई दिए उपयोगी हुनेछ ।
अहिले पनि लेखाइ र पढाइलाई दैनिकी बनाउनु हुने उहाँ कुनै दिन नलेखी बस्न सक्नुहुन्न । लेखाइ, पढाइ, कार्यक्रममा अतिथि तथा सहभागिता उहाँका लागि नयाँ काम भएनन् । पछिल्ला दिन अर्थात् कोरोनाकालमा पनि उहाँले केही नयाँ सिर्जना र पुराना पाण्डुलिपिलाई अन्तिम रूप दिनुका अतिरिक्त केही पुस्तकको परिमार्जन गर्दै हुनुहुन्छ । नयाँ सिर्जनामा हाइकु शैलीको महाकाव्य ईन्द्रलोक लेख्दै हुनुहुन्छ । हुनसक्छ यो पहिलो नेपाली ‘हाइकु महाकाव्य’ बन्ने छ ।
यस्तै हास्यव्यङ्ग्य कविता, हसाउने कविता, हास्यव्यङ्ग्य सङ्कलन जोकतन्त्र जिन्दाबाद तयार गरिसक्नु भएको छ । नेपाल परिचय परिमार्जनतिर लाग्नु भएको छ । यस्ता नयाँ, पुराना धेरै कामसँगै अधकल्चो हास्यव्यङ्ग्य उपन्यास र प्रहसन पूरा गर्ने जाँगर उठाउँदै हुनुहुन्छ । पुराना कविता, सङ्कलन, संस्मरण, इतिहास, हाइकु, सिजो, कथा, अन्तर्वार्ताका पाण्डुलिपिलाई पूर्णता दिन सक्रिय सर्जक प्रा. पाँडे समय व्यवस्थापनबारे भन्नुहुन्छ ‘सिर्जना र अभिव्यक्तिको आकाङ्क्षाले मलाई क्रियाशील बनाउँछन् ।’
हास्यव्यङ्ग्यका सचेतक प्रा. पाँडेले पछिल्ला दशकका राजनीतिक भागदौडलाई अनुभव गरिरहनु भएको छ । यी सबै हास्यव्यङ्ग्य नै छन् । यिनै क्रियाप्रतिक्रियाले उहाँलाई हास्यव्यङ्ग्यका लागि विषय दिन्छन् । शासनमा हास्य र जनतामाथि गरिएको व्यङ्ग्य अनुभव गर्नुभएको छ उहाँले । ‘म आम जनता हो, सबैको भोगाइ मेरो पनि अनुभव हो,’ उहाँ भन्नुहुन्छ । उहाँले कहिल्यै नियुक्ति र सुविधाका लागि राजनीतिक भागदौड गर्नुभएन । विभिन्न राजनीतिक पृष्ठभूमिका विद्वानहरू आफू कहाँ छलफलमा आउने गरेका बताउँदै उहाँ आफूले राष्ट्रहित हुने गरी सल्लाह दिने गरेको बताउनु हुन्छ । देशका लागि केही गर्छु भन्ने जो कोहीलाई ब्रह्मले देखेको सल्लाह दिने गरेका छु भन्दै उहाँ राजनीतिक भागदौडभन्दा देश प्रेमको दर्शनमा अडिग रहनुमा गर्व गर्नुहुन्छ । नियुक्तिका खेलोफड्कोबाट पद पाउन सकिन्छ तर प्रतिष्ठा कमाउन सकिदैन भन्नेमा प्रा.पाँडे विश्वस्त हुनुहुन्छ । खुला प्रतियोगिता नभई जनताको शासन हुन सक्तैन भन्नुहुने उहाँ टीका लगाएर ‘प्राज्ञ भइस्’ भन्दैमा धेरैले प्राज्ञको प्रतिष्ठा धान्न नसकेका धेरै अनुभव र उदाहरण छन् उहाँसँग । योग्यता, गुण, योगदान र साधना बिनाका मान्छेलाई कुनै पदमा तानेर योग्यलाई नियुक्त गरियो भन्न नमिल्ने तर्क गर्दै प्रा. पाँडे आफ्नो मान्छेलाई मनपरी नियुक्ति दिइए पनि तिनलाई समाजले नपत्याएका घटना देखाउनु हुन्छ । विज्ञताअनुसार अवसर दिनु राम्रो हुन्छ भन्दै उहाँ आफूले जापानबारे धेरै अध्ययन गरेको, जापान धेरै घुमेको, विभिन्न विषयको अध्ययनमा करिब दुई वर्ष जापान बसेको र जापानबाट नेपालले लिन सक्ने र जापानलाई नेपालले दिन सक्ने धेरै कुरा देखेको बताउनु हुन्छ । तर यस्ता पक्षमा कसैले ध्यान दिएको उहाँले पाउनु भएको छैन । उहाँद्वारा लिखित जापानसम्बन्धी आधा दर्जन अनुसन्धनात्मक ग्रन्थ प्रकाशित छन् तर न कुनै परराष्ट्र मन्त्री न कुनै प्रधानमन्त्रीले त्यसबारेमा गम्भीर अध्ययन गरेका होलान् भन्नुहुन्छ प्रा.पाँडे ।
उहाँमा राजनीतिक मोह नभएको उहाँका कर्म तथा विचारबाट पनि प्रमाणित हुन्छ । उहाँ आफ्नो दर्शन स्पष्ट गर्दै भन्नुहुन्छ, ‘देशलाई शिरमा, राष्ट्राध्यक्षलाई काँधमा, जनतालाई मुटुमा र नेतालाई आँखामा राख्नु नै मेरो दर्शन हो ।’ देश सर्वोपरि छ । राष्ट्राध्यक्षलाई काँधमा राख्नुको अर्थ सबैलाई माया प्राप्त हुनुपर्छ । राष्ट्राध्यक्ष काँधमा बस्दा जनता थिचिनु हुन्न र जनताको काँधमा फोहर गर्नु पनि हुँदैन । काँधमा राख्दा उसले हाम्रो शिरभन्दा माथिबाट सोच्न सक्दछ र सबैको कल्याण चिताउनेछ । जनता मुटुमा अनुभूत हुनुपर्छ । नेता आँखामा राख्दा नबिझाउने र जनताले आँखैमा राखिसकेपछि कतै दायाँबायाँ लाग्छ कि निगरानी हुनुपर्छ । सबै नमिली केही हुनेवाला छैन । राजा आउँदैमा सबै समस्या समाधानका लागि जादुको छडी छैन । सबैले मानेर माहुरीको रानो जस्तो एकताको प्रतीक भए मात्र राष्ट्राध्यक्षको शक्ति बलियो हुन्छ र राम्रो काम हुन्छ । विकासले गति लिन्छ । यसकै लागि राष्ट्रध्यक्षको प्रशस्ति गान हुन्छ,’ उहाँ आफ्नो दर्शन थप स्पष्ट गर्नुहुन्छ ।
तपाईंलाई राजावादी भन्ने आरोप लाग्ने गरेको छ नि भन्ने प्रश्नमा उहाँ दृढाताका साथ भन्नुहुन्छ– हो म ज्यानमारा र भ्रष्टाचारवादी हैन, न त म कुनै गुलामवादी हुँ, न राजावादी, माओवादी, काङ्ग्रेसवादी, मधेशवादी, विदेशवादी हुँ । म देशवादी हुँ । देशको भलो जे गर्दा हुन्छ त्यही गर्ने राष्ट्रवादी हुँ । नीच स्वार्थ पूर्ति गर्ने देशमारा, भातमारा, पकेटमाराले त जे पनि भन्न सक्छन् । म आफ्नो सिद्धान्तमा अडिग छु । कसैको कुनै लोभलालचले हल्लाउँदैमा हल्लिने र बाटो बिराउने मान्छे म हैन । म नेपालीको युगौं पुरानो खारिएको विरासत बर्बादी भएको देख्न सक्दिनँ । नेपालमा अभिभावक, एकताका प्रतीक, देशकै धरोहर नेतृत्व राजाबाट नै हुनसक्ने विश्वास गर्दछु । राजसंस्था र नेपाली मौलिकतालाई मन पराउँछु । राजाको नेतृत्वमा नेपाली जनताले विदेशमा उच्चतम मानमर्यादा पाएका थिए । देशमा शान्ति थियो । नेताहरूमा विचलन आयो, वाह्य हस्तक्षेपले देशलाई धेरै नोक्सानी भएको छ । अहिले त्यो कुरामा युवामा विवेक र चेतना आएको छ । २०४७ सालमा राजा सहितको प्रजातन्त्र सबै दलले मानेर संसारको उत्कृष्ट संविधान बनाएका थियौं । यी सत्य निर्भिकताका साथ राख्दा राजावादी भइन्छ भने म राजावादी हुँ, अन्यथा म राजावादीभन्दा राष्ट्रभक्त देशवादी हुँ ।
नेपालमा राजनीतिक आस्थाभन्दा माथिको निर्विवाद अभिभावक चाहिने देखेर राजा उपयुक्त पात्र हुनसक्ने भएकाले उहाँले राजा र राजसंस्था नेपाली मौलिकता भएकाले मन पराउनु भएको रहेछ । उहाँको विचारमा नेपाली धर्मकर्म, कला, संस्कृति, साँस्कृतिक एकताका लागि सर्वस्वीकार्य राजा चाहिन्छ । अझ राम्ररी सुधारेको भए पञ्चायतलाई उहाँ हाम्रै मौलिक पाँचाली प्रथाको उपयुक्त दर्शन मान्नुहुन्छ ।
‘देश, काल, परिस्थितिअनुसार त्यसलाई खारेर व्यवहारमा उतारेर आफ्नै देश तथा देशबासी सुहाउँदो राजनीति हुनुपर्छ,’ भन्दै उहाँ नेपाली ब्रेन लगाएर सबै अटाउने राजनीतिक व्यवस्था सञ्चालन गर्नुपर्ने बताउनु हुन्छ । ‘कुनै पनि व्यवस्था आफैँमा खराब र असल हुँदैन देश, काल, परिस्थितिमा भर पर्छ र अझ भन्नुपर्दा मान्छेमा भरपर्छ,’ उहाँ स्पष्ट गर्नुहुन्छ ।
पुरस्कार, तक्मा, सम्मान भन्ने कुरा हर विषयको योग्य, योगदान दिएका, अग्रणीले प्राप्त गर्नुपर्छ भन्नुहुने सर्जक पाँडे कम योग्यले पाएको पुरस्कार पछि विशिष्ट व्यक्तिलाई दिन नसुहाउने विचार व्यक्त गर्नुहुन्छ । पुरस्कार वितरणमा सम्बन्धित पक्षले निस्पक्ष हिसाब किताब राख्नुपर्ने बताउँदै उहाँ बाढी आएका बेला सङ्लो पानी नभेटिनु स्वाभाविक हो भन्दै थप्नुहुन्छ, ‘नेपालमा पुरस्कार र योगदानको मूल्याङ्कन पारदर्शी हुँदैनन्, बाढीमा जसले सक्यो उसैले माछा मार्यो ।’
आफू पुरस्कारको भोको छैन भन्दै उहाँले सरकारबाट ओझेल परे पनि जनस्तर र विदेशबाट धेरै कदर पाएको अनुभव छ उहाँसँग । जापान, अमेरिकाजस्ता देशबाट फेलोसिप पाएका उहाँ हास्य क्षेत्रमा जनस्तरबाट ठूलो स्नेह पाएकामा गर्व गर्नुहुन्छ । सरकारले आफूलार्ई नचिन्नुको कारण खोल्दै उहाँ भन्नुहुन्छ– म कुनै कतैको ढोका ढुक्दिनँ । कसैको कान फुक्दिनँ । प्रज्ञा प्रतिष्ठानमा एक दुईजना बाहेक योग्य पात्र देख्दिनँ । आफूभन्दा तलकाले रजाइँ गरेको ठाउँमा आफू जादा स्वाभिमानीका लागि आत्मग्लानि हुन्छ । आ–आफ्नालाई पुरस्कार, सोर्सफोर्सको पुरस्कार, भनसुनको पुरस्कार, दयामायाको पुरस्कार पनि पुरस्कार हुन्छ ? कतै दर्खास्त हाल्नु पर्ने पुरस्कार, कतै मुलाहिजा, कतै भनसुन लगाएर पाइने पुरस्कारका कुरा मलाई धेरैले सुनाउँछन् ।
साहित्यिक क्षेत्रका नियुक्तिमा पनि राजनीतीकरण देख्नुहुन्छ उहाँ । उदाहरण दिँदै उहाँले भन्नुभयो– विश्वविद्यालयमा माथिदेखि तलसम्म राजनीतीकरण छ । नियुक्ति, सरुवा, देखिएकै हो । राजदूत र प्राज्ञमा त्यस्तै छ । अचम्म ! टीका लगाएर प्राज्ञ बनाइन्छ । अबिर दलिएका सबै ढुङ्गा देवता हुन सक्दैनन् । हामी त योग्यलाई मात्र ढोग्न तयार छौँ ।
लेखन जीवनको गहना हो भन्दै उहाँ सुन्दर जीवनका लागि सिर्जना सर्वोच्च सम्पत्ति हो भन्नुहुन्छ । ‘सिर्जना बिना जीवन ‘जीवन’ रहँदैन,’ उहाँ भन्नुहुन्छ । उहाँको विचारमा सिर्जना आविष्कार हो । उदाहरण दिनुहुन्छ–‘मान्छेलाई पढाइ गुनाइ गरेर असल बनाउने काम प्राध्यापक, शिक्षकले गर्छन् । प्राध्यापक, शिक्षकका लागि लेखकले खुराक दिन्छन् । यही खुराक दिने स्रस्टा नै महत्त्वपूर्ण मान्छु । साहित्य जीवनको सर्वश्रेष्ठ रचना हो । साहित्य बिना न सभ्यता, न समाज न व्यक्तिको जीवन चल्छ । जीवनसँग अभेद्य, अटुट र अबिरल सम्बन्ध छ लेखनको ।
उहाँ आफू र आफ्नो कामप्रति सन्तुष्ट हुनुहुन्छ । अन्तर्राष्ट्रिय पेनको अध्यक्षको भूमिका निर्वाह गर्नु भएका उहाँले टीपीडब्लुएडब्लुको अध्यक्षको नाताले नेपाली साहित्यलाई विश्वका विभिन्न देशमा प्रचार गराउनु भएको छ । अन्तर्राष्ट्रिय हास्य सम्मेलनमा अस्ट्रेलिया, जापान, इटलीमा नेपालको प्रतिनिधित्वि गर्नुभएका उहाँले हास्यव्यङ्ग्यको साहित्य प्रहसन, हास्यव्यङ्ग्य चित्रको अङ्ग्रेजीमा इतिहास लेख्नुभएको छ । आफ्नो पुर्खाले देशलाई दिएका गौरवपूर्ण इतिहासको गाथा लेख्नु भएको छ । हाइकु, हाइगा र हाइबुनको इतिहास लेख्नुभएका उहाँले बालसाहित्यमा पनि विशिष्ट योगदान दिनुभएको छ । भूगोलमा नयाँ प्रवर्तनीय कार्य गर्नुभएका उहाँका दर्जनौँ अनुसन्धान गरी प्रतिवेदन तयार छन् । सिर्जना मात्र हैन संस्थागत विकास तथा गतिविधिमा पनि उहाँको जीवन तरङ्गित छ । नेपाल र नेपालीका लागि लेख्छु भन्नुहुने प्रा. पाँडेले अङ्ग्रेजीमा लेखेर नेपाललाई बाहिरी दुनियाँमा चिनाउने प्रयास गर्नुभएको छ । नेपाल र नेपालीलाई विश्वमा चिनाउन र आत्मसन्तुष्टिका लागि लेख्छु भन्दै उहाँले भावुक बनाउनु भयो, ‘म सबैका लागि एउटा माध्यम मान्छे हुँ, म आफैँ केही पनि होइन, धेरै रङको काम गरेँ तर सबै रङ घुमाएर हेर्दा सेतो मात्र देखिन्छ, मेरो प्राप्ति त्यही हो ।’
नेपालमा अभाव रहेका विद्या र विधामा सिकाउनु पर्ने धेरै कुरा देख्नु भएको छ उहाँले । उहाँका ‘पावर प्रिन्ट’ सेम्बोलिक कला जापान र अमेरिकामा प्रदर्शनी भइसकेका छन् । कथामा कथोपचार विधि ‘स्टोरी थेरापी’ विकास गरेर कथाबाट चरित्र निर्माण गर्न सकिने विधिबारे उहाँको गम्भीर ध्यान गएको छ । उहाँले यसबारेमा क्षेत्रीय अन्तर्राष्ट्रिय गोष्ठी बैंककमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुभएको छ । हास्यव्याङ्ग्यमा पाँडे पुराण बनाएका उहाँ हाइकुलाई नेपाली झ्याउरे शैलीमा लैजान सकिने देखेर त्यसमा काम गर्दै हुनुहुन्छ ।
आफ्ना कवितामा एउटा दर्शक भएर समाज प्रातिविम्बित भएको उहाँ पाउनु हुन्छ । कवितामा युग अनुभूत गरेर, भोगेका पीडा तथा खुशी प्रतिविम्बित हुने गरी भावना अभिव्यक्त गरिने भएकाले हरेक कविताले कविबारे प्रत्यक्ष वा परोक्ष रूपमा चित्रण गर्छन् भन्दै आफ्ना कवितामा आफू चित्रित भएको सर्जक पाँडेको अनुभूति छ । प्रा. पाँडेले कोरोनाकहरलाई पनि सिर्जना कालमा परिणत गर्नुभएको छ । हाल उहाँ केही नयाँ सिर्जना, केही पुराना कृति संशोधन, अपूर्ण पाण्डुलिपिलाई पूर्णता दिने काममा व्यस्त हुनुहुन्छ ।
‘कोरोनाले मेरो समयलाई उत्पादनशील बन्ने अवसर दियो,’ कष्टमा पनि मस्त सर्जक पाँडेले भन्नुभयो ।
विद्युतीय लेखनबारे उहाँको अनुभव मिठो छ । उहाँको घरमा सन् १९०० को उत्तरार्धमा कम्प्युटर पसेको रहेछ । भल्व भएको रेडियो हुँदै ट्रान्जिस्टरदेखि टेलिभिजन र ल्यापटप कम्प्युटर छरछिमेकमा भन्दाअघि नै उहाँ कहाँ आएका थिए । उहाँले बिना तालिम टाइपराइटर चलाउनु भयो र एमएको थेसिस आफैँले लेख्नुभयो । विरलै घरमा राखिने सोलार उहाँको घरमा निकै पहिला राखिएको थियो । वर्ड प्रोसेसरबाट बालसाहित्यबारे जापानमा अनुसन्धान प्रतिवेदन तयार गर्नुभयो । मोबाइल, पाल्मटप, ल्यापटप, डेस्कटप, आइप्याड चलाएरै उहाँले नेपाली र अङ्ग्रेजीमा धेरै काम गर्नु भएको छ । नयाँ काम सिक्नु उहाँको आदत नै हो । स्कुलदेखि यस्तो अवसर पाएको भएको भए अहिलेभन्दा धेरै काम गर्न सक्थेँ भन्दै उहाँ वर्तमान पिँढीलाई भाग्यमानी मान्नुहुन्छ । इन्टरनेटबाट विश्वभरिका किताप पढ्न, प्रविधि सिक्न र कुनै पनि विषय अध्ययन गर्न तथा शोधखोज गर्न सक्ने अवसरलाई वर्तमान पुस्ताले सदुपयोग गर्नुपर्ने सल्लाह दिनुहुन्छ सर्जक प्रा.पाँडे ।
नेपाली सर्जकका राम्रा सिर्जना पाठक माझ पुग्नै नसकेका अनुभव छन् उहाँसँग । राम्रो सिर्जना छानेर देशभरि वितरण गर्ने संस्थाको अभाव देख्नुहुन्छ उहाँ । नेपालीले नेपाली लेखकलाई चिन्नै पाएका छैनन् भन्दै उहाँ यस्ता समस्याले नेपाली लेखनमा नयाँ सोच, नयाँ शैली र मौलिक चमत्कार आउन नसकेको विचार व्यक्त गर्नुहुन्छ । साहित्यिक क्षेत्र हाँक्ने जिम्मेबारीको कुर्ची ज्ञानविहीनलाई चिट्ठा परेपछि के नै गर्न सकिन्छ र ? उहाँ आफै प्रश्न गर्नुहुन्छ ।
नेपाली साहित्यमा अचेल छोटो कविता, हाइकु जम्दै गएका उहाँले देख्नुभएको छ । ‘मुक्तक मोह बढ्दै छ । गजल पनि आइरहेछका छन् । छन्दमा चमत्कार थपिदै छ । दोहरीले ठाउँ लिदै छ तर उययुक्त वातावरण छैन ।’ यस्तो अवस्थाले नेपाली साहित्य ‘खोइ कता जान्छ भन्न सकिन्न,’ उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । चिन्ताको फेहरिस्त व्यक्त गर्दै उहाँ भन्नुहुन्छ– ‘साहित्यलाई केही मूर्खहरुले राजनीतिकरण गर्दै छन्, जुन केरा जस्तै कुहिँदै जान्छ । साहित्य ‘साहित्य’ हो यो त स्याउ जस्तो हुनुपर्छ । प्रज्ञा जस्तो ठाउँमा साहित्यकारको नाममा कर्मचारी भर्ना गरिन्छ । साहित्यिक अनुहार अलप छ । प्राज्ञ भन्न लायक व्यक्ति आफ्नो क्षेत्रमा मान्यवर हुनुपर्छ तर त्यस्तो छैन तर पाठक तथा प्रवुद्धहरूले स्रस्टाको सम्मान गरेका छन् भन्दै उहाँ यसलाई नै सन्तोषको सास फेर्ने स्थिति भन्नुहुन्छ –‘जनस्तरमा साहित्य अघि बढदै गरेको देख्दा ममा हर्ष चुलिन्छ ।’
दीर्घ सेवा पदक, शुभराज्याभिषेक रजत पदक, बासुदेव लुइटेल पुरस्कार, लेखक संघ दाङद्वारा सम्मान, तीते–जिरे–मेरी बास्सै जस्ता दजनौँ पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएका उहाँ भन्नुहुन्छ, ‘कतिपय साथीहरूले मलाई पुरस्कृत गर्ने प्रस्ताव गर्दा मैले अन्य साथीहरूको नाम लिएर उतै पन्छाइदिएको छु ।’
अन्तर्राष्ट्रिय बालसाहित्य, जापान र कलामा सयुंक्त राज्यको र जापान फाउण्डेसनको वृत्ति प्राप्त उहाँले लामो समय ओसाका सिटी युनिभर्सिटी जापान तथा काठमाडौँ विश्वविद्यालयको भिजिटिङ प्रोफेसर भएर उच्च शैक्षिक तहका विद्यार्थीलाई अध्यापन गराउनु भएको छ । वर्ल्ड हाइकु एसोसियसनका मानार्थ सदस्य उहाँ कोरिया पेनको मानार्थ सदस्य हुनुहुन्छ । पेन अन्तर्राष्ट्रिय (नेपाल च्याप्टर)का अध्यक्ष, परम्परागत लेखकहरूको अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टर, हास्यव्यङ्ग्य समाज नेपाल (हासने), नेपाल हाइकु केन्द्र, भूगोल केन्द्र नेपाल लगायतका संस्थामा अध्यक्षीय भूमिका निर्वाह गर्नुभएको छ ।
नेपाल बालसाहित्य समाज, नेपाल बाल बाङ्मय तथा अनुसन्धान केन्द्रका सल्लाहकार सर्जक पाँडे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्जनौं गोष्ठी तथा सम्मेलनमा सहभागी हुनुभएको छ । उहाँले नेपालका सबैजसो जिल्लाका साथै चीन, भारत, पाकिस्तान थाइल्याण्ड, कोरिया, फिलिपिन्स, मलेसिया, जापान, अस्टे«लिया, स्विडेन, इटाली, सर्बिया, सयुंक्त राज्य अमेरिका, नर्वे, स्विजरल्यान्ड, फ्रान्स र जर्मनीको भ्रमण गर्नुभएको छ ।
आफैँ आँखामा
रामकुमार पाँडेको आँखामा सर्जक रामकुमार पाँडे
आजको रामकुमार
रामकुमार पाँडे
सबथोक सद्धे छ तर भैयो बिमार !
सक्कलको नक्कल जस्तै छ यो रामकुमार
उसले बगमफुसे नेताको भाषण सुन्नु पर्छ
मगज बिग्रिएको भए पनि थोत्रैबाट चुन्नु पर्छ
आकाशमा स्याउ फलाउने हुन्छ चुनाव प्रचार
कसलाई भोट हाल्ने हो ? भन्छ रामकुमार
ससुरो कमिटीमा, प्राज्ञ हुन्छ ज्वाइँ
अरुले गरेको सबथोक रद्दी राम्रो आफ्नो चाहिँ
पद र पैसा भएदेखि अप्सरा भर्मार
नौटङ्की राजनीति छ भन्छ रामकुमार
कालाको कला गज्जब छ कालै छ चाला
नखाई कसरी ? भुक्क भयो चाउरेको गाला
पात चाट्दैछ कुकुर लात हिर्काऊ भरमार
ज्यान जाला छोड्ने हैन भन्छ रामकुमार
बर्सेनि आउँछ वर्षाजस्तै अनेकथरि नारा
यो गाईजात्रा वर्षमा पनि म भन्छु हे प्यारा !
नौटङ्की मालिंकले सबको गर्छ सम्हार
पुछर छ लौरो न हतियार भन्छ रामकुमार
घुस्या भुँडी छोपेर अर्कालाई देऊ गाली
भाडाका बाँदरहरू त्यसै बजाउँछन ताली
उच नाम राख्नेले पनि बनायो आफ्नै यार
बिक्री बिना बाँच्न गाह्रो भन्छ रामकुमार
रिसाहा नेतासँग भत्कन्छ सडक र बार
कस्तो हुँदोरैछ कुर्सीको प्यार !
नेता कता हो कता फूर्ति छ भरौटेको यार
सत्ताभत्तामै दौडादौड भन्छ रामकुमार
विकासबिना भाषणमा रासन कता गो कता
राजनीति बुझ्दै नबुझ्ने भए नक्कली नेता
जनता कता लाग्ने पर्यो जालतन्त्रको मार
सासना हैन शासन गर भन्छ रामकुमार ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।