उत्कृष्ट १० मा परे यी पुस्तक
२०७६ को मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासले बिक्रीका आधारमा दोस्रो महिना पनि अग्रता लिएको छ । बडादसैँको अवसर पारेर सुरु गरेको ‘साहित्यपोस्ट बेस्ट सेलर अफ दी मन्थ’को सूचीमा कात्तिक महिनामा पनि ‘महारानी’ले नै अग्रता कायम राखेको देखिएको छ । भदौमा मदन पुरस्कार घोषणा भएपछि यो पुस्तकले बिक्रीमा अरु पुस्तकलाई लगातार उछिनिरहेको छ ।
भदौ महिनादेखि नेपाली पुस्तकको बिक्रीमा उछाल आउँछ । यही अवसरलाई छोपेर हामीले प्रत्येक महिना बेस्ट सेलर पुस्तकको सूची प्रकाशन गर्न अनौपचारिक अध्ययन सुरु गरका थियौँ । यो अध्ययनका लागि हामीले काठमाडौँ उपत्यकाका १० किताब स्टेसन, एउटा स्वतन्त्र होम डेलिभरी कम्पनी तथा उपत्यका बाहिरका २० वटा पुस्तक बिक्रेताहरुले दिने सूचीको साहारा लिएका हौँ । ती ३१ वटा स्टेसनलाई नेपाली पुस्तक बजारको महत्त्वपूर्ण कडी मानिन्छ ।
अघिल्लो महिना चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई विजयकुमारको ‘सम्बन्धहरु’ले पच्छ्याएको थियो । यो महिनामा त्यसमा खासै फेरबदल भएको छैन । यद्यपि ‘महारानी’को बिक्रीको तुलनामा ‘सम्बन्धहरु’को बिक्री केही कम हुन थालेको बिक्रेताहरुको अनुभव छ । त्यसैगरी अघिल्लो महिना सूचीमा परेका धेरै पुस्तकहरु यसपटक पनि परेका छन् । यद्यपि बिक्रीका आधारमा सूचीमा तलमाथि परेको छ । हामीले ३१ वटा स्टेसनबाट पाएको एकदेखि दश नम्बरको सूचीलाई आधार बनाउँदा तथ्यहरु तलमाथि नहुन् भनेर अन्तिम अवस्थासम्म सचेतता अपनाएका छौँ ।
हामीले प्रस्तुत गरेको यो सूची हामीले विश्वास गरेका पुस्तक बिक्रेता एवं पाठकका रुपमा हाम्रा शुभचिन्तकहरुले क्रस चेक गरेर प्राप्त गरेका सूचनाका आधारमा पस्केका हौँ । यो नै अन्तिम सत्य भन्ने हाम्रो दाबी छैन । यद्यपि यो सूची सत्यको नजिक छ भन्ने हाम्रो दाबी यथावत् छ । यस पटक पनि अघिल्लो महिनाजस्तै केही प्रकाशक एवं लेखकहरुले हाम्रो यो मिहिनेतलाई अस्वीकार गर्ने सम्भावना देखेका छौँ । यद्यपि हामी पाठकप्रति जिम्मेवार छौँ र पाठकले अस्वीकार नगरुन्जेलसम्म हामी यो सूची अझ गम्भीररुपमा जारी गरिरहने छौँ ।
प्रस्तुत छ, यसपटकका उत्कृष्ट १० पुस्तकहरु र पुस्तक बिक्रीका कारणहरु पनिः
१) महारानी–चन्द्रप्रकाश बानियाँ (उपन्यास)
कात्तिक महिनामा पनि चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ पहिलो नम्बरमा परेको छ । यो पुस्तक अत्यधिक बिक्री हुनुको कारण यसले प्राप्त गरेको मदन पुरस्कारको ट्याग नै हो । आम पाठकहरुमा मदन पुरस्कार विजेता पुस्तक पठनका हिसाबले अब्बल हुन्छन् भन्ने मान्यता छ । देशका चर्चित निर्णायकहरुले वर्षभरि निस्किएका पुस्तकहरुमध्ये उत्कृष्ट पुस्तकलाई छानेर यो पुरस्कार दिन्छन् भन्ने आम विश्वास छ । धेरै हदसम्म यो सही पनि हो । यसै कारण यो पुस्तकले भदौ महिनादेखि नै लेखक, प्रकाशक एवं बिक्रेता सबैलाई आर्थिकरुपमा फाइदा पुर्याइरहेको छ । यो असोज महिनामा उत्कर्षमा थियो । कात्तिक महिनामा यसको बिक्री सङ्ख्यामा केही कमी आए पनि अरु पुस्तकको तुलनामा यसको बिक्री अझै उच्च देखिन्छ । पुस्तक पढेका पाठकहरुबाट पनि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पोस्ट भएका कारण पनि यसले आफ्नो बिक्रीको रफ्तार कायमै राखिरहेको देखिन्छ । हामीले प्राप्त गरेका ३१ स्टेसनको सूचीमध्ये २९ वटा सूचीमा ‘महारानी’ एक नम्बरमा परेको देखिन्छ । यी सबै आधारमा यो किताबलाई लामो रेसको घोडा हो भन्न सकिने आधारहरु पनि छन् ।
२) सम्बन्धहरु–विजयकुमार (गैरआख्यान)
प्रकाशन भएदेखि नै विजयकुमारको गैरआख्यानात्मक कृति ‘सम्बन्धहरु’ बिक्रीका हिसाबले दोस्रो नम्बरमा परिरहेको छ । विशेषगरी सहरी परिवेशमा ‘सम्बन्धहरु’ पढ्नेहरुको सङ्ख्या उच्च रहेको देखिन्छ । हामीलाई प्राप्त ३१ स्थानको सूचीमध्ये एउटा सूचीमा ‘सम्बन्धहरु’ एक नम्बरमा छ भने १४ स्थानमा दोस्रो स्थानमा देखिन्छ । बाँकी सूचीमा केहीमा चौथो र दशौँ स्थानमा भए पनि बिक्रीका आधारमा सम्बन्धहरु दोस्रो स्थानमै रहेको हामीले पायौँ । काठमाडौँ उपत्यकाका ठूला पसलहरुमा ‘सम्बन्धहरु’को बिक्री झण्डै ‘महारानी’को हाराहारीमा देखिन्छ भने उपत्यकाबाहिर केही कम देखिएको छ ।
विजयकुमारको ‘खुसी’ले तीन वर्षअघि मदन पुरस्कार प्राप्त गरेका कारण उनी पाठकबीच लोकप्रिय छन् । उनी चर्चित पत्रकार एवं टेलिभिजन प्रस्तोता भएको लाभ पनि ‘सम्बन्धहरु’ले पाएको देखिन्छ । सामाजिक सञ्जालहरुमा उक्त पुस्तकमाथि भएका बहसले पनि बिक्रीलाई सहयोग पुगेको देखिन्छ । यद्यपि पुस्तकले केही आलोचना पनि खेपिरहेको छ ।
३) मोक्षभूमि– केशव दाहाल (उपन्यास)
अघिल्लो महिना दसौँ नम्बरमा रहेको ‘मोक्षभूमि’ उपन्यास यो महिना तेस्रो नम्बरमा उक्लिएको छ । प्राचीन समयमा दासहरुले गरेको विद्रोहलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यास बौद्धिक जगतमा चर्चा चलेसँगै यसको बिक्री बढेको हो । हुन त दसैँपछि पुस्तक बिक्रीमा कमी आएने कारणले सङ्ख्यात्मक हिसाबले अघिल्लो महिनाको तुलनामा यसको बिक्री धेरै बढेको देखिदैन तर अरु पुस्तकको तुलनामा यसको बिक्री भने घटेको छैन । बिक्रीमा भइरहेको यही एकरुपताका कारण यो तेस्रो नम्बरमा उक्लिएको हो ।
४) वैशालीकी नगरवधू– आचार्य चतुरसेन (उपन्यास)
अघिल्लो महिना आठौँ नम्बरमा परेको ‘वैशालीकी नगरवधू’ उपन्यास यसपटक चौथोमा उक्लिएको छ । भारतीय साहित्यमै पनि नाम कमाएको यो उपन्यास प्रकाशन भएदेखि नै राम्रो बिक्री भइरहेको देखिन्छ । हामीलाई प्राप्त ३१ पुस्तक स्टेसनमध्ये एउटामा यो एक नम्बरमा रहेको देखिन्छ भने ३ वटामा छैटौँ र ८ वटामा पाँचौँ नम्बरमा देखिन्छ । उपत्यका बाहिरका पुस्तक पसलहरुमा पनि यसको बिक्री राम्रो देखिएको छ ।
५) क्रान्ति र प्रतिक्रान्ति– रमेशनाथ पाण्डे (गैरआख्यान)
अघिल्लो महिना साहित्यपोस्ट बेस्ट सेलर सूचीको १० नम्बरमा पनि नदेखिएको पूर्वमन्त्री एवं राजनीतिक टिप्पणीकार रमेशनाथ पाण्डेको पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक यो महिना एकैपटक पाँचौँ नम्बरमा उक्लिएको छ । यद्यपि त्यो बेला पनि साहित्यपोस्टले यसलाई ११ औँ नम्बरको बिक्री हुने सूचीमा राख्नु परेको थियो । यसो हुनुको कारण दसैँको अवसरमा आख्यानात्मक कृतिहरु धेरै बिक्री भएका कारण यसको बिक्री ओझेल परेको थियो । प्रकाशन भएदेखि नै यो पुस्तक सुस्त गतिमा बिक्री भइरहेको थियो ।
तर कान्तिपुर दैनिकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले यो पुस्तकका बारेमा गम्भीर समीक्षा गरेपछि यो पुस्तकको चर्चा अचानक बढ्यो । पुस्तकमा बिपी कोइरालाको दुर्लभ चिठ्ठीको संगालोबाहेक अन्य सबै कुरालाई रिजालले अनावश्य भनेर लेखेपछि यो पुस्तकको बिक्री बढेको बिक्रेताहरुले जनाएका छन् । उपत्यका बाहिरका १० भन्दा बढी सूचीमा यो पुस्तक या त दोस्रो नम्बरमा परेको देखिन्छ या तेस्रो नम्बरमा । यो पुस्तक राजनीतिक कार्यकर्ताहरुले बढी किनेको अनुमान बिक्रेताहरुको छ ।
६) न्यायपालिकाको चार दशक मेरा सम्झना– मीनबहादुर रायमाझी (आत्मकथा)
यसअघि पाँचौँ नम्बरमा परेको यो आत्मकथा यसपटक छैठौँ नम्बरमा सरेको छ । दसैँअघि यो पुस्तकको बिक्री जुन रफ्तारमा बढेको थियो, अहिले केही घटेको अनुमान बिक्रेताहरुले गरेका छन् । यद्यपि न्याय क्षेत्रमा रहेका व्यक्तिहरुका लागि अहिले पनि यो पुस्तक पहिलो नम्बरमा परेको देखिन्छ । पूर्व प्रधानन्यायधीश मीनबहादुर रायमाझीले पुस्तकमा इमान्दार कानुनी व्यक्तिका हिसाबले आफूलाई प्रस्तुत गरेका कारण पनि यो पुस्तक लामो समय चल्ने पुस्तक हुनसक्ने अनुमान गरिएको छ ।
७) सत्ता र सत्य– खगेन्द्र सङ्ग्रौला (गैरआख्यान-अनुदित)
अघिल्लो महिना छैटौँ नम्बरमा परेको खगेन्द्र सङ्ग्रौलाको अनुदित पुस्तक ‘सत्ता र सत्य’ यो महिना सातौँ नम्बरमा झरेको छ । बजारमा यो महिना चलेका अनुदित पुस्तकहरुमध्ये यो दोस्रो धेरै बिक्री भएको अनुदित पुस्तक हो । सुरुमा खगेन्द्र संग्रौलालाई रुचाउनेहरुले पनि यो पुस्तक खरिद गरे पनि यसमा भएका गम्भीर खाले निबन्धहरुलाई कतिपय पाठकले रुचाएको देखिएन ।
८) कम्मरीदेखि कोभिड कहर– डा. कृष्णप्रसाद पौडेल (गैरआख्यान)
दसैँको मुखमा प्रकाशन भएको डा. कृष्णप्रसाद पौडेलको पुस्तक बिक्रीको आधारमा यो महिना आठौँ स्थानमा परेको छ । भरतपुर अस्पतालका अर्थोपेडिक विशेषज्ञ पौडेलले यस किताबमा हाड, नशा, जोर्नी मात्र होइन, स्वास्थ्यसम्बन्धी अन्य गम्भीर जानकारीहरु निबन्धात्मकरुपमा प्रस्तुत गरेका छन् । यो पुस्तक भरतपुरमा अत्यधिक बिक्री भएको देखिन्छ भने काठमाडौँका केही पसलहरुमा पनि यो टप टेनको सूचीमा देखिन्छ ।
९) सिंहदरबारको घुम्ने मेच– डा. सुधा शर्मा (गैरआख्यान)
प्रसूति विशेषज्ञ डा. सुधा शर्माको आत्मकथात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ यो महिना नवौँ नम्बरमा परेको छ । गएको महिना पनि यसको बिक्री उल्लेख्य थियो तर अन्य पुस्तकको तुलनामा यसले उत्कृष्ट दशमा स्थान बनाउन सकेको थिएन । यो पुस्तक महिला संघर्षको कथा भएकाले महिला पाठकबीच लोकप्रिय भएको बिक्रेताहरुले जनाएका छन् । स्वास्थ्य सचिवका रुपमा डा. शर्माले सिंहदरबारमा बिताएका केही वर्ष यो पुस्तकको मुटु मानिएको छ । शीर्षकका कारण पनि यो पुस्तकको बिक्रीमा सकारात्मक असर परेको बिक्रेताहरुले जनाएका छन् ।
१०) कान्छा महारानी– शिवा शाह/सुगना शाह (उपन्यास -अनुदित)
अघिल्लो महिना उत्कृष्ट १० मा पर्न नसके पनि दसैँमा बिक्री हुने सूचीमा यो पुस्तकको नाम सामेल भएको थियो । यो महिना पुस्तकको बिक्रीमा धेरै फरक नपरे पनि अन्य पुस्तकको तुलनामा यसको बिक्री स्थिर रहेको बिक्रेताहरुले जनाएका छन् । अंग्रेजीबाट सगुना शाहले अनुवाद गरेको यो पुस्तकमाथि सामाजिक सञ्जालमा लगातार पाठकहरुको टिप्पणी आइरहेका कारण पनि यसको बिक्री सुस्ताएको छैन । ‘महारानी’ले मदन पुरस्कार पाएका कारण पनि त्यस्तै खालको ऐतिहासिक विषय भएकाले पनि यो पुस्तकप्रति पाठकहरुको चासो बढेको देखिएको छ ।
यीबाहेक यो महिना ‘नखुलेका पाटा’, ‘याम्बुनेर’, ‘हंश’, ‘मुसा मानुष’, ‘जोकरको बन्दुक’, ‘बुद्ध दर्शन’जस्ता पुस्तकहरु पनि राम्रो बिक्री हुने पुस्तकहरुको सूचीमा अटाएका छन् । यीमध्ये कतिपय अघिल्ला महिनाको उत्कृष्ट १० मा थिए ।
अर्को सूची मंसिर महिनाभरिको बिक्रीका आधारमा गणना गरेर पुस २ गते प्रकाशन गर्नेछौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।