“रजनी आज तलाईँ केटा हेर्न आउँदैछ है, कतै नजा है ! जस्तो केटा ल्याए पनि तेरो चित्त बुझ्ने होइन ! अब त अति भो । आज त टीकोटालो गरेरै छाड्ने हो,” रजनीकी आमा बडबडाइन् ।
मोबाइलमा व्यस्त भएकी रजनी आमाको त्यो डाँकोसँगै झसंग भई । हातको मोबाइल भुइँमा खस्यो । के गरुँ र कसो गरुँ भो उसलाई । हत्त न पत्त भुँइको मोबाइल उठाएर विनयलाई फोन गरी तर विनयले फोन उठाएन । म्यासेज गरी, रिप्लाई पनि गरेन । रजनी घरबाट निस्किई, आफूलाई चाहिने सामानको पोको तयार पारेर । रजनीको घरदेखि विनयको घरबीच दश मिनेटको बाटो थियो । विनयको घरको गेटमा पुगेर ढोका ढकढकाई । गेटपालेले ढोका खोले । रजनीले गेटपालेलाई विनयसँग सुटुक्क भेट गराइदिन अनुरोध गरी । गेटपालेले विनयलाई बोलाइदिए ।
“यस्तो रातिमा तिमी किन यहाँ ?” विनयको यो प्रश्नका लागि रजनीसँग कुनै जवाफ थिएन । यो प्रश्न अरुलाई त एउटा सामान्य प्रश्नजस्तो लाग्ला तर रजनीका लागि भने यो वाक्य विनयको मतलबी र स्वार्थी व्यवहार दर्शाउने शब्दावलीले भरि
एको एउटा ठूलै शब्दकोश थियो । रजनी विनयको त्यो प्रश्नले ‘अब म घरको न घाटको भएँ’ भन्ने कुराले पिरोलिई ।
विनयले पहिले भनेको कुरा रजनीले सम्झिई । कुरो करीब एक महिना पहिलेको हो । रजनीको घरमा बिहेको चर्चा सुरु भएको थियो । केटीको हात माग्नेको लाइन लाग्न थालेपछि रजनीले सुरुमा विनयलाई “घरमै गएर मलाई मागेर लैजानुस् पछि फेरि पछुताउनुपर्ला” नभनेकी पनि हैन । तर विनयले मानेन । त्यतिबेला अझ “भाग्नुको मज्जा छुट्टै हुन्छ, तिमीलाई त कसैले थाहा नपाउने गरी सुटुक्क भगाएर लैजाने हो,” भनेको थियो ।
विनयको मुखबाट यस्तो कुरा सुनेपछि रजनी सिनेमाको दृष्यसँग आफ्नो प्रेमलाई दाँजेर मनमनै आनन्दित भएकी थिई । विनयको त्यतिबेलाको त्यो कुरा सुन्दा उसलाई ठीकै पनि लागेको थियो । रजनीले सोची “घरमा गएर कुरा गर्दा फेरि बुवाआमा मान्नुभएन भने ? कुरा बिग्रियो र हामी छुट्टिनुपर्यो भने ? भो, बरु भाग्ने कुरा नै बेस लाग्यो मलाई त ।”
भाग्दाखेरी समाजले मलाई के भन्ने होलान् भन्ने डर रजनीको मनमा भए पनि विनयको त्यो प्रस्तावलाई स्वीकार्ने मनस्थितिमा रजनी पुगेकी थिई । पहिले त्यस्तो कुरा गर्ने विनयको अहिले एक्कासि मन फेरिएको देख्दा रजनीलाई अनौठो लाग्यो । विनयले रजनीलाई यो कुरा मजाकै मजाकमा भनेको रहेछ । बल्ल पो थाहा पाई रजनीले !
विनय एकछिन् विखलबन्दमा पर्यो । के गरुँ, कसो गरुँ ? उसको दिमागले सोच्नै सकेन । गेटबाहिरको बाटोको छेवैमा पुर्परामा हात राखेर घोसेमुन्टो लगायो । एकछिन पछि जुरुक्क उठ्यो । भित्र गएर बाइक लिएर आयो । रजनीलाई पछाडि राखेर त्यहाँबाट निस्कियो । रजनीको मनमा ठूलो डर थियो, “कहाँ लिएर हिडेको ?” तर विनयलाई सोध्न पनि सकिन उसले । विनयको बाइक एउटा होटलको गेटभित्र छिर्यो । सरासर विनय रिसिप्सनिस्टमा गयो र कोठाको बारेमा सोधपुछ गर्यो र केही दिनका लागि होटलको कोठा बुक गर्यो ।
रजनी कोठाबाट भित्र पस्नै लाग्दा विनयले भन्यो, “अबदेखि तिम्रो घर यही हो बुझ्यौ ! कतिपटक भने मैले तिमीलाई केही समय पर्ख तर तिमीलाई हतार भाको हैन ? हुँदाहुँदै आज त मेरै घरमा आयौ । तिमीले मलाई कति अप्ठ्यारोमा पारेको हँ !”
विनय बोल्दाबोल्दै बीचमै रजनी बोल्न खोजी, “सुन न मेरो कुरा…”
“अब के सुन्नी हो ?” विनयले रुखो स्वरमा खाउँलाजस्तो गरी झम्टिएपछि रजनी बोल्न नै सकिन । त्यस्तो बेला न्यानो सहारा पाउँछु कि भनी घरबाट निस्केकी रजनीले नसोचेको परिस्थिति झेल्नुपर्यो ।
रजनी अहिले पनि त्यही होटलमा छ जहाँ विनयले छोडेर गएको थियो ।
“घरमा केहि अप्ठ्यारो परेर मलाई यहाँ राखेको होला । दुई चार दिनपछि त विनयले केही न केही उपाय सुझाउला । त्यसपछि त म घरमै जान पाउँछु” भन्ने लागेको थियो रजनीलाई सुरुमा । तर रजनीको त्यो अनुमान गलत भयो । दिन बित्दै गयो । हप्ता बित्यो । महिना बित्यो । जेनकेन वर्ष पनि बित्यो । भित्ताको क्यालेण्डर फेरियो तर परिस्थिति ज्यूँका त्यूँ रह्यो । विनयले अनेक बाहना बनाई रजनीको ‘घर लैजाने प्रस्ताव’ लाई आलटाल गर्न थाल्यो । बेलाबेलामा रवीन रजनीलाई भेट्न आउँथ्यो । त्यसपछि फेरि अनेकौं बहाना बनाएर हप्तौंसम्म कहाँ हराउँथ्यो कहाँ ! विनयको हरगल्तीलाई रजनीले माफी गर्दै जान थाली । एउटा नारीले पतिले दिएको पीडालाई जतिसम्म सहन सक्छे, त्यतिसम्म रजनीले पनि सहने कोसिस गरी । तर ‘अति भएपछि खति हुन्छ’ भनेझैँ उसलाई विनयले बारम्बार दिइराखेको चोटले मन भरिन थाल्यो । सहनेको पनि एउटा हद हुन्छ नि ! त्यो हद पनि पार भएर धेरै पर पुगिसकेको थियो । अब त रजनीलाई “मैले नै केही गर्नुपर्छ” भन्ने लाग्यो । विनयको बच्चा रजनीको पेटमा हुर्किरहेको थियो । रजनीले सोची, मेरो एउटा जीउ त जसोतसो पाल्न सक्छु । बच्चा पनि सजिलै पाल्न सक्छु भन्ने आँट उसमा थियो । तर समाजले बाबुको पहिचान नपाएको र मायाबाट पर्गेलिएको बच्चालाई हेर्ने कुदृष्टिको लागि रजनी रातदिन चिन्तित रहिरहन्थी । उसले बेलाबेलामा हिम्मत जुटाउँथी । आत्मविश्वास बलियो बनाउने कोशिस गर्थी तर त्यो आत्मविश्वास पेटभित्रको बच्चाको मायाको कारण फत्रक्कै गल्थ्यो । कमजोर बन्थ्यो । अब त डेलिभरीको महिना पनि लाग्यो । संयोगले प्रशव पीडाले अत्याएको दिन विनय चाहिँ घरमै रहेछ । उसैले गाडीको बन्दोबस्त गरेर रजनीलाई हस्पिटलसम्म पुर्यायो ।
रजनी जीवन मरणको दोसाँधमा थिई । विनयलाई भने रजनीको पेटभित्रको बच्चालाई कसैले थाहा नपाउने गरी कसरी थन्को लगाउने त्यही कुराको मात्रै सुर्ता थियो । रजनी हस्पिटलको बेडमा पल्टिरहेकी थिई । त्यहिबेला विनयले रजनीलाई भन्यो, “तिमीसँग दुईवटा विकल्प छ; कि यो बच्चालाई कसैले थाहा नपाउने गरी कतै लगेर फ्याँकिदेऊ कि त भने हाम्रो एक जना सन्तानविहीन आफन्त छन्, तिनलाई जिम्मा लगाइदेऊ ।”
यो सुनेपछि रजनीले विनयको अनुहारमा एकटकले हेरी ।
“हे भगवान यस्तो कुरा पनि कसरी बोल्न सकेको होला ? यो मान्छे बेहोसी अवस्थामा बोलिरा’छ कि होसमै पनि यस्तो बोल्ने आँट गर्या छ ?” रजनीले बुझ्न सकिरहेकी थिइन ।
साँच्चै विनयको अनुहारमा कुनै पछुतोको गुञ्जायसै देखिन रजनीले । अझ विनयले थप्दै थियो । “अहिले मलाई यो अवस्थाबाट पार लगाइदेऊ । तिम्रो लागि म केही कमी हुन दिन्नँ ।”
“उसलाई के थाहा, अब मसँग बच्चा नै रहेन भने त्यो कमीलाई विस्थापित अरु के चीजले गर्न सक्छ र ?” रजनीले मनमनै सोची । पहिलो विकल्प त रजनीको लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । अब बाँकी रह्यो दोस्रो विकल्प । यो विकल्पमा रजनीले “म मान्दिनँ” भन्न पनि सक्दिनथी किनकि ऊ पहिले नै विनयसँग चुकिसकेकी थिई ।
त्यत्रो हस्पिटलको एक हप्ताको बसाइमा पनि रजनीलाई भेट्न कोहि पनि आएनन् । यसबाटै थाहा हुन्थ्यो उसले रजनीलाई त ढाँटेको रहेछ “मैले तिम्रो बारेमा घर परिवारलाई बताएको छु” भनेर । आज हस्पिटल बसाइको अन्तिम दिन एक जना महिला घुम्टोले अनुहार ढाकेर रजनीको नजीक आई मसिनो स्वरमा बोलिन “बैनी अहिले कस्तो छ ? सञ्चै छौ ?”
त्यसपछि रजनीसँगै झलुङ्गोमा रहेको बच्चालाई काखमा लिएर बाहिर निस्किइन । रजनीले सोची पक्कै पनि उनले केही समयको लागि बाबुलाई डुलाउन बाहिर लगेकी होलिन् तर वास्तविकता भने अर्कै भइदियो । उनी गएको बाटोतिर नजर डुलाउँदा डुलाउँदा रजनीका आँखा पाट्टिइसकेका थिए तर ती महिलाले बाबुलाई लिएर फर्किइनन् । त्यसपछि रजनीले विनयसँग सोधी, “एकजना महिलाले बाबुलाई लिएर गएको एक घण्टा हुन लागिसक्यो । खै त नि बाबु आएन त ?”
“अब ती महिला पनि आउँदिनन् अनि बाबु पनि आउँदैन,” त्यो सुनेपछि रजनीको वरिपरि सन्नाटा छायो । उसलाई रिंगाउन थाल्यो । उल्टी होला जस्तो भो । अनुहारमा चिटचिट पसिना आयो । आँत चिसो भयो । हातले पछाडि अडेस लाग्ने भित्तो छ कि भनी छामछुम पारी । आड लाग्ने सहारा नभेटेपछि रजनी त्यो बेडमै फुग्लुङ्गै ढली । मुटुमा गाँठो पर्यो । धित मर्ने गरी रुन पाए त यो मुटुको गाँठो फुक्दो हो जस्तो लाग्यो उसलाई । अरुले थाहा पाउँछन् कि भनी डाँको छोडेर रुने आँट नै गरिन । घोप्टी परेर सुँक्कसुँक्क गर्न थाली । रजनी उत्ति नै खेर सम्हालिई ।
“यस्तालाई मेरो आँशु देखाएर पो के नै हुन्छ र ? शत्रुलाई आँशु देखाउनु भनेको त म कमजोर छु, तिमीले ममाथि जे गरे नि हुन्छ भनी संकेत गर्नु जस्तै हो,” उसले अठोट गरी, “यस्तो पापीको अगाडि कहिल्यै पनि आँशु झार्दिनँ ।”
माइतीमा बुवाआमालाई नढाँटेको कुरा केही पनि थिएन । रजनीले दुःख पाएँ भनेर माइतीको आँगन टेक्ने अधिकार पूर्णतः गुमाइसकेकी थिई । सुरुमा त रजनीका बुवा रजनीको यो निर्णयलाई लिएर निकै चिढिएका थिए । आमाको मन न हो, आफ्नो सन्तानले लिएको राम्रो वा नराम्रो हरेक निर्णयपछिको क्षणमा बडो धैर्यका साथ सकारात्मक परिणामको पर्खाइमा बसेकी हुन्छिन् । रजनीकी आमाले बुवालाई मनाउने हर सम्भव कोसिस गरिन् । गाउँका अरु चेलीबेटीहरुको पनि उदाहरण दिइन् । पाँच/छ महिनाकै अन्तरातलमा रजनीकी आमाको कुराले बुवाको मन विस्तारै पग्लिन थाल्यो । जनै पूर्णिमामा ज्वाइँलाई बोलाउने कुरामा रजनीका बुवा सहमत भए । नयाँ ज्वाइँको स्वागतका लागि सबैजना आतुर थिए । रजनीले पनि विनयलाई जनै पूर्णिमामा ससुराली हिँड्न आग्रह गर्दा ‘हुन्छ’ भनेको थियो । तर जाने दिनमा कता हरायो कता ? तैपनि आफ्नो श्रीमानको इज्जत राख्नै भए पनि माइतीमा गएर झुठ बोल्न भने छोडिन रजनीले ।
“घरमा ज्वाइँको आफ्नै प्राइभेट कम्पनी छ, कामको चटारो हुन्छ । यहाँ आउने कुरा त परै जाओस् खाना खाने समेत फुर्सद हुदैन उहाँलाई । त्यही भएर त अहिले मसँग आउन पाउनुभएन नि !… मेरी सासू त कत्ति जाति छिन् । मैले नभनीकनै मेरा हरपीडा बुझ्छिन् ।… ससुरा बाको त कुरै छाडौं । देउता हुनुहुन्छ देउता !…” तर विडम्बना सासू कस्ती छन् ? ससुरा कस्ता छन् ? रजनी आफैँलाई थाहा थिएन । मात्र आमाको अनुहारमा कान्ति छर्नको लागि रजनीले यस्ता कुरा सुनाउने गर्थी ।
सुत्केरी भएको पनि महिना दिन बित्यो । माइतीबाट सुत्केरी लिन आउने कुरा भयो । अहिलेसम्म सयौं झुटले ओढाइराखेको वास्तविकता अब उदाङ्गो हुने दिन आएको थियो । किनकि रजनीलाई लिन बुवाआमा आउने भएपछि सबै पोल खुल्ने पक्कापक्कीजस्तै भयो ।
“म सुत्केरी तर मेरो साथमा बच्चा छैन, होटलमा बास छ । यो अवस्था देख्दा बुवा आमाले कसरी मन थाम्नुहुन्छ होला ? हे भगवान मैले बुवा आमालाई के भनेर यो कुरालाई टारुँ,” रजनी यस्तै यस्तै कुरा खेलाउन थाली । बुवाआमालाई जसरी पनि आफूलाई भेट्न नआउने बनाउनको लागि रजनीले सक्दो कोसिस गरी । रजनीले विनयसँग बिन्ती बिसाई, “मलाई बुवाआमा भेट्न आउने भन्नुभएको छ । यो होटलबाट बाहिर निकाल । घरमा नलैजाने भए पनि अन्त कतै कोठा खोजेर राखिदेऊ ।”
रजनीको कुरा विनयलाई गनगन लाग्थ्यो । त्यो गनगनपछि ऊ रजनीलाई भेट्न नै आएन । रजनी आजित भइसकेकी थिई । “माइतीलाई सधैँभरि कति झुट बोलेर बुढालाई राम्रो बनाइराख्ने ? सबै साँचो साँचो बताइदिन्छु ।” एक मन त उसले सोची तर मनमा कता कता डर लाग्यो उसलाई । बुवा आमाको सल्लाहमा बिहे गरेको भए पो ! भागेर आएकी, त्यसमाथि दुःख पाएँ कसरी भन्नु ?
एकदिन आमाको फोन आयो, “नानी ! बुवा त अफिसको कामले बाहिर जानुपर्ने भयो । म एक्लै के आउनु ? बुवा उताबाट फर्केर आएपछि हामी सँगै आउँछौँ है !”
समस्या सर्यो मात्रै तर टरेन । त्यत्तिमा पनि रजनीलाई ठूलो खुसी मिल्यो । मन चङ्गा जस्तै भयो ।
धेरै दिन भइसक्यो विनय रजनीलाई भेट्न आएको थिएन । रजनी त्यो होटलबाट भाग्न खोजी । होटलमा तीन महिनादेखि उसले खाएको बसेको पैसा तिरेकै रहेनछ । रजनीसँग पैसा थिएन । गलामा एउटा सिक्री थियो । त्यही बेचेर भए पनि तिर्छु भनी ऊ त्यहाँबाट बाहिर निस्की । आमाले थोरै थोरै पैसा खुत्रुकेमा सँगालेर बनाइदिएको सिक्री बेच्दा उसको हात काम्नु कामेको थियो ।
सिक्री बेचेर होटलमा तिर्नुपर्ने बाँकी रकम तिरेर ऊ त्यहाँबाट निस्की । “कहाँ जाने, कस्कोमा जाने ? आफन्तकोमा ? अहँ हुँदैन ? भोकै मर्छु तर जान्नँ । साथीकोमा ? हुँदैन त्यहाँ पनि !” उसले शहरमा बसेको चिनेजानेका सबै आफन्तजन साथीहरुलाई एकचोटी सम्झिई तर जानको लागि उपयुक्त ठाउँ कहीँ पनि भेटिन ।
बाटोमा हिँड्दै गर्दा एकजना दिदीले ठेलामा चटपट, पानीपुरी, समोसा तरकारी, चिया बेच्दै गरेको देखी ।
“मैले आफ्नो ज्यान धान्न यो काम गर्न हुदैन र ?” रजनीले आफ्नै मनलाई सोधी । त्यो प्रश्नको प्रत्युत्तरमा उसको मनले भन्यो, “गरिखान केको लाज चोर्न पो भएन र !”
चटपटबाट सुरु गरेको व्यवसाय फस्टाउँदै गएपछि र पैसा जम्मा हुन थालेपछि उसलाई सानैदेखिको रहर पूरा गर्ने मन भयो । ब्युटिसियन बन्ने र कस्मेटिक पसल खाल्ने । रजनीलाई सानैदेखि बच्चा र बच्चाको खेलौना अति नै मन पर्थ्यो । त्यही भएर कस्मेटिक सामानसँगै खेलौनाहरु पनि राख्न थाली रजनीले । ऊ बच्चासँग घुलमिल हुनको लागि यो भन्दा अर्को उपयुक्त बहाना पनि त थिएन ! आकर्षक खालका खेलौनाहरु पसलको बाहिर झुण्डाएर राखिएका हुन्थे । त्यो पसल कटेर जाने जो कोही बच्चा ती खेलौना देखेर आफ्ना बाबा मम्मीहरुलाई सताउने गर्थे ।
एक दिन एउटा बच्चा रजनीको पसलभित्र रुँदै पस्यो । उससँगै एकजना महिला पनि काखमा सानो बच्चा च्यापेर पछिपछि आइन् ।
“कति सतास बच्चा हो यो ? जति बेला पनि खेलौनाको लागि जिद्दी गरिरहन्छ,” ती मम्मीले रजनीतिर हेर्दै भनिन्, “ए रजनी तिमी यहाँ ? कहिलेदेखि हो पसल खोलेको ?” नाम पुकारेरै बोलाएपछि रजनी झस्किई ।
“यो महिलाले मेरो नाम कसरी थाहा पाई ?” रजनी जिज्ञासु भई, “हजुरले मलाई चिन्नुहुन्छ र ?”
“किन नचिन्नु !”
हस्पिटलमा रजनीलाई भेटेदेखिका कुरा बेलिबिस्तार लगाई त्यो महिलाले । विनयको सारा कर्तुतहरुको बारेमा उसले रजनीलाई सुनाई । रजनी विनयसँग आउनुभन्दा पाँच वर्ष पहिले नै उसको बिहे भएको साथमा एउटा छोरा पनि रहेको कुरा बल्ल रजनीले त्यो महिलाबाट थाहा पाई । पछि विनयसँग रजनीको नाम जोडिएको थाहा पाएपछि घरमा भाँडभैलो नै मच्चिएछ । विनयको पहिलेकी श्रीमती अहिले डिभोर्स गरेर अलग्गै बसेकी रहिछन् । त्यो ‘खेलौना भनेर जिद्दी गर्ने’ बच्चा त रजनीकै छोरा पो रहेछ ! ती महिलाको पहिला बच्चा नभएको कारण उसलाई लिएर गएकी रहिछन् ।
“त्यतिबेला मेरो सन्तान भएन मैले जसरी भए पनि सन्तान प्राप्तिको लागि जे गर्न पनि तयार रहेँ । म आफू आमा बनेपछि बल्ल थाहा भयो बैनी, मैले त्यतिबेला तिम्रो सन्तान खोसेर कति ठूलो पाप गरेकी रहिछु ! तिम्रो आँसुले मलाई सात जुनीसम्म पनि पोल्छ होला । यो पाप त म पखाल्न सक्दिन नै, यो बाबु तिम्रो रगत हो । अब यसलाई तिमीले नै पालन पोषण गर्नू ।”
यो सुनेर रजनीका आँखाबाट आँशुका भेल थामिएनन् । रजनीले त्यो बच्चालाई अचेतन अवस्थामै जताततै चुम्न थाली ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।