‘अनिमाजी नमस्ते, सञ्चै हुनुहुन्छ ?’ बीच बाटोमै अकस्मात सुशान्तलाई अगाडि देखेर अनिमालाई के गरुँ ? के गरुँ ? हुन्छ ।
औपचारिकतावश नमस्ते फर्काउँदै मसिनो स्वरमा भन्छिन्, ‘सञ्चै छ, यहाँलाई कस्तो छ ?’
‘बाँचेकै छु भन्नुपर्यो, के गर्नु र जिन्दगी सोचेको जस्तो हुँदैन रहेछ ! कसैलाई प्रेम गर्नुपनि सजायजस्तै भयो मलाई त,’ निराश भावमा सुशान्तले भन्यो ।
अनिमालाई अँध्यारो लाग्छ, अप्ठ्यारो लाग्छ, के गरुँ, के भनुँजस्तो उकुसमुकुस हुन्छिन् ।
सुशान्तको अनुहार हेर्छिन्, दाह्री पालेको देवदासजस्तो उदास अनुहार छ । अचानक उनलाई उसप्रति दया लागेर आउँछ । मनमनै सोच्छिन्, ‘के मेरो कारणले सुशान्तको यो दशा भएको हो र ?
कहीँ यस्को दोष मलाई त लाग्दैन ? तर म के गरुँ ? मेरो बाध्यतालाई किन बुझ्दैनन् मानिसहरु ?’
ओठमा हल्का मुस्काउन ल्याउँदै अनिमाले भन्छिन्,
’आफूलाई सम्हाल्नुस् सुशान्तजी, जिन्दगी जिउन धेरै कठिन छ । सोचेजस्तो हुँदैन जिन्दगी । मेरो बाध्यतालाई बुझ्ने कोसिस त गरिदिनुहोस् ‘प्लिज’!’ दुई हात जोड्दै सुशान्तलाई हेरिरहन्छिन् ।
सुशान्त हडबडिँदै अनि सम्हालिँदै भन्छ, ‘अनिमाजी म तपाईँको बाध्यता पनि बुझ्छु, तपाईँको अतितलाई पनि स्वीकार्न तयार छु, तपाईँ स्वीकृति मात्र दिनुस्, यो समाजसँग लड्न म तयार छु ।’
अनिमा केही बोल्दिनन्, एकछिन मौन हुन्छिन् । सुशान्तको आँखामा हेर्छिन्, जहाँ मायाको सागर उर्लिरहेको देख्छिन् । दुवैको नजर जुध्छ, हत्तपत्त अनिमा नजर झुकाउँछिन्, घडी हेर्छिन् ।
‘ओहो !’ लामो सुस्केरा हाल्छिन् र भन्छिन्, ‘दश बज्न लागिसकेछ, अफिस पुग्न ढिला भइसक्यो ।’
सुशान्ततिर हेर्दै बिदा लिने आशयले हेर्छिन् र दुई हात जोड्दै सरासर अघि बढ्छिन् । सुशान्त उनी गएतिर टोलाएर हेरिरहन्छ ।
अफिसमा सँगै काम गर्ने, मिल्ने साथी अरुणाको बिहेमा भेट भएको थियो सुशान्तसँग, अरुणाले नै परिचय गराई दिएकी थिइन्– मेरो मामाको छोरो सुशान्त दादा, भर्खर अमेरिकाबाट एमडी गरेर फर्किसेको । अब यहीँ बस्ने रे हैन त दादा ?
अनिमाले नमस्ते गर्दै सुशान्तलाई एक नजर हेरिरहेकी थिइन् ।
हट्टाकट्टा शरीर, सुन्दर अनुहार तर सुशान्त पहिलो भेटमै अनिमाको सौन्दर्यमा मोहित भइसकेको थियो । अनिमालाई हेर्दै भनेको थियो, ‘आफ्नो देश जस्तो अर्काको देश कहाँ हुन्छ र ? यहाँ त सबै मेरा आफ्नै हुन् । कसो अनिमाजी ?’
अनिमाले मुस्कुराउँदै भनेकी थिइन्, ‘अति राम्रो सोच ।’ यसपछि उनले अहिलेको समयमा यस्तो सोच राख्ने कमै फेला पर्ने भन्दै सुशान्तको तारिफ गरेकी थिइन् ।
यसरी पहिलो भेटमै अनिमाको सौन्दर्यमा डुबुल्की लगाउँदै निर्णय गरेको थियो कि म यही केटीसँग बिहे गर्छु ।
अरुणाले अनिमाको अतितलाई सुशान्तको सामू राखिदिएकी थिइन् तर पनि सुशान्तको जिद्दीका अगाडि सबै फिक्का भयो । अनिमाप्रति मोहित सुशान्त कुनै पनि हालतमा अनिमालाई पाउन चाहन्थ्यो तर अनिमालाई यो कुरा स्वीकार्य थिएन ।
एकदिन त अरुणाले ठाडै भनेकी थिइन्, ‘सुशान्त दादाले मरिहत्ते गरेको छ तेरालागि । तँलाई एकदम मन पराउँछ, तँसँग बिहे गर्न चाहन्छ, घरमा सबैलाई भनिसक्यो । मेरो दादा धेरै भलाद्मी छ । हुन्छ भन् अनिमा हुन्छ भन् ।’
अरूणाको कर देखेर अनिमा तीन छक्क परेकी थिइन् । कमसेक अरुणालाई त उनको विगतका बारेमा सबै थाहा नै थियो । फेरि कसरी यस्तो भन्न सकेकी ?
एक दिन मम्मीले सम्झाउँदै भन्नुभयो, ‘अनिमा तँ किन आफ्नो दुश्मन आफैँ बन्छेस् ? आफ्नो जिन्दगीको बारेमा सोच । भविष्यको बारेमा सोच । सुशान्त धेरै असल छ । तैँले सुख पाउँछेस् । तेरो सबैकुरा थाहा हुँदाहुँदै पनि तँसँग बिहे गर्न चाहन्छ भने तँ किन पछि हट्छेस् ? अझै केही बितेको छैन । आज मलाई पनि भेट्न आएको थियो अरुणासँग ।’
‘तर मम्मी यो कसरी हुनसक्छ र ? समाजले के भन्छ ? म विवेकलाई बिर्सन सक्तिनँ ।’
मम्मीले सम्झाउँदै भनेकी थिइन्, ‘छोरी यो तेरा लागि एउटा अवसर हो, जिन्दगी बिताउने । अब तैँले विवेकलाई बिर्सनु पर्छ । समाजको पछि नलाग् । यो समाजले तँलाई के दियो र दुःख पीर सिवाय ? हुन्छ भन् छोरी, हुन्छ भन् । म तेरो सुख देख्न चाहन्छु ।’
यति नभनिसक्दै आमाका आँखाभरि आँसु टिलपिलायो । अनिमाले आमालाई अँगाल्दै रोई तर निर्णय दिइनन् ।
०००
रात गहिरिइसक्यो तर अनिमाका आँखामा निद्रा चढिसकेका छैनन् । कहिले यता र कहिले उता कोल्टे फर्किन्छिन् । छेउको घडीको टिकटिकले भने त्यो निस्तब्धतालाई बाधा पुर्याइरहेको छ ।
अनिमा बत्ती बाल्छिन् । कोठा निष्पट्ट अन्धकारबाट मुक्ति पाएर उज्यालोले नुहाउन पुग्छ । चारैतिर नजर फ्याँक्छिन् । साधारण किसिमले सजाएको कोठा । एकजोर बस्ने मेच आगन्तुकको प्रतीक्षामा बसेझैँ एक कुनामा, यस्तै अर्को कुनामा ड्रेसिङ टेबुल र पूरै जिउ देखिने ऐना भत्तामा झुण्डिएको छ । एकातिर कोठाको दराजले कोठाको शोभा बढाउन प्रयाश गरेझैँ लाग्छ । एउटा सानो ¥याक जसमा किताबहरु सजाएर राखिएको छ । लुगाहरु चारैतिर असरल्ल छन् । एउटा उमेर गइसकेको गलैचाले भुइामा लाज छोपिराखेको झैँ भान हुन्छ । भित्ताहरुमा रङ्गीन दृश्यका ठूला ठूला पोष्टरहरुले मानौ भित्तामा लिपिस्टिक लगाएझैँ भान हुन्छ । पलंगका ठिक अगाडिको भित्तामा एउटा अकर्षक व्यक्तित्वको धनी पुरुषको मुस्कान छरिएको तस्बिर झुण्ड्याइरहेको छ । एकाएक चारैतिर नजर दौडाई त्यस तस्बिरमा आइपुग्छ । एकछिनसम्म हेरिरहन्छिन् । अनि लामो सुस्केरा तान्छिन् । बिस्तारै विछ्यौनाबाट उठ्छिन् । नगिचै मस्तसँग सुतिरहेको बालकलाई हेर्छिन् । त्यो अवोध शिसुको अनुहारमा साँच्चिकै एक किसिमको कोमलता पाउँछिन् । उनी टोल्हाएर हेरिरहन्छिन् । उही नाक, उही आँखा काटीकुटी विवेक जस्तै विस्तारै विस्तारै अनुहारमा परिवर्तन हुँदै जान्छ । उनी आश्चर्य चकित भावले हेरिरहन्छिन् । एकाएक बन्द आँखा उघ्रन्छ । उनी अचम्म पर्छिन् विवेकलाई देखेर ।
‘अनु के हेरिरहेकी एकनासले ?
‘हजुरलाई नै ।’ मधुर मुस्कान छर्दै मायालु पाराले भन्छिन् । अनायसै उनी झस्किन्छिन् । आफ्नो बहुलठ्टीपन देखी आफै हाँस्छिन् । त्यो निस्तव्ध वातावरणमा हाँस्दा हाँस्दै एक्कासी उनको आँखा रसाएर आउँछ । घनघोर वर्ष भएझैँ उनको आँखाबाट अविरल आँसु बग्छ । बिस्तारै आँसु पुस्छिन् । छोरालाई हेर्छिन् । छोरो अझै मस्त निन्दामै हुन्छ । सुस्तरी पलङबाट ओर्लिन्छिन् । झ्यालबाट बाहिर हेर्छिन् । टाढा टाढासम्म नजर फ्याक्छिन् । तर बाहिर निस्पट अन्धकार औंसीको रात हुनाले उनी सिर्फ अँध्यारो मात्र देख्छिन् । टाढाबाट कुकुर भुकेको आवाज आइरहन्छ । भौ भौ भौ…।
अनिमा अन्धकारसँग आफ्नो जिन्दगीको तुलना गर्छिन् । आफू नियतिको भुमरीमा अल्झिएको महसुस गर्छिन् । अनायसै उनको मुखबाट दुई शब्द फुत्त बाहिर निस्कन्छ । ‘निष्ठुरी’ फेरि फर्केर पलङमा नै पल्टिन्छिन् । तैपनि निद्रा भने पटक्कै लाग्दैन । उनी निदाउने प्रयास गर्छिन् । तर निदाउने सब प्रयास विफल हुन्छ । फेरि उठ्छिन् । भित्तामा अडेस लगाई बस्छिन् । चारैतिर नजर सरसर्ति दौडाउँछिन् । भित्तामा झुण्ड्याएको बिहेको तस्बिरमा एकनासले टोलाउँन पुग्छिन् ।
०००
‘साँच्चै अनिमा म तिमीलाई कति मन पराउँछु, तिमीलाई के थाहा ! तिमी बिना म बाँच्न सक्दिन ल्पिज मेरो प्रेमलाई स्वीकार गर ।’ हडबढाउँदै एक सासमा विवेकले भनेको थियो ।
‘प्लिज विवेक मलाई यस्तो कुरा नगर तिम्रो यस्तो कुरा मलाइ पटक्कै मन पर्दैन ।’ अनिमाले अलि गम्भीर भई भनेकी थिइन् ।
‘किन अनिमा, के तिमी मलाई मन पराउँदिनौ र ?’
‘तिमी धेरै भावुक नबन विवेक, म त तिमीलाई सच्चा मित्र सम्झिएकी छु । एउटा आत्मिय साथी । तिमी धेरै असल अनि गुणवान् पनि छौ । तिमीलाई पाउने केटी भाग्यमानी हुन्छे । तर …’ अनिमाको वाक्य बीचमै अड्किन्छ ।
बेलाबेलामा यस्ता कुराकानी दुवैबीच भइरहेकै थियो ।
अनिमाको यस्तो जवाफले विवेक ट्वाल्ल परेको थियो । उसलाई के गरुँ के गरुँ जस्तो भएको छटपटी भएको थियो । बेकारमा प्रेम प्रस्ताव राखेछु भनेर विवेक पछुताएको थियो । तर के कसैलाई प्रस्ताव राख्नु गल्ती हो र ? प्रेम गर्छु भन्नु, आफ्नो मनको कुरा खोल्नुमा मेरो के गल्ती छ र ?
यस्तै कुरा विवेकले सोचेर मनमनै आफैँलाई सान्त्वना दिएको थियो ।
०००
निकैपछि आज बल्ल अनिमालाई चिया पिउने अफर गर्ने मौका पाएको थियो, जुन विवेकले धेरैअघिदेखि भन्ने अठोट गरेको कुरा भनेको थियो । तर अपसोच अनिमाले स्वीकारिनन् ।
चियाभेटअघि विवेक अनिमाकै बारेमा सोचिरहेको छ । ऊ सोच्छ, अनिमा पनि अवश्य मलाई प्रेम गर्छिन् । त्यसैले त उनी मेरो हरेक कृयाकलापमा चाख लिन्छिन् । मप्रति मौन प्रेमको प्रदर्शन गर्छिन् । सधैँ मेरो साथ पाउने चाहना राख्छिन् । मेरो आगमनमा प्रशन्नताको फूल छर्छिन् । यी सबै प्रेमका लक्षण त हुन् !
यस्तै सोचेर विवेक मनमनै विश्वस्त हुन्छ । तर …मलाई मन पराएको भए किन मेरो प्रेम प्रस्तावलाई स्वीकारिनन् त ? ‘स्त्रिया चरित्रो पुरुषस्य भाग्यम् दैव नजानाति …’ भनेको साँच्चै रहेछ । यसरी विवेक अन्तरद्वन्द्वमा फँस्छ । हैन, हैन.. उनी मलाई मन पराउँछिन् । शायद प्रेम प्रस्ताव अस्वीकार गर्नुमा उनका केही बाध्यता हुन सक्छन् । अर्को मनले ऊ आफैँलाई सान्त्वना दिन्छ । अनि बसिरहेको मेचबाट बिस्तारै उठ्छ । मनमनै भन्छ– अनिमा म तिमीलाई कसरी बुझाऊँ, तिमीबिना मेरो जीवन अधुरो हुन्छ भनेर ।
चियाभेटमा अनिमा जान्छिन्, विवेकले पुनः प्रेम प्रस्ताव राख्छ तर पहिलेझैँ अनिमा निरपेक्ष बन्छिन् । उनको जवाफ उही हुन्छ । विवेक आश्चर्यमा पर्छ, अनिमाले उसलाई प्रेम नगर्ने भए किन भेट्नु ?
त्यस रात अनिमालाई पटक्कै निद्रा लाग्दैन । ओच्छ्यानमा छटपटिन्छिन् । कहिले यता कहिले उता कोल्टो फेर्छिन् । तर निद्रा भने कोसै दूर रहन्छ …। पानी बिनाको माछाझैँ तड्पिन्छिन् । विवेकको सुन्दर अनुहार घरीघरी आँखा अगाडि आइरहन्छ । ‘अनिमा म तिमीलाई प्रेम गर्छु,’ उसको यो वाक्य कानमा गुन्जिरहन्छ । अनिमालाई यो वाक्य बारम्बार दोहोरियोस् विवेकको ओठबाट भन्ने चाहन्छिन् ।
भावना, दिमाग र वास्तविकताको निकै रस्साकस्सीपछि विवेक र अनिमा एक हुन्छन् । छोरो जन्मिन्छ । छोरो काखैमा थियो, एक दिन जोमसोममा विमान दुर्घटनामा विवेकको ज्यान जान्छ । सपनासरीको जीवन सम्झँदा यो रात उनलाई कहाली लाग्छ ।
ठीक यही बेला टङ… टङ…टङ… घण्टीको यो आवाजले अनिमाको अतितको पाना च्यार्र च्यातिन्छ । उनी वर्तमानमा आउँछिन् । शरीर पसिनाले निथ्रुक्कै हुन्छ । घडी हेर्छिन् । उनी वर्तमानमा आउँछिन् । …लामो सुस्केरा तान्छिन् । छोरालाई हेर्छिन् । आँखाभरी आलस्यता उर्लेर आउँछ । सुतिरहेको छोराको निधारमा मायाले चुम्छिन् । छोरो चल्मलाउँछ उनी बिस्तारै थपथपाउँछिन् ।
अझै निद्रा पटक्कै छैन । उकुसमुकुस हुन्छिन् । पलङबाट पुनः उठ्छिन् । टेबुलबाट करुवा लिई घटघटी पानी पिउँछिन् । आज विवेकको सम्झनाले उनलाई विह्वल बनाइरहेको छ । उनी झ्यालमा जान्छिन् । चिसो सिरेटोले उनको मनलाई झन् चिसो बनाउँछ । हत्त न पत्त झ्याल थुनी चुकुल लगाउँछिन् । उनको आँखा विवेकको तस्बिर राखिएको भित्तातिर जान्छ । उनी त्यहाँ पुग्छिन् र भित्ताबाट तस्बिर झिक्छिन् । सारीको सप्कोले सफासँग पुस्छिन् ।
यसरी बिहे भएको तीन वर्षमै अनिमाको घर संसार उजाडियो मात्र होइन, लक्ष्मीको प्रतिमा बनेर भित्रिएकी बुहारी बोक्सी र लोग्ने टोकुवाको पदवी पाइन् । यसपछि उनको घर उनको रहेन । माइतीको शरण उनको अन्तिम बास बन्न पुग्यो ।
०००
जिन्दगीको गाडीलाई अब अनिमाले एक्लै तान्न थालिन् । धेरै संघर्षपश्चात, नोकरी पाइन् । जिन्दगी चलाउन समर्थ भइन् । छोराको भविष्यलाई स्वर्णिम बनाउन एक्लै अग्रसर भइन् । जस्तै ठूलो दुःख आइपरे पनि विचलित नभई अगाडि बढिरहिन् । पाइला कहिल्यै डगमगाइनन् ।
उही अनुहार, उही ठूलाठूला खैरो आँखा उही नाक, काटीकुटी उही विवेकजस्तै अनुहार छोरो सुभाषको छ । मानौँ विवकेकै पुनर्जन्म हो । उनी सुभाषको चेहेरामा विवेकलाई पाउँछिन् । सुभाष उनका लागि जिन्दगीको सुनौला किरण बनिदिन्छ । विवेकको निशानी जिन्दगीको एकमात्र साहरा, हेर्दा हेर्दै पाँच वर्ष बितिसकेछ । समयले उनको घाउमा बिस्तारै खाटा लगाइदिएको छ ।
निद्रामा सानो बालक आँखा मिच्दै आमाको अनुहार हेर्छ । आमाको आँखाभरी आँसु टम्म भरिएको देखेर आश्चार्यचकित हुँदै जुरुक्क उठ्छ । अनि आफ्नो सानो कोमल हातले आमाको आँसु पुछिदिँदै सोध्छ– मम्मी किन रुनुभएको ? अनि यो पापाको फोटो किन लिसेको ?
छोरालाई चपक्क छातीमा टाँसेर म्वाई खादै भन्छिन्– हैन बाबा म रोएकी छैन । आज पापाको धेरै याद आएकाले फोटो हरेको , सुत बाबा सुत…। छोरालाई फकाउँदै सुताउँछिन् । अनि बिस्तारै हातले थपथपाउँछिन् । त्यो बालक बिस्तारै आँखा चिम्लिदै पुनः निद्रादेवीको शरणमा जान्छ । अनिमा एकनासले छोराको त्यो अबोध अनुहार हेरिरहन्छिन्, हेरिरहन्छिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।