उसले आँखा चिम्लिएर गन्धको भेउ पाउने कोसिस गर्यो तर के हो छुट्याउनै सकेन । अब यो केको गन्ध हो छाडेर केको गन्ध होइन, ऊ निधार खुम्च्याएर सोच्न थाल्यो । त्यो भर्खर धान काटेर उठाइछाडिएको खेतको गन्ध थिएन । जहाँ ऊ अहिले अल्छी मानेर पल्टिएको छ । धानका बोटका ठुटा जमिनमाथि मुस्किलले दुई इन्च छाडिएका थिए । परालको लोभमा होला, फेदै लगाएर काटिएको । जमिनमाथि रहेको रहल–पहल पराल बिहानीको शितमा लफ्रक्कै भिजेको हुन्थ्यो र जब घाम बिस्तारै तात्तै जान्थ्यो, शित बाफिएर जमिनमाथि उठ्थ्यो । भिजेको परालको गन्धमा मट्यैलो गन्ध घोलिएको एक किसिमको छुट्टै गन्ध हुन्थ्यो त्यो । ऊ भएको परिवेशमा त्यस्तो गन्ध त थियो, तर त्यो लगातारसँग उसको नाकमा ठोकिइरहेको गन्ध भने थिएन ।
ऊ पल्टिएको ठाउँबाट अल्छी मान्दै उठ्यो । परिलो घाममा ढाड सेकिने गरी जिउ तन्कायो र आकाशतिर आँखा उचालेर लामो हाई काड्यो । ऊ खेत छाडेर, खेत–मालिक मोहनको आँगनतिर लम्कियो । मोहनकी स्वास्नीले आँगनको छेउमा मिहिनेतले फुलबारी बनाएकी थिई । फुलबारीको बीचमा अग्लो धुपीको रुख थियो र छेउको कुनामा थियो तुलसीको मोठ । ऊ सरासर गएर एउटा खुट्टा उचालेर लघुशङ्का गर्न थाल्यो । पिँढीमा बसेर सयपत्रीको माला उनिरहेकी मोहनकी आमा सीताले त्यो देखिसहिनन्, छेउको कुचो उठाएर झटारो हानिन् । उसले झर्दा झर्दैको रोकेर बाटो तातायो । सीता बज्यै गन्गनाउँदै आएर कुचो उठाइन् र फेरि माला उन्ने काममा फर्किन् ।
“आज कुकुर तिहार के हिर्काउनु भन्यो, कात्तिके पड्केलाई सधैँ तुलसीको मोठमै खुट्टो उठाउनु पर्ने !”
उसले सुरक्षित दुरी राखेर आँगनको कुनाबाट सीता बज्यै पिरोलिएको हेर्यो । ऊ फेरि फर्केर जाने-नजाने दोधारमा पर्यो । तुलसीको मोठमा खुट्टा उचालेकोमा उसलाई कस्तो–कस्तो लागेर आयो । हुनलाई यो उसको रहरको विषय थिएन । यसको लागि उसको सम्पूर्ण जाति नै बदनाम जो थियो ! बाँधेर नराखे पनि, मोहनको घर नै उसको घर थियो । अहिले उसको घाँटीमा लर्किएको कात्तुके र सयपत्री मिसिएको माला पनि आजै बिहान मोहनले लगाइदिएको थियो ।
उसले अल्छी मान्दै मूलबाटो ताकेर आँगन छाड्यो । गन्ध भने अझै लखेटिनै रहेको थियो । त्यो उसको घाँटीको मालाको गन्ध होइन भन्ने उसलाई पक्का थियो । एकाएक उसको दिमागको बत्ति बल्यो । सीता बज्यैको “कात्तिके” सम्बोधनले उसको दिमागको बत्तीको स्वीच थिच्ने काम गरेको थियो । उसले टाउको घुमाएर आफ्नै टाङमुनि सुँघ्यो । त्यो अनौठो गन्ध आफैँबाट आइरहेको यकिन गरेपछि ऊ पक्का भयो, कात्तिक लागेछ । उसका नि दिन आएछन् ! कुकुरका नि दिन आउँछन् भन्ने उखान सुनेको थियो, सायद यसैलाई भनेका होलान्, उसले आफैँलाई अर्थ्यायो ।
अब ऊ पुलुकित थियो । शरीरमा अनौठो ऊर्जा भरिएर आयो । बिस्तारै हिँड्दा उकुस–मुकुस भएकाले ऊ दौडिन थाल्यो । उसका चारै पाइला जोशका साथ लम्किए । फलामको ठूलो ढोका भएको दिननाथ साहुँको घर–कम्पाउन्डको मूल–गेट छेऊ पुगेपछि उसलाई फेरि सकसक लागेर आयो । उसले गेटको आडमा अघि तुलसीको मोठमा गर्दागर्दै बाँकी रहेको कर्म पूरा गिर्ने हेतुले खुट्टो उठायो । सजातीय गन्ध थाहा पाएर भित्र भएको टोनी जोड–जोडले भुक्न सुरु गरिहाल्यो । ऊ एकछिन टक्क रोकियो, तर के सोच्यो कुन्नी टोनीको भुकाइ वास्तै नगरी आफ्नो काम सकायो ।
त्यो गाउँमा त्यही एउटा मात्र पर्खालले घेरिएको घर थियो । गाउँमा दिननाथको माइलो छोराको किराना पसल थियो । पसलका लागि होलसेलबाट सामान उठाउन शहर जाँदा उतैबाट किनेर ल्याएको थियो, टोनीलाई । नामअनुसार उसको ब्रिड पनि विदेशी थियो । पसलका सरजाम किन्ने पैसा कटाएर कुकुरको छाउरो किनेर ल्याएको दिननाथलाई कतै चित्त बुझेको थिएन तर एक रात कम्पाउन्डको गेट नाघेर घरभित्र छिरेको चोरलाई समाउन टोनीले खेलेको भूमिकापछि दिननाथले छोराको लगानीमा चित्त बुझाएका थिए । दिननाथ बिहान–बेलुका साङलो हातमा लिएर टोनीलाई डुलाउन निस्कन्थे । घरको पर्खालभित्र त्यही साङलोले टोनी बाँधिन्थ्यो । रात परेपछि भने कम्पाउन्डको मूल–गेटमा भित्रबाट ताला लाग्थ्यो र टोनीको साङलो फुस्काइन्थ्यो । अघि टोनी भुके पनि उसले वास्ता नगरेको कारण त्यही थियो । साङलोले बाँधिएको टोनीले जति जोडले भुके पनि उसलाई टोक्न–दपेट्न आउन सम्भव थिएन ।
ऊ ढल्किदै–ढम्किदै र बाटोमा भेटिएका सबैलाई पुच्छर हल्लाउँदै स्कुलको चौरमा पुग्यो । चौर बीचको लिङ्गे पिङमा साना-ठूला सबैको झुत्ती थियो । खेल्ने पालो आउनसाथ स्मार्ट फोन भएकाहरु सेल्फी खिच्न रोकिन्थे र फोन अर्कोलाई दिएर आफू मच्चिन थाल्थे । मच्चाएर लिङ्गो कटाउँदा नकटाउँदै तल बसेकाले कोण–कोणबाट फोटो खिचिदिनु पर्ने अघोषित नियम थियो । कोही कोही ठिटाहरु फ्रक लगाएर पिङमा मच्चिने तरुनीहरुको लो–एङ्गलबाट फोटो–भिडियो लिने दाउमा पिङ छेऊ भन्किरहेका थिए ।
उसलाई यो सबमा अहिले कुनै रस थिएन । उसले चौरको एक कुनामा, रानी पेपर–टपरो चाटिरहेकी देख्यो र त्यतैतिर हान्नियो । चौर पारिको राई ठूलेको घर, रानीको पनि घर थियो । राई ठूलेले दिएको तिहारको भाग बोकेर चौरमा बसेर आनन्दले खान आएकी होली रानी । ऊ छेउ पुगेर रानीको शरीर घुमी–घुमी सुँघ्दै लुटपुटिन खोज्यो । रानी झन्झट मान्दै पन्सिई र आफूलाई टपरो चाट्नैमा व्यस्त राखी । उसलाई थाह थियो, “नो मिन्स नो” । उसले मान्छेले जस्तो जबरजस्ती गर्न जानेको थिएन । त्यस्तो गर्ने मान्छेलाई कस्तो नरपशु रहेछ, कुकुर जस्तो, भनेको सुन्थ्यो । सम्पूर्ण प्रजातिकै लागि फोकटको आरोप थियो, त्यो ।
ऊ पुच्छर हल्लाउदै रानीसँगै टपरो चाट्न थाल्यो । उसले कुरो बुझ्यो, आज रानीको अघिपछि दगुर्न पर्ने भयो ।
“यसपालि टोलका को–कोसँग लाप्पा खेल्न पर्ने हो ?” ऊ मनमनै गन्न थाल्यो । भुकेर तर्साउँदैमा लुरुक्क परेर छेउलागे त ठीकै थियो, तर झम्टिनै आउनेसँग त भिड्नै पर्ने हुन्थ्यो । हुनलाई उसले यो दशैँमा राम्रैसँग हड्डी चपाउन पाएको थियो । यसै दशैँताका फूलपातीका दिन राई ठूलेले राँगो ढालेका थिए, रानीको भागमा सिङ्गै कान परेछ । घुम्दै–सुङ्दै ऊ पनि त्यहीँ पुगेको थियो । रानीले आधा कान उसलाई खान दिएकी थिई । सम्झिएर ऊ मख्ख पर्यो ।
“रानीले पक्कै सम्झेकी होली !” ऊ रानीसँग ढेपिदै अगाडि लाग्यो । रानी पुच्छर हल्लाउँदै उसलाई पछ्याउन थाली ।
दशैँ त मान्छे भन्दा पनि, उनीहरुकै लागि पो हो कि क्या हो ! टन्न हड्डी र मासु–भात खाएर बलियो भएपछि सुरु हुन्छ । अनौठो तर्कनामा डुबेको ऊ घुमीफिरी फेरि स्कुलकै चौरमा आइपुग्यो । पिङतिर नगएर ऊ चौरको कुनामा भएको बरपिपलको बोटतिर लम्कियो । पिपलको फेदमा खुट्टो उठाएर फेरि एक राउन्ड तुर्रक्याएपछि ऊ भुइँमा पल्टियो । रानी पनि उसैको छेउमा उत्तानो पल्टिएर भुईंमा ढाड दल्दै कुइँकिन थाली । ऊ रिल्याक्स मुडमा रानीको चर्तिकला हेर्न थाल्यो ।
उसलाई एउटै डर टोनीकोसँग थियो । टोनी हुनेखाने घर खलकको ! दशैँ बाहेकका महिनामा पनि लगभग हप्तैपिछे दिननाथकोमा मासु पाक्थ्यो । उसले दिननाथको भन्छाबाट आएको मासुको हरक कम्पाउन्ड बाहिरैबाट धेरैपटक र्याल चुहाउँदै सुँघेको सम्झियो । मासुमा लटपटिएको भातको डल्लो र रहलपहल हड्डीको मिठास कल्पिँदै उसले प्रत्येक पटक टोनीको भाग्यको ईर्ष्या गरेको थियो । सधैँ मासु–मसिनो खान पाएकाले टोनी ऊ भन्दा बलियो देखिन्थ्यो ।
“टोनीको फेला परियो भने नसकिने पो हो कि !” उसलाई हल्का चिसो पस्यो ।
धनी गरिबको विभेदले अवसरमा ल्याउने असर सम्झेर उसमा भएको वर्गीय चेत एकाएक उर्लिएर आयो र ऊ जोडसँग भुक्यो । रानी तर्सिएका आँखाले ऊतिर हेर्दै के भएको छुट्याउन खोज्दै थिई । ऊ बसेको ठाउँबाट उठ्यो र रानीलाई आफ्नो थुतुनोले हल्का ढकेल्दै बरको रुखको आडतिर ठेल्न थाल्यो । रानी पनि ऊसँग लुट्पुटिन थाली । केही हुन लाग्दालाग्दै पिङ छेउका केही ठिटाहरुले हानेको ढुङ्गो उनीहरुको बीचैमा आएर बजारियो । एउटा ठिटो खेल्दाखेल्दैको पिङको काम्रो निकाली उनीहरु भएतिर सोझिएर आयो । हतारमा भाग्दा चौरको एक कुनोतिर ऊ पुग्यो । रानी अर्को कुनोतिर छुट्टिई । अघि आफैँले झट्याएको काम्रो ठूलो बहादुरी गरेको भावमा उठाएर खित्किदै ठिटो पिङतिर फर्कियो ।
“यी कुकुरलाई कार्तिक लागेर हैरान, लाजै नलाग्ने भनेको ! जहाँ मान्छेको भिड त्यहीँ आएर गाँसिनु पर्ने !”
साँझ पर्न पर्न लागेको थियो । राई ठूले “च्यो च्यो” गर्दै चिच्याएर रानीलाई डाक्दै थिए । तास खेल्न जाने हतारमा बेलुकाको भात चाँडै खाएर बुढियाको काम सकिदिएका होलान् ! रानीले एक पटक पारिबाट फर्केर उसलाई हेरी र राई ठूलेका हातमा अहिले भएको भातको डल्लो सम्झेर घरतिर दगुरी । उसले देखिञ्जेल रानीलाई हेर्यो ।
आफ्नै तिहारको दिन उसको मुड बिग्रियो र अघिका भिलेन ठिटाहरुलाई मन मनै सराप्यो, “मलाई गरिखान दिएनन् असती बाह्रमासेहरुले । देउसी–भैलोको खोलओढेर को–को कस–कसका पछि लागेका छौ यसपालि म सबको खबरदारी गर्छु ।” ऊ फन्किदै घरतिर फर्कियो ।
राति ऊ फेरि फर्केर स्कुलको चौरमा पुगेको थियो तर त्यहाँ रानीको छनक कतै थिएन । पिङ पनि खाली थियो ।
“राई ठूलेका पछिलागेर कुन् तासअड्डा पुगी होली !” उसले निर्क्योल गर्यो । खोज्दै प्रधान कान्छाको तास खलसम्म पुगेको ऊ, मोहन भएकाले त्यतै अड्कियो । खलमा न त राई ठूलेको ठूलो स्वर सुनियो, न त उसले वरिपरि रानीको गन्ध नै चाल पायो । उसले लख काट्यो, “बूढा पारि लिम्बु गाउँतिर गए होलान् ।”
लक्ष्मीपूजाको रात भैली–नाच लिएर हिँडेको मोहनको टोलीसँगै ऊ पनि दिननाथको घर कम्पाउन्डको गेटबाट भित्र डराई–डराई छिर्यो । भित्र टोनीको बासी गन्ध मात्र थियो, ऊ नडई घरको आँगनतिर लाग्यो । गेट छिर्नेबित्तिकै टोलीको कसैले सोध्यो, “घरको कुकुर कता छ हौ, बाँधेको त छ नि !”
चोर समात्न टोनीले खेलेको आक्रमक भूमिका गाउँभरिका सबैलाई दिननाथले फूलबुट्टा भरेर सुनाएका थिए । त्यसले दिननाथको घरमा छिर्ने जो–कोहीमा एउटा भय सिर्जना गरिदिएको थियो । दिननाथको नाति गेटमा खैलाबैला सुनेर अघि नै तल आँगनमा झरेका रहेछन् भन्दै थिए, “यो महिना त कुकुरालाई साङ्गलोले बाँधेर राख्यो भने त पापै लाग्ला नि हौ ! कुकुर तिहारको साँझ फुकाएर छाडिदिएको थिएँ, अहिलेसम्म फर्केको छैन । तल स्कुल चौरतिर रल्लिँदै होला !”
स्कुलको चौरतिर सुनेर उसका कान टाठा भए ।
आशीक सकेर टोली चिया रोटी खाँदै थियो । आजको अन्तिम घर भनेकाले दिननाथले बुहारीलाई चिया पकाएर दिन अह्राएका थिए । दिननाथको नाति एउटा कुनामा आफ्ना दामलीहरुसँग फेसबुक हेर्न मस्त थियो । उसले छिल्लिँदै आफ्नो लेटेस्ट पोस्ट सुनायो, “माई पेट, विथ् हिज् मेट ! ऐभ्री डग हयाज् हिज् डे !”
क्याप्सनमुनि टोनी र रानीको नन–अपत्तिजनक तर सँगै रहेको फोटो थियो ।
“३३३ कमेन्ट सबै, एल् ओ एल् ।”
कमेन्ट गन्नु थिएन टाटेलाई । उसलाई भाउन्न भएर आयो र एक्कासि जोडसँग चिच्याउन थाल्यो । उसको भुकाई सुनेर सबैको ध्यानाकर्षण टाटेतिर भयो तर आवाज चाहिँ माथि बरन्डाबाट दिननाथको मात्र आयो, “ए यसलाई धपाओ कि केही खान देओ । कुकुर रोएको अलच्छिनी भन्छन् ।”
कसैले हानेको सेलरोटीको झट्टी उसको कानैमा सिउरिन आइपुग्यो । उसले झट्कारेर रोटी झार्यो र गेटबाहिर हुत्तियो ।
“क्लाइमेक्समा,” ऊ बेतमाससँग ठूले राईको घरतिर दौडिँदै थियो, यता दिननाथको घर—कम्पाउन्डबाहिर उभिएको मोहन चिच्याउदै थियो, “च्यो टाटे च्यो च्यो, आइज है घर जाउँ अब !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।