शिव रेग्मीसँग वार्ता
(शिव रेग्मी दुर्लभ पत्रपत्रिकाका संकलक, अध्येता तथा विद्वान थिए । नेपाली वाङ्मयमा योगदान पुर्याएबापत प्रतिष्ठित जगदम्बाश्री पुरस्कार पाएका उनीसँग २०७५ साल भदौ २ गते शनिबार उनकै निवास बानेश्वरमा लिएको टेप वार्ता प्रस्तुत छ । जीवनको उत्तरार्धका बेला शारीरिक रुपले गलिसकेका भए पनि उनले अन्तरवार्ता दिए, तर छोटो समयमै थकित भएपछि उनले छुटौँ भने । सम्भवत: यो उनको अन्तिम अन्तरवार्ता हो । )
शिव दाइ, आजकाल तपाईंको दिनचर्या कस्तो छ ?
अब त धेरै कुरा बिर्सन थालेँ, धेरै आफ्ना आर्टिकल पनि कहाँ छापियो, कहिले छापियो, सम्झिन बहुत मुस्किल भो । अब यो उमेरले पनि हो । दोस्रो कुरा अलिकति सुगरले पनि हो । मान्छेलाई के हुँदो रहेछ भने अब चाहिने मैले उन्नति गर्न सक्तिनँ भन्ने कुरा पनि भित्रैदेखि फिलिङ्गस् हुँदोरहेछ । आउँदोरहेछ । बुढेसकाल भो । अनि केही खोजेपछि नपाउने, निराश हुने, छिटै थाक्ने । यो कारणले गर्दा पनि लेख्ने काम पनि बहुत मुस्किल हुन्छ । ‘रचना’ र ‘अभिव्यक्ति’लाई प्रत्येक अङ्कलाई यौटा आर्टिकल दिन्छु भनेको । यो पल्ट अभिव्यक्तिलाई दिन सकिनँ मैले । रोचकलाई अहिलेसम्म पुर्याईराछु । फेरि म जे पायो त्यही नलेख्ने, छोट्टै भए पनि ठोस कुरा यौटा दिउँ, नयाँ कुरा दिउँ भन्ने चाहन्छु । त्यही भएर अलि गाह्रोसँग दिन बितिराको छ ।
तपाईंले लेख्न पहिला शुरु गर्नु भाको कि साहित्यिक पत्रिका पुस्तक सङ्कलन गर्न ?
म सङ्कलनमा लाग्या भन्नुहुन्छ भने मेरो घरैमा सङ्कलन थियो । मैले कमसेकम एसएलसी दिंदाखेरि त्यतिबेलासम्म नेपाली भाषामा प्रकाशित किताबहरु पढिसक्या थिएँ । एसएलसी दिनुअगाडि नै । घरका किताब र लाइब्रेरी गएर पढिरहन्थेँ म । किनभने अब पाठ्यपुस्तक कम हुन्थ्यो । महङ्गो भएर । अनि पाठ्यपुस्तकको सट्टा अरु किताब भए पनि चौबीसै घण्टा पढिरहने बानी बस्यो।
त्यो बानी कसरी भयो ?
पाठ्यपुस्तक नभएर । जस्तो कि अब अर्थमेट्रिक अल्जेब्रा भन्ने महँगो थियो त्यतिबेला । तीन रुप्याँ । चार रुप्याँ । पाँच रुप्याँसम्म पर्थ्यो । अब त्यो तीन रुप्याँ, चार रुप्याँ, पाँच रुप्याँ पर्ने किताब किन्न त आफूले सकिने कुरा आएन । त्यो बेलामा हामीले एसएलसी दिंदा चार रुप्याँ असी पैसा मैनाको पर्थ्यो। हामीले जुत्ता लाउन पाएनौं । एसएलसी दिने बेलामा मात्र जुत्ता लाउन पाइयो बल्ल ।
कति सालमा दिनु भयो एसएलसी ?
पन्ध्र सालमा ।
पन्ध्र सालमा त म जन्मेको !
हो ? ए । मेरो एसएलसी पन्ध्र सालमा । त्यसपछि नवीन विकास मण्डल तेह्र सालमै खुल्यो ठमेलमै ।
के खुल्यो ?
नवीन विकास मण्डल पुस्तकालय । ठ्याक्कै अगाडि । त्यहाँ गएर पढ्थेँ म । बाहिरका किताब पनि पढ्थेँ । पछि त्यहीँ भोलिन्टिएर भएर किताब सिताब दिने, पछि आफैँले लाइब्रेरी पनि खोलेँ । घरमा किताब ल्यायो, राति पढ्यो । मैले नेपाल भाषा प्रकाशिनी समितिका किताबदेखि धेरै किताब त्यस बेलामा पढेँ । मलाई इन्ट्रेस्ट केमा लाग्यो भने किताब भन्दा पत्रिकामा । प्रगति पढेँ मैले । नौ सालमा निक्ल्या हगी । अब धरती तेह्रमा । ईन्द्रेनी बाह्रमा -तेह्रमै निक्ल्यो । शारदा त थाहा पाइहाल्नु भो, घरमै एकदुई अङ्क पाइयो । त्यसपछि उदय छापियो । सबैसबै पढ्थेँ म । अब मसानको पहिलो संस्करण मेरो घरमा पहिलेदेखि थियो । मुनामदन थियो । बालकृष्ण समको प्रह्लाद थियो । बुझे पनि नबुझे पनि त्यो पढिहाल्थेँ । मुकुन्द इन्दिरा । मुटुको व्यथा । अनि पन्ध्र सालपछि पत्रिका जम्मा गर्न लागेको हो ।
लेखकहरुसँग सम्पर्क कसरी गर्नु भयो ?
लेखकहरुसँग सम्पर्क त्यत्ति राम्रो भएन मेरो । किन ? म जागिरे । म अब जहाँ पायो त्यहाँ जान पनि जाँदिनथेँ । सम्मेलनमा जान थाल्या त पैंतिस छत्तीसपछि मात्र हो । यसो मौका मिलेर अफिसबाट भाग्न पाइयो भने न जाने हो ! नत्र कहाँ जानु ? अफिसले खोजिहाल्छ । जागिर खाएँ बाइस सालमै ।
अनि देवकोटाजीलाई भेट्न पाउनु भो ?
मैले कहिल्यै देखिनँ उहाँलाई । कहिल्यै कुनै समारोहमा देखिनँ ।
शङ्कर लामिछाने ?
शङ्कर लामिछानेलाई पनि भेटिनँ । छन त थिए उनी । चल्ती फिर्ती यताउति, झल्याक झुलुक देखियो होला ।
पारिजातलाई पनि भेट्नु भएन ?
पारिजातलाई त भेट्दै भेटिनँ । त्यो झ्यालमा बसेर पुतली सडकको पहिलो डेरा, त्यहाँ म जहिले पनि देख्थेँ । बहिनी सुकन्या योजना आयोगमा सुब्बा थिइन् । हामी खर्दार हुँदा उनी सुब्बा थिइन्, माथि । खरर्र दौडेर यताउति चल्ती फिर्ती थिइन् । पारिजातलाई पनि भेटिनँ । पछि प्रधान मन्त्री कृष्णप्रसाद हुँदाखेरि उनी आउने भन्ने कुरो भो क्यार ! मैले व्यवस्था गरिदिएँ । प्रधानमन्त्रीले चढ्ने लिफ्ट त्यहाँ राख, उहाँको त्यो ह्वील चेयर त्यहाँ ऊ गर, अनि त्यहाँबाट लैजाऊ भनेँ । म त एकछिन त्यहीं बसेँ अनि माथि पुर्याएपछि मैले प्रधानमन्त्रीको गेटसम्म पुर्याइदिएँ । ह्विल चेयरमा उनी भित्र गइन् । उनले पनि पुछताछ गरिनन् । मैले त चिनेँ । आफूलाई चिनाउन मन लागेन । मैले सबभन्दा पहिले पढेको उनको शिरिषको फूल । यही किताब हो ।
अनि यो २०४८ सालमा हैन पारिजातलाई भट्टराईसँग भेट गराको ?
हो ।
प्राज्ञिक संघर्ष समितिको ज्ञापनपत्र बुझाउन गाको !
अँ, हो । त्यहाँ भीडै थिएन । उहाँलाई मात्तै लिफ्टबाट लिएर गएको ।
कोको थिए त्यहाँ अरु? तपाईंलाई याद छ ?
याद छैन ।
पारिजातको मात्रै याद छ !
पारिजातको मात्रै । सँगै त लिफ्टमै बसेँ । एक भर्याङ माथि लगेर अनि भित्र हो नि त लैजान गाह्रो पर्यो । प्रधानम्न्त्रीले भन्दा पनि क्यै भनेनन् लिफ्टबाट ल्याको भनेर । उनलाई वास्ता पनि थिएन । भित्रसम्म लगिदिएँ । अनि त्याँबाट फेरि ओरालेर अनि तल झारेँ ।
अनि तपाईंको यत्ति धेरै सङ्कलन छ, कत्तिले मागेर लिएर गएर नफर्काउने पनि छन् कि ?
नफर्काउने बिरलै होलान् । मैले बिर्स्या धेरै छ । किताबै पनि आएन । छैन अहिले खोज्दा । जस्तो ध्रुवको मेरो बाल्यकाल राम्रो थियो । त्यो कल्ले लग्यो, लग्यो । छैन । अब अहिले छैन । त्यो कल्ले कतिबेला लग्यो, गोठालेको भोको घर । ल मलाई क्लासमा पढाउनु छ, अहिले गएर पढाउँछु अनि ल्याउँछु भन्या अझै सम्झिन्छु । मान्छे सम्झिन्नँ । त्यसरी लैजाने छन् । पत्रिकाहरु पनि छन् । विद्या पत्रिका, पाल्पामा प्रिन्सिपल छ रे अहिले त्यो, भट्टराई भन्ने । मन्त्री परिषदमा थिएँ, प्रधानमन्त्री कार्यालयमा थिएँ । त्यहाँ आएर मलाई विद्याका दुईवटा ३५ र ३६ नभई भएन, अरु सप्पै पढेँ, त्यसको थेसिस लेख्नलाई चाहियो भनेर उहीँ लगेर दिएँ । ल्याउनोस् है भनेँ, हस् भन्यो । ल्याउँदै ल्याएन । अनि पछि पूरा गरेँ । अहिले छ पूरा । त्यसको पनि इतिहास लेख्न बाँकी छ । अब अहिले इतिहास लेख्न खोज्छु, लेखिंदैन अहिले । पन्ध्र मिनेटमा एउटा प्याराग्राफ लेख्न गाह्रो हुन्छ, एउटा त हात काम्ने भो, अर्को जथाभावी ह्रस्व दीर्घ हुने भो । क लेख्या ठाउँमा ग हुने भो । त्यस्तो भो अहिले लेख्नलाई ।
अनि तपाईंसँग भाको पत्रिकाहरुको कत्तिको सम्झना छ ?
यो पत्रिका चाहिँ छ भन्न सक्छु म । जस्तो यन्त्रणा । कति अङ्क, छ न त छ । तर कति याद भएन ।
अनि यो सङ्कलन केही काटछाँट गर्नु भाको हो ?
सेट जत्तिलाई राखें । सेट नमिल्या जत्ती मार्टिन चौतारीमा लगेर दिएको । जस्तो मिर्मिरे राखिसाध्य भएन, राखिनँ । कृषि विकास बैङ्कको समष्टि, त्यो पनि राखिनँ । दिएँ ती सबै ।
अनि यी सबै पत्रिकाहरु अब आगामी समयमा भविष्यमा के गर्ने सोच छ त ?
जे हुन्छ त्यही गर्ने । अब मैले यसो गर्ने भनेर अब सक्दिनँ म । छोरीलाई राख्न मन लाग्यो, ज्वाईं सापलाई राख्न मन लाग्यो, नातिले राख्छु भन्यो भने राखोस्, पढ्न देओस्, फोटो कपी गर्न देओस्, हैन ? नत्र भने मैले यसो गर्ने भनेर पुग्दैन । मैले बोल्नु मात्तै हुन्छ । किनभने यो सधैँ म नभएपछि यहाँ भाडामा पनि दिन मिल्छ क्यारे !
त्यही त दुइटा कोठा, यही दुईटा कोठा होईन ?
चारवटा ।
चारवटै कोठामा किताब छन्?
छन् । आखिर चल्ती त हुने नै भो नि ! राख्नु भो भने अध्ययनको लागि राख्नु भए पनि हुन्छ । नत्र भने अरु विचार छैन । मेरो अब केही आकाँक्षा छैन । अब यस्तो भयो भने यस्तो हुन्छ भन्ने ।
भाउजू कहिले बित्नु भाको ?
बहत्तर सालको मङ्सिर बीस गते ।
त्यसपछिको जीवनमा एकाकीपन, एक्लोपन कत्तिको अनुभव गर्नुहुन्छ ?
क्यै भएन । यहीँ आयो, बस्यो । मान्छेहरु आउनुहुन्छ । किताबहरु ल्याइदिनुहुन्छ । पढ्ने कुरो पढ्यो । राख्न मन लागे राख्यो, नभए त्यही मार्टिन चौतारीलाई पठाइदियो । राखिसाध्य पनि हुन्न कतिपय किताब । त्यही हो । अहिले मैले भएसम्म आर्टिकल बटुलेर किताब यौटा छोडेर जाउँ भन्ने लाग्या छ ।
अहिले तपाईंको सरसंगत, नियमित रुपमा कोसँग भेट हुन्छ ?
मलाई यहाँ सहयोग गर्ने मार्टिन चौतारीकै एकजना अर्जुन पन्थी भन्ने हुनुहुन्छ । फोटोकपी सोटोकपी गर्न हेटौंडाको आरसी रिजाल उहाँ पत्रिका सत्रिका पनि निकाल्नु हुन्छ ।
हो “अक्षर” !
कहिलेकाहीं विशेषाङ्कको लागि सामाग्री खोज्दिनुपर्छ उहाँलाई । युध्दप्रसाद मिश्र विशेषाङ्क निकाल्दै हुनुहुन्छ । यस्तै हो ।
अरु साहित्यकारहरुको आउजाउ कत्तिको छ त ?
त्यत्ति छैन । आउन त आउनुहुन्छ । तुलसी भट्टराईहरु, गोविन्दराज पनि आउनुहुन्थ्यो पोहोर सालतिर, अहिले आउनु भएको छैन । तुलसी भट्टराई आउनुहुन्छ ।
कमलमणि दीक्षितसँग तपाईंको राम्रो बसउठ थियो हैन ?
थियो । मैले चिताएकै थिईंन । त्यसरी पुरस्कार दिन्छन् भन्ने ।
जगदम्बाश्री !
अँ । किनभने त्यो उनले मलाई एउटा ठूलै गुन लाएरै गएको हो ।
त्यत्रो योगदान दिएर गएको भए पनि कमलमणि दीक्षितको मूल्याङ्कन भएन भन्ने लाग्दैन ?
हैन, कमलमणिलाई सप्पैले तारिफ मात्रै गरे । मूल्याङ्कनतिर कोही पनि गएन ।
कि तारिफ गरे, कि आलोचना गरे !
आलोचना पनि कल्ले गर्यो र ? दुई चारवटा त्यही नचाहिने कुरामा आलोचना गरे । उसको ठोस कुरामा त आलोचना भएन नि ! उसको लेखापढीमा हुनुपर्थ्यो आलोचना । उसको सम्पत्ति खायो भन्दैमा रिस गर्ने त कुरा आएन नि ! उल्ले कमाएको थियो, कमायो। के भो त अब ? त्यो सम्पत्तिमा रिस गर्नुहुन्न क्या ! उसले आफ्नो मिहिनेत गरेर त्यो पनि त त्यल्ले सुखसँग खाको होइन होला । हैन ? दु:ख त त्यहाँ पनि थियो । धेरै चैँ मान्छेले नेपाली साहित्यमा त्यत्रो गर्नु पनि राम्रै हो । नरेन्द्र पनि त छ । त्यो गुना नरेन्द्रले पनि गरिराछ । ऊ एक नम्बरको डाँकु भैदिएको भए तपाईं हामीलाई गाह्रो हुन्थ्यो । दु:ख हुन्थ्यो भनौं न । ऊ त अब यौटा बाटोमा -कुबाटोमा छैन सुबाटोमै छ नि ! त्यसकारण उसको रिस गर्नु पर्ने पनि केही कारण छैन । उसको आफ्नो बानी छ । त्यो बानी छुट्तैन त्यत्ति हो । ठीक छ, नरेन्द्रको बाटो पनि ठीक छ । कमलमणिले चैं मलाई त्यो पत्याईनसक्नु गुन गरेर दिए । ऊ मरेको दिन म पूजा कोठाबाट उठ्दा लडेँ । मलाई थाहा थियो, उनी बिते भनेर । म लडेर एकछिन भएपछि उठेर गएर फोन सुनेको ठ्याक्क रोचकजीको फोन आयो- कमलमणि बिते भनेर । पछिल्लो पटक उहाँसँग फोन हुँदा उहाँ नर्भिक हस्पिटलमा अम्बर गुरुङ भन्ने एउटा काम गर्थ्यो त्यहाँ, मदन पुरस्कारमा ऊ बेहोस भयो भनेर उल्लाई हेर्न जानु भा । एउटा किताव मेरो त्यहाँ बाँकी नै छ । अब छाप्छन् कि छाप्दैनन् । यो पल्ट छाप्छन् कि ? मलाई फोन गरेका छैनन् !
जगदम्वा प्रकाशन ?
होइन । नेपालीमा । सम्पादकलाई चिट्ठी । त्यो सप्पै पाण्डुलिपि टाइप गरेर मैले लगेर बुझाउन लगाएँ । म लडेँ यहाँ । उठ्न सकिनँ । त्यो बेलामा अनि टाइप गर्ने मान्छेलाई नै त्यहाँ लगेर बुझाइदेऊ भनेँ । बुझाइदियो । कमलमणिले पढे । हुन्छ भनेर फोनमा कुरा भो । के गर्ने ? सम्पादकमा तपाईंलाई नाम राख्न मन लाग्दैन भनेपछि यसमा हाल्दिए हुन्छ भनेँ मैले । अनि त्यहीलाई ताकेता गर्न फोन गर्या, म अहिले नर्भिक हस्पिटलमा छु रेग्मीजी पछि गरौंला है भन्नु भो । मलाई कस्तो पछुतो लाग्यो, मैले नगर्या भए हुने रहेछ भन्ने लाग्यो, फोन पनि, त्यो अधूरो भो । त्यसपछि उहाँसँग फोन भएन । अनि त्यो हरायो । छोरालाई भनेँ मैले पोहोर साल जाँदा । बुबा स्वर्गे भएपछि मैले टेबल खोल्या छैन, अन्त कहीं पनि छैन भने । अब फेला पर्यो रे भन्ने सुन्या छु । मैले ताकेता गरिनँ । बाउको माया छ भने गर्देऊ, नत्र मलाई पैसा आउने पनि होइन । यो किताब निक्ल्यो भन्ने मात्रै हो । अनि मैले ताकेता गरिनँ । जे गर, अब बाउको नाउँ ।
पहिले पहिलेका पुराना-पुराना साहित्यकारहरुसँग तपाईंको अक्षरसँग मात्र भेट भो, मान्छेसँग भेट भएन ?
भयो । मदनमणि माड्सापको धेरै सङ्गत गरें । ईश्वर बरालको हुनसम्मको सङ्गत गरें । उहाँले मलाई हुनसम्म मद्दत गर्नु भो । सङ्गत त शरत्चन्द्रसँग त्यत्रो भयो । सङ्गत भयो, नभएको होइन, तर अब के भने मान्छे आआफ्नो स्वार्थमा हुने हुनाले त्यत्ति लागिरहिनँ । फेरि म त्यत्ति पछ्याइरहने व्यक्ति होइन । त्यही भनेर लागिरहने परिनँ ।
ईश्वर बरालले के मद्दत गर्नु भो ?
धेरै गर्नु भो । मैले त्यो शारदाको सम्पादकीय उहाँ नभा भए ननिस्किने । निकाल्न सक्तिनथें म ।
एकेडेमीबाट निस्क्यो त्यो ?
अँ, निस्क्यो । त्यो सप्पै एकसय बयासी अङ्क शारदा निक्ल्या भनेर भन्न सक्ने त मैँ भएँ नि ! कमलमणिले भनेनन् । अलि मिल्दैन भने । के मिल्दैन भन भनेको सकेनन् । एकसय बयासी अङ्कमा एक सय एकासी अङ्कको सम्पादकीय छ, एउटा अङ्कमा सम्पादकीय देखिएन । त्यो किताब बहुमूल्य छ, तपाईं एकेडेमीमा अझै नबिकेर बस्या छ । त्यो किन्नु भए हुन्छ । हाप मोलमा ।…अब अर्को गर्ने मेरो भारतीको विचार थियो । भारतीको पनि । जम्मा ९९ अङ्क निस्क्या मैले सप्पै टिपेर …..
तपाईंसँग सबै छ त्यो ?
भारती छ । एउटा दुइटा पुग्दैन । छ ।
अरु केही गर्दै हुनुहुन्थ्यो कि ?
उदयको गर्ने भनेर गर्दिएँ । काम गरेन ।
कल्ले ?
त्यो दुर्गाले ।
के गरे ?
त्यो रत्न पुस्तक भण्डारलाई बुझाइदियो । तीस हजार पारिश्रमिक तपाईंलाई दिने भनेर पारिश्रमिक पनि तोक्यो । दुर्गाले बाउको जन्म शताब्दी डिजल्भ गर्यो अनि त्यो रत्नले के वास्ता गर्थ्यो र ! अब उल्ले सित्तैमा छाप्नुपर्ने भो । त्यत्तिकै सेलायो ।
तपाईंसँग कपी छ ?
छैन । सम्पादकीय कपी राख्ने सम्भव पनि भएन ।
हो !
अहिले छुटौं । …
हस् !
ल तपाईंलाई पनि धन्यवाद धेरै !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।