अनायास जन्मिने मान्छे, अनायास हुर्किने मान्छे, अनायास जीवनको यात्रा गर्ने मान्छे ! यात्रामा अनायासै यो विशृङ्खलित जीवनको साँझ एउटा विशिष्ट लेखकीय साँझमा कायान्तरण भएको छ । दिनमा हृदयाङ्कित चित्रमाधुरीसँगै धमिलिँदो साँझमा आफ्ना अनुभूतिहरूको विश्लेषण र अध्ययन गर्ने श्रद्धेय स्रष्टा देवकोटा पहाडी झरनाको सङ्गीतमा मन्मय छन्, यसैले कि उनी अँध्यारो संसारमा पवित्र हृदयगिरिबाट झरेका हजार सुन्दर झरनाको उज्यालो शक्ति र सङ्गीत कल्पिरहेछन् तर व्यर्थै बगिरहेकोमा दुःखित देवकोटा जिन्दगीको मौसम रहँदै आत्मशुद्धिका लागि आफैभित्र चेतनजल छरिरहेछन् । सम्भवतः उनी हृदयको तानसँगै जीवनका आँसु र हाँसो बजिरहने लयदार स्मृतिको गाढा रङ्गमा गुन्जिरहेछन्; सम्भवतः उनी फुल्दो गुलाफ हेर्दै तत्त्वज्ञान खोजिरहेछन् ।

साँझ क्रमशः श्वेतरात्रिमा अनूदित हुन्छ ! ….!!

एक अर्थमा अनायास बग्दै गरेको पानीजस्तो मेरो चेतनयात्रा देवकोटासामु छोटो विश्राममा छ, यतिखेर । कालो देखि

मोमिला

ने हरिया पहाडहरू पनि नतमस्तक छन् उनीसामु । घरिघरि आकाशको जून हाम्रो आँखामा छेकिन्छ र कालो विषाद फैलिन्छ धर्तीमा । यसरी मान्छेका विरुद्ध रङ्गीचङ्गी फूलहरूको कालो जुलुस हिँडिरहेकै बेला जब हावाका क्रुर झोक्काहरू पनि आगामी सुगन्धी विम्बको पदचाप फैलन्छ जीवनमोहको पर्दाभरि; आफ्ना सारा बाहिरी रङ्ग बिर्सेर फूलहरू मृत्युमुखी जीवनपीडाको रङ्गमा एकाकार हुँदै इन्द्रेणी सपना टाँगिन्छ आकाशभरि…। सायद, यसरी नै मान्छेले अनेकौँ पीडामुक्तिका लागि स्वर्गको कल्पना गरेको हुनुपर्छ !

हामीवीच केवल मौनता बोलिरहेको तत्क्षण उनको एउटा दिव्य जिज्ञासा वाणीका रूपमा मसम्म आएर टक्क रोकिन्छ— ‘यहाँ मेरो परिसरमा तिम्रो उपस्थितिको अर्थ !’

श्रद्धेय सम्बोधन !
यर्थाथमा ‘म’ हुनुको अर्थ नभेटिनु नै यहाँ मेरो उपस्थितिको अर्थ हो, तर अब त्यही अर्थ नरहन सक्छ । किनकि मैले तिम्रा लेखकीय पङ्क्तिहरू र पङ्क्तिका बीच–बीचमा समेत तिम्रो अनुरोधको मेसो जुराएरै सच्चा श्रद्धाको आँखाले पढे पनि तिम्रो लेखकीय अर्थ मैले बुझेजस्तो मात्र नभएर अरूले बुझेजस्तो पनि हुँदा रहेछन् अर्थात् भनौँ, अरूको सत्य र मेरो सत्यको अनुहार फरक पर्दो रहेछ । यद्यपि तिम्रा वेदनाहरूको रङ्ग र अरूका वेदनाहरूको रङ्ग भने दुरुस्त मेराजस्तै रहेछन् । र–पनि अर्थहरूको बर्सात्मा निथु्रक्क भिजेरै विल्कुल शुष्क र प्यासी म तिमी सागरसामु उपस्थित छु ।

यतिखेर, रातभर बेचैनी र उदासीले खुम्चिए पनि तिम्रा अनुहारका रेखाहरूमा प्रियतम सूर्यको अँगालोपछि प्रेमविभोर सूर्यमुखी फूलको विम्ब देखिरहेछु; जहाँ पसिनाले भिजेको जिन्दगीको निख्खुर रङ्गमा खोला, नाला र लहरले शिखरमाथि किरण देख्दा लेख्ने प्रेमगीतको प्रकृतिसङ्गीत सुनिरहेछु । कतै इन्द्रेणीकै रोमाञ्चक लालित्य फैलिएजस्तो, कहिले हिमालको शिखरमाथि फूलै फूलको बर्सात्जस्तो, कतै स्वर्गबाट आँगनमा जूनै झरेजस्तो र फेरि कहिले पीडाले संवेदित मन ऐना टुके्रसरि टुक्रिएर प्रत्येक टुक्रामा प्रतिविम्बित अनेकौँ बाङ्गोटिङ्गो रूपहरूको एकमुष्ट अमूर्त विम्बजस्तो तिमीलाई पढिरहेछु …! …!!

जसरी आधारातको आकाशमा उदाउने सूर्यको किरणले आधारातमै धर्तीमा झर्नुपर्छ; लाग्छ, आज तिमी आधारातमा त्यसरी नै झरेका छौ— मेरो मनको अन्धकारमा किरण बनेर । मानौँ, म तातो मरुभूमिमा उभिएरै हिउँको गीत गाइरहेछु; तिमीले जीवनभर नसुनेको गीत ! आधारातमा उदाउने सूर्यको गीत !! सधैँ तिम्रो अनुपस्थितिमा गाउने गरेको प्रेमगीत !!!

सायद, तिम्रो हृदयको आर्किटेक्ट म शब्दमा चित्राङ्कन गर्न नसकुँला । यद्यपि सधैँ–सधैँ सपनामा कसो–कसो अनुभूतिका लहरहरूले तिमीलाई स्पर्श गर्न खोज्दा तिमी हावाको झोक्काजस्तो मेरा गीतको किनार–किनार भएर फर्किन्छौ र आज विपनामै मभित्रको एउटा ढिट पहाड भत्काएर तिमीसम्म आइपुगेको छु । निरन्तर दोहरिरहने झर्कोलाग्दो अरोचक वृतान्तमा नियास्रिनुभन्दा, औपचारिक जीवनका भत्किसकेका मूलबाटाहरू हिँडिरहनुभन्दा अकासिएका अफ द बिटका तृष्णाहरू सहलाउँदै, अफ द बिटका बाटाहरू खोज्दै–बनाउँदै तिम्रो परिसरमा आइपुगेछु । किनकि मलाई थाहा थियो तिमीले आफ्नो हृदयको ढोका कहिल्यै बन्द गर्दैनौ ।

हुन त ढोका बन्द नै रहे पनि अर्थात् यात्रामा निषेधहरूको जुलुस नै उर्लिएर पहाड उभिए नि मोडिएरै बग्दोरहेछ जिन्दगी…!….!! यथार्थतः यस संसारमा हरेक मान्छे अपरिचित छन् । यसर्थमा आफ्नो अस्तित्वको प्रथम साक्षी ऊ आफै नै हो । यसैले आफ्नै ठानिएका फूलहरू पनि आफ्नो नठाने हुन्छ । बाटामा कतै उनीहरूको भगवान् भेटे त्यहीँ समर्पित भइदिन्छन्, तर फूलको सुगन्ध र सौन्दर्य केवल फूलैको हो । त्यो कहीँ समर्पित हुन सक्दैन अर्थात् फूलको सौन्दर्य फूलप्रेमी सबैको हो, घृणा गर्नेहरूको होइन । सायद, यसरी तर्क गर्दा–गर्दै बृद्ध हुन्छन् प्रेमी–प्रेमिकाहरू तर बृद्ध हुँदैनन् प्रेमगीतहरू, तिम्रा कविताका प्रतिध्वनिहरू; जो जिन्दगी अनि प्रकृतिसँगको डेटिङ्मा नदी, पहाड, हिमाल, रूख, चरा, झरनाको सङ्गीत बनेर बजिरहन्छन् !… बजिरहन्छन् !….!!

प्रिय सम्बोधन !
सत्यमा आफ्नो वर्तमान खोज्दा–नखोज्दै अतीतको हिस्सा बनिसकेको म, अब मात्र भविष्यको वर्तमान बन्न चाहन्छु । सन्दर्भमा यतिखेर म स्वयम् मेरो वर्तमान, मेरो अस्तित्व मेरो वर्तमान, मेरो प्रेम मेरो वर्तमान, तिमीसामु मेरो उपस्थिति मेरो वर्तमान !!!

यसरी मेरो शताब्दीको वेदनाग्रस्त अन्तिम साँझ गुजारेपछि अन्धकार रातको जोखिम स्वीकार गरेर तिमीसम्म आइपुग्दा फेरि साँझै परे पनि जीवनका सारा विसङ्गत कोलाजहरू क्यानभासमा समेटेर कुनै पुरातात्त्विक आर्टग्यालरीको भित्तामा झुन्ड्याइसकेको छु । यो चढ्दो जवान रात ! हृदयको सङ्गमस्थल !! कति सुन्दर छ पर्यावरण !!! तिम्रा कविताहरू पुतली बनेर कतै दूरप्रदेशको विचरण गर्दै थकानले मेरो छातीमा अडेसा लागेको छ । कति सुन्दर संयोग बनेछ यो भेट ! म तिम्रो हृदयमा वास मागिरहेछु; तिम्रा कविताहरू मेरो हृदयमा वास मागिरहेछन् ।

यथार्थमा आफ्ना लेखनीहरूमा तिमीले आफ्ना अनुभवहरूमाथि कति विश्वासघात गर्‍यौ, आफ्नो कति दुश्मन भयौ, आफ्नो आलोचक कति भयौ वा आफूलाई कति सान्त्वना दियौ ! त्यो त तिमीलाई नै थाहा होला, तर तिमीले आफ्नो कवितासंसारमा–निबन्धसंसारमा सधैँ–सधैँ जीवनको विश्वदृष्टि खोजिरह्यौ । आफैसँगको स्वाभाविक प्रश्नोत्तरमा कतै स्वीकृति, कतै निषेध, कतै समन्वय त हुन्छ नै; जसका लागि मूलतः तिम्रै अनुभूतिहरूको उज्यालो र अँध्यारो दर्शन काफी हुनुपर्दछ । यद्यपि तिमी त्यतिखेर कतै तिम्रो आत्मसंसारको कोष्ठकबाहिर पो पर्‍यौ कि ! जे होस्, कोष्ठकभित्र या कोष्ठकबाहिर दुवै अर्थमा कलाको जोखिम उठाउन तिमी माहिर रह्यौ । तिम्रो यही कलाको जोखिम उठाउने कलालाई म अभिनन्दन गर्दछु ।

फेरि पनि यो जागतिक द्वन्द्वको हुरीमा अर्थहीन गतिले अनायास बगिरहनु पर्दा कहिलेकाहीँ त यो मस्तिष्कीय भूगोलमा हाम्रो जन्म जीवनकै कति ठूलो विसङ्गतिपूर्ण कमेडीजस्तो लाग्छ ! यसैले कि अहिले म तिमीसँग सुखद् संवाद गरिरहेछु, तर यी शब्दचित्रहरूमा समाचारव्यसनीहरूले कुनै विशेष घटना–दुर्घटनाका क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय मूर्खतापूर्ण रिपोर्टहरू पाउनेछैनन् तर पाउनेछन् भावकहरूले हाम्रा हृदयका प्रेमिल रिपोर्टिङ्हरू….!!

यो रात यति सुखद लागिरहेछ कि म तिमीसित कसैगरी आत्महत्याको कुरा गर्न चाहन्नँ किनकि हामीलाई यही जगत्मा बाँच्नु छ, यही जीवन र संसारलाई आत्मसात गर्नु छ । यो संसार, यो जीवन, यो अस्तित्वसित अर्थात् फूलसित आँखा जुधिसक्यो । भूल नै सही अब यही संसारमा माया, प्रेम, प्रीति, स्नेह, सद्भाव बाँड्नु छ । यो जीवनको, यो संसारको सुन्दरतम कवितालाई महसुस गर्नु छ !

… तर, तिमी त आत्मघात गरिरहेछौ नि ! अझै चुरोट पिइरहेछौ…!! नित्तान्त चेतनशील जिन्दगी बुझेको अनुभव गर्ने तिमी; आँधीमा बादल भएर उड्ने तिमी उताको कुन आकर्षणको मोहले डोर्‍याएर हो, मन्दविष पिइरहेछौ…। कतै उता आश्चर्यजनक इन्द्रेणी हुँदो रहेछ कि ! जिउँदो मन अडेसा लाग्ने पहाडहरू त यहीँ छन् क्यारे ! अद्भुत रङ्ग र उज्यालाहरू यहीँ छन् क्यारे ! जीवनबाट ओर्लने अनि जीवन नै उक्लने, जीवनमै बस्ने र दुःखले दुख्ने मन अनि अनेकौँ पीडाले संवेदित भएर ऐनाझैँ टुक्रिँदा अनेकौँ दृश्यहरूमा छरिने मनहरू पनि यहीँ छन् क्यारे ! तिमीले भनेजस्तै स्वयम्मा जीवनकै मार्मिक इतिहाससरि दुःखपीडालाई नै पाठ्यक्रम र पाठशाला बनाएर, तिनै पीडालाई प्रेम गरेर उत्सवमय बाँच्ने मनहरू पनि यहीँ छन् क्यारे ! खै ! जीवनदेखि टाढाको देश कस्तो नै हुन्छ कुन्नि !!

जिन्दगीलाई आफ्नो इच्छानुसार समाप्त गर्नुपर्ने हो कि भनेर मैले पनि नसोचेको कहाँ हो र ! बाँचेपछि जिन्दगीलाई सहनु त पर्छ नै ! फेरि पनि यसै लागिरह्यो— म समाप्त भएँ भने तिमीलाई बचाउने को ? तर अफसोस ! नपिउनु थियो तिमीले विष त मनलाग्दो पिइसक्यौ । सायद, अब तिमीलाई बाँच्नु पनि पीडा हुनेछ । अब मैले बचाउनुको पनि कुनै अर्थ रहनेछैन । फेरि पनि यदि साँच्चै नै जिन्दगीलाई रगताम्मे पारेर छाड्नु सुख हो भने आऊ, सबै अनुष्ठान सम्पन्न गरेर सँगै मरौँ; साइरन बजाएर, सङ्गीत गाएर मरौँ; उत्सवमय मरौँ । तर…, तिमी किन प्रतिक्रियाविहीन छौ ? सायद, पल–पल गीतहरूको तिर्खा बाँकी रहँदै, धुनहरूको प्रियता बाँकी रहँदै वियोगान्त पीडा झेल्नुपर्ने आशङ्काले त्रसित बनायो तिमीलाई ! यतिखेर मेरा प्रिय दार्शनिक भावकका सान्त्वनाका नासो शब्दहरू तिमीलाई हृदयान्तरण गरेर म मुक्त हुन चाहन्छु— “तिमी वियोगान्तमा कहिल्यै नरुनू ! किनकि वियोगान्त सत्य त सारा जागतिक वियोगहरूको गणितीय अन्त्य हो ।”

उः मिर्मिरे आकाशबाट तारा झर्दै छ । म तिनै झर्दै गरेको तारासँग तिम्रो आयु लामो होस् भनेर वरदान माग्दै छु । तर, तिमी पीडाको पहिरो झर्दै गरेको पहाडमुन्तिरबाट आफ्नै चुरोटको धुवाँ हुँदै अनायास आकाशको शून्यमा शून्यसरि ओहो ! कस्तरी बिलायौ !!

तिम्रा लागि अब आगामी बिहानको कुनै अर्थ रहेन, तर तिमी मेरा लागि विशिष्ट अर्थ बन्यौ, कहिल्यै अर्को साँझ नपर्ने बिहान बन्यौ । मैले आजसम्म लेख्न नसकेको सुन्दरतम कविता बन्यौ र कविताको अलौकिक सरगम बन्यौ ।

हो, तिमी मसित विदा भयौ तर विदाइको विरहगीत मैले गाउनुपर्‍यो, विदाइको कविता मैले नै रच्नुपर्‍यो । तिमीले त चाहेर पनि वियोगको पीडा कसैलाई भन्न सक्दैनौ । फेरि, छोड्नेहरूलाई के थाहा छोडिनुको पीडा ! यसैले कल्पनामै सही, रिहर्सल नै सही म तिमीलाई यही जीवनमा, यही धर्तीको एक कुनामा छोड्न चाहन्छु; तिमीसँग विदा हुन चाहन्छु । विदा भएर कुनै अर्को लोक होइन, यही धर्तीमै फर्किने सम्भावना लिएर विपरीत ध्रुवीय यात्रामा जान चाहन्छु ।

तर, तिमीसित विदा भएर फेदीबाट जब म पहाड उक्लन्छु; घुमाउरो बाटोमा हावाको झोक्कासित तिम्रै खबर सोध्नेछु; झरनाको सङ्गीतमा तिम्रै प्रीतको सुर थप्नेछु; झर्दै गरेका पत्करहरूमा तिम्रै अधूरा आकाङ्क्षाहरूको संवेदना कोर्नेछु र बाटामा तिमीलाई ठेस लागेका ढुङ्गाहरू खोपेर आस्थाले प्राण भर्नेछु ।

सबै बाटाहरूभन्दा माथि जब म पहाडको शिखर टेक्छु; सबभन्दा बढी म तिमीलाई नै सम्झने छु । यद्यपि शिखरमा पनि सतहभन्दा माथि उठेर तिम्रा लागि मसँग कपिराइट नभएको आकाशका जून–ताराहरू टिपेर ल्याउने हठी तृष्णा भने मसँग रहनेछैन । किनकि म सतहमै रहनेछु र उक्लनुको अतिरिक्त खुसी अनि झर्नुको अतिरिक्त पीडाबोध गरेर म जीवनको कोष्ठकबाहिर बाँच्न चाहन्नँ ।

फेरि जूनतारा त आकाशलाई नै सुहाउँछ, मलाई काँडामा फुलेको धर्तीकै फूल मन पर्छ ।

जसरी धर्तीलाई कुनै एउटा विशेषणभित्र कैद गरेर बाँकी सारा विशेषणबाट बञ्चित गर्न चाहिनँ; उसरी नै सतहमा उभिएर म तिमीलाई विना विशेषण नै सम्झिनेछु ।

आखिर त्यो तिमी नै त हौ; जसलाई म मेरो जीवनको अन्तिम दिनमा मेरा बाँकी सारा भोलिहरू, मेरा सारा विगतहरू अर्पण गर्न चाहन्थेँ; जसलाई मेरो नभएको वर्तमान दिने मसित कुनै आकाङ्क्षा नै रहेन !

यसरी तिमीलाई छोड्दा पनि दुःख मैसँग छ । गुलाफका ओठहरूबाट निस्केको पीडाको गन्धसमेत मेरै मुखबाट निरन्तर फैलिरहेछ …। तिम्रा लिपिबद्ध कति पीडाका अनुगुञ्जनहरू पनि आफ्नै उच्छ्वासमा सुनिरहेछु । तिम्रा आँसुहरू पनि मेरा आँखाबाट झरिरहेछन् । सायद, मैले तिमीलाई जस्तो कसैलाई सुनेको थिइनँ, पढेको थिइनँ । तिम्रो दर्शन र पीडाको गहिरो तालमा फाल हानेपछि मात्र मैले थाहा पाएँ कि— विस्तारैविस्तारै तिम्रो दर्शन र पीडाको तलाउमा म स्वयम् डुब्दै गइरहेछु …।

यतिखेर म तिमीप्रतिको लयबद्ध लगावले सिर्जना गरेको सङ्गीतबद्ध प्रेम र यातनामा छु । यद्यपि मभित्र उद्घाटित यो रिदमिक संवेदनामा प्राप्तिको कुनै तुच्छ मोह छैन; जहाँ गुमाउनुको पनि कुनै अर्थ छैन; जहाँ विच्छेदको कुनै दुःखद सम्भावना पनि रहने छैन । यसर्थमा वैचारिक कायान्तरणको यो विन्दुमै म सम्पूर्णतः स्थगित हुन चाहन्छु । यहाँभन्दा प…र जान चाहन्नँ; जहाँबाट अर्को दुःखद सम्भावना प्रारम्भ होस् ।