सर्लाहीको शिवनगर भन्ने सानो गाउँमा ४० वर्षअघि जन्मिएका शेख अमजद प्रवेजले इन्जिनियरिङको चार वर्षे कोर्ष गर्दासम्म पनि एकदिन उनी रङ्गमञ्चमा पुगेर रमाउँला भन्ने कल्पना गरेका थिएनन्। तर जिन्दगीका मोडहरूले कहाँ पुगेर गन्तव्य भेट्टाउँछन् कसलाई के थाहा ? जिन्दगीका अनेकौं मोड र घुम्तीहरू पछ्याउँदै अचानक उनले जुन दिन रङ्गमञ्च टेके, त्यसबेला मात्र महसूस गरे- उनी त रङ्गमञ्चकै लागि जन्मिएका रहेछन् । उनले रङ्गमञ्चमा छुट्टै संसार देखे । मनमा उम्लिरहेका छटपटी बिसाउँने चौतारी भेटे । त्यहीं वर्षौं रमाउन थाले र, विगत पन्ध्र वर्षदेखि यसै क्षेत्रमा रमाइरहेका छन् ।

शेख अमजद प्रवेज

फर्केर हेर्दा सपनाजस्तो लाग्छ उनलाई । कहाँ परिवारको जेठो सन्तानका रूपमा इन्जिनियर बन्न भारत पुगेको छोरो, रङ्गकर्मी बनेर घर फर्कियो । उनी आफैँ भने रङ्गमञ्चबाट पाएको ज्ञान र ऊर्जाले पुलकित भएर फर्के पनि परिवार खुशी हुने कुरै भएन । वास्तवमा रङ्गमञ्चले उनलाई यति परिवर्तन गराएको थियो कि उनको हाउभाउ र व्यक्तित्त्वमा आमूल परिवर्तत गराएको थियो । घर फर्किंदा उनीसँगै पढेका साथीहरूले पनि चिनेनन् उनलाई । तर उनी आफूले गौरवान्वित महसूस गरे पनि परिवार र समाजले उनलाई नौटङ्की भनेर नै उडाए ।

अम्जद अहिले सम्झन्छन्, “वास्तवमा त्यो उनीहरूको दोष पनि थिएन । गाउँलेले विशेष अवसरहरूमा गाउँघरमा देखाइने हल्का मनोरञ्जनलाई नै नाटक मान्थे । र, यो नै उनीहरूको नाटक बारेको बुझाइ थियो ।” उनलाई भने नाटकप्रति यति लगााव बढ्दै गयो कि उनले चारवर्षे इन्जिनियरिङको कोर्ष पूरा गरेर पनि त्यसको प्रमाणपत्रसमेत लिन गएनन् । किनभने उनलाई त्यसको आवश्यकता नै परेन । न त अहिले कुनै पश्चाताप छ मनमा ।

उनको जन्म शिवनगरमा भए पनि पुर्खौली जमीन हरिवनमा पनि थियो । शिवनगरमा राम्रो विद्यालय नभएकाले बालबच्चाको शिक्षाको लागि उनका बुवाले त्यो बेला हरिवनमा बसाई सर्नु पर्‍यो । त्यहाँको सुप्रभात स्कूलबाट अमजदको विद्यालय शिक्षा प्रारम्भ भयो । उनका बाजे भने शिवनगरमै बस्थे । खेतीको सिजनमा सपरिवार शिवनगर र हरिवन आतेजाते चलिरहन्थ्यो । अमजद सम्झन्छन्, “अहिले त हरिवन नगरपालिका भैसक्यो । धेरै चहलपहल पनि बढेको छ । त्यो बेला थोरै घर भएको सानो बस्ती थियो हरिवन ।”

हरिवनमा उनले प्रारम्भिक शिक्षा लिए पनि राम्रो विद्यालय खोज्ने क्रममा उनका बाजेले एकदिन उनलाई सर्लाहीकै सदरमुकाम मलङ्गवा लिएर गए । र, त्यहाँको जेसिज इङ्लिस स्कूलमा बोडर्स गरिदिए । कक्षा एकदेखि आठसम्म उनले त्यहाँ पढे । उनको पढाइ पनि यति रफ्तारमा अघि बढ्यो कि उनी त्यहाँ सधैँ प्रथम भइरहे । उनका साथीहरू फूलचन्द र अजय शाह पनि पढाइमा अब्बल थिए । फूलचन्द त अहिले भारतको ओएनजीसीमा वैज्ञानिक छन् । जेसिज स्कूलमा पढ्दाको अर्को एउटा स्मरण ताजै छ उनमा । उनी छ कक्षामा पढ्दा विद्यालयमा एउटा नाटक मञ्चन भएको थियो– ‘यमलोकमा जिउँदो मान्छे ।’ त्यसमा उनले चित्रगुप्तको रोल खेलेका थिए । उनका साथी फूलचन्दले उक्त नाटकमा केटी बनेका थिए । अहिले उनी सम्झन्छन्, “बडो कमेडी नाटक थियो त्यो ।”

आठ कक्षाको जिल्ला स्तरीय परीक्षा सिध्याएर ९ र १० पढ्न उनी काठमाडौंको सिद्धार्थ वनस्थली स्कूलमा आए । अनि ११ र १२ कक्षा उनले जेभियर्स कलेजबाट गरे । त्यसपछि पुगेका थिए, उनी भारत इन्जिनियर बन्न । सिद्धार्थ वनस्थलीमा पढ्दाको एउटा नमीठो स्मरण भने ताजै छ उनमा । त्यहाँ कुनै विद्यार्थीले उनलाई पहिलोचोटी ‘धोती’ भनेको थियो । पहिलो चोटी सुन्दा त त्यसको भावार्थ नै बुझेनन् उनले । जीवनमै पहिलोचोटी सुनेका रहेछन्, उनले त्यो शब्द तर जुन दिन भाव बुझे त्यसको घाँटी नै समाएका थिए रे ! यो कुरा सम्झँदै गर्दा उही मधुर मुस्कान छर्छन् उनी ।

इन्टरनेट, फेसबुक नभएको त्यो जमानामा प्रसिद्धि कमाएको थियो ‘पेनफ्रेण्ड’ अर्थात ‘पत्रमित्रता’ले । कलेज पढ्दा उनले यति ‘पत्रमित्र’ बनाए कि भारतका प्रायः सबै राज्यमा उनका पेनफ्रेण्ड्स् थिए । ‘बिटेक’को अन्तिम वर्षको परीक्षा सिद्धिनेबित्तिकै उनी देल्ही पुगे । त्यहाँ उनले स्टारटच इण्डिया प्रालिमा जागिर पाए । अंग्रेजी राम्रो भएकै कारण कम्पनीमा उनले टिमलिडरको जिम्मेवारी पाए । त्यहाँ चार महिना काम गरेपछि उनलाई कर्पोरेट दुनियाँसँग घुलमिल हुन र रस बसाउन सकेनन् । र, अचानकै काम छोडेर मसुरी पुगे । त्यहाँ पुग्नुको कारण थियो ‘पेनफ्रेण्ड’ । मसुरीमा उनले उही पत्रमित्रसँग दश दिन बिताए । त्यसपछि देहरादून हुँदै ऋषिकेश र उत्तराखण्डको गङ्गोत्रीसम्म पुगे । गङ्गोत्री यात्रा उनको जीवनकै लागि नयाँ मोड बनेर आयो । त्यहाँ पश्चिमी ब्याकप्याकर्सहरूसँग उनको संवाद र उठबस चल्यो । त्यसपछि उनले नयाँ दुनियाँ भेटेझैं महसूस गरे । गंगाको उत्पत्तिस्थल गङ्गोत्रीले उनमा पनि नयाँ भाव र उमङ्ग भरिदियो। त्यसपछि यात्राको मोहले पो उनलाई तान्न थाल्यो ! उनले आफ्नो डायरीमा कलेजका दिनमा गरेका पेनफ्रेण्डका प्रायः ठेगाना र फोन नम्बर टिपेका थिए । त्यसपछि उनले तिनलाई सम्पर्क गर्दै प्रायः भारतका धेरै राज्यमा भ्रमण गर्न भ्याए ।

यात्राकै क्रममा केरलाको कोची भन्ने ठाउँमा पुग्दा खल्ती पनि रित्तिंदै गएको थियो । त्यहाँ उनले कम्प्युटरसम्बन्धी काम गर्ने ‘डेटासफ्ट’मा जागिर पाए । साथसाथै कम्पनी स्टाफलाई अंग्रेजी सिकाउने थप जिम्मेवारी पनि पाए । कर्पोरेट दुनियाँमा पुनः फर्किने मन त थिएन तर त्यो उनको बाध्यता बन्यो । उनको भ्रमणको प्यास मेटिएकै थिएन । त्यहाँ पनि उही चार महिना जागिर खाएपछि अर्को ‘पेनफ्रेण्ड’कै सम्पर्कमा कर्नाटका राज्यको बेङ्लोर पुगे । बेङ्लोर उनलाई यति सुन्दर र आकर्षक शहर लाग्यो कि उनले त्यसकै सेरोफेरोमा करिब तीन महिना घुमेर बिताए । होटलको बसाई महङ्गो थियो र घर फर्किने सोच गर्दै थिए । तर अचानकै बजारतिर घुम्दै गर्दा दुई आसामिज विद्यार्थीसँग उनको चिनापर्ची भयो । अनि तीनैजना रुममेट बने । र, थप एक महिना उनले ती दुई साथीसँग बिताए ।

रङ्गमञ्चमा पहिलो पाइला
अमजदका बुवा गीतसङ्गीतका एकदमै सौखिन थिए । अमजद अहिले सम्झन्छन्, उनका बुवा मोहम्बद रफी, किशोरकुमारदेखि नारायणगोपाल, शम्भु राई, डेनीडेन जोङ्पासम्मका गीतहरू खुब सुन्थे । नियमित उनी नयाँ–नयाँ गीतका क्यासेट किनेर ल्याइरहन्थे । त्यसबेला हरिवनमा बिजुली हुने कुरै भएन । उनको घरको एउटा कोठामा एकातिरको भित्तोमा सकिएका ब्याट्रीका चाङ र अर्कोतिरको भित्तोमा क्यासेटका चाङ हुन्थे । बुवाको गीतसङ्गीतप्रतिको शौख अमजदलाई बच्चैदेखि सरेको थियो । बेङ्लोरमा बस्दा पनि उनी नियमित रेडियोमा त्यसरी नै गीत सुन्थे । एकदिन रडियोमा एउटा विज्ञापन बज्यो– ‘नाटक अभिनय कक्षा संचालन हुँदैछ, तुरुन्त सम्पर्क राख्नु होला । विद्यार्थीलाई विशेष छुट ।’

पहिलोचोटी यो विज्ञापन सुन्दा त उनलाई कुनै वास्तै भएन तर रेडियोमा उक्त विज्ञापन पुनः दोहोरियो । र, त्यहीं टेबलको पत्रिकामा उनले विज्ञापनले भनेको फोन नम्बर टिपे । यही फोन नम्बरले उनको जीवनको मोड नै बदलदियो । जम्मा १५ दिनको अभिनय कक्षा रहेछ । सहभागी पच्चीस जना थिए । अभिनयको प्रशिक्षण सिद्धियो । प्रशिक्षणपछि प्रशिक्षकले अमजद र अर्का एक प्रशिक्षार्थी दीपकलाई चाँडै बन्न लागेको नाटक– ‘पञ्चतन्त्र अ म्युजिकल’मा कलाकारका लागि सिफारिस गरेर पठाइदिए । नाटक निर्देशक थिए बालाजी मनोहर । अहिले उनी साउथका नामी कलाकारका रूपमा चिनिन्छन् । नाटकमा अमजद र दीपकको रोल कोरसको सामान्य भीडको मात्र थियो । डायलग पनि हुने कुरै भएन । दीपकले तीन दिनमै रिहर्सल छोडे तर अमजदले निरन्तरता दिइरहे । रिहर्सल चल्दै गर्दा अवस्था यस्तो भैदियो रिहर्सलमा अनुपस्थित कलाकारहरूको भूमिका पनि उनले निभाउनु पर्ने भयो । त्यसपछि उनलाई नाटकका सबै क्यारेक्टरका डायलग कण्ठ हुन थाल्यो । त्यसपछि निर्देशक पनि यति प्रभावित भए कि शेख अमजदले नाटकका पाँच वटा भूमिका एक्लैले निभाउनु पर्‍यो । यही नाटकबाट अमजदको बालाजी मनोहरसँग यति घनिष्टता बढ्यो, उनीहरू दुवै रुममेट नै बने । त्यसपछि उनीहरूले लामो समयसम्म सँगै काम गरे ।

उनी ‘रङ्गशंकरा’ नाटकघरसँग संलग्न थिए, जुन कर्नाटकाकै पहिलो आधुनिक नाटकघर हो । त्यसपछिका १५ वर्षसम्म उनले यही नाटकघरमा धेरै नाटकहरू गरे । बीचमा बेङ्लोर, कलकत्ता, देल्ही, मुम्बइ आदि जस्ता शहरमा नाटक गर्दै रहे । दर्जनौं नाटकको प्रशिक्षण पाए, प्रशिक्षण दिए ।

सन् २०१७ मा बालाजी मनोहरसँग अमजदले मुख्य भूमिकामा शटमूभि ‘डिस्को–ओबु’ गरे । अमजदलाई त्यसमूभिले ‘फिक्बुएओ इन्टरनेशनल फिल्म फेस्टिबल‘मा ‘वेष्ट एक्टर’को अवार्ड दिलायो । यसै मूभिबाट अमजदले ‘फष्टरन इन्टरनेशनल फिल्म फेस्टिबल’बाट पुनः अर्को ‘वेष्ट एक्टर’को अवार्ड पाए । त्यसपछि बनेको शटमूभि ‘प्लेग्राउण्ड्स्’मा पनि उनले ‘वेष्ट एक्टर’को अवार्ड पाए ।

उनी बेङ्लोर लिट्टल थिएटर(बिएलटी) लगायतका अन्य थिएटर तथा आर्ट एक्टिभिटी गर्ने संस्थाहरूमा पनि संलग्न थिए । ‘बिएलटी’ इण्डियाकै प्रसिद्ध नाट्य संस्था हो, जुन भारत स्वतन्त्र हुनु अगावै अंग्रेजहरूबाटै खोलिएको थियो । बिएलटी अन्तर्गतको ‘एकेडेमी अफ थिएटर आर्टस्’को ‘टीआइए’ अर्थात थिएटर इन एजुकेशन मार्फत उनले थुप्रै कलेज र स्कूलहरूमा प्रशिक्षण दिएका थिए ।

नेपाली रङ्गमञ्चमा अमजद
सन् २०१९ को फेब्रुअरी २५ देखि मार्च २ सम्म काठमाडौंमा नेपाल इन्टरनेशनल थिएटर फेस्टिबल चल्यो । यो फेस्टिबलमा बेङ्लोरबाट तीनवटा नाटकले सहभागिता जनाएका थिए– ‘आयम नट हियर’, ‘हेड टु हेड’ र ‘निन्द्राभथ्वम्’ । यी तीनैवटा नाटकमा अमजदका साथीहरू थिए । त्यसबेला अमजद सर्लाहीमै थिए । ‘आयम नट हियर’की निर्देशक तथा कलाकार दीपिका अर्विन र हेड टु हेडकी कलाकार अनुरावकै आग्रहमा अमजद नाटक हेर्न काठमाडौं आइपुगे ।
‘आयम नट हियर’ शिल्पी थिएटरमा मञ्चन भएको थियो । त्यसैक्रममा उनको भेट भयो शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजसँग । त्यसपछि प्रशिक्षकको रूपमा उनले शिल्पीका दुई ब्याचलाई प्रशिक्षण दिए । त्यसैबीचमा नाटक बन्यो ‘आँधिको मनोरम नृत्य ।’ यसमा घिमिरे युवराज र अमजद प्रवेजको संयुक्त निर्देशन थियो । यो नाटकले त्यो बेला दर्शकमाझ राम्रै चर्चा कमाएको थियो ।

‘टीनएजर्स’का मनमा गुम्सिएका भावनाहरूलाई नाटकले उठाएको थियो । यो नाटकले नेपाली रङ्गमञ्चमा अमजदलाई एउटा परिचय दियो । त्यसपछि शिल्पीकै एक महिने लामो कचहरी नाट्ययात्रा ‘कल्पना र उर्मिला दुःखमा छन्’मा उनले सङ्गीत संयोजन गरे । यो नाटकले महिलाहिंसा, बालविवाह र जुवातासको मुद्दा उठाएको थियो । यो नाटकयात्राका बारे उनले आफ्ना भावना यसरी पोखेका थिए, “मेरो विवेक ज्ञान र शिक्षाको परिभाषामा यो यात्राले परिवर्तन गरायो । आफ्नै देशलाई हेर्ने दृष्टिकोण बदलियो । रङ्गमञ्च बारेको बुझाइ पनि परिवर्तन भयो । यी सबैको अन्तरालमा सामाजिक रूपान्तरणको परिभाषा पनि परिवर्तन भयो ।”

अमजदले मन्द मुस्कानका साथ एउटा घटना सुनाए, “इन्टरनेशनल थिएटर फेस्टिबलको ओपनिङको दिन मण्डला थिएटरमा एक व्यक्तिले तिमी अमजद होइनौं,” भनेर मलाई सोधे । परिचयपछि पो थाहा भयो ती व्यक्ति त प्राध्यापक शिव रिजाल पो रहेछन् ! उनलाई शिव रिजालले जेभियर्स कलेजमा पढ्दा नाटक सिकाएका रहेछन् । नाटकका यस्ता विस्मृतिहरू स्मृतिमा आउँदा मात्र पनि उनी आनन्द मान्छन् र पुनः मन्द मुस्कान छर्छन् ।

अमजदको विचारमा रङ्गमञ्च
“रङ्गमञ्च के हो ?” भन्ने प्रश्नको जवाफमा अमजद प्रवेज भन्छन्, “रङ्गकला, रङ्गकर्म, रङ्गमञ्च, रङ्गशालाजस्ता शब्दहरूले प्रायः धेरैलाई कन्फ्युज बनाएको हुन्छ । शब्दहरू आफैं अधुरा छन् । यिनै शब्दहरूलाई माध्यम बनाई कुनै पनि अवधारणालाई परिभाषित गर्न खोज्नु जटिल कार्य हो ।” केहीबेरको मौनतापछि उनी पुनः थप्छन्न्, “भन्नैपर्ने तर भन्न छुट्टाइएका वा लुकाइएका कुराहरूलाई सबै समक्ष ल्याउनु रङ्गमञ्चको मूल उद्देश्य हो, अनि परिवर्तन यसको मुख्य लक्ष्य ।”
“कसको परिवर्तन ?” मैले जिज्ञासा राखें ।
“सबैको” उनी जोड्छन् । “सर्वप्रथम रङ्गकर्मीको, अनि दर्शकको र अन्ततः सम्पूर्ण समाजको ।”
“परिवर्तन रङ्गमञ्चले मात्र ल्याउने हो र ?”
‘‘परिवर्तन हरेक क्षेत्रबाट गर्न सकिन्छ,” उनी मुस्काराउँदै भन्छन् । “उसो भए जागिरबाट किन भाग्नुभो त ? के त्यहीं बसेर परिवर्तन गर्न सकिन्न थियो ?” उनी एकछिन् गम्भीर हुँदै बोल्छन्, “मानिसमा चेत भन्ने एउटा चिज हुन्छ । त्यो कहाँ र कतिखेर खुल्छ भन्न गाह्रो छ । म धेरैतिर भौंतारिएर जब रङ्गमञ्चमा पुगें, परिवर्तनको लागि सहज वातावरण पाएँ र सायद त्यहीं मेरो चेत खुल्यो । म रङ्गमञ्चको भएँ । उपयुक्त वातावरण बनाउनसके जुनसुकै क्षेत्रमा पनि रमाउन सकिन्छ ।” कफी आँउछ, हामी कफीका केही चुस्की लिन्छौं । “परिवर्तन नै मुख्य कुरा भनी बुझ्नुपर्‍यो उसोभए ?” म कुरा खोतल्छु । “हो, अर्को महत्त्वपूर्ण पक्ष पनि छ, त्यो हो ‘समानुभूति’ । यो सहानुभूतिभन्दा फरक हुन्छ,” सम्झाउने शैलीमा अमजद भन्छन्, “कसैको दुःखद परिस्थितिमा सहभागिता जनाउँदै दुःखी हुनु सहानुभूति हो । तर आफूलाई अर्काको ठाउँमा राखेर उसको भावनाको कारण र गहिराई बुझ्न सक्नु समानुभूति हो ।”

शेख अमजद प्रवेज

“कलाकारहरू ‘कोभिड प्यान्डेमिक’को मार झेल्न बाध्य भएका छन् । अरू पेशा बारेमा सोच्नु भएको छ ?” म कुरा मोड्ने प्रयास गर्छु । “रङ्गमञ्चपश्चात अरू पेशा कठिनै हुन्छ । कथा सुन्न आउने दर्शक उदार हुन्छन् ‘सस्पेन्शन अफ डिस्बिलिफ’का कारण हामीले गरेका र भनेका जे कुरा पनि स्विकार्न तयार हुन्छन् । हाम्रो जुनसुकै रूपलाई सहजै अंगाल्ने यिनै दर्शक रङ्गमञ्चको परिधिबाहिर कठोरताको पराकाष्ठा पार गरेका हुन्छन् । थपडी बजाएर समर्थन जनाइएका तपाईंका पात्रहरूलाई अपमानित गरिन्छ । अचानक तपाईंको बोली आगो र व्यवहार अस्वीकार्य छन् भन्दै तपाईंको विरोध गरिन्छ । बहुसंख्यक कलाकारहरू बाहिरी दुनियाँबाट फ्रस्ट्रेटेड हुनु वा डिप्रेसनको संघारमा पुग्न बाध्य हुनुको यो पनि एउटा कारण हो । उनीहरूले रङ्गमञ्चमा अनुभूत गरेको कुरा बाहिर भेट्दैनन् । रङ्गमञ्चको लत छुटाउन गाह्रो छ ।”

अन्त्यमा म उनीबाट रङ्गमञ्चको चुरो कुरा बुझ्ने प्रयत्न गर्दै प्रश्न दोहोर्‍याउँछु ? “आखिर रङ्गमञ्च हो के ?” उनी गलल्ल हाँस्छन्, रङ्गमञ्च यै हो भन्न नसके पनि रङ्गमञ्च के होइन त्यो भन्छु, “रङ्गमञ्च अभिनय मात्र चाहिं होइन । धेरैले रङ्गमञ्चको पर्यायवाचीको रूपमा अभिनयलाई बुझेका हुन्छन्, त्यो एउटा भ्रम हो । अभिनय मात्र त सुरक्षाकवचको रूपमा जताततै देख्न सकिन्छ । मैले आफ्नो त्यो कवच रङ्गमञ्चमा बिसाउन पाएँ । रङ्गमञ्चले तपाईंलाई स्वतन्त्रतामा बाँधिन विवश पार्छ । यसले तपाईंलाई निडर बनाई नाङ्गो बनाउँछ ।”

उनी मलाई अझ स्पष्ट पार्ने प्रयास गर्दै सन्त कबीरदासको एउटा दोहा सुनाउँछन् । यो सँगै हाम्रो सम्वाद टुङ्गिन्छ ।

“बुरा जो देखन मैं चला, बुरा न मिलया कोय ।
जो मन खोजा आपना, मुझसे बुरा न कोय ।।”