कवि परिचय :
साहित्यकार लाल्टूको खास नाम हरजिंदर सिंह हो । उनको जन्म १० दिसम्बर १९५७ मा भारतको कोलकातामा भएको हो । उनले कविता, कथा, पत्रकारिता, अनुवाद, नाटक, बाल साहित्य, नवसाक्षर साहित्यका क्षेत्रमा कलम चलाएका छन् । हरजिंदर सिंह लाल्टू आईआईआईटी हैदराबादमा सैद्धान्तिक प्रकृति विज्ञान (Computational Natural Sciences) का प्रोफेसर पनि हुन् । उनले आफ्नो उच्च शिक्षा कानपुर आईआईटी तथा प्रिन्सटन (अमेरिका) विश्वविद्यालयबाट प्राप्त गरेका हुन् । उनको रुचि हिन्दी, बङ्गला तथा पन्जाबी साहित्य तथा सामाजिक विकासका क्षेत्रहरूमा रहेको छ । हिन्दी साहित्यमा उनले विभिन्न रचनात्मक विधाहरूमा कलम चलाएका छन् । उनका अङ्ग्रेजी, बाङ्ला र पन्जाबीबाट कयौँ कथा र कविताहरूका अनुवाद प्रकाशित भएका छन् । त्यस्तै अङ्ग्रेज़ी र हिन्दी पत्रपत्रिकामा एक सयभन्दा बढी मौलिक आलेख प्रकाशित छन् । उनले कैयौँ स्वैच्छिक संस्थाहरूसित शिक्षा, नारी अधिकार, नागरिक तथ मानव अधिकार आदि विषयमा काम गरेका छन् । उनको रुचि प्रयोगमूलक प्रोज पोएट्रीमा पनि रहेको देखिन्छ । उनका प्रकाशित कृतिहरू यस प्रकार छन् :
कविता सङ्ग्रह
- एक झील थी बर्फ की (1990 – आधार प्रकाशन)
- डायरी में तेईस अक्तूबर (2004 – रामकृष्ण प्रकाशन)
- लोग ही चुनेंगे रंग (2010 – शिल्पायन )
- सुंदर लोग और अन्य कविताएँ (2011- वाणी )
- नहा कर नहीं लौटा है बुद्ध (2013- वाग्देवी, बीकोनेर)
कथा सङ्ग्रह
- घुघनी (1996 – अभिषेक प्रकाशन)
बाल साहित्य
- कविता संग्रह : भैया ज़िंदाबाद
बाल साहित्य अनुवाद
- सुकुमार राय- हयवरल, अगड़म-बगड़म
- उपेंद्रकिशोर रायचौधरी – गोपी गवैया बाघा बजैया
- नैंसी हेडॉक- नकलू नडलू बुरे फँसे
- अफ्रीकी अमरीकी लोक कथा- लोग उड़ेंगे
नव साक्षरहरूका लागि
- कविता सङ्ग्रह: देश बड़ा कब होता है
नाटक
- भाप ताप और आप
प्रमुख अनुवाद
- हावर्ड ज़िन को पुस्तक ‘A People’s History of the United States’ काे बाह्र अध्यायहरूको अनुवाद (विभिन्न पत्रिकाहरूमा प्रकाशित)
laltu.blogspot.com
***
सडकमा
लाल्टू
१
कुनै यात्रामा छैनौँ हामी
कुनै पहाड, नदी वा बगैँचा छैन
हामी सहरको बिचमा छौँ
यो सामान्य दिन हो
सडकमा फोन बज्छ
सैकडौँ वाहनहरूका बिच कुरा गर्छौँ हामी
जीवनको रङका कुरा छन्
कार्यालयका रङ केटाकेटीका रङ
जस्तो कि बर्सौँदेखि वसन्त खोजिरहेकी
महिलाको रङ
छतबाट आकाशमा हिँडिरहेका मान्छेको रङ
आफैबाट लुक्दै गइरहेकी केटीको रङ
केही रङहरू बर्सौँदेखि धमिलिँदै गएका छन्
र हामी बिर्सी नै दिन्छौँ तिनलाई
यसरी सडकमा फोनमा
आफ्ना दिनहरूबारे कुरा गर्दै
हामी यो मान्छौँ- जीवन अझ पनि जिउनलायक छ
अचानक सुनिन्छ कविहरूको गुहार
बाँकी मान्छेको के हुन्छ
आफ्नो त सोच्यौ
बाँकी मान्छेको के हुन्छ ?
२
म प्रतीक्षामा छु निकै बेरदेखि
एक दिन यसै सडकमा
आउने छ ईश्वरको आवाज
अथवा चित्रगुप्त
मलाई भन्ने छ
आउँछ ईश्वर
मेरा सबै तर्कहरूको खण्डन गरेर
उसले प्रतिष्ठित गर्ने छ आफूलाई
म यसै सडकमा उसलाई भन्ने छु-
उसले हत्यारालाई चिन्न आनाकानी नगरोस्
र जब आउँछ ऊ
उसले नाचे पनि मलाई के ?
गलतीले ऊ आयो भने
जो हिच्किचाउँछन् सत्य देख्न
ऊ तिनको मुखमा हिर्काउने छ
सत्य भरिएका कराहीहरूले
एक पटकलाई भए पनि
गल्लीहरूबाट निस्केर
अनगिन्ती मान्छे जम्मा भएर एक साथ
गाउने छन् गीत
कि फुलेको छ इन्द्रधनुष
जर्जर बलवान् र
डरलाग्दाहरू बनेका छन् बाख्राको पाठो
म लामो समयदेखि प्रतीक्षामा छु
कि आउने नै छ ईश्वर कुनै दिन
र यसै सडकमा म गाउन थाल्ने छु सुरमा
३
सडकमै विचार आउँछ-
म तिमीलाई केही लेख्न चाहन्छु
के लेखौँ सोचेर
कुनै विषयमा ध्यान केन्द्रित गर्छु
जब मनको डायरीमा लेख्न सुरु गर्छु
कुनै अर्कै विषय आएर
सामुन्ने ओच्छिने गर्छ
यी सबै विषय सडकमा खसिरहेका चिसोको वर्षा जस्ता छन्
त्यसैले लेख्न छाडेर बस्छु
यो सोचेर कि सायद मैले लेख्दा
लागिहालोस् घाम
लेखिनँ भने
बाँकी बचेको उज्यालो
हराएर जान्छ र
चिसोको अन्धकारले ढाक्न थाल्छ
हिँडिरहन्छु सडकमा
बजिरहन्छ फोन
कोही छ- बोलाउँछु
कोही छ जसले थाहा पाओस् छोप्दै छ अँध्यारोले
कोही छ- बोलाउँछु
अब यो कुरा देशका सीमाहरूबिचको हैन
धरतीका हरेक कुनामा छोप्दै छ उज्यालोले
अब धेरै ढिला भइसकेको छ
अँध्यारोले ढाकिसको छ टाढासम्म
अब यो कुरा देशका सीमाहरूबिचको हैन
धरतीका हरेक कुनामा छोप्दै छ उज्यालोले
४
सडकमा फल बेच्ने महिला छिन्
अर्को पटक भेट्नासाथ उनी गर्ने छिन् गुनासो
मैले फल नकिनेकोमा
सडकमा नरिवल पानी बेच्ने मान्छे छ
सडकमा बेखुसी छ जुन धुँवा फालिरहेका गाडीहरूको हो
सडकमा सडक छ
जसलाई म हेर्न सक्छु एउटा बालकजसरी पटकपटक
५
सडकमा सोह्र दिशाहरूबाट आउँछन् वाहन
एक सय अट्ठाईस गल्लीहरूमा
उभिएको छ ईश्वर
ती बीसलाई के गर्ने
जुन धेरै छन् ईश्वरका नाम
सायद त्यही हो यमको धाम
यो केही यस्तो रहस्य हो-
कि ईश्वरका एक सय आठ नाम
खासमा कविहरूका विलासले भरिएका कल्पना हुन्
सडकका लागि हरेक नाम जटिल प्रश्न हुन्
६
सडकले देखेको छ मेरो संसार यता खुम्चिँदै गएको छ
मेरा पढ्ने सामग्री साँघुरिएका छन्
इन्टरनेटमा हुँदैन मेरा लागि केही
मेरा साथीहरू मलाई गर्दैनन् मेल
मलाई फोन गर्नेहरूको सङ्ख्या शून्यको करिब छ
स्मृतिहरू मलाई बिदा भन्दै छन्
के म अब कसरी जाने भनेर सोचूँ ?
७
कसैले भनिदेओस् यमदूतहरूलाई अब मलाई लैजानका लागि
कुनै पनि बेला जान सक्छु म
हालैको कुनै हिट धुन गाउँदै
अथवा एक दुई एक लेफ्ट राइट लेफ्ट मार्च पनि गर्न सक्छु जाँदै गर्दा
आकाशबाट आँखा झिमिक्क गर्दा आउने छ
अन्तरिक्ष वाहन
र सडकले सम्हिलनुभन्दा अगाडि नै उठाइने छु म
छेवैबाट कोही गाउँदै जान्छ-
‘अजीब दास्ताँ है ये
कहाँ शुरू कहाँ ख़तम’१
तिमी भन्छ्यौ यसरी जाँदै गर्नु के जानु हो
योभन्दा राम्रो अरु बाँच्नु के हुन्छ
कसैले मार्च गरोस् र फिल्मी धुन गाओस्
जब जाने बेला हुन्छ तब रोकिन्छ धुन
शिथिल हुन्छन् पाइलाहरू
यो सबै टाढाबाट मात्र भनिरहन्छ्यौ
भन्नु नै छ भने नजिक आएर भन
सँगसँगै रुन सकौँ हामी
यति टाढाबाट कसरी झारूँ आँसु तिम्रो काखमा
कसरी चुमौँ तिम्रो गालामा अडिएका आँसु
लोकसमाजले देख्यो भने के भनौँला
जानुअघि बाँचिरहुँला
यसरी नै दूरीमा निकटता
अथवा बाँच्दै गर्दा यसरी
गइरहुँला लगातार
८
कस्तो भ्रममा छु
सडक नै बाँच्छ वास्तवमा
म होइन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।