कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो बीसाैँ श्रृड्खला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृड्खलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना र नयाँ कविका लुकेका कवितालाई यसले बढी महत्त्व दिइने डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् । यसपटक डा. विप्लव ढकालले नेपालका मानक कविहरुको कविता प्रस्तुत गरेका छन्ः
१. हरेक बिहान
(सुमन पोखरेल)
हरेक बिहान
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्छु आफूलाई—
आफैँ हुँ कि होइन भनेर !
कृतज्ञता व्यक्त गर्दछु
आफ्नो एक मात्र संरक्षकलाई—
‘धन्य ईश्वर !
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन !!’
२. म उनलाई माया गर्छु
(रवीन्द्र मिश्र)
म उनलाई माया गर्छु
म उनलाई माया गर्छु !
एउटी महिलाले
फाल्नै आँटेको भ्रूणलाई जत्तिकै
म उनलाई माया गर्छु !!
३. अधर्म
(प्रकाश सायमि)
म कविता भएर
तिम्रो ओठमा आउन चाहन्थेँ,
तिमीले तमसुक बनाएर
मलाई कागजमा थुनिदियौ !
म तिम्रो मनमा
सजिन चाहन्थेँ आत्मा भएर,
तर तिमीले मलाई
ढुङ्गा बनाएर
मन्दिरमा थन्क्याइदियौ !
४. देवताहरू
(जयन्ता पोखरेल)
मन्दिरभित्र
स्थापित देवताहरू !
तिमीलाई ब्यूँझाउन
घण्टहरू बजाउनुपर्छ भने
तिमीलाई रिझाउन
नैवेद्य चढाउनुपर्छ भने
तिमीलाई फकाउन
स्तुतिपाठ गर्नुपर्छ भने
तिमी देवता होइनौ !
किनकि
देवताको अर्थ
चाकरी हुन सक्दैन !!
५. अग्लो
(गोपी सापकोटा)
अग्लो हुनु
धेरै अग्लो हुनु
अभिशाप रहेछ !
अग्लो, धेरै अग्लो भइसकेपछि
अझ अग्लो हुने ठाउँ नहुँदो रहेछ !
अग्लो, धेरै अग्लो भइसकेपछि
पुनः होचो बन्न नसकिँदो रहेछ !
आजका अनुभूति हुन् यी मेरा
अग्लो हुनु
धेरै अग्लो हुनु
अभिशाप रहेछ !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।