प्रायः दुई महिना जति दार्जिलिङमा छुट्टी बिताएर फर्केपछि अफिस ज्वाइन गर्नका निम्ति म बडाबजारबाट बसमा चढ्छु । जी. एस्. रोड हुँदै बस पुलिसबजारको बस बिसौनीमा पुगेर अडिन्छ । अरू ठाउँमा भन्दा यस ठाउँमा बस अलि अबेरसम्म अडिने चलन छ । म छेवैको सिटमा बसेकी हुनाले स्वभाववश सडकको पेटीतिर हेर्छु । त्यहाँ पेटीको पल्लो कुनामा दुई तीन ठाउँका ससानो काठका बाकसमाथि पान, बिँडी, सिगरेट इत्यादि राखेर बेच्न बसेका पसलेहरू सधैँ झैं कोही गुवा (काँचो सुपारी शिलाङमा गुवा भन्ने चलन छ) काट्नमा र कोहीचाहिँ ग्राहकलाई चाहिएको वस्तु दिनमा व्यस्त देखिन्छन् । अनायास मेरा आँखा पर कुनामा झोक्रिएर बसिरहेको अन्धो भिखारीमा पुग्छन्, जसलाई म वर्षौंदेखि देख्दै आएकी छु । ऊ झोक्रिएर बसेको थियो उसको अघि एउटा पुरानो टिनको सानो डब्बा र छेउमा एउटा लामो लाठी तेर्साएर राखिएको थियो । लाठी ! म झस्कन्छु, कारण यता केही वर्षदेखि उसले लाठी लिन छोडिसकेको थियो । मलाई उत्सुकता लागेर आउँछ त्यो लाठी देखेर । म अझ नियालेर ऊतिर हेर्छु । सधैँ मैलो झुत्रे, ठाउँठाउँमा टालेको पुरानो पुरानो ऊनी कोट र त्यस्तै काती परेको कालो ऊनी प्यान्ट जो त्यही कोट जस्तै पुरानो र घुँडामा टालेको अनि शिरमा कालो नेपाली टोपी उस्तै मैलो । ऊ निन्याउरो मुख लाएर टाउको अलि ढल्काएर सोचमा डुबेर बसेको भान हुन्थ्यो ।
‘के भएछ र यसलाई !’ म स्वयम्लाई प्रश्न गर्छु । ए ! उसको त्यो छोरो पनि त देखिँदैन, कता गएछ ? म आँखाले भ्याए जति ठाउँमा नियाल्छु तर त्यस केटोलाई देख्दिनँ । त्यतिकै मा बस हिँड्छ अनि मेरो विचारधारा पनि त्यत्तिकैमा टुङ्गिन्छ । यसरी नै तीन चार दिनसम्म म अफिसमा आउनेजाने गर्दा त्यस अन्धो मगन्तेलाई एक्लै कुनामा सधैँ झैं झोक्रिएर बसेको देख्दछु । उसको छोरोलाई पनि नदेख्दा र ऊ त्यसरी झोक्रिएर बसेको देख्दा मेरो मनमा अनेक शङ्का उठ्दछन् । अघिअघि त बस अडिन लागेको शब्द सुन्नासाथ बस अडिँदा नअडिँदै छोराको हात समाएर बसका झ्यालझ्यालमा टिनको डिब्बा थाप्दै पैसा माग्ने गर्दथ्यो । अनि टिनमा पैसाको शब्द हुनासाथ आशीर्वाद भट्ट्याउन थाल्दथ्यो, तर आज तीन चार दिन त बस आएको गएको पत्तो नै गर्दैन ऊ, न त उसको त्यो छाया झैं बाबुको साथ नछोड्ने त्यो केटो छ उसको सँगमा । ‘कतै बिरामी पो भएछ कि उसको छोरो ?’ म सोच्दछु । तर है ‘बिरामी भए त औषधीका निम्ति ऊ पैसा माग्न आइपुग्थ्यो नि !’ म स्वयम्लाई भन्छु ।
आज पनि अफिस जाने बेलामा बस आएर यहीँ अडिएको छ । म स्वभाववश उतै हेर्छु । ऊ एक्लै छ औ सधैँभैmँ उदास देखिन्छ । अब भने मलाई खुलदुली लाग्दछ । धेरै दिनबाट उसलाई देखेकी र अर्को कुरो ऊ नेपाली भएर होला, मलाई उसको त्यो एक्लोपन र उदासीको विषयमा सोध्न मन लाग्छ । तर उता अफिसमा अबेर हुनाले भोलि अलि चाँडो नै आएर ओर्ली सोध्ने निश्चय गर्दछु ।
बाटाभरि म उसको विषयमा नै सोचिरहन्छु । उसलाई मैले कलेजका दिनबाट नै देखेकी हुँ । भनौँ एकतर्फी परिचित भने पनि भो । कारण म उसलाई सधैं देख्दछु र उसको जीवनको केही घटनासँग पनि परिचित छु । तर ऊ मलाई चिन्दैन, कारण ऊ अन्धो छ ।

माया ठकुरी
सधैँ आउनेजाने गर्दा, उसलाई पुलिस बजारको बस बिसौनीमा लाठीको भरमा बाटो पहिल्याउँदै बसको छेउमा आएर टिनको सानो डब्बा एउटा झ्यालबाट अर्कोतिर घुमाउँदै, ‘दुई चार पैसा अन्धोलाई पनि दान गर्नुहोस् बाबूसाब, बाबूसाहेबनी !’ भन्दै यात्रीहरूसँग पैसा मागेको धेरै दिनसम्म देखेकी थिएँ । हठात् एक दिन उसको हातमा लाठीको सट्टा एउटी सानो गाँठी भएकी काली, कुप्री र्याल चुहाउने र हिँड्दा एउटा खुट्टा खोच्याङखोच्याङ पार्दैै हिँड्ने आइमाईको हात देखिएको थियो । जसले बस अडिँदा नअडिँदै त्यस अन्धोलाई डोर्याउँदै बसको छेउमा ल्याइपुर्याउँदथी । अनि मैले मात्र होइन, अरूले पनि लक्ष्य गरेका थिए होलान्—एउटी सँगिनी पाएर त्यस अन्धाको अनुहार प्रफुल्लित देखिन्थ्यो ।
एक दिन म त्यहीँ उभिएर साथीलाई पर्खिरहेकी थिएँ, हठात् कुनै नारीकण्ठको मुक्त हँसाइले मलाई पछि फर्केर हेर्न बाध्य गराउँदछ । म फर्केर हेर्छु । त्यस अन्धोकी स्वास्नी पैसा माग्ने डब्बा पछि लुकाउँदै हाँस्दै परपर भएकी र त्यो अन्धोचाहिँ मुसुमुसु हाँस्दै, ‘ए बजेनी, दिन्छेस् कि सोझाऊँ तेरो डँडाल्नो ?’ भन्दै दुई हात फिँजाएर वरपर गरेको । अनि त्यो अन्धो उसलाई खोज्दै फुटपाथ नाघेर बाटोमा पाइला राख्नासाथ त्यो आइमाई दगुर्दै जान्छे र उसको हात समाएर फेरि फुटपाथमाथि उभ्याएर लाडे स्वरमा, ‘यो पैसाले म सारी किन्छु क्या ।’ भन्दै लोग्नेचाहिँको छातीमा टाँसिन पुग्छे । ‘किन्लिस्, किन्लिस्, अलि पैसा त जम्मा हुन दे ।’ भन्दै स्वास्नीको केश मुसार्दै गरेको देखेर मलाई एकतमास लागेर आएको थियो । उनीहरूको त्यो दाम्पत्य जीवन देखेर आफ्नै भविष्यको विषयमा केके सोचेर रोमाञ्चित भएकी थिएँ ।
समय यसरी नै बित्दै जान्छ । मेरो कलेजको अन्तिम वर्ष आइपुगेको हुन्छ । अब त्यो अन्धो मगन्तेको संसार पनि दुई प्राणीमा मात्र सीमित नरहेर उनीहरूको माझ एउटा बालक पनि थपिन्छ । बस अडिनासाथ त्यो अन्धो मगन्तेलाई डोर्याउँदै उसकी स्वास्नी नानीलाई पिठ्यूँमा लुगाले बाँधेर बसका छेउमा ल्याइपुर्याउँदथी, अनि त्यो मगन्तेचाहिँ उज्यालो अनुहार पारेर बसयात्रीहरूसँग पैसा माग्दथ्यो र पैसाको शब्द टिनमा हुनासाथ ‘ईश्वरको सन्तान दिऊन्, सुख दिऊन्’ भनी आशीर्वाद दिन्थ्यो । सन्तान प्राप्तिको सुखद अनुभूतिले नै होला उसले सन्तान–सुखको आशीर्वाद दिएको ।
वर्ष बित्दै जान्छन् । समयको परिवर्तनका साथसाथै मानिसको जीवनमा पनि धेरै परिवर्तन आउँदछ । म पनि कलेजको छात्रा नरहेर अफिसमा स्टेनोको काम गर्न लागेकी हुन्छु । अब उसको छोरा पनि टुकुरटुकुर हिँड्ने भइसकेको हुन्छ । आमाबाबुको स्नेह र प्यारमा हुर्केको त्यो मगन्तेको एक मात्र छोरो सानै भए पनि निकै बाठो र चतुर छ भन्ने कुरो उसको हाउभाउले दर्साउँदथ्यो । कहिलेकहिले बसमा बसेका यात्रीमध्ये कसैले त्यो मगन्तेलाई जिस्क्याउनका निम्ति हाँस्दै, ‘लौ ! अब त छोरो पनि ठूलो भइसकेछ, अब त तँलाई मागेर खानु पर्दैन होला । कमाइ गर्ने छोरो भइहाल्यो ।’ भन्दा त्यो मगन्तेले छोरालाई समीपमा तान्दै उसको केश मुसार्दै, ‘हो बाबुसाब, यो ठूलो भयो भने त हाम्रो दुःखै हराउँछ नै ।’ भन्दथ्यो ।
एक दिन कताकता उसकी स्वास्नी प्रसवकालमा मरी रे भन्ने म कसैबाट सुन्छु । पत्नीको मृत्युपश्चात् त्यो मगन्ते छोराको हात समाएर माग्न आउँदथ्यो । त्यो सानो केटो पनि बाबुले झैं कालो काती परेको हाफ प्यान्ट र ठूलो झुत्रे कोट (कसैले जडौरी दिएको हुनुपर्छ) लाएर र छिटको नेपाली टोपी जो मैलिएर बेरङको भइसकेको हुन्छ, लाएर बाउलाई हात समाएर बसको छेउमा ल्याइपुर्याउँथ्यो । एउटा हातले बाउको हात डोर्याए तापनि अर्को हात ऊ घरीघरी गोजीमा घुसार्दै भुटेको मकै वा चना झिकेर मुखमा हाल्दै करमकरम चपाउने गर्दथ्यो ।
मलाई ती बाबुछोरालाई देख्दा झट्टै त्यो कुप्री र्याल चुहाउँदै लोग्नेको हातबाट पैसाको डब्बा खोसेर हाँस्दै परपर हुने त्यो आइमाईको सम्झना हुन्थ्यो, जसलाई मैले धेरै दिनअघि यसै मगन्तेको छेउमा देखेकी थिएँ । त्यस बेलाको मगन्तेको अनुहार र यस बेलाको अनुहारमा अति ठूलो पृथक थियो । उस बेला यसको अनुहारमा चञ्चलता र अस्थिरता देखिन्थ्यो जहाँ धेरै पाएर पनि अझ केके पाउने आशा देखिन्थ्यो र यो अनुहारमा केही हराए तापनि धेरै पाएको भाव झल्कन्थ्यो । चञ्चलताको सट्टा त्यहाँ गम्भीरताको छाप देखिन्थ्यो ।
‘नङ्थुमाई ! नङ्थुमाई !’ बस कन्डक्टरको चर्को स्वरले म झस्किन्छु र बसबाट ओर्लेर अफिसतिर लाग्छु । अर्को दिन छिटो गर्छु भन्दाभन्दै घरमै नौ बजिसक्छ । हतारहतार गरेर बडाबजार पुग्छु र बसमा चढ्छु । प्रभा (मेरी साथी) लाई पनि छेवैको सिटमा बसेकी पाउँछु । हामी यताउतिका कुरा गर्न थाल्छौँ । बस सधैँ झैं पुलिस बजार पुगेर अडिन्छ । म घडीतिर हेर्छु—दस बज्न पाँच मिनेट छ । केही निश्चय गर्दा नगर्दै, ‘बिचरा, बस अडिएको सुनेर पनि छेउमा आउँदैन ।’ प्रभा बाहिरतिर हेर्दै भनेकी हुन्छे । म पनि उसले हेरेकैतिर हेर्छु । त्यही अन्धो मगन्ते, त्यसरी नै झोक्रिएर बसेको । ‘अँ त, हिजोआज त ऊ त्यहीँ मात्र बसेको देख्छु, छोरालाई पनि देख्दिनँ ।’ म भन्छु । आश्चर्यसाथ मतिर फर्केर प्रभा भन्छे, ‘के तिमीलाई थाहा छैन र ?’ अनि आफैं केही सम्झे झैं गरेर, ‘ए साँच्चै त, तिमी त दार्जिलिङ पो गएकी थियौ त त्यति बेला त ।’ भन्छे । मेरो उत्सुकता बढ्दै जान्छ । ‘किन, के भयो र ?’ म प्रश्न गर्छु ।
ऊ त्यस अन्धोतिर एकपल्ट हेर्छे अनि मतिर हेरेर भन्छे, ‘उसको त्यो छोरो थियो नि, त्यो पनि त मर्यो ।’
‘हँ ! कहिले कसरी हँ ?’ म एकैचोटि प्रश्न गर्छु ।
‘यहीँ ।’ ऊ उत्तर दिन्छे ।
‘यहीँ ?’ म अझ तर्सिन्छु ।
‘अँ यहीँ ।’ प्रभा अघिभन्दा अझ गम्भीर हुँदै भन्छे, ‘छिः है सम्झँदा पनि कस्तो लाग्छ त्यस दिनको दृश्य ता ।’ ऊ भन्दै जान्छे, ‘बस अडिनासाथ एउटा हातमा बेलुन र अर्को हातले बाउलाई डोर्याउँदै ल्याएको थियो त्यस केटाले । बस यात्रीहरूबाट पैसा मागीवरी बस हिँड्न लाग्दा दुवै बाउछोरा छेवैको फुटपाथमा उभिएका थिए । हठात् त्यो केटाको ‘मेरो बेलुन, मेरो बेलुन’ भनेको स्वर सुनिन्छ र साथै मानिसहरूको ‘बच्चा, बच्चा’ भनेको कोलाहल पनि सुनिन्छ तर त्यति बेलासम्म बस हिँडिसकेको हुन्छ । पछि बस रोकिएर हामी जम्मै ओर्लेर हेर्छौं त उफ् ! कति बीभत्स दृश्य ! एउटा हातमा रातो बेलुन समातेको त्यस सानो केटाको आन्द्राभुँडी रगतमा मुछिएर बाटाभरि…म त हेर्न पनि सकिनँ हो ! उता त्यो अन्धोचाहिँ रुँदै, चिच्च्याउँदै दुई हात फिँजाएर मानिसहरूको भीडमा मेरो रामू, मेरो बा रामू भन्दै वर र पर गर्दै थियो…।’
प्रभा अझ केके भन्दै थिई तर म भने एकटक लाएर त्यो पर झोक्रिएर बसेको अन्धोलाई हेरिरहेकी हुन्छु । मेरा आँखाअगाडि चलचित्र झैं ऊसँग सम्बन्धित धेरै घटना नाच्न थाल्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

