ढ्याम्म !

बडेमाको आवाज आयो माथिल्लो तलाको भान्साकोठाबाट ।

यो पक्कै पनि सिठी बजाउने कसौँडी भुइँमा बेस्सरी पछारेको हुनुपर्छ ।

झर्याम्म ! टिङरिङ !! टुङरुङ !!!

कठै ती ह्विस्की खान औधी रहर लागेर ल्याएका क्रिस्टलका गिलासहरू ! पाकेटैसित राखेको थिएँ, गए ती पनि । झल्र्यामझुर्लुम ।
दराजभित्र थन्काउनु पर्ने रैछ । सत्यानाश !

उ ! लौ न !! मैले भात खाने गरेको चरेशको थाल पनि सहीद भयो कि क्या हो ? बरु बटुकोसम्म भए हुन्थ्यो । चरेशका भाँडा, चर्के फुटेपछि ठाँडा नै हुन्छन् । बूढाबाका पालादेखि जतन गर्दै ल्याएको, त्यही थ्यो एउटा खानदानी चिनो । गयो बरै गयो ।

हेर्दै जाऊँ । अझै के–के जाने हुन् ? मनै चर्कियो भन्या ।

बिचरा ! भान्सामा फुट्ने जति फुटिसके । बाँकी त सबै कुच्चिने मात्रै हुन् । जिन्दगी कुच्चिँदा त ठोकठाक गरेर गुजारा चल्छ भने भाँडा त कसो नहोला ?

म हुन्डरी थामिने प्रतीक्षामा चुपचाप बसिरहेको छु । माथि गएर ढोकाबाट चियाउने आँट पनि गरिनँ । शैलपुत्रीको वेग नथामिँदै त्यता जानु ठिक छैन । बूढी खुसी हुँदा त चेपारो पार्दै बोलिन्थ्यो, यस बखत चेपारो पार्नु ठिक छैन । आफैं चेप्टिने डर छ ।

नवदुर्गाको पूजाआजा पनि सकियो, विजयादशमी पनि मनाइयो, सकेसम्म सबै देवी भगवतीहरूलाई सम्झीसम्झी घरमै उमारेको जमरा पनि चढाइयो । आज ठ्याक्क कोजाग्रत पूर्णिमाका दिन दसैँलाई विसर्जन गर्ने बेलामा घरकी देवीले एकाबिहानै प्रलयकारी रूप धारण गरिन् बा ! अब सानोतिनो धूपबत्ती, पूजाअर्चनाले यो सङ्कट टर्नेवाला छैन । जुक्ति त लाउनै पर्ला ।

मुकुन्दराज शर्मा

कारण अणु झैं सूक्ष्म छ तर विस्फोट अणुबम झैंं भयानक ।

अचानक सानो छोराको सम्झना भयो । कतातिर के पो गर्दै होला ? सुतिराखेकै त होला ? त्यसलाई के अत्तोपत्तो ? देशै हल्लाउने भूकम्प चाल नपाउनेले घरमात्रै हल्लिने कम्पन के थाहा पाउँथ्यो ? छोरा पनि मै जस्तै स्वाँठ हुने भयो । यस्तै सोच्दैसोच्दै भित्र गा’को त ओहो ! छोरा त उठेर हातमुख धोइवरी थपक्क बसेर पढ्दै रैछ । एक जुवा घाम नचढ्दै ओछ्यानबाट ननिस्किने छोरो, आज …… ओहो ……. !!

“दसैँ त सकिन बाँकी नै छ छोरा । तिमीले त पढाइलेखाइ सुरु गरेछौ त ?” मेरो प्रश्न ।

“धेरै दिन भयो पढाइ गर्न छाडेको । मासु खाँदाखाँदा जीउ पनि धमर्धुस भयो । बिहान–बिहान अब पढौँ कि भनेर ड्याड् ! फेरि पढ्नु पनि त पर्यो नि है ड्याड् ?” छोराको उत्तर मतिर व्यङ्ग्य त होइन ?

छेउमै गएर टाँसिँदै सोधेँ – “के पढ्दै छौ त छोरा ?”

उसले सुझबुझका साथ राम्रो उत्तर दियो, “ज्वालामुखी विस्फोट हुनाका कारणहरू र त्यसबाट हुन सक्ने परिणामहरू । बरु हजुरले पनि पढ्नुभएको कण्ठै होला नि । अलिकति भन्नुस् न ड्याड् ।”

के बताऊँ उसलाई ज्वालामुखी विस्फोट हुनाको कारण अणु झैं सूक्ष्म पनि हुन सक्छ भनेर ? अझ त्यसका परिणाम त झन् के के ? के के ? यसबेला भइसक्यो, एक कप चियासँग भेट भएको होइन ।

माया, संवेग, विश्वास, आकाङ्क्षा यी सबै अत्यन्त प्रज्वलनशील हुन्छन् । यिनलाई सल्काउन कुनै दियालो वा फिलिङ्गो चाहिँदैन, मनका दर्शनढुङ्गाको ‘ठाक्ठुक्’बाट निस्किएको झिल्को भए पुग्छ ।

छोरालाई फकाउँदै भनेँ, “बाबु, माथि भान्सातिर यसो नजर लगाएर आऊ न !” छोराले अभिनयात्मक शैलीमा केही पत्तो नपाए झैं गर्दै भन्यो, “ड्याड्, बालबालिका पनि शान्तिक्षेत्र हुन् नि ? हजुरलाई थाहै होला ?” उफ् ! कुरा उसले पनि बुझ्यो, दङ्गाफसादबाट टाढै बसेको राम्रो । अचेलका बालबालिका निकै चतुर हुन्छन् तर बेलाबखत यसरी नै ‘प्रिन्टेड’ गरिदिन्छन् । मलाई दुईवटा कुराको खुलदुली थियो– पहिलो भान्सामा भएको क्षतिको प्रारम्भिक जानकारी र दोस्रो अहिलेको वस्तुस्थिति । किनकि धेरैबेरदेखि कुनै ध्वंसात्मक लाग्ने, मन चिर्ने खालका, प्रभुकै पुकारा गर्नुपर्ने खालका आवाजहरू थामिएजस्तो लाग्या छ । युद्धमा झैं यो कुनै कुटिल रणनीति पनि हुन सक्दछ । एउटा पक्षले शत्रु पक्षलाई झुक्याउन सिर्जित सन्नाटा झैं । यसो शिर उठायो कि …. ।

तर, अब मैले हिम्मत गरेरै यो जान्नु जरुरी छ कि वास्तवमा हाम्रो घरकी शैलपुत्री यसबेला के गर्दै होलिन् ?

जोईपोइको झगडा होस् या गृहिणीको बबण्डर, त्यसको बाछिटाको तरङ्ग यति छोटो हुन्छ कि भित्ता जोडिएको छिमेकीले पनि सुइँको पाउँदैन । तर, भुसभित्रको राप बढिरहेको हुन्छ । जबसम्म मायाको दमकलले पिरतीको झरी बर्साउँदैन, तबसम्म यो राप बढी नै रहन्छ, निभ्दैन ।

रिसाउनाको कारण अणु झैं सूक्ष्म छ तर विस्फोट अणुबम झैं भयानक ।

अब धैर्यका साथ वार्ता र सहमतिको पहल त गर्नै पर्यो ।

बिस्तारै भान्साकोठामा चढेँ । श्रीमतीजी डाइनिङ टेबलमा बसेर घिरौँला ताछ्दै थिइन्, आशा र भोक दुबै अलिअलि पलाए । आँखा भुइँभरि चारैतिर दौडाएँ, टुटेफुटेका भग्नावशेषहरूको पहिचान गर्न । अचम्म ! कतै केही देखिनँ । सायद बटुलबाटुल पारेर झोलामा पोको पारेको हो कि ? सोध्न त हुँदै भएन । परिणति जस्तो पनि हुन सक्छ । नोक्सान जति हुनु थियो भैसक्यो । अब अरू अगाडि क्षति हुनुभन्दा विषयको सुरक्षित अवतरण गराउनु नै बेस । यसो रेफ्रिजरेटरको ढोका खोलेँ, मानौँ म आफ्नो नियमित कार्य जिम्मेवारीपूर्वक गर्दै छु । पसलबाट नित्य दूध ल्याउने काम मै गर्छु । मौनता भङ्ग गर्ने प्रयासमा श्रीमतीजीतिर हेर्दै नहेरी बडो क्याजुअल हुँदै सोधेँ, “दूध दुईवटा पाकेट ल्याउने होला कि तीनवटा हँ ?” प्रश्न यसरी सोधेँ मानौँ यतिन्जेल घरमा केही भएकै थिएन ।

जिन्दगीका प्रत्येक घुम्तीहरुमा बाटो सकेसम्म फराकिलो बनाउनु पर्छ ।

अचानक हुरी फर्कियो । मस्त सागरको शान्त लहरमा तैरिँदै गर्दा ठूलै छालमा परे झैं भयो, निदाउन लागेको सिंहलाई ब्युँझाए झैं भयो ।
“सोध्नैपर्छ ? नाटक ! सधैँ आफैं गर्ने काम पनि आज सोध्नुपर्यो ? जति ल्याउने हो ल्याउने । दोकानै उठाएर ल्याए पनि हुन्छ ।”
मैले पनि व्यर्थै के प्रश्न सोधेहुँला ? वाहियात !

मेरो पछिपछि लागेर छोरा पनि ढोकामा आएर उभिएको रैछ, लुरुक्क ओरालो लाग्यो । सङ्कटमा बाउलाई साथ देलाजस्तो छैन ।

गेट खोलेर बाहिर निस्किँदा छिमेकी भाइ पनि ठ्याककै बाहिर निस्किँदै रैछन् । जम्काभेट भयो । अनुहार मलीनजस्तो लाग्यो । बिचरा ! यिनका घरमा पनि आज देवी जागिछन् कि क्या हो ? मनले प्रश्न गर्नै आँटेको थियो, धन्न आज जिब्रोले परिपक्वता देखायो । मान्छेले दुनियाँ आफ्नै आँखाले हेर्ने त हो नि ? अरूका आँखाले पनि दुनियाँ हेर्न जानेको भए कति विचित्रको हुन्थ्यो होला यो संसार ?

दूधलाई रेफ्रिजरेटरमा हुलिदिएँ । काम पनि सकियो, बहाना पनि सकियो । तर, मनमा कौतुहल र आँखामा जिज्ञासा बढेको बढ्यै थियो । त्यत्रो ताण्डवसहित के बज्रिए ? के फुटे ? अनि कहाँ गए ? विद्यालयमा गुरुले जिज्ञासु बन्नुपर्छ, जिज्ञासाले ज्ञानका नौला ढोकाहरू खोलिदिन्छ, अन्वेषक भइन्छ भन्नुहुन्थ्यो । यही जिज्ञासाले मान्छेले कत्राकत्रा अकल्पनीय अन्वेषणहरू गरिसके । मचाहिँ बबुरो एउटा त्यान्द्रोजत्रो जिज्ञासाले अर्को महाभारतको खतरा देखिरहेछु ।

मेरो गल्ती आकारमा अणुजत्रै सूक्ष्म थियो, विस्फोट अलि ठुलै भयो, अणुबम पड्किए झैं ।

म एकैछिन दोकानतिर के हिँडेको थिएँ, छोटो अन्तरालमा घरमा ठुलै घोषणा भएछ, छोरालाई साक्षी राखेर ।

“भन्दे तेरो बाउलाई, अबदेखि म यस घरको भान्साको ठेक्का लिन सक्दिनँ । माइती नगई एक छाक अरूले पकाएको मीठो–चोखो खाउँला भन्नु छैन । साह्रै हेलाकी भएँ म । अब जजसलाई भोक लाग्छ, आफैं पकाउने खाने ।” छोरा यो कठिन घडीलाई मतिर पन्छाउँदै थियो । घोषणाका धारिला प्रतिध्वनिहरू नेपथ्यबाट अझै अलिअलि आउँदै थिए । “बाँचुन्जेल सबैको सेवा गरौँला भनेर तमसुक गरेर आएकी रैछु यो घरमा । मेरो पनि मन हो, मलाई पनि रहर लाग्छ, ….. ।” प्रतिध्वनि बिस्तारै अस्पष्ट हुँदै बिलायो ।

नारीहरू विशाल जलनिधिको चञ्चल र मनोहर सतहजस्ता देखिन्छन् तर उनीहरूभित्र पनि ज्वारभाटा मच्चिँदोरहेछ ।

मेरो गल्ती आकारमा अणुजत्रै सूक्ष्म थियो ।

मेरी पत्नीलाई थाहा छ, र थाहा हुनु स्वाभाविकै पनि हो, कि म बिहानको खानासँग दही खान अत्यन्त रुचाउँछु । उनी सधैँ सुत्न जानुअघि एउटा सानो सिसाको भाँडोमा मेरा लागि दही जमाइदिने गर्छिन् । हिजो बेलुका उनी अत्यधिक थाकेकी थिइन् । दूध अलि धेरै नै तातो थियो । दहीको जोडन मिसाउने बेला भएको थिएन । उनी थाकेकाले मायालु मनले त्यो जिम्मा मैले लिएँ । संसारभरिकै हुस्सु म ! त्यति नाथे काम फत्ते गर्न मैले बिर्सिएछु । न त काम गर्ने बानी, न त जिम्मेवारीबोध !

बिहानसम्म दूध दूधजस्तै नै थियो, छेउमै राखिदिएको अर्घले डुबुल्की मार्ने प्रतीक्षा गरिरहेको थियो । मेरा लागि दूध जमेर दही बन्न नपाएपछि उनको नौनीजस्तो मन सल्किएर वेदाग्नि भएको हो ।

कुनै पश्चात्तापहरू व्यक्त गर्न सकिँदैनन् । मेरो पनि मन डढेर खरानीजत्तिकै भइरहेको थियो । पीडा र पश्चात्ताप दुवै उनीसम्म पु¥याउन नसक्नु मेरो अर्को कमजोरी थियो । लोग्ने मानिस पनि त भित्रभित्रै जलेको हुन सक्छ, रोएको हुन सक्छ, तर ऊ देखिँदैन । त्यो उसको पनि हठ वा ‘इगो’ होइन, न त पुरुषप्रधान चरित्र । सधैँ पहरा झैं बन्न खोज्नु लोग्ने मानिसको पनि कमजोरी हो । पग्लिनुपर्छ ।

एउटी नारीको यति मुलायम भावनासँग खेलाँची झैं गर्नु नै मेरो ठूलो भूल भयो ।

छोराले ‘अब त खाना आफैं पकाउनुपर्ने भयो नि ड्याड् !’ भन्ने आशयमा मलाई भड्काउँदै थियो यतिन्जेलसम्म नगरेको काम अब आएर गर्नुहुन्न भन्ने त होइन, तर आज चाहिँ गर्न तम्सिनु भनेको चुनौती गर्नु, झुक्न नचाहनु र हठ देखाइरहनुबाहेक किमार्थ अरू केही हुने छैन । यो छोराले त मलाई फसाउँछ कि क्या हो ? उक्साइ मात्रै रहन्छ । बल्लबल्ल बन्न लागेको वातावरण बिगार्लाजस्तो छ ।

एउटा प्रश्न रहस्यमय छ– के बज्रिए ? के फुटे ? अनि कहाँ गए ?

सधैँ चुराहरूको मधुर झङ्कार सुन्न अभ्यस्त मेरा कानहरूले आज जे सुने त्यो सत्य हो कि भ्रम ? भान्सामा सबैथोक ठिकठाक छ । आखिर किन फुट्ने ? किन कुच्चिने ? जीवन गाँसिएको पहिलो दिन भात खाएको थाल अहिलेसम्म जतन गरी राख्नेले दुःखसुख गरी जोडेका खुसीहरू किन फुटाउँथिन् ? मलाई पत्यार लागेकै थिएन । नारी सृष्टिकत्र्ताको सर्वोत्कृष्ट रचना हो । उसले बरु आफैं टुटेर भए पनि अरुलाई टुट्नबाट जोगाउँछे । हरेक कष्टप्रद पलहरूलाई मिलिजुली विश्वासको टेकोले अड्याउँदै ल्याएर त आज हामी यहाँसम्म आइपुग्यौँ ।

केही बोल्ने मेरो पालो ।

“ए बूढी, बरु आज दही नभए पनि हुन्छ । दसैँको पूर्णिमाको दिन । दाल–भात मात्रै भए पनि खाउँला । भोक बेस्सरी लाग्यो बूढी ! छोराले पनि ओठ सुकाउन थाल्यो ।” अर्को अणुबम विस्फोटको आशङ्कामा म ढोकानेरैको सोफामा होसियारीपूर्वक टुसुक्क बसेको थिएँ ।

उनी आफ्नो ठाउँबाट जुरुक्क उठिन् । गहभरि आँसु पार्दै केही नबुझिने स्वरमा आफ्ना गथासा पोख्दै भान्सातिर लागिन् । जाँदा जाँदै छोराका दुबै गाला मुसारिन् र म्वाइँ खाइन् । कुनै पनि नारीले आफ्नो परिवारको भोको वेदनालाई टुलुटुलु हेरेर कसरी बस्न सक्छिन् ? विधाताले यति धेरै करुणा र समर्पणको यस्तो विशिष्ट गुण नारीलाई मात्रै दिएका हुन् कि पुरुषले त्यसको सदुपयोग गर्न नजानेका हुन् ? ऐनाअगाडि उभिएर आफैंलाई प्रश्न गरेँ । यस लोकका हरेक सृष्टिको समान अस्तित्व रहेछ, समान औचित्य रहेछ । रथको पाङ्ग्रामा लगाइने चुकुलको जस्तै । चेतना भया । सहअस्तित्वको महत्ता प्रकृति परमेश्वरले जति कसैले बुझेको रहेनछ ।

हामीले सँगै बसेर खाना खायौँ । भोक मिठो कि भोजन मिठो भन्थे, कहिलेकाहीँ जोई–पोइको ठाक्ठुक् झन् मिठो हुँदोरैछ ।

प्रत्येक मानिस संवेगात्मक क्रियाहरुको प्रयोगशाला रहेछ ।

एउटा प्रश्न मेरा लागि सधैँ अनुत्तरित हुने छ– के बज्रिए ? के फुटे ? अनि कहाँ गए ?

इति ।