साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पैसाको वान साइडेड जादू

फन्टुस फिक्सन

Chovar Blues Mobile Size

‘जम्बुरे ! यो के हो ?’
‘पैसा !’
‘कति पैसा हो यो ?’
‘बिस रुपियाँ !’
‘यसको अगाडि के छ ?’
‘सगरमाथा !’
‘यसको पछाडि के छ ?’
‘बाह्र–सिङ्गे !’
‘कसरी थाहा भो यो बाह्र–सिङ्गे हो भनेर ?’
‘१२ वटा हाँगावाला सिङ्ग देखेर !’
‘जम्बुरे !’
‘हजुर गुरुजी !’
‘यसको नम्बर कति हो ?’
‘आठ सात तीन दुई एक सुन्ना ।’
‘कसरी थाहा भो यसको नम्बर ?’
‘जादू गरेर !’
‘यो कसको पैसा हो ?’
‘तपाईको !’
‘कसरी थाहा भो यो मेरो पैसा हो भनेर ?’
‘तपाईको हातमा देखेर !’
‘मभन्दा पहिले यो कसको पैसा थियो ?’
‘थाहा छैन गुरुजी !’
‘जादू गरेर बता !’
‘बताउन सक्तिनँ गुरुजी !’
‘त्यसो भए यो पैसा अब कसको हुनेछ ? त्यो बता !’
‘जसले हातमा लिन्छ त्यसको !’
‘सुन्नुभो तपाईले जम्बुरेका कुरा ! यसलाई पैसाका बारेमा केही थाहा छ, केही थाहा छैन ।

तर, हामी सबैलाई थाहा छ, पैसा भनी छापिएको कुनै पनि रङ्गीन कागज नेपाल राष्ट्र बैङ्कले जारी गरेको रेडिमेड हस्ताक्षरवाला चेक हो । यसमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा रुपैयाँ २० तुरुन्त पाइनेछ,’ भन्ने लेखिएको छ । यसको अर्थ हो, यो जसको हातमा पर्छ, यसको भुक्तानी माग्ने अधिकार पनि उसैको हुन्छ । हिजोसम्म यस्तो अधिकार कसको थियो थाहा छैन । आज मेरो हातमा छ । केहीबेरमा यो तपाईको पनि हुन सक्छ । तर, त्यसका लागि तपाईको इच्छा चाहिन्छ । यदि तपाई चाहनुहुन्छ भने यो लिन सक्नुहुन्छ । यदि तपाईलाई बिस रुपियाँको खाँचो छ, यदि यसमा भएको सगरमाथाको फोटो मन पर्छ, वा यदि बाह्रसिङ्गेको सिङ्ग हेरिरहुँ जस्तो लाग्छ भने तपाई यो पैसा लान सक्नुहुन्छ ।’

यति भन्दै मैले बिस रुपियाँको नोट सबैले देख्नेगरी भुइँमा राखिदिएँ ।

‘जम्बुरे !’

‘हजुर गुरुजी !’

‘ल हेर्, अब यो पैसाले हेर्दाहेर्दै कसरी जादू देखाउँछ !’

sagarmani mobile size

‘हैट्, … गुरुजी पनि हावा कुरा गर्नुहुन्छ । पैसाले कहीँ जादू देखाउँछ ? जादू त मान्छेले पो देखाउने हो ।’

‘धेर नबोल … यता हेर … अब यसले कसरी गर्छ जादू,’ भन्दै मैले रमितेहरूतिर फर्केर भनेँ, ‘देख्नुभो तपाईले, जम्बुरेले पत्याएन मेरो कुरा । तर, तपाईँहरू पत्याउनुस् । … यो पैसाले साँच्चिकै जादू गर्छ । यदि तपाईहरूमध्ये कसैलाई ‘मलाई यो पैसाको खाँचो छ,’ भन्ने लाग्छ भने अगाडि बढेर यो पैसा लिन सक्नुहुन्छ । म केही भन्दिनँ । यो पैसामा तपाईले अलिकति थपेर इटहरीमा एउटा घडेरी किन्न सक्नुहुन्छ । चटपटी, आलुचप खान सक्नुहुन्छ । राजनिवास किन्न सक्नुहुन्छ । साथी वा कोही मगन्तेलाई दिन पनि सक्नुहुन्छ । जे गर्न मन लाग्छ, त्यही गर्न सक्नुहुन्छ ।’

‘आउनुहोस् ! कोही एक जना अगाडि बढेर यो पैसा लिनुहोस् । म केही भन्दिनँ । जसलाई मन लाग्छ, लान सक्नुहुन्छ ।’

हेर्दाहेर्दै हँस्यौली वातावरण अलिकति गम्भीर भयो ।

रमिते २४ जना थिए । वडास्तरबाट छानिएका, १६ पुरुष, आठ महिला । सबै १२ कक्षा पास गरेका । अनुपम नेतृत्व विकास कार्यशाला चलिरहेको छ । सेसन हो– पैसाको जादू । मद्वारा मेरो निर्माण । तर, अहँ ! लक्षित समुदायको कोही पनि त्यो पैसा टिप्न अगाडि बढेन ।

‘कृपया म फेरि भन्दै छु, जसलाई यो पैसाको आवश्यकता छ, उसले यो पैसा लानुस्, लैजानुस् । मलाई फिर्ता दिनुपर्दैन । यो तपाईकै हुन्छ ।’

अहँ ! पैसा टिप्न कोही अगाडि बढेन ।

‘तपाईहरूलाई मेरो कुरामा विश्वास नभएर हो कि के भएको हो ? नत्र किन, कोही एक जना अगाडि आएर यो पैसा लानु नभएको ? प्लिज, कोही अगाडि आउनुस् र यो पैसा लिएर जानुस् । जो आए पनि हुन्छ,’ मैले प्रशिक्षार्थीहरूलाई प्रोत्साहित गर्दै भने ।

त्यसपछि बल्ल एक जना सहभागी, अभिनन्दन अरगरिया यादव अगाडि बढे । हाँस्तै–हाँस्तै त्यो पैसा लिएर आफ्नो ठाउँमा गए ।

‘क्या बात् ! ल अब सबैले यादवजीका लागि रेडक्रस ताली बजाइदिनुहोला !’

ट्याक–ट्याक ! ट्याक–ट्याक ! ताली बज्यो । दुई पटक हत्केलाले, दुई पटक चुट्कीले ।

‘धन्यवाद ! तालीका लागि । पैसाको जादू करिब–करिब सकियो ।’

‘अब जस–जसले पैसा लिनुभएन उहाँहरूलाई म एउटा प्रश्न सोध्छु । प्रश्न त म पैसा लिने यादवजीलाई पनि सोध्छु । तर, पहिले नलिनेहरूलाई सोध्छु ।’

‘तपाईले त्यो पैसा किन लिनुभएन ?’

पैसा नलिनेहरूबाट विविध जवाफहरू आए ।

२३ मध्ये पाँच जनाले भने म लिन जान खोज्दै थिएँ, अर्को साथी अगाडि बढेर लगिहाल्नुभयो । दुई जनाले भने मलाई त्यो पैसाको खाँचो थिएन । हामी त सरले के जादू देखाउनुहोला भनेर हेर्दै थियौँ, तीन जनाले भने । छ जनाको भनाइ थियो, लिन मन लागेन । एक जनाले भने त्यो पैसा कसले लान्छ र उसलाई के हुन्छ भनेर हेर्दै थिएँ । सित्तैमा अर्काको पैसा किन लानु ? चार जनाको प्रतिप्रश्न थियो । एक जनाले अलिक धेर पैसा भएको भए लिन हुन्थ्यो भने । एक जनाले भने, ‘मैले त कुरै बुझिनँ ।’

‘अब जसले पैसा लिनुभयो, उहाँले भन्नुहोस्, तपाईले यो पैसा किन लिनुभयो ?’

‘सरले म पैसाको जादू देखाउँछु भन्नुभएको थियो । कसरी जादू देखाउनु हुँदोरहेछ भनेर हेर्नलाई ।’

‘धन्यवाद तपाईलाई । तपाईले जादू हेर्न लिनुभएको होस् वा जेसुकै कारणले लिनुभएको होस् । २३ जनालाई उछिनेर त्यो पैसा लिनुभयो, तपाईले जित्नुभयो । एकछिनअघि अवसर सबैका लागि बराबर आएको थियो तर विजेता तपाई हुनुभयो । के कारणले तपाईले पैसा लिनुभयो, त्यो तपसिलको कुरा हो । मुख्य कुरा जानेर होस् वा नजानेर होस्, तपाईले खेल जित्नुभयो ।’

‘र ज–जसले पैसा लिनुभएन वा लिने प्रयास गर्नुभएन, उहाँहरूले खेल हार्नुभयो । हामीभित्र विद्यमान यस्ता अनेकौँ कारण छन्, जसले हामीलाई हरुवा बनाइरहेको छ । हामी बहानाहरूको भारले थिचिएका छौँ । हाम्रो जीवनमा अवसरहरू आइरहेका–गइरहेका हुन्छन् । तर हामी चिन्दैनौँ । खास समस्या यो हो ।’

पैसाको यो खेलले तपाईको जीवनमा केही जादू होस् । सोच्ने तरिकामा अलिकति सकारात्मकताको मात्रा थपिदेओस्, म यस्तै चाहन्छु ।

हिन्दू सनातनी मान्यताहनुसार पैसा लक्ष्मीको प्रतिविम्ब हो । यस अर्थमा म पैसालाई माया गर्छु । म पैसाको लभर हुँ । पैसालाई म जत्तिको माया गर्ने प्रेमीको सङ्ख्या विश्वमा सानो खरमयुरको सङ्ख्या जत्तिकै दुर्लभ होला ।

सानो–ठुलो जुनसुकै दरको होस्, हातमा परेको पैसालाई म विशेष जतन गर्छु । दरअनुसार नयाँदेखि पुरानोको क्रम मिलाएर राख्छु । कसैलाई दिनुपर्‍यो भने सकेसम्म पुरानो–पुरानो छानेर दिन्छु । छेउ–कुना दोब्रिएको छ भने सिधा पारेर चारैतिरबाट सर्लक्क बनाउँछु । खजमजिएको, भिजेको रहेछ भने आइरन गरेर चिटिक्क पार्छु । च्यातिएको छ भने सेलोटेप टाँसेर जस्ताको त्यस्तै पार्छु । कैयौँपटक दुई रुपियाँको नोट टाँस्न पाँच रुपियााँको सेलोटेप किनेको छु । ‘चार आनाके मुर्गी बाह्र आनाके मसला,’ भनेजस्तो ।

तिहार वा सरस्वती पूजामा अगरबत्ती, दीयोले डढेको पैसा देख्नुभा’छ ? दुवै नम्बर भएको तर छेउछाउबाट च्यातिएर बिटुलो भएको पैसा कतै फेला पार्नुभा’को छ ? यस्तो बेलामा के गर्नुपर्छ ? तपाईलाई थाहा छ ?

यस्तो बेलामा त्यही पैसाको आकारमा एउटा सादा कागज काटेर त्यसमा बिटुलो पैसा टाँस्नुपर्छ । अनि मात्र त्यो पैसा साट्नयोग्य हुन्छ । साट्न नेपाल राष्ट्र बैङ्कको काउन्टर वा झुत्रो नोट साट्ने अख्तियारी पाएका राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्क लिमिटेडका सटही काउन्टरमा लानुपर्छ । मैले पाँच रुपियाँ, दस रुपियाँका धेरै त्यस्ता नोटहरू इनरुवाको वाणिज्य बैङ्क पुगेर साटेको छु ।

यसबाट पनि पुष्टि हुन्छ कि म पैसालाई कति माया गर्छु ।

तर विडम्बना मैले गरेको मायालाई पैसाले आजसम्म कहिले पनि सिरियसली लिएन ।

यही कुरा मैले साथी गेहेन्द्रचन्द्र ढुङ्गेललाई सुनाएँ ।

‘हामी पैसालाई माया गर्छौँ र त गल्ती गर्छौँ । पैसालाई माया गर्ने होइन । योसँग त खेलवाड गर्न सक्नुपर्छ,’ उनले भने, ‘जसले पैसालाई धेरै खेलाउन सक्छ, पैसाले उसैलाई पत्याउँछ ।’

यतिखेर एउटा दुर्लभ एकसिङ्गे गैँडा मेरो अगाडि छ ।

हरियो रङको गैँडामा उ ६७–१४७२९४ नम्बरको दुईवटा टाँचा हानिएको छ, पाँचतले मन्दिर न्यातपोलको दायाँ–बायाँ ।

नेपाल राष्ट्र बैङ्कको सहजीकरणमा भएको यो सिर्जना १२ वर्षदेखि मेरो नजरबन्दमा छ । कहाँबाट कहाँ पुगी सक्नुपर्ने थियो बरा । कवि शिरोमणि लेखनाथ पौड्यालको पिँजडाको सुँगाजस्तो बबुरोलाई मैले लामो समयदेखि फाइलमा थुनिराखेर ठुलै आर्थिक अपराध गरेँ कि जस्तो पनि लाग्छ घरिघरि । तर, यो स्वीकारोक्तिभन्दा खतरनाक छ, यसलाई मायाले सँगालेर राखी बस्नुको कारण ।
जुन दिन यो पैसा मेरो हातमा पर्‍यो, यसको हैसियत पूरै परिवर्तन भइसकेको थियो ।

नोज फर न्युज !

हातमा लिएर यसो सुँघ्नेबित्तिकै थाहा भो, यो त पैसा मात्र होइन, समाचारै समाचारले लवालव भरिएको प्रेमपत्र पो रहेछ । कति इच्छा–आकाङ्क्षा सँगालेर तयार पारिएको यो प्रेमिल दस्तावेजको साक्षी किनारका सदर मभन्दा पहिले कति भए होलान् ? थाहा छैन । तर, यो प्रेम–आमन्त्रण उनले मलाई नै लक्षित गरेर पठाएजस्तो लाग्यो ।

प्रेमपत्र लेख्ने चेलीको नाम र ठेगाना पुरानै नेपालको छ ।

प्रियसी समिरा अञ्जान कुलुङ राई । खाँदबारी नगरपालिका वडा नम्बर २, चेवा बेँसी, माथ्लो खोरिया, एकान्त काफल डाँडा ।

आवरणभन्दा अलिकतिभित्र चिहाउँदा सार्वजनिक प्रेमपत्रमा एक से एक प्रेमिल सायरीहरू लेखिएका छन् । उहिले–उहिले हिताय, मीनाहरूको अटोग्राफमा मैले लेखेजस्तो –

‘फूल राम्रो गुलाफको काँडा भए पनि ।
माया मिठो ‘ए’को टाढा भए पनि ।’
‘सम्झनाको अतीतमा त तिम्रो छाया परेछ ।
मुटुभन्दा प्यारो त ‘ए’को माया रहेछ ।’

माया मिठो ‘ए’को … प्यारो त ‘ए’को माया रहेछ … को हो यो प्रियसी समिराको मनमा दोहोरिरहने ‘ए ? थाहा छैन । तर जो भए पनि त्यसलाई मैले अभागी बनाइदिएँ । निकै वर्षअघि सङ्खुवासभाबाट उड्दै–उड्दै मेरो हातमा आइपुगेको यो प्रेम–पत्रका बारेमा समाचार लेखुँला भन्ने थियो । तर, लेखेको छुइनँ ।

‘मान्छे राम्रो भए सायद अक्षर राम्रो हुन्थ्यो होला ।
बोली राम्रो भए सायद मिलन हाम्रो हुन्थ्यो होला ।’

किशोर भावनाले लपक्क भएको यो मतलामा हाम्रो काफिया पछि मैले थपेको हुँ । सायद यतिबेला म जानी नजानी प्रियसीको मायामा परेको छु । र यी शब्दहरू दुनियाँलाई साक्षी राख्दै भनिरहेँछु –

समिरा ! तिमीले मनका भावनाहरू छताछुल्ल पार्दै निर्भिक भएर जसरी पैसालाई आफ्नो प्रेम–अभिव्यक्तिको माध्यम बनायौ, त्यसको म डाइहर्ट फ्यान हुँ । किनभने म पनि पैसालाई तिमीले जत्तिकै माया गर्छु । म तिमीले मन पराएको कोही ‘ए’को बारेमा कुनै टिप्पणी गर्दिनँ । तर यति भन्छु, सदैव सम्झना राख्नू … आफूले मन पराएकोले भन्दा आफूलाई मन पराउनेले धेरै माया गर्छ !

प्रतिक्रिया
Loading...