अन्तमा यो एक विशुद्ध प्रेम कथा नै बन्यो । सुनेको थिएँ, प्रेम हुने बेलामा जात, धर्म, कालो, सेतो, शिक्षित, अनपढ केही पनि हेरिँदैन । कसरी, कताबाट, कहिले, कसरी प्रेम हुन्छ पत्तै हुँदैन भन्ने पनि सुनेको थिएँ। सुनेको कुरा म आफैँमाथि लागू भयो । गणेश मन्दिरको पाटीमा उनी सधैँ पात बेच्थिन् । मैले त्यो सत्तलमा बसेर कति चिसो हावा र तातो चिया पिएँ होला, कुनै दिन पनि उनीतिर आँखा गएको थिएन । तर एक साँझ अचानक मैले उनको हाँसिरहेको अनुहार देखेँ । कति खुलेर हाँसेकी थिइन्, उनी त्यस दिन ! कुनै फोटोग्राफरले भेटेको भए, एउटा क्लोजअप क्लिक गर्‍थ्यो होला र हजारौँ रुपैयाँमा बिक्री गर्‍थ्यो होला । अथवा सामाजिक सञ्जालवालाहरुले गोरखाकी ‘तरकारीवाली’ जसरी रातारात भाइरल पनि बनाउन सक्थे । गर्मी मौसममा चिसो हावा खान साँझमा मानिसहरु टनाटन आइपुग्थे त्यहाँ । स्वाद सबैको आ–आफ्नै हुन्छ, अरुको नजरमा उनीप्रति त्यस्तो कुनै भाव आएन होला तर मभित्र उनलाई देखेपछि एक्लो हुनुको रहस्यबोध भयो, मैले खोजेको प्रेमिका मैले भेटेँ । मैले उनलाई छनोट गर्नमा एक सेकेण्ड पनि लगाइन्, त्यति छिटै निर्णय हुनुमा अरु कुनै कारणै थिएन, उनको मुखाकृतिबाट निस्किएको हाँसो नै थियो । त्यसपछि म एकदिन पनि नबिराई त्यो सत्तलमा जान थालेँ । उनी ग्राहकहरु आउँदा हाँसिखुसी पात बेचिरहेकी हुन्थिन्, नआउँदा सँगैको लड्डु बेच्ने साहुनीसँग गफिइरहेकी हुन्थिन् । उनको मुख एकछिन पनि चुप लागेको देखिँदैन थियो भने अनुहार सधैँ हँसिलो देखिन्थ्यो ।

एक दिन बेलुकीको खाना खाइवरी ओछ्यानमा सुत्न खोज्दा निद्रै लागेन । उनको बारेमा अलि बढी नै सिरियस भएको महसुस गर्न थालेँ । आफूले आफैँलाई विश्वस्त तुल्याएँ, पक्का पनि म उनको मायाको सागरमा निस्किनै नसक्ने गरेर डुबि

सकेँ, एकोहोरो मायामा ।

म कलेजको लेक्चरर, उनी पात बेच्ने केटी, के यो सम्भव छ ? विद्यार्थीहरुलाई कक्षा कोठामा ज्ञान बाँड्दा आदर्शका हजारौँ शब्दहरु फलाक्छु, आज आफैँले त्यो आदर्शको परीक्षा दिनुपर्ने दिन आयो । रातभरि निद्रै लागेन । मोबाइलमा अलार्म बजेपछि पो थाहा भयो बिहानको पाँच बजिसकेछ ! हतार-हतार फ्रेस भएर कलेजतिर गएँ । पढाउन पनि त्यति मन लागेन । सोचेर बसेँ, विश्वविद्यालयमा पि.एच.डी.को लागि दरखास्त हालेर बसेको मान्छे र पात बेच्ने एउटी केटीका बीचमा मिलन सम्भव होला र ? मैले निचोडमा यो क्षणिक माया भन्ने निकालेँ र भोलिपल्टदेखि त्यतातिर जाँदै नजाने निश्चय गरेँ ।

तर, मेरो मनले आफैँले आफैँलाई बन्धक बनाएर आफ्नो मानव अधिकार आफैँले हनन गरेको जस्तो लाग्यो । सायद शिक्षित नागरिक भएर त्यस्तो सोच आएको होला, नत्र म अहिलेसम्म त्यो केटीको असली प्रेमी भएर सुखी जिन्दगीको सपना बुनिरहेको हुन्थेँ होला । मनले डोर्याएपछि खुट्टा त्यतैतिर लागिहाल्दो रहेछ । भोलिपल्ट पात किन्ने उद्देश्यले उनको अगाडि ठिङ्ग उभिएँ ।

एक मुठा पात किनें, प्रथम भेटको लागि म खुशी भएँ । करिब पन्ध्र दिन जति लगातार पात किनेपछि उनले एक दिन सोधिहालिन्, ‘हजुर किन प्रत्येक दिन एक मुठा पात किन्नुहुन्छ ?’

अपेक्षा नगरेको प्रश्नले म अनुत्तरित भएँ र हतार हतारमा जवाफ दिएँ, ‘म कलेजमा पढाउँछु । त्यहाँ प्रयोगशालामा सधैँ ताजा पात चाहिन्छ । अँ… विद्यार्थीहरुलाई पढाउन क्या !’

यसरी उनीप्रति आकर्षित भएको दिन मैले ढाँट्न पनि जानेँ ।

कलेज पढाउने भनेपछि उनले मलाई सर भनेर बोलाउन थालिन् । त्यसपछि त झन् सबैभन्दा राम्रो र चिल्लो पात पो राखिदिन थालिन् । यता आफ्नो कोठामा भने पातको डङ्गुर लागेको थियो । ढोका खोल्नेबित्तिकै ह्वास्स पात गन्हाउँथ्यो ।

त्यस दिन नेपाल बन्द थियो, कलेज जान नपर्ने । बिहान चन्द्रसूर्य स्टेसनरी पुगेर पत्रिका ल्याउँदै थिएँ, काभ्रे डेरी अगाडि उनीसँग अकस्मात भेट भयो । उनले भनिन्, ‘सर आज यहीँ लिनुस् । भरे किन आउनु पर्यो र ?’

उनले पात निकाल्न थालिन् । वरिपरिबाट सबैले मलाई नै हेरिरहेको जस्तो लाग्यो । त्यसैले हतार-हतार उतै गएर लिऊँ न भनेर कोठातिर लागेँ । ढोका खोल्नेबित्तिकै उनको आँखा मेरो पातैपातले भरिन आँटेको कोठा देखेर आश्चर्यचकित भइन् ।

उनको आँखा आश्चर्यले भरियो र प्रश्नवाचक चिह्नले मलाई क्वारक्वारी हेर्न थालिन् ।

मैले नै आँट गरेर आफ्नो एकतर्फी मायाको बेलिबिस्तार लगाइदिएँ । सबै सुनिसकेपछि उनी धेरैबेरसम्म रोइन् । र जुरुक्क उठेर, टाउको निहुँराउँदै केही पनि नबोली सरासर बाहिर गइन् । त्यसको करिब एक हप्तासम्म पनि उनलाई पात बेचेको नदेखेपछि मनमा खुल्दुली बढेर आयो । उनको पात बेच्ने ठाउँमा एउटा मंगोलियन अनुहार भएको अधबैंसे मानिस अमला बेच्न बसेको देखेँ । मलाई बिनाकारण त्यो ठाउँको माया लागेर आयो ।

उनको अनुपस्थितिका कारण मेरो एकतर्फी गलत सोचाइ नै हो भन्नेमा मलाई कुनै द्विविधा थिएन । उनी विवाहित पो थिइन् कि, घरमा बालबच्चा पो छन् कि, विधवा पो हुन् कि, प्रेमी पो छ कि, बाबुआमाले भनेको ठाउँमै विवाह गर्ने सोचाइ छ कि, उनले खोजेको जस्तो जीवनसाथी म थिइनँ कि, विवाह नै नगर्ने निर्णय गरेकी थिइन् कि ? जस्ता हजारौं प्रश्नहरुले मलाई घेर्न थाल्यो । जे भए पनि उनलाई हामी नदीका दुई किनारा भन्ने लाग्यो होला !

लड्डु बेच्ने साहुनीलाई सोधेँ, उनको कुरा सुनेपछि मैले सोचेका सबै शीर्षकहरु झुट्टा भए, म एक तमासले निःशब्द भएँ । उनको नाम विमला रहेछ, सानैमा पहाडबाट काठमाण्डौ आएकी, गलैँचा बुन्ने हुँदै, रेस्टुराँमा काम गर्न थालिछन्, विभिन्न प्रलोभन र जबरजस्तीमा अनैतिक काम पनि गर्न थलिछन्, पछि एच.आइ.भी. एड्स भयो भन्ने थाहा पाएपछि अरुलाई सार्नुहुन्न भनेर बाँकी जीवन हाँसीखुशी बिताउँछु भनेर पात बेच्न थालेकी रहिछन् । कुनै बेला टेलिभिजनमा अल्छी लागी-लागी हेरेको शिक्षाप्रद टेलिचलचित्र जस्तै रहेछ उनको जीवन पनि, अरुको लागि त के नयाँ भयो र, जसलाई चोट लाग्छ उसलाई मात्र पीडा हुन्छ ।

यो सुनेर मलाई उनको झन् बढ्ता माया लागेर आयो । राँगाको मासु बेच्ने पसल भएको पुरानो घरको माथिल्लो तल्लमा उनी बस्दी रहिछन् । म पुग्दा सिरक ओढेर सुतिरहेकी थिइन् । अनेक तरहले सम्झाएपछि उनी फेरि पात बेच्न थालिन् । म पनि फुर्सद हुनासाथ त्यहीँ पुग्थेँ, अनौठो आत्मियता, खुशी भनेको त यस्तो पो हुनुपर्छ जस्तो लाग्थ्यो । सायद, जिन्दगीको रफ्तार यसैगरी बित्छ होला जस्तो लाग्थ्यो तर ती सब मिथ्या थिए । सत्य आखिर सत्य नै हो, करिब एक वर्षपछि उनको सरुवा रोग अस्पतालमा निधन भयो, म धेरै रोएँ । मैले नै छनोट गरेको जिन्दगी थियो यो, यसमा उसको के दोष थियो र ? उसले पात बेच्ने ठाउँमा अरु आएर बसेको हेर्नै सकिनँ । त्यसैले हिजोआज मेरो व्यवसाय फरक भएको छ, क्याम्पसको जागिर छोडेर पात बेच्ने गर्दछु ।

वरपरका मान्छे र मेरा पूर्वविद्यार्थी कहिलेकाहीँ मेरो छेउ हुँदै हिँड्दा ‘विचरा, रमेश सर बौलाएछ’ भन्ने गरेका छन् ।