परिचय

लघुकथा आख्यान विधाको लोकप्रिय प्रविधा हो । लेखनको आफ्नै टेक्निकल पाटो भएको लघुकथा संक्षिप्तभित्र धेरै बोल्ने विशेषताले सम्पन्न छ । यो पूर्ण प्रस्तुति हो । घटनाहरूको अनावश्यक जालो यसमा रहन्न । एउटा मात्र घटनाको प्रस्तुतिले पनि लघुकथा सशक्त बन्दैन । सघन द्वन्द्वको सिर्जनाका लागि लघुकथामा एकाङ्गी प्रकृतिको घटना वर्जित छ । द्वन्द्व जति सघन हुन्छ लघुकथा त्यति नै प्रभावकारी बन्छ । लघुकथाले विविध विषय क्षेत्रको प्रसङ्गलाई समेटेको हुन्छ । लघुकथाभित्र समाजको प्रतिच्छाया भेटिन्छ । यसको पात्रविधान शैली अन्य विधाका तुलनामा पृथक् हुन्छ । वीज वाक्यको प्रस्तुतिको सफलता–असफलताले लघुकथाको सफलता–असफलता निर्धारण गरेको हुन्छ । लघुकथामा समापनको महत्व अन्य विधाका तुलनामा बढी छ । समापनमा पाठकलाई चसक्क पार्न सक्ने कलाले लघुकथाको मूल्य निर्धारण गर्छ । प्रभावकारी भाषा र शैली लघुकथाको प्राण हो । विषय दरो हुँदा हुँदै पनि कथनशैली र भाषा प्रयोगमा कमजोरी भयो भने लघुकथाको जीवन्तता कमजोर बन्न जान्छ ।

हाल लघुकथाको लेखनमा धेरै साहित्यकाहरूको चासो बढेको छ । पुराना र नयाँ दुबै खाले साहित्यकारहरू लघुकथाप्रति आकर्षित छन् । पाठकहरूको पनि लघुकथाप्रति चासो बढेको छ । लेखक–पाठक दुबैमा लेखन र पठनप्रति चासो बढ्नुका पछाडि लेखन–पठन पछि प्राप्त हुने सन्तुष्टि नै हो भन्नु उपयुक्त होला । लघुकथाका लोकप्रियताका यस्ता प्रसङ्ग त छँदैछन् तर यो लघु लेखमा ३० को दशकदेखि लघुकथा लेखनमा सक्रिय रही लघुकथाको उन्नयनमा अहोरात्र खटेका लघुकथाकार नारायण तिवारीका दुई लघुकथा माथि सामान्य चिरफार गर्ने जमर्को गरिएको छ ।

लघुकथाकार नारायण तिवारी

नारायण तिवारी सुप्रसिद्ध साहित्यकार हुन् । उनको जन्म सुनसरी जिल्लाको बोर्डर गाउँ सीतागञ्जमा वि.सं. २०११ साल पुस २९ मा भएको हो । लामो समय नेपाल बैंक लिमिटेडमा रहेर काम गरेका तिवारी हाल काठमाडौंमा अवकाशको जीवन व्यतीत गरिरहेका छन् ।

तिवारीको साहित्यिक यात्रारम्भ कविता विधाबाट भएको देखिन्छ । केवल रित्तो छ आकाश तिवारीको पहिलो प्रकाशित साहित्यिक रचना हो । यसको प्रकाशन वि.सं. २०३३ साल जेठ ९ मा संरक्षणसाप्ताहिकले गरेको थियो । उनको पहिलो पुस्तकाकार कृति बन्ने सौभाग्य भने सपनाहरू जिन्दगीका (प्रकाशन २०३९) नामक कृतिले प्राप्त गर्‍यो । यो कृति विधागत हिसावले कविता र प्रविधागत हिसावले मुक्तक संग्रह हो । तिवारीका हालसम्म दश कृति प्रकाशित छन् । जसमा सपनाहरू जिन्दगीका (मुक्तक संग्रह २०३९), अस्थिपञ्जर (कथासंग्रह २०५४), पिताम (लघुउपन्यास २०५७), दशैं खर्च (लघुकथासंग्रह २०५७), अर्थात् (कवितासंग्रह २०६३), शत्रु (कथासंग्रह २०६६), रोबोट मेरो साथी (बालकथा संग्रह २०६८), काठमाडौंमा सूर्यस्नान (कथासंग्रह २०६९), महँगी, भोक र सार्वभौमसत्ता (लघुकथासंग्रह २०७०) र स्मृति कतिकति (संस्मरण संग्रह) रहेका छन् ।

कविता, आख्यान र संस्मरण लेखकका रूपमा देखिएका तिवारी विशेषतः आख्यान विधाका लेखक हुन् । त्यसमा पनि उनको सर्वप्रिय प्रविधा लघुकथा हो । लघुकथाकारका रूपमा २ संग्रह प्रकाशित गरेका तिवारीको आख्यान लेखनको प्रस्थानविन्दु लघुकथा नै रहेको छ । ती सबै मेरा सपना थिए शीर्षकको लघुकथा नै उनको पहिलो लघुकथा र आख्यान लेखन प्रवेशको प्रारम्भ थियो । यो लघुकथा वि.सं. २०३३ सालमा युवा साहित्यिक परिवार विराटनगरबाट प्रकाशित लघुकथाको सँगालो प्रयोग मा छापिएको भेटिन्छ ।

लघुकथाकार तिवारी यथार्थिक लेखनलाई बढी रुचाउँछन् । उनका प्रायः रचनाहरूमा विकृति र विसंगतिले थिल्थिल्याएका मानवीय जीवनका सन्दर्भहरूको सूक्ष्म आँकलन गरिएको पाइन्छ । मान्छेलाई छोएर लेख्न रुचाउँछन् उनी । उनका रचनाहरूले जीवनमूल्यको पाठ सिकाइरहेका हुन्छन् ।

लक्ष्मण अर्याल

लघुकथाकार नारायण तिवारी लघुकथाका सचेत लेखक हुन् । उनका लघुकथामा समसामयिक सामाजिक गतिविधिको सुन्दर रूपरेखा कोरिएको हुन्छ । प्रगतिशील प्रवृत्तिका लघुकथा लेखनमा तिवारीको कलम सशक्त छ । उनी सामाजिक चेत प्रवाहका लघुकथा लेख्नमा खप्पिस छन् । स्वान्त सुखायका लागि भन्दा समाजका लागि केही गर्न सकिन्छ कि भनेर लेख्न थालेको हुँ भन्ने तिवारी भेदभाव विरोधी सशक्त चेतनाका लघुकथाकार हुन् । समकालीन नेपाली समाजका विकृति र विसंगति विरुद्ध लेख्नु तिवारीको खास विशेषता हो । तिवारी विषयहरूले छोइए पछि मात्र लेख्दा लेखन सशक्त हुन्छ भन्ने धारणा राख्छन् ।

आफ्नो लेखनयात्राका सम्बन्धमा तिवारी भन्छन् – “देशको लागि केही गरुँ, आफ्नो माटाको लागि केही गरुँ भन्ने अनेक तरीकाहरू हुन्छन् । मैले यसो सोच्दाखेरि मसँग चुपो लागेर बसेर लेख्ने प्रतिभा छ जस्तो लाग्यो ।” तिवारीका लेखन सन्दर्भमा पुष्करराज भट्टको धारणा यस्तो छ – तिवारीका रचनामा सामाजिक विभेदजन्य घटनाको प्रस्तुतिका साथै भेदभाव विरोधी चेतना अभिव्यक्त भएको पाइन्छ । उनका रचनामा आर्थिक अभावजन्य परिस्थितिको सूक्ष्म चित्रण पाइन्छ । (भट्ट, २०७३, पृ. ३८)

तिवारीको लघुकथा दृष्टि

लघु आकारप्रकारमा लेखिने तर अत्यन्त शक्तिशाली चेत सामथ्र्य भएको साहित्यिक रचना हो लघुकथा । मैले सिर्जनात्मक जीवनको खुड्किलो लघुकथा लेखनबाटै चढ्न प्रारम्भ गरेको हुँ । यसर्थ पनि मलाई यो प्रिय लाग्छ । लघुकथामा म जीवन लेख्छु । जीवनका ससाना विषय तर जसले जीवनलाई ठूलै घात गरिरहेका हुन्छन् तिनलाई लेख्छु । चुड्किला उन्मुख कौतुहलता मेरो लघुकथा लेखनको ध्येय होइन । मेरो निम्ति जीवन र जगत्लाई सुन्दर पार्ने रचना हो लघुकथा, अभियान हो लघुकथा ।

नारायण तिवारी

– (लघुकथा कुनो – https://www.facebook.com/groups/shortshortstories/permalink/1301953099852039/

 

तिवारीका दुई लघुकथाका पाठ्य रूप

लघुकथा – एक

शीर्षक – ठूलो रोग

कक्षा कोठामा पढाइ भइरहेको थियो ।
शिक्षकले सोधे – “ल त तिमीहरू भन्न सक्छौ सबैभन्दा ठूलो रोग के हो ?”
महेशले भन्यो – “सबैभन्दा ठूलो रोग क्यान्सर हो सर ।”
“सबैभन्दा ठूलो रोग एड्स हो ।” – श्यामले भन्यो ।
“होइन होइन सबैभन्दा ठूलो रोग त हेपाटाइटिस बी पो हो त ।” – रीताले भनी ।
“सबैभन्दा ठूलो रोग भोक हो सर ।” – अचानक राजुको उत्तरले सबै झस्किए ।
कक्षाकोठा एकछिनका लागि चकमन्न भयो ।

“सर, आज पनि म भेकै स्कुल आएँ ।” – बिचरा अबोध राजु बोल्दै थियो । विपन्न गाउँको विपन्न स्कुलका सबै बालबालिकाले आफ्नो पेट छामे । शिक्षक रमेशले धरी आफ्नो पेट छामे ।

“मेरा बा पनि भोक लागेर मर्नु भएको रे ।” – राजुले आफ्नो भावावेगलाई आफ्नो बाबुको मृत्यु सन्दर्भमा पुर्‍याएर मात्र रोक्यो ।

त्यो चकमन्नतालाई कसैले चिरेनन् । मानौं सबैको हृदयलाई भोक रूपी रोगको डरले आतङ्कित पारेको छ । कक्षाकोठा चकमन्न थियो तर यस्तो लाग्थ्यो – एउटा समवेत कोलाहल गुन्जिरहेछ । मानौं सबैले भनिरहेछन् – “सबैभन्दा ठूलो रोग भोक हो । सबैभन्दा ठूलो रोग भोक हो ।”
(नारायण तिवारीको महँगी, भोक र सार्वभौमसत्ता, २०७० – लघुकथासंग्रह, पेज नं. ३१)

 

लघुकथा – दुई

शीर्षक: दयालु भगवान्

“भगवान्ले पानी पार्छन् ।”
“ठीक भन्नुभयो, भगवान्ले पानी पार्छन् ।”
सबैले भगवन्को भजन गाए । धुनी जगाए । यज्ञ लगाए । झ्याली पिटे । कीर्तन गरे । भ्यागुताको बिहे गरे, गराए ।
केही गरे पनि पानी परेन ।
+++
हरहर महादेव पानी देऊ देऊ ।
धान रोप्न पाइएन, बीउ सुके – पानी देऊ देऊ ।
गाउँलेले आस मारेनन् ।
+++
धेरै दिनपछि, बीउ सुकिसकेपछि, साउन सिद्धिसकेपछि एक दिन पानी पर्‍यो । अर्थात् धेरै थोक समाप्त भइसकेपछि गाउँमा पानी पर्‍यो ।

तैपनि मानिसहरू रमाए । आङ्नामा निस्किए र नाचे । फेरी भजन गाए, झ्याली पिटे र भने – “भगवान् साह्रै दयालु हुनुहुन्छ । आखिर भगवान्ले पानी पार्नुभयो ।”
(नारायण तिवारीको महँगी, भोक र सार्वभौमसत्ता, २०७०, लघुकथासंग्रह, पेज नं. ११३)

४. शल्यक्रियाको प्रारम्भ
(क) विषयक्षेत्र

लघुकथाको विषयक्षेत्र व्यापक छ । लघुकथाकारले जीवन र जगत्का विभिन्न विषयलाई आफ्ना रचनामा समावेश गर्न सक्छन् । सबैले देखेका, सुनेका र भोगेका सन्दर्भहरू नै हुन्छन् विषयक्षेत्रमा । विषयक्षेत्र वा घटना कच्चा माल हो जसलाई लघुकथाकारले विशिष्ट शैली दिएर पाको बनाउँछ । लघुकथाले धेरै घटनाहरूको जालो स्विकार्दैन । छोटो र छिटो यसको विशेषता भएका कारण लघुकथाकारले कथामा झैं फैलन पाउँदैन । सूत्रघटना लघुकथाको प्राण हो । यसलाई कथासूत्र पनि भन्न सकिन्छ ।
लघु कार्यकारण श्रृङ्खलाका कारण लघुकथाको कथानक वा कथावस्तुलाई कथासूत्र भनिन्छ । लघुकथामा आख्यान अर्थात् कथानक कथासूत्रका रूपमा अनिवार्य रहेको हुन्छ तर यस्तो आख्यान अत्यन्त सूक्ष्म र साङ्केतिक मात्र हुन्छ । यसमा घटना र कार्यव्यापारको द्रुततर विकास हुने भएकाले कथासूत्रका रूपमा रहेको कथानकले विस्तार हुने अवसर पाउँदैन । (गौतम, २०७२, पृ. ३६–३७)

आलेखको शीर्षक तीनमा उल्लेख गरिएका र शल्यक्रियाका लागि छानिएका तिवारीका दुई लघुकथा मध्ये पहिलो लघुकथा ‘ठूलो रोग’को विषयक्षेत्र आर्थिक असमानता हो भने दोस्रो लघुकथा ‘दयालु भगवान्’को विषयक्षेत्र सामाजिक अन्धविश्वास हो । यी दुबै विषय लघुकथामा सशक्त रूपमा उठेका छन् । यी दुबै विषय नेपाली समाजका लागि अनभिज्ञ विषय होइनन् । लघुकथाकारले नेपाली समाजका आम विषयलाई पक्डिएर नेपाली पाठकको हृदय छुन खोजेको देखिन्छ । आकारप्रकारका दृष्टिले पनि विवेच्य लघुकथा लघुकथाकै ढाँचामा लेखिएको छ । दुबैमा सूत्रघटनाको सुन्दर समायोजन गरिएको छ ।

(ख) शब्द संख्या

लघुकथाको शब्द संख्या कति हुनुपर्छ भन्ने विषयमा विद्वान्हरू बीच एकमत छैन । कतिपयले २५० र कतिपयले ३०० शब्दको सीमा निर्धारण गरेका छन् । कतिपयको दृष्टि अझ फरक छ । फरक दृष्टि राख्नेहरूले सर्जकलाई शब्दसीमामा बाँध्नु हुन्न भन्ने तर्क पनि गरेका छन् । सबै कथाहरू लघुकथा नै हुन् भन्ने धारणा पनि पाइन्छ तर लघुकथा र कथाको ढङ्ग र ढाँचा फरक हुन्छ । यी दुईको प्रस्तुति र तत्वगत सीमा पनि फरक हो । अव्याख्यात्मक, संक्षिप्त र पूर्ण हुनु लघुकथाको पृथक् पहिचान हो । यसैले लघुकथालाई लगभग ३०० शब्दसम्मको परिधि भित्र रही लेखिने प्रविधाका रूपमा लिनु उपयुक्त हुन्छ ।

आख्यान विधाअन्तर्गत पर्ने दुई सय पचासदेखि तीन सय शब्दसम्मको आसपासमा केन्द्रित त्यो सूक्ष्मतम प्रभेद लघुकथा हो जसमा पाठकको मस्तिष्कलाई धेरैबेरसम्म तरङ्गित बनाइरहने सामथ्र्य हुन्छ । (अर्याल, २०७३, पृ.८२)

प्रस्तुत विवेच्य लघुकथा मध्ये पहिलो ठूलो रोग लघुकथामा शीर्षकसहित १४९ शब्द र दोस्रो दयालु भगवान् लघुकथामा शीर्षकसहित ८७ शब्दको उपयोग भएको छ । यी दुबै लघुकथामा लघुकथाकारले शब्दको मितव्ययी प्रयोग गरेका छन् । जुन ठाउँमा जुन शब्दको आवश्यकता पर्ने हो त्यहाँ त्यो शब्दको प्रयोग भएको छ । ३०० शब्दको त कुरा छाडौं त्यो भन्दा निकै कम शब्दको प्रयोग गरेर पनि सफल र स्तरीय लघुकथा लेख्न सकिन्छ भन्ने यो राम्रो उदाहरण हो ।

(ग) समाज र पात्र

लघुकथा सामाजिक घटनाहरूकै आधारमा उभिएको हुन्छ । अयथार्थ घटना र पात्र सफल लघुकथाको प्राण बन्न सक्दैन । लघुकथा मात्र होइन साहित्यका विधाहरूमा कपोलकल्पनामा खडा गरिएका घटना र पात्रभन्दा देखिएको, सुनिएको, भोगिएको घटना र पात्र जीवन्त हुन्छ । जीवन्त घटना र पात्रले लघुकथाको जीवन्तता समेत स्थापित गर्छ । आजको युग र साहित्यको वहावलाई हेर्ने हो भने हिजोजस्तो नारीको नखशिख वर्णन गरेर, मान्छे र उसको समाज नमिसाई विशुद्ध प्रकृतिको वर्णनमा छताछुल्ल भावुकता मात्र पोखेर, कोरा सिद्धान्तको वमन वेदान्त ओकलेर सफल साहित्य बन्दैन भन्ने कुरा अघोषित रूपमै भए पनि स्थापित भइसकेको छ ।

तिवारीका लघुकथामा समाज चिन्तन कस्तो छ भन्ने विषयमा छविरमण सिलवालको धारणा यस्तो छ –
समाजकै लागि लेखिने सिर्जना पनि समाजभित्रकै विषयवस्तु हुनुपर्छ भन्ने मान्यता बोकेको व्यक्ति हुन् नारायण तिवारी । अब कल्पनाका कुराहरू मात्र गरेर पाठकलाई अल्मल्याउने समय होइन । तिवारीका सिर्जनाहरू पनि यही समाजका संगतिविसंगतिहरू हुन् । उनी एउटा सिर्जना लेख्नका लागि धेरै अध्ययन गर्छन् । आफू हुर्केको समाजलाई पुनः सूक्ष्म रूपमा नियाल्छन् ।
– (छविरमण सिलवाल, लघुकथा कुनो) https://www.facebook.com/groups/shortshortstories/permalink/616311995082823/

विवेच्य दुबै लघुकथाको समाज र पात्र दुबै नेपाली हो । पहिलो लघुकथामा गरिबीले थिल्थिल्याएको नेपाली समाजको प्रतिच्छाया छ । यहाँ नेपाली समाजमा विद्यमान सबैभन्दा ठूलो रोगको निक्र्योल गरिएको छ । राजु पात्रले यहाँ हाम्रो समाजको रोग पहिचान गरेको छ । राजु पात्र अति विपन्न हो भन्ने खुट्याउन खासै ठूलो कसरत आवश्यक पर्दैन । अर्थात् ऊ सीमान्तीकृत हो । सीमान्तीकृत नै भए पनि ‘पढ्नु पर्छ’ को चेतनाले छोएको छ राजुलाई । यसैले ऊ भोकभोकै स्कुल गएको छ । भोक लागेर नै आफ्ना बाबु मरेका हुन् भन्ने निष्कर्ष राजुको निष्कर्ष हो । राजुको निष्कर्षमा सबै सहमत छन् । किनकि “सर, आज पनि म भोकै स्कुल आएँ” भन्ने राजुको अभिव्यक्तिले सबै पात्रलाई छोएको छ यहाँ । लेखकले नै भनेअनुसार कथा घटित गाउँ विपन्न थियो, स्कुल विपन्न थियो । राजुको मर्मस्पर्शी भनाइ पछि बालबालिकाले आआफ्नो पेट छामे । शिक्षकले धरी आफ्नो पेट छामे । घटना सामान्य भए पनि यसको अन्तर्य असामान्य छ । गाउँ पनि विपन्न छ र स्कुल पनि विपन्न छ भने त्यहाँ धनी र सम्भ्रान्तले आफ्ना छोराछोरी पठाउन्नन् । यसैले त्यहाँ पढ्ने सबै विपन्न छन् । विपन्न पढ्ने, विपन्न गाउँको, विपन्न स्कुलमा को धनाढ्य प्रवेश गरेको हुन्छ र पढाउन ? यसैले शिक्षक पनि धनाढ्य छैनन् भन्ने देखाउन कथाकारले यहाँ शिक्षकलाई पनि पेट छाम्न लगाएका छन् । यसैले यो लघुकथा गरीब समाजको कथाव्यथा हो । यो समाज अन्त कतैको समाज होइन नेपाली समाज नै हो भन्न सजिलै सकिन्छ । शिक्षक, महेश, श्याम, रीता र राजु यसका पात्र हुन् । यसमध्ये राजु नै केन्द्रीय पात्र हो यसमा । राजुले यहाँ सीमान्तीकृत वा हुँदा खाने वर्गको प्रतिनिधित्व गरेको छ । अरु पात्रको वर्ग खासै नखुले पनि घटना परिवेशका आधारमा ती मध्यम र विपन्नकै आसपासका हुन् भन्ने लख काट्न गाह्रो पर्दैन ।

शल्यक्रियाका लागि छानिएको दोस्रो लघुकथा ‘दयालु भगवान्’ को समाज धर्मभिरु समाज हो । यो समाज भगवान्प्रति श्रद्धानत छ । नहुनुको दोष कहिल्यै नलाग्ने भगवान्ले सधैं जस मात्र पाउँछन् यहाँ । लाग्छ, दोष सामाजिक नियति हो र भगवान् सामाजिक नियतिभन्दा माथिका सत्ता हुन् । ‘भगवान्ले पानी पार्छन्’ भन्नु नै एउटा ठूलो सामाजिक अन्धता हो । पानी कसरी पर्छ ? यसको पर्ने रुटिन कस्तो हुन्छ ? यो विज्ञानले भन्छ । विज्ञान बुझ्दैन वा बुझेर पनि बुझ पचाउँछ समाज । यसैले समय घर्किए पछि परेको पानीको जस पनि उही भगवान्को खातामा जान्छ । समाज भन्छ – “भगवान् साह्रै दयालु हुनुहुन्छ । आखिर भगवान्ले पानी पार्नुभयो ।” यो लघुकथाको समाज पनि नेपाली समाज नै हो । कुनै निश्चित पात्र देखिंदैन यहाँ । ‘मानिसहरू’ नै यसका पात्र हुन् जो नेपाली समाजकै अभिन्न सदस्य हुन् ।

(घ) बीजवाक्य

लघुकथामा आउने सार वाक्य नै बीजवाक्य हो । बीजवाक्य जति दरो रूपमा आउँछ त्यति नै लघुकथाको स्तर बढ्छ । बीजवाक्य लघुकथाको सूत्र वाक्य हो । यो सूत्र वाक्य लेखकको चेत सूत्र पनि हो ।

लघुकथाको सारवस्तु, भाव वा विचारलाई तीव्र रूपमा देखाउने र रहस्यको पटाक्षेप गर्ने अन्तिम वाक्यलाई विचारवाक्य भनिन्छ र यस्तो विचारवाक्य लघुकथाको वीजवाक्य हो । यस किसिमका बीजवाक्यमा अणुसामथ्र्य लुकेको हुन्छ भने यसैबाट लघुकथा प्रभावोत्पादक बन्दछ । (गौतम, २०७३, पृ.१२०)

यहाँ शल्यक्रियाका लागि छानिएका लघुकथामध्ये पहिलो लघुकथामा अन्तमा आएको “सबैभन्दा ठूलो रोग भोक हो” भन्ने वाक्य र दोस्रो लघुकथाको अन्त्यमा मानिसहरूको संवादका रूपमा प्रयोग भएका “भगवान् साह्रै दयालु हुनुहुन्छ, आखिर भगवान्ले पानी पार्नुभयो ।” भन्ने वाक्यहरू नै बीजवाक्य हुन् ।

पहिलो लघुकथाको बीजवाक्य प्रतीकात्मक छ । यसमा ‘भोक’ ले सङ्केतित गरेको सन्दर्भ ‘ठूलो रोग’ हो । अर्थात् यसमा सम्पूर्ण रोगको जड नै भोक हो भन्ने कुराको सङ्केत छ । भोकको क्षतिपूर्ति भए रोगनिरोधक शक्ति आर्जन हुन सक्छ । हुन सक्छ यसकारण कि भोक टार्नु मात्र रोगनिरोधक शक्ति आर्जन हुनु होइन । भोक टर्दा शरीरलाई आवश्यक पर्ने भिटामिन र मिनरल्सहरू प्राप्त हुन सके मात्र रोगनिरोधक शक्ति आर्जन हुन सक्छ तर सीमान्तीकृत वर्ग भोक टार्नुलाई मात्र समस्या देख्न बाध्य छ । अर्थात् पेट भर्नु मात्र समस्या हो त्यो वर्गलाई । अन्य शरीरलाई आवश्यक पर्ने कुराहरू प्राप्त भए भएनन् सोच्न तिनले कहाँ भ्याउँछन् र ? यसरी पहिलो वाक्यको बीजवाक्यले धेरै कुरा सङ्केत गर्न भ्याएको छ ।

दोस्रो लघुकथाको बीजवाक्य साङ्केतिक छ । धार्मिक अन्धतामा रमाएका मानिसहरूको निरीहतालाई यसमा सङ्केत गरिएको छ । “भगवान् साह्रै दयालु हुनुहुन्छ, आखिर भगवान्ले पानी पार्नुभयो ” भन्ने दुई वाक्यहरूबाट मानिसहरूको चेतनास्तरको नाडी छामेको छ लघुकथाले ।

यसरी दुबै लघुकथाका बीजवाक्यहरू बलिया छन् लघुकथामा ।

(ङ) समापन शैली

लघुकथा समापनका दुई तरिका प्रचलित छन् – खुला र बन्द । खुला समापनले पाठकलाई स्पेस दिन्छ । भनौं खुला समापन पाठकका लागि लेखकले दिएको गृहकार्य हो । पाठकीय ग्रहण क्षमताअनुसार लघुकथाको अर्थ बुझ्नका लागि खुला समापन उपयुक्त तरीका हो । बन्द समापन लेखकले लेखिदिएको प्राप्ति हो । हुनत उपयुक्त तरीकाले गरिएको बन्द समापन पनि नराम्रो भने होइन । लेखक के मा जोड दिन्छ भन्ने कुरा बन्द समापनबाट प्राप्त हुन्छ । लेखकको उद्देश्य एकातिर र पाठकीय ग्रहण अर्कोतिर हुने स्थिति रोक्न कतिपय लेखकहरूले जानाजान बन्द समापन गर्छन् । यो बन्द समापनको टेक्निक भनेको पनि सूचीकारको सीपजस्तै हो । कपडाको डिजाइन गर्दा कति खोल्दा राम्रो र कति खोल्दा भद्दा हुन्छ भन्ने कुरा कुशल सूचीकारको सीप र अनुभवले तय गरेजस्तै एउटा कुशल लघुकथाकारले पनि समापनमा कति खोल्ने र कति छोप्ने भन्ने कुशलता देखाएमा लघुकथाको स्तरीयता घट्दैन बढ्छ तर कतिपय समालोचकहरू बन्द समापनलाई अवज्ञा गर्छन् । बन्द समापनका पक्षमा बोल्दाबोल्दै पनि यति चाहिं भन्नुपर्ने हुन्छ कि लघुकथाकारले आफ्ना लघुकथामा जथाभावी अतिरिक्त खोलुवा दिनु भने उपयुक्त होइन ।

यसै आलेखको शीर्षक (३) मा उल्लेख गरिएका दुबै लघुकथामा वीज वाक्यको प्रस्तुति पछि लेखकले अतिरिक्त खोलुवा दिएका छैनन् । यसैले यी दुबै लघुकथामा खुला समापन रहेको देखिन्छ । विवेचनाका लागि छानिएका लघुकथाहरू खुला समापनले गर्दा बेजोड पनि बनेका छन् ।

(च) भाषाशैली

साहित्यमा अभिव्यक्ति शैली महत्त्वपूर्ण पक्ष हो । शैलीसँग भाषा जोडिएर आएको हुन्छ । भाषाको कालिगडीले। साहित्यको प्रभावकारितामा उज्यालो ल्याउँछ र विषयवस्तु व्यवस्थापनमा सुन्दरता भर्छ ।

भाषा विचार प्रकटीकरणको सशक्त माध्यम हो । कथ्य होस् या लेख्य जुनसुकै अभिव्यक्तिको प्रभावकारिताका लागि पनि बलियो भाषाशैलीको उपयोग आवश्यक छ । सपाट वर्णन नभई प्रतीकात्मक, ध्वन्यात्मक, आलङ्कारिक, व्यङ्ग्यात्मक हुनु नै भाषाको बलियो प्रयोग हो । साहित्यकमा विधापिच्छे भाषिक प्रयोगको तौरतरिका फरक हुन्छ । शैली लेखक सापेक्ष हुन्छ । कृतिमा यसको निर्धारक लेखक नै हो । हरेक लेखकको लघुकथाकारको आफ्नो विशिष्ट लेखन पहिचान हुने गर्छ । त्यो लेखन पहिचान नै लेखकीय शैली हो । (अर्याल, सम्प्रेषण, २०७६, पृ. १९२)
प्रभावकारी भाषाशैली लघुकथाका लागि अपरिहार्य सर्त हो । छोटो संरचनामा एउटा पूर्ण अभिव्यक्ति दिनुपर्ने भएका कारण लघुकथाकारले कसिलो र ओजिलो भाषाशैलीको प्रयोगका लागि सधैं साधनारत हुनुपर्छ । लघुकथाको खास विशेषता भनेकै थोरैमा धेरै कुरा भन्न सक्नु हो । यसैले भाषाको मितव्ययी प्रस्तुति लघुकथाका लागि आवश्यक मानिन्छ । लघुकथाकारमा सजगता, सरलता र शब्दचयनप्रतिको गम्भीरता हुनु आवश्यक छ किनकि यिनीहरू लघुकथाका प्राणतत्व हुन् । आडम्बरी र कृतिम भाषा लघुकथाका खराब क्षेत्र हुन् । विषयवस्तु जतिसुकै सशक्त छाने पनि भाषाको उपयोगमा प्रभावकारिता रोजिएन भने कथाको प्रभावकारितामा आँच आउँछ । लघुकथाकारले वर्णनात्मक, आत्मकथनात्मक, संवादात्मक, व्यङ्ग्यात्मक आदि शैलीको प्रयोग गर्न सक्छन् । विषयअनुरूप शैलीको छनोट गर्न सकिएमा जीवन्त र मानक लघुकथाको सिर्जना हुन सक्छ ।

विवेच्य लघुकथामध्ये पहिलो लघुकथामा मानवीय संवेदनाको विषयवस्तु रहेको छ । यसमा लघुकथाकारले मानवीय सम्वेदना घनीभूत हुनसक्ने भाषाशैलीको प्रयोग गरेका छन् । लघुकथाका नमुना अभिव्यक्ति हेरौं –
– कक्षाकोठा एकछिनका लागि चकमन्न भयो ।
– विपन्न गाउँको विपन्न स्कुलका सबै बालबालिकाले आफ्नो पेट छामे । शिक्षक रमेशले धरी आफ्नो पेट छामे ।
– “मेरा बा पनि भोक लागेर नै मर्नु भएको रे ।” – राजुले आफ्नो भावावेगलाई आफ्नो बाबुको मृत्यु सन्दर्भमा पुर्‍याएर मात्र रोक्यो ।
– कक्षाकोठा चकमन्न थियो तर यस्तो लाग्थ्यो एउटा समवेत कोलाहल गुञ्जिरहेछ ।
दोस्रो लघुकथा ‘दयालु भगवान्’ मा धार्मिक अन्धआस्थाको विषय चुनिएको छ । विषयअनुरूप सुहाउँदो भाषाशैलीको प्रयोगले पहिलो लघुकथाझैं यो लघुकथा पनि सशक्त बनेको पाइन्छ । खास कुनै तोकिएका पात्र छैनन् यसमा । अन्धआस्थामा रमाउने पात्रहरूको प्रतिनिधित्व यहाँ ‘मानिसहरू’ ले गरेका छन् । अन्धो आस्था मानिसहरूबाट यसरी प्रकट भएको छ लघुकथामा –
– भगवान्ले पानी पार्छन् ।
– ठीक भन्नुभयो, भगवान्ले पानी पार्छन् ।
– सबले भगवान्को भजन गाए । धुनी जगाए । यज्ञ लगाए । झ्याली पिटे – कीर्तन गरे । भ्यागुताको बिहे गरे, गराए । केही गरे पनि पानी परेन ।
– धेरै थोक समाप्त भएपछि गाउँमा पानी पर्‍यो ।
– तैपनि मानिसहरू रमाए । आङ्नामा निक्लिए र नाचे । फेरी भजन गाए, झ्याली पिटे र भने – भगवान् साह्रै दयालु हुनुहुन्छ ।
– आखिर भगवान्ले पानी पार्नुभयो ।

यो लघुकथामा भाषिक सिलसिलाको मोहनीलाग्दो रूप देख्न सकिन्छ । यहाँ भजन गाउनु, धुनी जगाउनु, झ्याली पिट्नु, कीर्तन गर्नु, भ्यागुताको बिहे गर्नु जस्ता कार्यको श्रृङ्खलामा एउटा मीठो भाषिक धुन भेटिन्छ जसले यो लघुकथालाई विशिष्ट तुल्याएको छ ।

विवेच्य दुबै लघुकथामा सम्वादात्मक र तिख्खर भाषाशैलीको प्रयोग गरिएको छ । भाषाशैलीका कसीमा दुबै लघुकथाहरू सफल जँचेका छन् ।

५. निष्कर्ष

लघुकथाकार तिवारी नेपाली लघुकथाका क्षेत्रमा ३० को दशकदेखि क्रियाशील सर्जक हुन् । तिवारीका लघुकथामा प्रगतिवादी यथार्थले राम्रोसँग खेल्ने अवसर प्राप्त गरेको छ । मानवतावाद तिवारीको लेखनको मूल केन्द्र हो । सामाजिक अन्याय, अत्याचार, शोषण, उत्पीडन, विकृति, विसंगतिप्रति तिवारीको कलमले विरोध गरेको छ । तिवारी स्वैरकाल्पनिक उडानलाई भन्दा यथार्थिक धरातल पक्डिएर लेख्न रुचाउने लघुकथाकार हुन् । यस छोटो आलेखमा विवेचनाका लागि छानिएका दुई लघुकथाले तिवारीको लघुकथा लेखनको खासखास प्रवृत्ति र स्वरूपलाई झल्काएको छ ।

सन्दर्भ सूची:
अर्याल, लक्ष्मण (२०७३), विधागत कसीमा लघुकथा, शहीद स्मृति जर्नल (५÷२), पृ. ७८–१०० ।
अर्याल, लक्ष्मण (२०७६), गवाक्ष, सम्प्रेषण (अंक २४), चितवन ः वाल्मीकि साहित्य सदन, पृ. १९२ ।
गौतम, लक्ष्मणप्रसाद (२०७२), लघुकथाको रचनाविधान, काठमाडौं ः लघुकथा समाज ।
…………….. (२०७६), लघुकथामा विचारवाक्यको उपस्थापन सन्दर्भ वर्तमान नेपाली लघुकथा, सम्प्रेषण अङ्क २४, पृ. १२० ।
घिमिरे, रामबाबु, प्रधानसम्पा. (२०७६) सम्प्रेषण लघुकथा विशेषाङ्क, चितवनः वाल्मीकि साहित्य सदन ।
तिवारी, नारायण (२०७०), महँगी भोक र सार्वभौमसत्ता, काठमाडौंः रत्नपुस्तक भण्डार ।
भट्ट, पुष्करराज (२०७३), प्रज्ञा आधुनिक नेपाली लघुकथा, काठमाण्डौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
– https://www.facebook.com/groups/shortshortstories/permalink/1301953099852039/
– https://www.facebook.com/groups/shortshortstories/permalink/616311995082823/