रमजानको बेला भएकोले विहान त्यति भीड थिएन ढाका सडकमा । ढाकाका प्रायः सडकहरू ३/३ लेन दुईतिर बीचमा टापु निर्माण गरी हरियालीयुक्त सजाइएको छ । काठमाडौंका भन्दा फराकिला सडक भएर पनि ट्राफिक जामको समस्या बढी छ ढाकामा । बंगलादेश र नेपाली क्षेत्रफलको हिसाबले करिब करिब उत्रै छन् । बंगलादेश १ लाख ४७ हजार वर्गकिलेमिटर क्षेत्रमा फैलिएको छ, तर जनसंख्या भने नेपालमा भन्दा अन्यधिक बढी अर्थात् १५ करोड जनसंख्या रहेको छ । त्यसैले नेपालको तुलनामा जनघनत्व बढी छ । कारमा गुड्दा गुड्दै माछाको गन्ध आयो। करिब ५०० मिटर गुडेपछि माछा बजार फेला पर्यो । सडक किनारमा रहेको माछा बजारमा माछा किनबेच गर्नेको घुइरो नै चल्ने गर्छ ।

विहान ८.३० बजे न्युमार्केट लालवागस्थित ढाकेश्वरी मन्दिर पुग्यौं । ढाकेश्वरीमा एक ढाकेश्वरी एक विष्णुको मूर्ति विराजमान छन् । ढाकेश्वरी मन्दिर नजिकै चारवटा अन्य मन्दिरहरू छन् जसमा शिवलिङ्गहरू प्रतिस्थापन गरिएका छन् । मन्दिरको बाहिरपट्टि कालो पोसाक पहिरेका झण्डै हाम्रो गुर्जुको पल्टन जस्तो भेषका सुरक्षाकर्मीहरूले पहरा गरिरहेका थिए । दशैंको अवसर भएकोले दुर्गा माताको मूर्ति तयार गरी दूर्गा पूजा गर्नै भक्तहरूको भीड पनि कम थिएन । मन्दिरको बाहिरपट्टि मिठाईका पसलहरूमा मिठाई किन्नेहरू पनि खचाखच थिए । मन्दिरभित्र बाहिर कतै पनि फोहोर थिएन । भीड  भए पनि दर्शन गर्ने दर्शनार्थीलाई खासै अप्ठेरो नपर्ने गरी महिला र पुरुषहरूको छुट्टाछुट्टै लहरको व्यवस्था मिलाइएको थियो ।

ढाकेश्वरी र अन्य देवताको दर्शनपश्चात् हामीहरू सार्वजनिक पुस्तकालय विभाग र राष्ट्रिय संग्रहालयलाई किनारमा छोड्दै फर्कियौं ।होटल स्कार्य गार्डेन र पान प्यासिफिक सोनागाउँ होटलहरू गुलावी रंगमा सजिएका छन् । होटल अघिल्तिर चोकमा फैलिएका पानीका फोहराले गर्मीमा निर्झर भेटेको भान पर्ने र मनमा शीतलता थपिने । तेजगाउँको घना बस्ती छिचोल्दै गुल्सन २ र गुल्सन १ बजार हुँदै बारिधारामै फर्कियौं । वास्तवमा बंगलादेशले ढाका सहरलाई हरियाली र आधुनिक संरचनाहरूबीच तारात्म्यता कायम गर्दै सौन्दर्यको संयोजन गर्न आरम्भ गरेको प्रयास सराहनीय छ । बारिधारा पुग्ने बेलामा गुल्सन ताल भेटियो । सहरको बीचमा भए पनि गुल्सन ताल त्यति सफा छैन । सहरको बीचमा भए पनि गुल्सन ताल त्यति सफा छैन । पोखरीको छेउमा आन्द्रा र लादी सफा गरिरहेको ३ जना फोहोरी मान्छेहरू देखिए । ‘त्यो गाईको आन्द्रा हो ।’ बसारले भन्नुभयो । त्यो सुन्दा आङ नै सिरिङ्ग भयो मेरो ।

दामोदर पुडासैनी किशोर

ढाकालाई दिनभर धुम्म बादलले ढाकिरह्यो । ढाकाको मुटुदेखि कलेवरका कुनाकाप्चाहरूमा चाहार्न पाउँदा मेरो मनमा भने उत्साहको घामले छाइरह्यो । दूतावासको परिसरमा झुलेका राता, सेता, पहेला र नीला फूलहरू इन्द्रधनुषी गजराको रुपमा मेरो मनको मझेरीमा टाँगिरह्थ्यो । तालै तालको देश बंगलादेश मलाई झुम्म लागिरहेथ्यो र चलमल चलमल चल्मलाई रहेथ्यो, अन्तरका आँकुराहरूमा ।

नेपाली दूतावासको परिशरमा फक्रेका फूलहरूले मेरो मन बसाइरहेथ्यो । हरेक फूलवृक्षमा अंकित पातहरू हरिया मात्र होइनन् तेल लगाएर पुछेका जस्ता चिल्ला र सुकुमार थिए । दूतावासको पछिल्तिर धरहरा झैं अग्लो मरियम टावर नामको एपार्टमेन्ट भवन गजधम्म उभिइरहेथ्यो तालको छेउमा ठिङ्ग उभिएको सारश जस्तो । नजिकै फराकिलो गुल्सन तालले आफ्नो मुटेमा सजाएथ्यो फेवातालले माछापुच्छ्रे हिमाललाई च्यापे झैं । तर पानीमा तेल मिसिए झैं पहेँला र साउने भेलले भरिए झैं धमिलो । फेवा वा वेगनासको पानी झैं नीलो भैरिएको भए मरियम टावरमा समेत नील सर्दथ्यो होला, त्यो टावरमा बस्नेहरूको मन सधैं शीतल र शान्त बन्थ्यो होला । एक आँखाले मरियम टावर र अर्को आँखाले गुल्सन ताल हेर्दै हराइरहथें म नजिकैका सेता, कलेजी र  पहेँला फूलका पत्रपत्रमा ।

“सलाम आलेकुम” (नमस्कार) – एउटा हँसिलो मान्छे उभियो । काला भैरव जस्तै कालो त्यो मान्छेले मोती झैं टल्कने दाँत आफैंमा नील कमलको सम्मिश्रण थियो । “आलेकुम सलाम” (नमस्कार) – मैले नमस्कार फर्काएँ । उहाँ त उही बंगाली मित्र अब्दुल बसार हुनुहुन्थ्यो । दिउँसो एक बजे ढाका बजार घुमघाम गर्ने हाम्रो योजना सफल बनाउँन ठीक समयमै गाडी लिएर उपस्थित हुन भएको थियो उहाँ । भ्रमण पनि एउटा पुस्तक हो जसले थोरै समयमा धेरै पढ्न सक्यो, उसले ज्ञान भण्डारणमा तीव्रता ल्यायो । यो सत्यतालाई मैले राम्ररी बुझेको थिएँ । त्यसै भएर छोटो समयमा बढीभन्दा बढी पानामा विचरण गर्नु थियो । हामीलाई बोकेर गाडी गुल्सन बजार पुग्दैै थियो । पहिला रमेशजीका छोराछोरीलाई विद्यालयबाट दूतावास ल्याइदिएपछि मात्र गाडी हाम्रो लागि पाइने रमेशजीको भनाइ रहेको कुरा बताउनु भयो बसारले ।

राजदूतले हाम्रो लागि खटाइदिनु भएको गाडीलाई रमेशजीले छोराछोरी दूतवास पुर्याउने काम पनि थपिदिनु भएछ । बेकार दुई घण्टा घाटा परिने भयो बंगलादेश बसाईमा । अघि नै भनेको भए दूतावासमै बस्थ्यौं नि हामी । राजदूतको अगाडि केही बोल्न नसक्ने पछि पशुपतिको जात्रा सिद्राको व्यापार गर्न खोज्ने रमेशजी पनि कस्तो मान्छे । जनार्दनजीको रक्तचापको माथिल्लो भाग २०० भन्दा माथि नै पुग्यो होला सायद । जनार्दनजीलाई थामथाम थुमथुम पारियो । गाडी आफूलाई चाहिएको थियो, त्यसैले रमेशजीका छोराछोरीलाई निवासमा पुर्याएर मात्र हिँड्यौं ढाका बजारको रंग खोस्रन ।

वासिङ्ग होटलसँगै रहेको सिल्क डाइनेस्टी नामको विक्री कक्षमा बंगलादेशमा तयार गरिउका नक्कली गहनाहरूको प्रदर्शनी तथा बिक्री कार्यको रौनकता भव्य थियो । महिलाहरूले पहिरने चुरा, टप, हार, माला आदि गहनाहरू फरक र नौलो ढंगले निर्माण गरिएका मात्र नभै नक्कली सून लेपनले हरेक गहनाहरू सक्कली झैं लाग्दथे । त्यहाँ अधिकांश युवती र महिलाहरू तछाडमछाड गर्दै गहनाहरू खरिद गरिरहेथे । साँच्चै भन्ने हो भने पुरुषको प्रतिनिधित्व हामीले मात्र गरेका थियौं । खाडी क्षेत्रमा इस्लाम धर्मावलम्वी महिलाहरू कालो ढक्कनले ढाकिनु स्वभाविक थियो भने बंगलादेशमा सहरी इलाकामा त्यो ढक्कन पुरै खुलिसकेको थियो । महिलाहरूले स्वतन्त्रतापूर्वक आफ्ना विचारहरू फैलाउनुलाई आश्चर्यका आँखाहरूले हेरिनु बेकार हो भन्ने स्वीकारिसकेको थियो त्यहाँको शिक्षित समाजले । “केही त किन्नै पर्छ, उपहार दिनको लागि काम लाग्दछ” मनमा नक्कली गहनाप्रति आशक्ति उब्जियो । हरेक कक्षमा एक से एक उदितयौवनाहरू उभिएका थिए । बिक्री कक्षमा सोढषीहरूको उपस्थितिले बिक्रीको उचाई थपिन्छ भन्ने बिक्रीकलाको मनोवैज्ञानिक नियम त्यहाँ पनि जाज्वल्यमान भैरहेथ्यो ।

“लौ न यहाँ भएमध्ये अत्याधुनिक टप छानिदिनुहोस् न केही । मलाई यी नक्ली गहनाको बारेमा खासै ज्ञान छैन”, मैले एउटी उदितयौवनाको ध्यान आफूतिर तानें ।

“तपाई नहडबडाउनुहोस्, अचेल हाम्रा कलेजमा पढ्ने युवतीहरूले यस्ता टप मनराउँछन्, तपाईंको देशकाले पनि पक्कै यस्तै मनपराउलान्” त्यहाँ भएका सयौं मध्ये छ किसिमका टप मेरो हातमा हालिदिइन् उनले । तिनीहरू साह्रै साना थिए तर आकर्षक आकारका मोतीको जस्तो युँले सूनमा सुगन्ध फिँजाइरहेथ्यो तिनीहरूमा । मैले ती सबै एक एक जोर खरिद गरें । ती सबैको मूल्य ९४ टाका भुक्तानी गर्नु पर्ने थियो । मैले १०० टाका दिएँ ।

“फिर्ता गर्न खुद्रा भएन”, गुलाव फूलको मुस्कान साथ प्रस्तुत भइन् ।

“भो पर्दैन” , मैले ६ टाका उनैलाई छोडिदिने घोषणा गरें ।

“तुम्ही अनेक भालु” (तपाई साह्रै राम्रो मान्छे हुनुहुन्छ) मप्रति कृतज्ञताको वर्षा भयो तिनीबाट ।

“धेरै मूल्य नपर्ने, चोरीको डर नहुने र हराईहाले पनि ठूलो मूल्य चुकाउँन नपर्ने भएकोले नक्कली गहनाहरूले बंगलादेशमा जुनेलीका फूल जस्तै फरर फक्रने मौका पाएकी छन् ।” यस्तै विचारका वर्षा गराइन् खालिदा नामकी अर्की युवतीले ।

घरायसी लत्ता कपडा खरिद गर्नेको बाहुल्यता हाम्रो समूहमा । “अब चाँदनी चोकमा जाऊ” बसारले अगुवाई गर्नुभयो । लत्ता कपडा बन्द व्यापारको लागि झण्डै काठमाडौंको नयाँ सडक, इन्द्रचोक र असन जस्तै व्यस्त बजार छ चाँदनी चोक । विभिन्न उमेर समूहका स्वदेशी तथा विदेशीहरू जोडी मिलाएर हिँड्नेहरू पनि कम देखिदैनन् । कुर्ता सलवारमा मात्र होइन, सारी चोलोमै पनि विपरीत लिङ्गीहरूसँग इतरिहनेहरू बग्रेल्ती भेटिन्छन् सडकका छेउ कुनामा । कुर्ता सलवार बेच्ने एउटा पसलमा पस्दा एक जोडीको किनमेल सकिएको थियो सायद ।

“आमी तुम्हाके भालुवासे (म तिमीलाई प्रेम गर्छु)” कौवा जस्तो कालो केटाले गोरी केटीको उक्सेको गहुँको रोटी जस्तो भकुल्ले गालामा प्याट्ट हिर्कायो र भर्खरै किनेको कपडाको पोको हातमा थमायो । “सेम टु यु एण्ड तुम्ही अनेक भालु” (तपाईंलाई पनि …. र तपाईं साह्रै राम्रो मान्छे हुनुहुन्छ) । गोरीले त्यो अंगारे युवकको हात च्याप्प समाती । दुवैको हात एकै डोरीका दुई पोयो जस्ता बने । बारिए उनीहरू ।

“इस्लामिक धर्मको मूल्य मान्यता नै खत्तम गर्ने भए यी आलाकाँचाहरूले ।” पसलका तीन साहूजीमध्ये असी एकासी वर्षको लाग्ने बूढा बम्किए ।  “त्यो केटी पक्कै पनि भारतबाट आएकी हुनुपर्छ, कस्ता लाज सरम नभएका” बूढा पटक पटक आफ्ना लामा र सेता दाह्री झट्कार्दै रिसाए ।

“यस्तै हो अब कसैलाई रोकेर सकिँदैन, बुबाहरू पुरानो विचारका भएकोले पचाउन गाह्रो पर्छ”, छोराचाहिँले अंग्रेजीमा मलाई आश्वस्त पारे । त्यो सानो चित्रमा इस्लामिक धर्ममा क्रमशः देखिएको परिवर्तनको रौनक थियो । प्रेम र स्वतन्त्रता प्रेमीहरूको विजयमा घाम चम्कदै गइरहेथ्यो । सारा विश्व एकै संस्कृतितर्फ उन्मुख हुँदै गएको सुखद सन्देश थियो त्यो । त्यसो त ढाका बजारमा इस्लामिक प्रथाको त्यति कडाइ देखिएन । महिलाहरू बुर्काको सट्टा सारी चोलो र कुर्ता सलवारमा सजिनेको संख्या बढी देखिन्छ । पुरुषहरू मुस्लिम टोपी, पञ्जाबी कुर्ता सुरुवाल, लुङ्गी पाइन्टसर्ट आदि पहिरनमा यत्रतत्र गरिरहेका भेटिन्छन् । त्यो पसलमा मैले पनि केही कुर्ता सुरुवालहरू खरिद गरें । सामान खरिदमा अत्यधिक मोलमोलाई नगरे भसक्कै ठगिने बसार नहुने भएको भए डङ्रङ्गै परिने रहेछ ।

जनार्दनजी र उद्धवजीले बंगाली सिल्क सारीहरू खरिद गर्नुभयो । मैले दिल्लीमै खरिद गरेकोले सारी किन्ने झन्झटमा फस्नै परेन ।
अपरान्ह हाम्रो किनमेल सकियो ।

“बजारमा घुमौन केहीबेर”, मेरो प्रस्ताव साथीहरूबाट स्वीकृत भयो । चाँदनी चोकका गल्ली गल्लीमा मान्छेको भीड लागेको थियो । मुसलमानी चाड रमजानको बेला भएकोले खरिदबिक्री गर्नेको ताँती लागेको थियो । साँझपखको घाम भए पनि गर्मी उखरमाउलो थियो तर त्यसमा बाफिलोपनको बाहुल्यता थियो । एकपटक झमझम पानी परे पनि घामपानीमा भिज्नुको अर्कै रमाइलो हुन्थ्यो जस्तो लाग्दैथ्यो । तर त्यहाँ आवृष्टिको कुनै संकेत थिएन । पेटीहरू पुरै बजारले ढाकेको देख्दा पेटी छ जस्तो नलाग्ने । बिक्रेताहरू न्वारानदेखिको बल झिकेर चिच्चाइरहेका आ–आफ्ना सामानो विज्ञापन गर्दै । ग्राहकलाई तानातान गर्ने र किन्न बाध्य गराउँनेहरू उत्तिकै । एउटा पसलमा नयाँ नयाँ प्रारुपका कुर्ता सुरुवाल सजाइएका थिए, मान्छेहरूको भीड माहुरीको गोला बनिरहेथ्यो । एउटा हात लुसुक्क मेरो पेन्टको खल्तीबाट छिरिसकेपछि यो मलाई थाहा भयो । च्याप्प समातें । बलफ्ती हात निकालेर भाग्यो त्यो मान्छे । तै त्यो खल्ती रित्तै थियो र पो । नत्र राम्रैसँग लुटिने रहिछु । घटना सुनेपछि त्यहाँ असंख्य पकेटमारहरूको बिगबिगी रहेको कुरा बताउँनु भयो बसारले । झण्डै खर्च न बर्च काशीतिर फर्क भइएको थियो आफू ।

त्यसदिन ढाकामा ५ बजेर ४१ मिनेट जाँदा घाम अस्ताउँने कुरा उल्लेख गरिउको रहेछ मुसलमानी क्यालेन्डरमा । रमजानमा सूर्य उदाएपछि दिनभर निराहार बस्नु पर्ने । घाम अस्ताएकै क्षणमा मुुरही (खट्टे), सर्वत र खजुर जस्ता खानेकुरा खाने र पानी पिउनु पर्ने । पछि साढे सात बजे खाना खाने साढे नौ बजे सुत्ने, बिहान साढे तीनदेखि साढे चार बजेसम्म मासु, भात र मीठा खाना खाने धार्मिक मान्यता भएकोले त्यो क्षणको लागि व्यग्र बन्नुभयो बसार ।

तिनीहरूमा जोश, जाँगर र राष्ट्रप्रेमको त्रिवेणी बगिरहेथ्यो । बंगलादेशीहरू तिनीहरूलई हेरेर निहुरन्थे र रगत तताउँदै बंगलादेशी हुनको यथार्थता जगाउन अघि बढ्थे ।

“अब फर्कु होला”, साँझ ५ बजे बसारले प्रस्ताव राख्नुभयो । धर्म आफैंमा कट्टर हुन्छ त्यसमाथि इस्लामिक धर्म एउटा निश्चित प्रणालीमा चलेको छ आजसम्म । नगर्नू पर्ने कुरा बिलकुलै नगरिने र गर्नुपर्ने काम नगरी नछोडिने कानुन ज्यूँदो छ इस्लाम धर्ममा ।

गाडीको पेटमा गुडुल्कियौं हामी । एक्जिम बैंक र शेरेटन होटल छुँला छुँला जस्तो गरेर अलिकति अघि बढेका मात्र थियौं, सडकको बीचमा एक हूल मान्छेहरू पूजित अवस्थामा हंस मुद्रामा मुखामुख गरिरहेको भेटियो । तिनीहरूमा जोश, जाँगर र राष्ट्रप्रेमको त्रिवेणी बगिरहेथ्यो । बंगलादेशीहरू तिनीहरूलई हेरेर निहुरन्थे र रगत तताउँदै बंगलादेशी हुनको यथार्थता जगाउन अघि बढ्थे । तिनीहरू बंगलादेशलाई स्वाधीन बनाउने मुक्तियोद्धाहरू थिए । शीलामा अनुवाद भएका थिए उनीहरू तर चन्द्रसूर्य रहेसम्म अमर बनिसकेका थिए । मैले गाडीबाटै दुई हात जोरें ।” यस्ता मुक्तियोद्धाहरू हाम्रो देशमा पनि अझ धेरै जन्म लिन जरुरी छ” मनमनै पुकारें । “आमातिरको मामा न बाबुतिरको काकालाई किन नमस्कार गर्नुभयो ?” जनार्दनजी खिशीको भावमा खिसिक्क हाँस्नुभयो ।

“हीराको मोला कीराले जान्दैन” मित्र “कि हस्तिनानापुरको रजाई, कि चपरीमुनिको बास” भनेर कम्मर कसेकाले नै यिनीहरूले आफ्नो देशलाई स्वाधीन र स्वतन्त्र बनाए । राम्रो काम गर्नेहरू जहाँसुकैका भए पनि सबैको लागि साझा र प्यारो हुन्छन् । घाम कसैको होइन तर सबैको हो र सबैको प्यारो छ नि हैन र ?”, जनार्दनजी लत्रक्क लत्रनुभयो । हाम्रो वार्तालाप बसारले पनि अलिअलि बुझ्नु भयो । आफ्नो राष्ट्रिय गीत निस्किहाले उहाँको मुखबाट –

‘हामार सोनार बंगला
आमी तुम्हाई भालुवासी’

ग्रिनरोड पान्थोपथ ढाकाको मुख्य बजार क्षेत्रको रुपमा प्रसिद्ध छ । त्यही सडकमा चलचित्रका दृश्य हेरेझैं हुँइकिरहेथ्यौ हामीहरू । बायाँतिर बसुन्धरा मार्केट नामको विशाल बजारले हामीलाई देख्नेबित्तिकै मुस्कुरायो । भव्य महल, किनमेल गर्ने धनाढ्य र सुकिला सुकिलाहरूको चहलपहलले बसुन्धरा मार्केटमा बिहेघरजस्तो उत्साह र उमङ्ग फैलिरहेथ्यो । “यो विशाल बजार त एसियाकै तेश्रो क्रममा पर्छ नि” बसारले अथ्र्याउनु भयो ।

“त्यहाँ पान पाइन्छ होला नि ?”, जनार्दनजीले हत्त न पत्त आफ्नो पानप्रेमलाई ओकल्नुभयो ।

“ठाउँ न ठहर बूढीको रहर भने झैं कहाँ विभागीय भण्डारभित्र पान खोज्न जानु, पान त बाहिरै पाइहाल्छ नि” मेरो वाक्यमा बसार र उद्धवजीको हाँसोले सही मिलायो ।

‘सबैलाई तातै गएपछि रातै’ भने झैं पान्थोपथबाटै हामीसँग घामले करिब करिब हात हल्लाउदैथ्यो । सामान खरिद गर्नेहरू मिठाइ पसल र खाद्य भण्डारहरूबाट हतार हतार कुलेलम ठोकिरहेथे । प्रायः सबै घरहरूलाई इन्द्रेणी जस्ता बिजुली बत्तीहरूले दुलही झैं सिंगारीरहेथे । त्यो रंगिबिरंगी माहोलबाट घामलाई पनि फर्कन मन थिएन होला । तर घाम त एउटा समाधिमा पुगेको ऋषि न ठहरियो उसलाई रुप रंग र वासनाको के मतलव ? फक्र्यो घाम आफ्नै बाटो खुरुखुरु । पान प्यासिफिक सोनारगाउँ होटल अघिल्तिर पुग्दा ठूलो नेताको घतलाग्दो भाषण सुने झैं अक्क न बक्क बनेर उभिएका थिए सवारी साधनहरू । सडक सवारी साधनले तील राख्न नमिल्ने गरी ढाकिएका थिए तर चलायमान गराउने हिम्मत कसैको थिएन । बेगम खालिदा जियाले रमजानको उपलक्ष्यमा कूटनीतिक र विदेशी मित्रहरूलाई रात्री भोजको आयोजना गर्नु भएकोले तिनै विशिष्ट व्यक्तिहरूको सुरक्षाको प्रबन्ध मिलाउँदा ट्राफिक जाम भएको थियो । बल्लतल्ल हाम्रो गाडीले भीडबाट मुक्ति पायो र उछिनपछिन गर्दै अघि बढ्यो ।

घडीको सुईले ५ बजेर ४१ मिनेटको खण्डमा टेकेको मात्र थियो । रेडियोबाट मुल्लाले सुरु गरिहाले नमाज घन्काउन । बस, ट्याक्सी, रिक्सा आदि सबै सवारी साधनहरू जो जहाँ जस्तो अवस्थामा थिए त्यस्तै अवस्थामा रोकिए । सडक एक्कासि शान्त बन्यो । सवारीसाधनभित्र रहेका, पेटीमा हिँडिरहेका, पसलमा बसिरहेका सबैले फटाफट मुख धोए । सँगै ल्याएका खानेकुराहरू खान थाले । जनार्दनजी र उद्धवजी पान खोज्न हुत्तिनुभयो बाहिरतिर । बसारले पहिले नै किनेको बम्दै जिलेवी मलाई पनि खान आग्रह गर्नुभयो । अन्धाको देशमा कानु बन्नु लंगडाको देशमा खोच्याउँनु भने झैं मैले पनि बसारसँगै जिलेवी खाइदिएँ । बीस मिनेटपछि सवारीसाधनहरू गुड्न थाले । मान्छेहरू हिँड्न थाले । हामी पनि गुल्सन बजार हुँदै बारिधारा पुग्यौं ।

महानवमीको दिन । नेपालमा दशैंको रौनकको सम्झनाले फरक्क घर फर्कु जस्तो लाग्यो । सानो उमेरमा गाउँघरमा रोटेपिङ् लिङ्गेपिङ्ग खेल्दा समय किन त्यति छिटो बित्छ जस्तो लाग्थ्यो । दशैं आउनुभन्दा दुई तीन महिना अगावै दिन गनिन्थ्यो । नयाँ पहिरनले मनमा ढकमक्क सयपत्री र दिन गनिन्थ्यो । नयाँ पहिरनले मनमा ढकमक्क सयपत्री र मखमली फूलाउँथ्यो । केही वर्षयता त दशैं पनि दशा जस्तो उभिन थालेको छ । गाउँ र बस्तीभरी द्वन्दले आरुवखडाका फूल फूल्न बाध्य भएका छन् । प्रियजनको अभाव र आँखामा आँसुका धारा समेटेको बेला दशैंमा कसरी हल्कियोस् जमरा । कुन क्षणमा र कहाँ मृत्युको मुखमा आफ्नो बरियता वरण गर्नुपर्छ त्यो कसैलार्य थाहा छैन । देशका धुन, पुत्ला र व्वाँसाहरू कहिले निमिट्यान्न भैसक्लान्, सबैको अनुहारमा सन्तोषका रेखाहरू फैलेलान् र दशैं वास्तविक दशैं बन्ला । यही दशैंमा पनि कतिले जिन्दगीको अन्तिम पीडा वरण गरे होलान् । बारिधारा स्थित गुल्सन तालको किनारामा ढकमक्क फक्रिएको चमेलीका सेता पत्रहरू सुमसुम्याउँदा पनि मैले सुवासको शिर पुच्छर भेटिन ।

साँझका जराहरू छिप्पिएर झुरुप्प भए । आकाशमा कादम्बिनीको क्लेश थिएन । एउटी इन्दु आसमानबाट ओर्लेर सारा संसारभरी शीतल छरिरहेकी थिइन् । उनको उद्भासले ढाकाको त्यो कालीमालमा मेरा मनका उच्छलहरू उतुङ्ग बनेर उनैलाई छुन खोज्दैथे । “भित्रै जाउन । सबै जना आइसक्नु भयो । तपाईंहरू नै कुरेका हामीहरूले ।” रमेशजीसँगै भित्रियौ उहाँँकै निवासमा । बैठककोठामा झुरुप्प झुम्मिएर सन् १९९७ मा स्थापित दक्षिण तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको आर्थिक मञ्च विमिस्टेकको भूत र भविष्यको बारेमा गरमागरम बहस गर्दै थिए एक हूल मान्छेहरू ।

“विमस्टेकको स्थापनाले बंगलादेश, भारत, म्यान्मा, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटानको आर्थिक वृद्धिदरमा अशिक्षित, सफलता आउछ” एकथरी तर्क तेस्र्याउँदै थिए ।

“दक्षिण एसियाली राष्ट्रहरूको क्षेत्रीय संगठन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठमा रहेका राष्ट्रहरू सम्मिलित आर्थिक मञ्च भएकोले यस क्षेत्रको राजनैतिक र आर्थिक सम्वृद्धिमा विमस्टेक उर्जाशील मञ्च नै हुनसक्छ” अर्कोथरीको थप तर्क थियो ।मानौं विमस्टेकको बैठक नै भइरहेथ्यो त्यहाँ । एटा कुनामा राजदूत भगीरथ बस्नेत, उद्योग मन्त्रालयका सहसचिव ङइन्द्र शर्मा, उप–सचिव जीवराज कोइराला र नेपाली सेनाका व्रिगेडियर जनरल नेपाल भूषण चन्द दम्पत्तीको लहर थियो । अर्को कुनामा कानून तथा न्याय मन्त्रालयका उप–सचिव प्रदीप पौडेल, अर्थ मन्त्रालयका उप–सचिव रविदेव पन्त र रमेश खनाल दम्पत्ति बस्नुभएको थियो । हामी तीन जनाले बायाँपट्टिको सोफा कब्जा गर्यौं ।

जूनको म्वाईमा लट्ठ परें म । त्यहीबेला सम्झनाको संग्रह खोल्दा लौरीविनाको उकालो एक्लै चढें म ।

दशैं शुरु भयो त्यहाँ । रातो, नीलो र पहेंलो रंगको चिसो पानी सीसीबाट खुरु खुरु ग्लासमा ओर्लदै काठमार्गबाट कुलेलम ठोक्न थाल्यो । रंगीन चिसो पानी पिएर शरीर तताउँदै इन्द्रेणीयुक्त गफ हाँक्नेहरूको एक से एक प्रतिस्पर्धा हुन थाल्यो । त्यसैबीचमा हात हातमा बेगम, बास्सा, बजिर, एक्का र उनीहरूका सेनामेनान दौडिन थालेपछि त गुल्सन ताल नै बोतलमा भरे पनि देवताहरूको माझमा अमृत इलो न मिलो भए झैं लाग्यो । राजदूत आफू रंगीन पानीबाट टाढै रहने तर रंगीन पानीले नुहाउनेहरू भन्दा बढी रंगिला नचाउनु हुने कुराकानीमा । अरु तासमा मस्त, राजदुत, व्रिगेडियर जनरल नेपाल भूषण चन्द दम्पत्ती र म भने कविता, मुक्तक र हाइकुमा व्यस्त । रमेशजीको पुत्र अभिनवको अनुरोधमा हाम्रो समूह होमिया लङ्गुरबुर्जामा । लङ्गुरबुर्जा पनि धेरैबेर टिकेन । राजदूत र म मात्र खेल्यौं, थप तेह्र मिनेट । मैले लगातार ३९ अमेरिकी डलर हारें । एकपटक पनि जितिनँ । राजदूतले जितिरहनु भयो । हेर्नेहरूलाई रंगमाथि रंग थपियो, तालीमाथि ताली, एकपटक पनि गोटी मेरो पक्षमा नपर्नु अचम्मै मानियो सबै पक्षबाट । मह जोडीको विज्ञापन नाटकमा २५ भोट भनेर राजनीतिज्ञलाई जिस्क्याए झैं मेरो नाम पनि ३९ डलर नामाकरण भयो । “यो त साह्रै भो । म काठमाडौं आएपछि उनन्चालीस डलर समायोजन गर्नैपर्छ नत्र ब्रम्हास्त्र लाग्छ बुझ्नु भो” राजदूतको हाँसोमा सबैको हाँसो थपियो । खाना खाँदा पनि मुख्य विषय त्यही नै रह्यो । धेरै रकम नहारे पनि लगातार हार्नु भनेको संयोग र जूवाको विशेषता पनि हो । सम्भावनाको नियम पन कहिलेकहीँ विपरिततातिर मोडिन्छ । मैले एकपटक “नखेल्नु जुवा र तास, धनको नास जीवनको बनिवास” भन्ने लोकगीत गाइदिएँ । सबैमा जुर्मुराहट थपियो । उनन्चालीस डलर किस्सा स्थायी बन्यो ।

राती ११ बजे खाना खानु भनेका हातमा ऐना हेर्नेहरूको लागि व्यापारिक विश्राम मात्र थियो । विश्रामपछि उच्च गतिमा अघि बढ्यो त्यो अभियान । आफू त्यो अभियानमा नलाग्ने भएकोले आफ्नो कोठाभित्र पसें । झ्यालबाट छिरेको जूनले अंगालो मारेर म्वाई खायो केहीबेरसम्म ओछ्यानमा । जूनको म्वाईमा लट्ठ परें म । त्यहीबेला सम्झनाको संग्रह खोल्दा लौरीविनाको उकालो एक्लै चढें म ।