उनको नाम हो, रिड हास्टिङ । स्पेलिङ फरक परे पनि जब मैले रिडको नाम पहिलो पटक याद गरेँ, यिनी पुस्तक व्यवसायमा नलागेर किन इन्टरनेट व्यवसायमा लागे होलान् भनेर गम खाएँ । तर आज म स्पस्ट भएको छु- भलै उनी इन्टरनेटमा छन्, तर उनी फरक शैलीले किताब बेचिरहेका छन् । उनीमाथि उनैले लेखेको किताब ‘नो रूल्स रूल्स: नेटफ्लिक्स एन्ड द कल्चर अफ रिइन्भेन्सन’ पढेपछि याे महसुस भयो । रिडले पत्रकार तथा लेखक एरिन मेयरको सहयोगमा लेखेको यो किताबले ज्ञानको नयाँ आयामसँग त परिचय गराउँछ नै नेटफ्लिक्सको सफलताको रहस्य पनि खोतल्छ ।

Reed Hastings, Co-CEO of Netflix, photographed at their Los Gatos California headquarters in August 2020.

सन् १९९८ अगस्टमा शुरू भएको नेटफ्लिक्स तीन वर्षपछि नै ऋणमा चुर्लुम्म डुब्याे । संस्थापक रिड र मार्कले आफ्नो कम्पनीलाई या त बन्द गर्नुपर्ने या त कुनै ठूलो कम्पनीमा गाभ्नुपर्ने बाध्यता सिर्जना भयो । झन् २००० इस्वीकाे ‘बबल बर्स्ट’ले त उनीहरूलाई निकै अप्ठेरो बनाएको थियो । त्यसबेला इन्टरनेटमा आधारित सबैजसो कम्पनीको सेयर भाउ अकासिएर एकै पटकमा थच्चिएका थिए । जसलाई ‘बबल बर्स्ट’ नामकरण गरिएको थियो । त्यस्तै प्रकृतिको काम गरिरहेको ‘ब्लकबस्टर’ नामक कम्पनीसँग गुहार माग्न उनीहरू बाध्य थिए । तर यो कम्पनी यति ठूलो थियो कि भर्खरका फुच्चे रिड हास्टिङ र मार्क रेन्डल्फ कम्पनीका मालिक भइकन पनि ६ अर्ब डलरको ‘ब्लकबस्टर’ अफिस छिर्न हच्किएका थिए ।

यस्तो बेलामा करोडौँ ऋणमा डुबेका यी दुईका लागि एउटा उपाय ब्लकबस्टरका प्रमुख कार्यकारी जोन एन्टिओकोसँग भेटेर आफ्नो कम्पनी किनिदेऊ भनेर खुसामद गर्नु थियो । ब्लकबस्टर कम्पनीको भव्य अफिस र त्यसको तामझाम देखेरै उनीहरूलाई त्यहाँ पस्ने आँट आएको थिएन । तर असल व्यवसायीहरू नयाँ व्यवसायीका कुरा सुन्न इच्छुक हुन्छन् । नेटफ्लिक्सका केटौले लगानीकर्ताहरू जोनलाई भेट्न आएपछि जोनले कुनै नाइँनास्ती गरेनन् । दुई युवालाई उनले भेट दिए, खाजा खुवाए । कुरा सुने । भावि योजनाका बारेमा पनि छलफल गरे । दुई वर्षमा नै रिड र मार्कले ७०/३० प्रतिशतको लगानीमा शुरू गरेको नेटफ्लिक्सको व्यापार ठीकै भए पनि कम्पनी पाँच करोड डलरमा किन्नुपर्ने बताएपछि भने जोनले उनीहरूलाई सिधै हुन्न भनिदिए । ठूलो आशा धराशायी भएका दिन उनीहरूलाई लाग्यो, अब उनीहरूको व्यवसाय सकियो ।

युवा जोश भएकाले उनीहरूलाई धेरै केही गुमाउनु थिएन । त्यसमाथि सन् २००० को बबल बर्स्टले ठूला कम्पनीलाई ठूलो झट्का दिएको थियो । सानोको झट्का सानै थियो र यसलाई सहनुको कुनै विकल्प थिएन । उनीहरू अघि बढ्दै गए । उनीहरूले खुसामद गरेको कम्पनी ब्लकबस्टर बबल बर्स्टले खुम्चिदै जान थाल्यो भने नेटफ्लिक्सले डिभिडीलाई घरघर पुर्याउने सेवाबाट अपडेट गरेर अनलाइन स्ट्रिमिङका रूपमा अघि सार्यो ।

अहिले संसारभर यसका १९ करोड ३० लाख ग्राहक छन् । संसारभरिका कन्टेन्टलाई किन्ने, किन्न नसके भाडामा चलाउने, भाडामा नपाए त्यसको नक्कलमा कार्यक्रम बनाउने र त्यसका लागि ठूलो धनराशि खर्च गर्ने नीति यसले लिएको छ । पछिल्लो वर्ष मात्र यसले १० अर्ब डलर नयाँ कन्टेन्ट सिर्जना गर्नका लागि पुँजी जुटाएको थियो ।

एक महिनाअघि मात्र कम्पनीका प्रमुख कार्यकारी रिडले अब आफ्नो समय अरू नै कार्यका लागि खर्च गर्ने भन्दै अर्का प्रमुख कार्यकारी टेड सारान्डोसलाई थपेका छन् । यसरी कम्पनीमा दुई प्रमुख कार्यकारीको अनौठो चलन रिडले नै शुरू गरे ।

संसारभरि ८ हजार ६ सय कर्मचारी भएको यस कम्पनीले अझै पनि हुलाकमार्फत डिभिडी पुर्याउने कार्य छाडेको छैन । ‘नो रूल्स रूल्स: नेटफ्लिक्स एन्ड द कल्चर अफ रिइन्भेन्सन’ पुस्तकमा रिडले भनेका छन्, ‘ब्लकबस्टर यस कारणले डुब्यो कि उसले समयको पदचाप पहिल्याउन सकेन । ऊ ढसमस्स एकै ठाउँ बसिरह्यो र ग्राहक उसकहाँ आउने ढिपी गरिरह्यो । त्यसको साटो हामीले सिधै ग्राहकको घरसम्म पुग्ने निर्णय लियौँ । पछि त हरेकको मोबाइलमा पुग्ने निर्णय लियौँ । यससँगै हामीले अमेरिकाका ग्रामीण क्षेत्रमा २३ वर्षदेखि हुलाकमार्फत् सेवा लिइरहेका ग्राहकहरूलाई पनि छाडेका छैनौँ ।’

यो किताब लेख्नुअघि रिडले आफ्नो व्यवस्थापनका साथीहरूलाई १ सय २५ पृष्ठको पावरप्वाइन्ट स्लाइड दिँदै भनेका थिए, ‘प्रतिस्पर्धामा टिक्नु छ भने यो स्लाइडलाई कण्ठस्थ पार्नू ।’ तिनै स्लाइडलाई पत्रकार एरिन मेयरले पढेपछि र नेटफ्लिक्सका पूर्व तथा वर्तमान कर्मचारीहरूको भिडसँग अन्तरवार्ता गरेपछि यो पुस्तक तयार भएको हो । कम्पनी चलाउनका लागि कहिलेकाहीँ कुनै नियमले नबाँध्नु पनि कसरी नियम बन्न पुग्छ भन्नेबारे पुस्तकले प्रस्ट्याएको छ । पुस्तकमा यति धेरै रोचक टिप्सहरू छन् कि व्यवस्थापन पढिरहेका, कम्पनी सञ्चालक तथा नयाँ कुरालाई कसरी स्वागत गर्नुपर्ने रहेछ भन्ने बुझ्न चाहने सबैका लागि एउटा राम्रो सेल्फहेल्प किताब बन्न पुगेको छ ।

हामी नेटफ्लिक्समा सिरिज हेर्छौं, मनोरञ्जन लिन्छौँ र समय बिताइदिन्छौँ तर आफैँ कन्टेन्ट क्रिएटर भने हुँदैनौँ । पुस्तकले कन्टेन्टको महत्त्व कति हुन्छ भन्ने पनि बुझाएको छ । तर यहाँ लुकाइएको कुरा के भने रिडले आफ्नो पूरै व्यवसाय किताबमा आधारित बनाएका छन् । हरेक वर्ष नेटफ्लिक्सले बनाएका आधा भन्दा बढी सिनेमा किताबमा आधारित हुन्छन् । यसै वर्ष पनि विभिन्न उपन्यास, जीवनी वा संस्मरणमा आधारित कन्टेन्टहरू बढी छन् ।

उनको पुस्तक पढ्दै गर्दा म एकठाउँमा गएर म अड्किएँ । त्यो के भने माथि उल्लेख गरिएको घटनाको धेरै वर्षपछि एउटा कार्यक्रममा रिड हास्टिङले ब्लकबस्टरका जोनलाई फेला पारे । उनको जागिर गइसकेको थियो । उनी अवकाशको जीवन बाँचिरहेका थिए । रिडले हात दिँदै भनेँ, ‘म रिड, तपाईंलाई याद छ ?’

हात मिलाउन अन्कनाउँदै जोनले जवाफ दिएका थिए रे, ‘अँ अँ चिनेँ, के नचिन्नु ? तपाईं त देशकै ठूलो मान्छे !’

(कहिलेकाहीँ जिन्दगीले बडो अप्ठेरो ठाउँमा ल्याएर उभ्याइदिन्छ ।)

ब्लकबस्टर्स आफूकहाँ आउने ग्राहक कुरिरहेको देखेपछि वालमार्ट कम्पनीले आफ्नो ठाउँ त्यहाँ देख्यो र नेटफ्लिक्सको बाटो ओगट्ने प्रयास गर्यो तर उसले सकेन । अक्टोबर २००२ मा शुरू गरेको सेवा २००५ नबित्दै बजारबाट वालमार्ट बाहिरियो । वालमार्ट बाहिरिने हल्ला चलेसँगै ब्लकबस्टर्स छिर्यो तर उसले पनि सेवा सुचारू गर्न सकेन ।

नेटफ्लिक्सको सफलतासँगै हुलु लगायतका कम्पनी देखापरे । पछिल्लो समय डिज्नेप्लस, एप्पल प्लस, पिकक आदि पनि प्रतिस्पर्धाको दौडमा सामेल छन् तर ती सबैलाई नेटफ्लिक्सले पछि पारेको पार्यै छ ।

कहिलेकाहीँ मानिस जीवन परिवर्तन गर्न किताब पढ्छ । जब उसको जीवन परिवर्तन हुन्छ, ऊ स्वयं किताबको पात्र बन्न पुग्छ । रिड हास्टिङ र उनको नेटफ्लिक्समाथि लेखिएका किताबहरू देख्दा त्यही महसुस हुन्छ । चाहे त्यो रोमन लोबाटोको ‘नेटफ्लिक्स नेसन्सः द जियोग्राफी अफ डिजिटल डिस्ट्रिब्युसन’ (२०१९) होस्, जिना किटिङको ‘नेटफ्लिक्स्डः द इपिक ब्याटल फर अमेरिकाज् आइबल’ (२०१२) होस्, ‘द नेटफ्लिक्स इफेक्टः टेक्नोलजी एन्ड इन्टरटेन्मेन्ट इन द ट्वेन्टी फस्ट सेन्चुरी’ होस् या रिडका साझेदार मार्क रेन्डल्फले यो कम्पनी स्थापना हुँदै गर्दाका संस्मरणात्मक वृत्तान्त ‘द्याट विल नेभर वर्कः द बर्थ अफ नेटफ्लिक्स एन्ड द अमेजिङ लाइफ अफ एन् आइडिया’ (२०१९) होस् ।

रिडलाई किताबको शक्ति थाहा छ । यसले संसार परिवर्तन गर्न सक्छ । संसारै परिवर्तन नभए पनि मान्छेलाई त परिवर्तन गर्छ गर्छ । संसार परिवर्तन गर्न भिडलाई नै परिवर्तन गरिरहन जरूरी छैन । बस्, एउटा सही पात्रलाई परिवर्तन गरिदिए पुग्छ । कार्ल मार्क्सको ‘पुँजी’ धेरैले पढे होलान् तर लेनिनले त्यही पुस्तक पढेर संसारमा कम्युनिस्टहरू यसरी जन्माए, जसलाई अाज हामी विभिन्न रूप र शैलीमा देख्न पाइरहेका छाैँ ।

हरेक पुस्तकमा यही कुरा लागू हुन्छ । सही व्यक्तिको हातमा त्यो पुस्तक पर्यो कि परेन, कुरा त्यति मात्र हो । रिड त्यही मौका किताबबाट उछिट्याएर दृश्यमा लैजान चाहन्छन् । त्यसैले त पुस्तकमा आधारित शृंखला र फिल्मको बाढी यहीँ बढी देखिन्छ !

त्यो ‘टु अल द बोइज्ः पिएस आई स्टिल आई लभ यु’ होस् या ‘ब्याटल रोयल’ यी पुस्तकमा आधारित सिरिजले टिन एजरहरूलाई बाँध्यो, ‘ओरेन्ज इज न्यु ब्लाक’ उपन्यास र ज्याक रिचर शृंखलाले थ्रिलर रूचाउनेहरूलाई कज्यायो, प्रख्यात क्लासिक ‘ड्राकुला’ होस् या जोन डिडियनको १९९६ को उपन्यास ‘द लास्ट थिङ हि वान्टेड’ यिनले क्लासिक उपन्यासको मज्जा पुनः दिलाउँछन् । रिचर्ड मोर्गनको ‘अल्टर्ड कार्बन’ र ‘वोकेन फ्युरिज्’जस्ता साइफाइ उपन्यासले तान्ने भनेको अहिलेका नर्डहरूलाई नै हो । त्यसो त फिक्सन मात्र रूचाउनेलाई मात्र नेटफ्लिक्सले तानिरहेको छैन, अनअर्थोडक्स, अनबिलिभेबल, हिलिबिली इलेजीजस्ता संस्मरण र जीवनीलाई पनि उसले उत्तिकै महत्त्व दिएको छ । यही कारण फिक्सन नरूचाउने पनि त्यहाँ जान बाध्य भइरहेका छन् ।

अहिले नेटफ्लिक्सले दर्जनौँ पुस्तकमा काम गरिरहेको छ र हरेक पढाकुको डिभाइसमार्फत् पुस्तक पढिरहेको छ । खासमा ती दृश्य पुस्तकहरू हुन् ।  मैले फलानो वेब सिरिस हेरेँ भन्नेहरूलाई भन्न मन लाग्छ, फलानो पुस्तक दृश्यमा पढेँ । पढ्ने शैली परिवर्तन भएको मात्र हो, किताबको ज्ञान भिन्न भिन्न अवतारमा उदाएका मात्र हुन् । खासमा रिडलाई थाह छ, मान्छे मान्छेबाट अघाउलान् तर किताबबाट अघाउँदैन । मान्छेबाट मान्छेलाइ धोका होला, किताबबाट हुँदैन । रिड यो सूत्रमा पक्का छन् । नत्र एकमाथि अर्को किताबमाथि करोडौँ डलर लगानी गर्ने थिएनन् ।

‘द्याट विल नेभर वर्क’ पढ्दै गर्दा किताबमाथि बनेका फिल्म र शृंखलाहरू हेर्नकै लागि यसको सदस्य बनेकामा मलाई कुनै पछुतो लागेको छैन ।