(जेम्स जोयस (१८८२-१९४१) एक विश्वप्रसिद्ध आइरिस उपन्यासकार, कथाकार तथा कवि थिए । ‘स्ट्रीम अफ कन्ससनेस’ लेखक पद्धतिको विकास गरेका उनलाई पश्चिमी साहित्यमा चलेको आधुनिकतावादी आन्दोलनको प्रभावशाली अभियन्ता मानिन्छ । बीसौं शताब्दीको महत्वपूर्ण लेखकका रुपमा प्रसिद्धि कमाएका उनका सर्वाधिक लोकप्रिय कृतिमा ‘डुब्लिनर्स’ र ‘उलिसस’ पर्छन् । प्रस्तुत छ सन् १९१४ मा पहिलोपल्ट प्रकाशित जेम्स जोयसको विश्वप्रसिद्ध कथासङ्ग्रह ‘डुब्लिनर्स’मा संग्रहित कथा ‘एभलिन’ लाई अनुप जोशीले गर्नु भएको नेपाली अनुवाद ।)

 

झ्यालमा बसेर गोधूलि साँझले सडकलाई आफ्नो अँध्यारोको पछयौरीले छोप्दै लगेको हेरिरहेकी थिई । उसको टाउको झ्यालको पर्दामा झुकेको थियो भने उसको नाकले धूलो भएको पर्दाको कपडाको गन्ध पाइरहेको थियो । ऊ थाकेकी थिई ।

मान्छेहरू बाटोमा आवतजावत गरिरहेका थिए। छिमेकी घरको एक व्यक्ति आफ्नो घर फर्किरहेको थियो, जसले टकटक गर्दै हिंडेको आवाज उसले सुनी । कुनै समय, त्यहाँ एउटा ठूलो चौर हुने गर्थ्यो जहाँ उनीहरू हरेक साँझ अरु केटाकेटीहरूसँग भेला भएर खेल्ने गर्थे । पछि बेल्फास्टको एक व्यक्तिले त्यो जमिन किनेर त्यहाँ आधुनिक घरहरू निर्माण गर्यो । ती घरहरू उनीहरूको जस्तो सानो खैरो घर नभएर उज्याला इँटाले बनेका र छानाहरू पनि टलक्क टल्किने खालका थिए । वरपरका सबै केटाकेटीहरू मिलेर सधैं त्यो चौरमा खेल्ने गर्थे – डेभिन, वाटर र डानका केटाकेटीहरू,अपांग फुच्चे केओ अनि ऊ र उसको दाजुभाई अनि दिदीबहिनीहरू ।

जेम्स जोयस

तर अर्नेस्ट भने कहिले पनि खेल्दैनथ्यो । ऊ केटाकेटीसँगखेलेर बस्नका लागि ठूलो भइसकेको थियो । उसको बुवाले प्राय:जसो उनीहरूलाई आफ्नो काँडा भएको लठ्ठी बोकेर लखेट्ने गर्थे । तर प्रायजसो फुच्चे केओले उसको बुवा आएको देख्नेबित्तिकै संकेत दिने गर्थ्यो र उनीहरू भाग्ने मौका पाउँथे । त्यस्तो हुँदाहुँदै पनि उनीहरू त्यतिबेला नै धेरै खुशी भएका देखिन्थे । उसको बुवा त्योबेला त्यतिधेरै खराब थिएनन् र फेरि उसकी आमा पनि जीवितै थिइन् । धेरै अगाडि उसकी आमा बितेकी थिइन् जतिबेला ऊ र उसका दाजुभाइ र दिदीबहिनीहरू हुर्किसकेका थिए । तिजी डान् पनि बितिकेको थियो र वाटरको परिवार बेलायत फर्किसकेका थिए । अहिले सबै कुराहरू बदलिसकेका छन् । अब ऊ पनि अरुले जस्तै गरी आफ्नो घर छोडेर कतै टाढा जान लागेकी थिई ।

घर ! उसले कोठामा भएका सबै परिचित सामानहरूलाई ध्यान दिंदै कोठाको चारैतिर हेरी । यतिका वर्षसम्म उसले सधैं कोठामा कहाँबाट त्यति धेरै धूलो आउँछ भन्ने कल्पने गर्थी र कम्तीमा पनि हप्ताको एकपल्ट कोठा सफा गर्ने गर्थी । सायद अब उसले कहिल्यै पनि ती परिचित सामानहरूलाई देख्नेछैन, जसबाट उसले अहिलेसम्म कहिले पनि छुट्टिनुपर्ला भनेर कल्पनासम्म गरेकी थिइन् । यत्तिका वर्षसम्म उसले बिग्रिएको हार्मोनियम माथिको भित्तामा झुण्डिएको तस्बिरमा रहेको पुजारी को हुन् भनेर पत्ता लगाउन सकेकी थिइन । उनी उसको बुवाको स्कुले साथी थिए । जब उसको बुवाले कुनै पाहुनालाई उक्त तस्बिर देखाउने गर्थे तब उनले जहिले पनि एउटै कुरा भन्ने गर्थे –

‘उनी अहिले मेलबोर्नमा छन्’

उसले आफ्नो घर छाडेर भाग्नका लागि सहमति जनाएकी थिई । के त्यो बुद्धिमत्तापूर्ण थियो ? उसले यो प्रश्नको प्रत्येक पाटालाई तौलिन खोजी । उसले आफ्नो घरमा गाँस, बास र कपास पाएकै थिई । उसले जीवनभर चिनेका मान्छेहरू त्यही घरमा थिए । यद्यपि उसले घर र व्यापार दुवैतिर निकै कडा परिश्रम गर्नुपर्थ्यो । ऊ एउटा केटासँग पोइल गई भन्ने थाहा पाएपछि उसको पसलमा आउने ग्राहकहरूले के भन्छन् होला ? यदि ऊ मूर्ख भएर पोइल गई भने सहरमा चारैतिर त्यसको चर्चा हुने थियो । सायद सुश्री गाभेनचाहिं खुसी हुन्थी होली । उसले सधैं ऊप्रति नराम्रो धारणा राख्ने गर्थी, विशेष गरी अरु मान्छेहरूले सुनिरहेको बेलामा ।

‘सुश्री हिल, देखिरहनुभएको छैन केटीहरू पर्खिरहेका छन् ?’

‘कृपया अलि खाइलाग्दो देखिनुस्, सुश्री हिल’

पसल छोडेर जानुपरेकोमा भने ऊ धेरै आँशु बगाउनेवाला थिइन ।

तर दूरको अपरिचित देशको नयाँ घरमा अहिलेको जस्तो त हुँदैन नि! ऊ विवाहित हुनेछे— ऊ अर्थात् एभलिन । मान्छेहरूले त्यहाँ उसलाई सम्मानका साथ व्यवहार गर्नेछन् । उसको आमाले जस्तो जीवन उसले बिताउनु पर्नेछैन । ऊ अहिले १९ वर्ष कटिसक्दा पनि कहिलेकाहीँ आफैंलाई बुवाको हिंसाको त्रासमा पाउँथी । उसलाई थाहा छ त्यही डरले गर्दा नै उसको ढुकढुकी बढ्ने गर्छ । ऊ छोरी भएकाले हुर्किने क्रममा कहिल्यै बुवाबाट ह्यारी र अर्नेस्टले जस्तो स्याहारसुसार पाइन । तर पछिपछि उसले धम्की पाउन थालेकी थिई कि उसको मरेकी आमाको स्मृतिमा मात्रै उसको बुवाले उसलाई पालिरहेका छन् । र अहँ, उसलाई सुरक्षा दिनका लागि ऊसँग अरु कोही पनि थिएन । अर्नेस्ट मरिसकेको थियो र ह्यारी, जो चर्चमा साजसज्जा गर्ने काम गर्थ्यो, ऊ जहिले पनि कुनै गाउँतिर हुन्थ्यो ।

फेरि शनिबारको राति पैसालाई लिएर सधैं हुने झगडाले गर्दा ऊ भित्रभित्रै वाक्कदिक्क भइसकेकी थिई । उसले सधैं आफ्नो सबै कमाइ – सात सिलिंग- दिने गर्थी र ह्यारीले पनि आफूले सक्दो पठाउने गर्थ्यो तर उसको बुवाबाट पैसा पाउन भने निकै कठिन हुन्थ्यो । उनी भन्थे कि ऊसँग दिमाग नै नभएकाले अनावश्यक रुपमा पैसा मास्छे र उनी आफूले निकै मिहिनेत गरेर कमाएको पैसा यत्तिकै रद्दीमा फाल्नेवाला छैनन् । शनिबारको रातमा झन् धेरै खराब प्रस्तुत हुने उनी अझै अरु पनि धेरै गालीहरू दिन्थे । अन्त्यमा उनी उसलाई पैसा दिन्थे र सोध्थे कि ऊसँग आइतबारको लागि खाना किन्ने कुनै मनसाय छ कि छैन । त्यसपछि उसले हतारहतार गरेर भीडमा कालो छालाको पर्सलाई हातमा बलियोसँग च्यापेर व्यापार गर्न कुद्नुपर्थ्यो र राती बेलुका सबै बन्दोबस्त मिलाएर मात्रै घर फर्कनुपर्थ्यो । उसलाई घरव्यवहार सम्हाल्ने र दुई साना बच्चाहरूलाई खानपिन गराएर सधैं स्कुल पुर्याउनुपर्ने कठिन जिम्मेवारी थियो । उसको काम निकै अप्ठ्यारो थियो – उसको जीवन कठिनाइले भरिएको थियो – तर अहिले भने उसले छाडेर जान लागेकाले होला आफ्नो जीवनलाई पूर्णत: अरुचिपूर्ण भने पाइन ।

ऊ फ्र्यांकसँग छुट्टै नयाँ जीवन सुरु गर्नेवाला थिई । फ्र्यांक निकै दयालु, पुरुषार्थयुक्त र खुला हृदयको थियो । उसलाई ऊसँग रात्रिकालीन डुंगा चढेर उसकी श्रीमती हुन् र ऊसँग बस्नका लागि आफ्नो घर त्यागेर बुइनोस आइरेस जानु थियो, जहाँ उसको स्वागतमा एउटा घर पनि पर्खिरहेको थियो । उसले फ्र्यांकलाई पहिलोपटक भेटेको क्षण उसको स्मृतिमा अहिले पनि उस्तै ताजा छ । ऊ पनि त्यो मुख्य सडकमा जाने गर्थी, जहाँको एउटा घरमा ऊ बास बस्ने गर्थ्यो । उसलाई यो कुरा केही हप्ताअगाडिको जस्तो मात्र लाग्छ । ऊ गेटमा उभिरहेको थियो । उसले पछाडि फर्काएर क्याप लगाएको थियो र उसको सुन्दर कपाल उसको पित्तल- रंगको अनुहारतिर झरेको थियो । त्यसबेला नै पहिलोपटक उनीहरूले एकअर्कालाई चिनेका थिए । ऊ उसलाई हरेक साँझ पसल बाहिर भेट्ने गर्थ्यो र उसलाई घरसम्म पुर्याइदिन्थ्यो ।

उसलाई उसले ‘द बोहेमियन गर्ल’ नामको चलचित्र हेर्न लगेको थियो र ऊसँग हलको पछाडिपट्टि एकान्तमा बस्दा उसले उन्माद महसुस गरेकी थिई । ऊ गीतसंगीत भनेपछि हुरुक्कै हुन्थ्यो र अलिअलि गाउँथ्यो पनि । मान्छेहरूले उनीहरूको सम्बन्धबारे थाहा पाइसकेका थिए । जब उसले एक नौसैनिकसँग प्रेममा परेकी केटीको बारेमा गीत गाउँथ्यो, ऊ सधैं सुखदखालको असामन्जस्यतामा पर्थी । ऊ जिस्किएर उसलाई गुडिया भनेर बोलाउँथ्यो । सुरुमा उसलाई एउटा साथी पाएकोमा रोमान्चक लागेको थियो र विस्तारै उसले मन पराउन थालेकी थिई । ऊसँग दूरदेशका कथाहरू थिए । क्यानाडातर्फ जाने ‘एलान लाइन’ नामको पानीजहाजमा उसले ‘डेक ब्वाय’का रुपमा महिनाको एक पाउण्ड तलबमा काम गर्न सुरु गरेको थियो । उसले आफूले काम गरेका सबै जहाजका नामहरू र आफूले गरेका सबै कामहरूबारे उसलाई बताएको थियो । उसले मगेलानको स्ट्रेट हुँदै समुद्री यात्रा गरेको थियो र उसले डरलाग्दा पाटागोनीहरूको बारेमा उसलाई कथा सुनाएको थियो । उसले आफू छुट्टी मनाउनका लागि पुर्खाहरूको देशमा आएको बताएको थियो । त्यसपछि निश्चय पनि उसको बुवाले उनीहरूको सम्बन्धको बारेमा सुइँको पाएका थिए र उसलाई फ्र्यांकसँग भेट्न प्रतिबन्ध लगाएका थिए ।

‘मैले यी समुद्रमा यात्रा गर्नेहरूलाई राम्रोसँग चिनेको छु’, उनले भनेका थिए ।

एक दिन बुवाले फ्र्यांकसँग निकै ठूलो झगडा गरेका थिए र त्यसपछि उनीहरूले एकअर्कालाई गोप्य रुपमा भेट्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

सडकमा साँझ छिप्पिदै गइरहेको थियो । उसको काँखमा रहेका दुई चिठीहरूको सेतो रंग देखिन छाडेको थियो । उसले लेखेको एउटा चिठी ह्यारीका लागि थियो र अर्को बुवाका लागि । अर्नेस्ट उसको सबैभन्दा प्रिय थियो तर ऊ ह्यारीलाई पनि मन पराउँथी । उसले झट्ट सम्झी – पछिल्लोसमय उसको बुवा बूढो हुँदै गइरहेका थिए । ऊ गएपछि उसलाई उनले निकै सम्झनेछन् । कहिलेकाहीँ उनी ऊप्रति निकै राम्रो रुपमा प्रस्तुत हुन्थे । धेरै अगाडिको कुरा होइन, उनले उसलाई एउटा भूतको कथा सुनाएका थिए र आगोमा उसको लागि पाउरोटी तताइदिएका थिए । अर्को दिन, जब उसकी आमा जीवितै थिइन्, उनीहरू बनभोज मनाउनका लागि होथको डाडोमा गएका थिए । बुवाले छोराछोरीलाई हँसाउन त्यसबेला आमाले लगाउने टोपी लगाएको सम्झी ।

समयले नेटो काटिरहेको थियो तर ऊ अझै पनि आफ्नो टाउको झ्यालको पर्दामा झुकाएर धूलो भएको पर्दाको गन्ध सुँघ्दै झ्यालमा बसिरहेकी थिई । पर कतै बाटोमा ऊ कसैले बाजा बजाइरहेको सुन्न सक्थी । उसले आफ्नी आमासँग आफूले सकुन्जेलसम्म घरव्यवहार सम्हाल्ने वाचा गरेको सम्झी । उसलाई आफ्नी आमा बिमारी भएको त्यो अन्तिम रात याद आयो । ऊ हलको अर्कापट्टिढोका बन्द गरिएको अँध्यारो कोठामा थिई र उसले बाहिर मनै छियाछिया पार्ने खालको वेदनामय इटालियन गीत सुनी । वाद्यवादकलाई कसैले छ पेन्स दिएर त्यहाँबाट जाने आदेश दियो । उसले बुवा बिमारी भएको कोठामा झोक्किदै फर्किएको सम्झी: ‘साला इटालियनहरू! कहाँकहाँबाट आइपुग्छन्!’

उसले गम्भीरतापूर्वक विचार गरी कि उसकी आमाको जुन दयनीय अवस्था थियो, त्यो उसको जीवनमा पनि श्रापित भएर आएको थियो । उसका कानमा आमाले निकै जोड दिएर भनेको आवाज गुन्जियो र ऊ थर्थर काम्न थाली:

‘हरेक सुखको अन्त्यमा पीडा हुन्छ! हरेक सुखको अन्त्यमा पीडा हुन्छ’

ऊ भयानक त्रासको आवेगमा आएर जुरुक्क उठी । भाग्नुपर्छ ! उसले जसरी पनि भाग्नुपर्छ! फ्र्यांकले उसलाई बचाउने छ । उसले उसलाई एउटा जीवन दिनेछ, सायद माया पनि दिनेछ । र ऊ बाँच्न चाहन्थी । ऊ सधैं दुखी: नै हुनुपर्छ भन्ने के छ र? उसलाई पनि त खुसी हुने अधिकार छ । फ्र्यांकले उसलाई अंगालोमा बाध्नेछ र गाँठो पारेर राख्नेछ । उसले उसको उद्धार गर्नेछ ।

ऊ नर्थ वाल स्टेशनको भीडमा झुल्दै बसिरहेकी थिई ।

उसले उसको हात थाम्यो र उसलाई थाहा थियो ऊ आफूसँग बोलिरहेको छ,यात्राको बारेमा केही कुरा बारम्बार भनिरहेको छ । खैरा झोला बोकेका सेनाहरूले स्टेशन भरिभराउ थियो ।बाँधको पर्खालमा टाँसिदै गर्दा उसले टहराका खुला ढोकाहरूबाट डुंगाको कालो भागको झलक पाई । उसले केही पनि उत्तर दिइन । उसले आफ्ना गालाहरू पहेंला र चिसो भएको महसुस गरी र क्लेषको भूलभुलैयाबाट इश्वरसँग आफूलाई निर्देशित गर्न र कर्तव्यपरायण बनाउन प्रार्थना गरी । निकै लामो समयसम्म डुंगाले हावामा वेदनामय सिट्टी बजायो । यदि ऊ गई भने भोलिपल्ट ऊ फ्र्यांकसँग समुद्रमा बुइनोस आइरेसतर्फ जाँदै गरेकी हुने थिई।उनीहरूको लागि टिकट पनि काटिसकिएको थियो । उसले उसका लागि यत्तिधेरै गरिसकेपछि पनि ऊ फेरी पछाडि हट्न सक्थी र ? वेचैनीले गर्दा उसलाई वाकवाकी आउला जस्तो महसुस भयो र ऊ व्यग्रताका साथ आफ्ना ओठहरू चलमलाउँदै भगवानसँग मौन प्रार्थना गरिरही ।

उसको हृदयमा जोडले एउटा घन्टी बज्यो । उसले फ्र्यांकले आफ्ना हातहरू तानेको महसुस गरी:

‘आऊ!’

उसको छातीमा संसारभरका समुद्रहरू उर्लिएर ज्वारभाटाहरू आए । फ्र्यांकले झन् आफूलाई त्यतैतर्फ डोहोर्याइरहेको महसुस गरी। अब उसले उसलाई समुद्रमा डुबाइदिनेछ । उसले कस्सेर आफ्ना दुवै हातहरूले फलामको डण्डीलाई समाती ।

‘आऊ!’

हुँदैन! हुँदैन! हुँदैन! यो असम्भव छ ।व्याकुल भएर उसका हातहरूले फलामको डण्डीलाई झन् जोडले समाते । उसले समुद्रमा बेदनाले भरिएको चिच्याहट पठाई ।
‘एभलिन ! एभी!’

ऊ डुंगातर्फ दौडियो र कराएर उसलाई पनि आउन भन्यो । उसलाई सबैले अगाडि बढ्न भने, तर ऊ अझै पनि आफ्नी प्रेमिकालाई बोलाइरह्यो । एभलिन एउटा निमुखो जनावरजस्तै गरी आफ्नो निष्कृय, सेतो अनुहार ऊतर्फ देखाइरही । उसका आँखाहरूले उसलाई न कुनै प्रेमको संकेत दिए, न विदाइ नै जताए, न त चिनेजस्तो नै गरे ।