धापाखेल, ललितपुरका सुदिप आले मगर, पेशाले जनस्वास्थ्य अधिकृतको रूपमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नीति तथा योजना शाखामा कार्यरत छन्।

इन्स्टिच्युट अफ मेडिसीन (आईओएम)महाराजगन्जबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर(एमपिएच) गरेका मगरको हाल कार्यरत पदमा मुख्य जिम्मेवारी नेपालको स्वास्थ्य क्षेत्रको नीति निर्माण तथा स्वास्थ्यसम्बन्धी योजना तर्जुमा र कार्यान्वयन गर्नु हो।

अध्ययनको विषय र कामको प्रकृतिभन्दा फरक चित्रकलामा रूचि राख्ने उनले सरकारी जागिर र चित्रकलाको समय व्यवस्थापन चुनौतीपूर्ण भए तापनि व्यस्तताका बावजुद पनि चित्रकलाको लागि समय दिँदै आइरहेको बताए ।

कोरोना महामारी सुरु भएसँगै लकडाउनको समयमा उनले कोरेका केही चित्रहरू आइडब्ल्युएस नेपालको ‘भर्च्युअल साउण्डस्’ र ‘स्प्ल्यासेस्’मा प्रदर्शन गरिसकेका छन् भने आगामी नोभेम्बर ८-१२ मा हुने ‘हण्ड्रेड आवर्स’ कार्यक्रममा सहभागिता जनाउने भएका छन्।

आफूलाई हबी आर्टिस्ट भन्न रुचाउने मगर बिस्तारै जलरङ विधामा स्थापित हुँदै गइरहेको नाम हो। विशेषगरी पोट्रेटमा रुचि रहेको भए तापनि ल्याण्डस्केपसमेत गर्ने गरेको उनले बताए । राष्ट्रिय तथा केही अन्तर्राष्ट्रिय कला कार्यक्रममा सहभागिता जनाइसकेका सुदीप आले मगर सानो छँदा चित्रकलाका अलावा खेलकुद तथा संगीतमा बढी रुचि राख्ने गरेको बताउँछन्। उनले चित्रकलासम्बन्धी शैक्षिक अध्ययन नगरे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्टिस्टको काम हेर्दै र स्वअध्ययन गर्दै आफूलाई कलाक्षेत्रमा अगि बढ्न सहज भएको बताए।

चित्रकला बनाउन देश विदेशबाट अनुरोध आउने र सो बापत केही पारश्रमिकसमेत लिने गरेको भए तापनि पारश्रमिकबाट प्राप्त केही रकम सडक जनावरको लागि खर्च गर्दै आइरहेका छन् उनले ।

जलरङ चित्रकला विधामा सबैभन्दा गाह्रो विधा भएकाले यो सिक्न र आफूलाई निपुण बनाउन निकै मिहिनेत र समय लाग्ने गर्छ, यसमा पूर्णता प्राप्त गर्न लागि कलाकारले निरन्तर साधना गर्नु पर्ने देखिन्छ।

जलरङ कलाकारमा लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष स्थिरता हुनुपर्छ भन्ने उनलाई लाग्छ । आउनुस् उनै जनस्वास्थ्य अधिकृत मगरले बनाएका कलाहरू अवलोकन गरौँः