कवि केदारनाथ सिंहको जन्म ७ जुलाई, १९३४ मार्च १९ मा चकिया गाउँ, बलिया, उत्तर प्रदेशमा भएको हो । उनी प्रमुख आधुनिक हिन्दी कवि तथा लेखकहरूमध्ये पर्दछन् । केदारनाथ सिंह चर्चित कविता सङ्कलन ‘तीसरा सप्तक’ का सहयोगी कविहरूमध्ये एक हुन् । यिनका कविताहरूको अनुवाद लगभग सबै प्रमुख भारतीय भाषाहरूमा भएको छ । त्यसबाहेक अङ्ग्रेज़ी, स्पेनिस, रूसी, जर्मन र हङ्गेरियन आदि विदेशी भाषामा पनि यिनका कविता अनूदित छन् । उनले कविता पाठका लागि संसारका अनेक देशहरूको यात्रा गरेका छन् । उनको निधन १९ मार्च २०१८ मा नयाँ दिल्लीमा भयो ।
सिंहले बनारस हिन्दु विश्वविद्यालयबाट एम.ए. (हिन्दी) र पीएच.डी. उपाधि हासिल गरेका छन् । उनलाई ज्ञानपीठ पुरस्कार, मैथिलीशरण गुप्त सम्मान, कुमारन आशान पुरस्कार, जीवन भारती सम्मान, दिनकर पुरस्कार, साहित्य अकादमी पुरस्कार, व्यास सम्मानलगायतका सम्मान तथा पुरस्कारद्वारा सम्मानित गरिएको छ ।
केदारनाथ सिंहले विभन्न कलेजहरूमा अध्यापन गरे र अन्तमा जवाहरलाल नेहरू विश्वविद्यालयमा हिन्दी विभागका अध्यक्ष पदबाट सेवानिवृत्त भए । उनले कविता र गद्यका अनेक पुस्तकहरू रचना गरेका छन् । उनी समकालीन कविताका प्रमुख हस्ताक्षर हुन् । केदारनाथ सिंहका कवितामा गाउँ र सहरको द्वन्द्व पाउन सकिन्छ । ‘बाघ’ उनको प्रमुख लामो कविता हो, जुन विशिष्ट मानिन्छ ।
केदारनाथ सिंहका प्रकाशित कृतिहरूः
१. कविता संग्रह
• अभी बिल्कुल अभी
• जमीन पक रही है
• यहाँ से देखो
• बाघ
• अकाल में सारस
• उत्तर कबीर और अन्य कविताएँ
• तालस्ताय और साइकिल
२. आलोचना
• कल्पना और छायावाद
• आधुनिक हिंदी कविता में बिंबविधान
• मेरे समय के शब्द
• मेरे साक्षात्कार
३. संपादन
• ताना-बाना (आधुनिक भारतीय कविता से एक चयन)
• समकालीन रूसी कविताएँ
• कविता दशक
• साखी (अनियतकालिक पत्रिका)
• शब्द (अनियतकालिक पत्रिका)
प्रख्यात कवि केदारनाथ सिंहलाई सन् २०१३ मा प्रदान गरिएको ज्ञानपीठ पुरस्कार देशकै सर्वोच्च साहित्य सम्मान मानिन्छ । यो पुरस्कार पाउने हिन्दीका १० औँ लेखक हुन् सिंह । यसअघि हिन्दी साहित्यका सुप्रसिद्ध हस्ताक्षरहरू सुमित्रानंदन पंत, रामधारी सिंह दिनकर, सच्चिदानंद हीरानंद वात्स्यायन अज्ञेय, महादेवी वर्मा, नरेश मेहता, निर्मल वर्मा, कुंवर नारायण, श्रीलाल शुक्ल र अमरकांतलाई यो पुरस्कार दिइएको छ । पहिलो ज्ञानपीठ पुरस्कार मलयालमका लेखक गोविंद शंकर कुरूप (१९६५) लाई प्रदान गरिएको थियो ।
स्रोतः https://bharatdiscovery.org
बनारस
केदारनाथ सिंह
अचानक आउँछ
यो सहरमा वसन्त
र जब आउँछ मैले देखेको छु-
लहरतारा वा मन्डुवाडिहतिरबाट
उठ्छ धुलोको एउटा आँधी
र यो महान् पुरानो सहरको जिब्रो
किरकिराउन थाल्छ
जे छ त्यो जागृत हुन्छ
जे छैन त्यसले फ्याँक्न थाल्छ अङ्कुरहरू
मान्छे दशाश्वमेधमा जान्छ
र थाहा पाउँछ- घाटको अन्तिम पत्थर
केही अरू कोमल भएको छ
सिँढीमा बसेका बाँदरका आँखामा
एउटा अचम्मको ओसिलोपन छ
र एउटा अनौठो चमकले भरिएर आएको छ-
भिखारीहरूको कचौराको नितान्त खालीपन
तिमीले देखेका छौ कहिल्यै-
खाली कचौरामा वसन्त ओर्लिएको !
यो सहर यसरी नै खुल्छ
यसरी नै भरिन्छ
र खाली हुन्छ यो सहर
यसैगरी दिनैपिच्छे अनन्त शवहरू
लैजान्छन् काँधहरू
अँध्यारा गल्लीहरूबाट
चम्किरहेको गङ्गातिर
यो सहरमा धुलो
बिस्तारैबिस्तारै उड्छ
बिस्तारैबिस्तारै हिँड्छन् मान्छे
बिस्तारैबिस्तारै बज्छन् घन्टहरू
बिस्तारैबिस्तारै हुन्छ साँझ
यो बिस्तारैबिस्तारै हुनु
बिस्तारैबिस्तारै हुनुको सामूहिक लयले
दृढतासाथ बाँधेको छ सम्पूर्ण सहरलाई
यस प्रकारले कि खस्दैन केही पनि
हल्लिँदैन केही पनि
जे चिज जहाँ थियो
त्यहीँ छ राखिएको
गङ्गा त्यहीँ छ
त्यही बाँधिएका छन् डुङ्गा
त्यहीँ राखिएको छ तुलसीदासको खराउ
सैकडौँ वर्षदेखि
कुनै दिन सौँसाँझै
बिना कुनै सूचना
पस यो सहरभित्र
कुनै दिन आरतीको उज्यालोमा
यसलाई अचानक हेर
अद्भुत छ यसको बनावट
आधी जलमा छ यो
आधी मन्त्रमा
आधी फूलमा छ
आधी शवमा छ
आधी निद्रामा छ
आधी शङ्खमा
ध्यानपूर्वक हेर-
यो आधी छ
र आधी छैन पनि
जे छ त्यो उभिएको छ
बिना कुनै स्तम्भ
जे छैन त्यसलाई थामेका छन्
खरानी र उज्यालोका अग्लाअग्ला स्तम्भले
आगोका स्तम्भ
र पानीका स्तम्भ
धुँवाका
बास्नाका
मान्छेका उठेका हातका स्तम्भ
कुनै अलक्षित सूर्यलाई
अर्घ्य दिइरहेका
शताब्दीयौँदेखि यसैगरी
गङ्गाको जलमा
आफ्नो एउटा खुट्टामा उभिएको छ यो सहर
आफ्नो अर्को खुट्टासँग
नितान्त अनभिज्ञ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।